‘सिम्फोनिक एक्जिस्टेन्स’ नामक कला प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा सुरू भएको छ। शुक्रबारबाट सुरू भएको प्रदर्शनीमा रोशन प्रधान, प्रधुम्न श्रेष्ठ, माला श्रेष्ठ, लिशा गौरे, किशोर ज्योति लगायतका ७ कलाकारको चित्र समावेश गरिएको छ।
प्रदर्शनीमा सांस्कृतिक परम्परा झल्काउने, ल्यान्डस्केप, कन्टेम्पोररी लगायतका एक्राेलिक चित्रहरू राखिएका छन्।
रोशन प्रधानले आफ्ना चार चित्रमा मानव आकृतिलाई विशेष महत्त्व दिएका छन्। प्रधुम्न श्रेष्ठ र पासाङका चित्रमा काठमाडौंको परम्परागत संस्कृति झल्किन्छ। उनीहरूले थाङ्का र ल्याण्डस्केप चित्र बनाएका छन्।
किशोर ज्योतिका चार चित्रमध्ये दुइवटामा आफैँलाई चित्रण गरेका छन्। उनले चित्रमार्फत मानिसका विभिन्न भावना, संघर्ष, शक्ति लगायतलाई व्यक्त गरेका छन्। उनका कलाहरू थ्रिडी कला जस्तै देखिन्छन्।
मला प्रधानको कलामा भने बुद्धका हातहरू छन् जसले शान्तिको भाव अभिव्यक्त गरेका छन्। लिसा गैरेले कलामा महिलाका रूपलाई प्रस्तुत गरेकी छन्। त्यस्तै, रुद्रबहादुरको कलामा नेपालको ग्रामीण भू–भागलाई चित्रण गरिएको छ।
बिहिबारसम्म चल्ने प्रदर्शनीलाई पागेडा ग्रुपले आयोजना गरेको हो। योसँगै काउन्सिलमा मार्च २८ बाट सुरू भएको ‘नेपाल निडा पेन्टिङ प्लेन एयर २०१८’ पनि जारी छ।
प्रकाशित मिति: आईतबार, चैत १८, २०७४, ०५:००:५५