संगीत क्षेत्रमा ख्याति कमाएका ललितपुर निवासी वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ। विगत लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते ‘विविधता मे एकता राष्ट्रिय सम्मान २०२०’ बाट सम्मान गरिएको हो।
एनआरबी फाउण्डेशन एवम् भव्या इन्टरनेशनलको आयोजना भएको अन्तराष्ट्रिय मैत्री सम्मेलनको अवसरमा भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको समारोहमा राजोपाध्याय सम्मानित भएका हुन्। राजोपाध्यायले संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको बताइएको छ।
समारोहमा राजोपाध्यायलाई डा. सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्ट्रिय सम्मान प्रदान गरे। समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा. निशा माथुरलगायतको सहभागिता थियो।
तीन दसकअघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसअघि २०१९ जुलाई १५ मा राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान बिहार विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय मैत्री सम्मेलनमा इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड-२०१९ प्रदान गरिएको थियो भने सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमञ्जरी उपाधि प्रदान गरिएको थियो।
सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो। नेपालमा उनले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाएका थिए। उनले शास्त्र सम्मान २०१८, सेभ दि नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाएका छन्।
सरोदवादनबाहेक उनका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायत प्रकाशित छन्।