राजधानीको कुमारीगालस्थित मोक्षदा स्कुलको मञ्जरी नाटकघरमा युवा राजनीतिकर्मी तथा सामाजिक अभियन्ताको बाक्लै उपस्थिति थियो। शनिबार दिउँसो मध्यदिनमा स्कुल प्रांगणमा पुगेका उनीहरू बालबालिकाको कथामा बालबालिकाले नै अभिनय गरेको नाटक ढुकढुकी हेर्न त्यहाँ जम्मा भएका थिए।
मञ्जरी नाटकघरले विगत वर्षदेखि कक्षा ३ देखि ८ सम्म अध्ययनरत बालबालिकालाई समेटेर नाटक मञ्चन गर्दै आएको छ। यसै क्रममा अघिल्लो वर्षको १८ देखि ३१ चैतसम्म मञ्चन भइसकेको नाटक ढुकढुकी हेर्न मञ्जरी नाटकघर पुगेका थिए, सांसद बद्री पाण्डे, युवा राजनीतिक अभियन्ता मिलन पाण्डे, मानुषी यमी भट्टराई, विद्यार्थी नेता रश्मि आचार्य, केही सञ्चारकर्मी, केही रंगकर्मी, विद्यार्थी तथा अभिभावक।
निर्धारित २ बजे सुरू भएको नाटकमा बालबालिकाको रुचि र अभिभावकको चाहनाबीच मेल नहुँदा कस्तो समस्या आउँछ, त्यसले बालमस्तिष्कमा कस्तो प्रभाव पर्छ भन्ने विषयलाई मनोवैज्ञानिक शैलीमा उठाइएको छ। आजका सन्तान आफ्नै संसारमा रमाउँदै अघि बढ्न चाहन्छन् । उनीहरूलाई मार्कसिटमा आउने ए प्लससित कुनै लिनु दिनु छैन। उनीहरूलाई खेल खेल्न, चित्र कोर्न, इन्टरनेट एक्सप्लोर गर्न, नाटक खेल्न, कविता लेख्न, गीत गाउन, नाच्न पाए पुग्छ । तर, अभिभावकलाई भने अरु जेसुकै गरुन्, सन्तानको मार्कसिटमा ए प्लस भने आउनैपर्छ । यही अमिल्दो सोचलाई बालबालिकाले आफ्नो अभिनयमार्फत् नाटकमा सशक्त ढंगमा उठाएका छन्।
नाटकको समाप्तिपछि गरिएको अन्तर्क्रियामा सांसद बद्री पाण्डेले बालबालिकाले नाटकमार्फत् समसामयिक विषयवस्तुलाई उठाएको बताउँदै यसलाई निरन्तरता दिनु आवश्यक भएको बताए।
युवा राजनीतिक अगुवा तथा विवेकशील नेपालीका प्रवक्ता मिलन पाण्डेले हामी अभिभावकको परीक्षाको मार्कसिटमा ए प्लस देख्न चाहले बालबालिकाको सिर्जनशीलतालाई कसरी असर गर्दै छ भन्ने यथार्थलाई नाटक ढुकढुकीले उठाएको बताए।
अर्की राजनीतिक अभियन्ता मानुषी यमी भट्टराईले ढुकढुकीमार्फत् बालबालिकाले नेपाली राजनीति र समाजलाई गतिलो सन्देश दिएको बताइन्। उनले भनिन्, ‘नाटकले सरल, स्वाभाविक र मनोरञ्जनात्मक शैलीमा हाम्रो समाज र शैक्षिक प्रणालीभित्रका विरोधाभाषहरू उजागर गरेको छ।
अन्तर्क्रियामा सञ्चारकर्मीहरू रामकला खड्का, शिखर घिमिरे, दीपक सापकोटा, विश्वास खड्काथोकी, हेमन्त गौतमलगायतले पनि नाटकका विभिन्न पक्षबारे समीक्षात्मक टिप्पणी गरेका थिए । नाटकका लेखक तथा निर्देशक सुरेश चन्दले आफूले मोक्षदा स्कुलमा नाटकलाई विद्यार्थीको पठनपाठनसित जोडेर एउटा प्रयोग गरिरहेको बताए।
उनले भने— हामीले कक्षाकोठामा पढेका पाठलाई नाटकसिट जोडेर विद्यार्थीको किताबलाई नै युट्युब बनाउने कोशिस गरिरहेका छौं।