विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रभावले नेपालको पुस्तक व्यवसायदेखि लेखक–पाठकबीच हुने अन्तर्क्रियालाई समेत असर पारेको छ।
यस अवधिमा पुस्तक प्रकाशनको काम ठप्प नभए पनि भौतिक रूपमा उपस्थित भएर हुने गरेका कार्यक्रम ठप्प भए। पाठक समक्ष ल्याउने बेला गर्ने गरिएका पुस्तकको भौतिक विमोचन लामो समय हुन सकेन। भौतिक दूरी कायम गर्नुपर्ने र कोभिडको स्वास्थ्य मापदण्ड पालना गर्दै गर्दा मान्छे नै मान्छेदेखि भाग्नुपर्ने अवस्था पनि आयो।
कोभिडका कारण भौतिक रूपमा लेखक, साहित्यकारसँग पाठकको दूरी मेटाउन केही महोत्सव र अन्तर्क्रिया फेरि हुन थालेका छन्।
केही अघि पोखरामा साहित्य महोत्सव आयोजना गरेको फाइनप्रिन्टले नवलपुरको गैंडाकोट नगरपालिकाको हर्कपुरमा चौधरी फाउन्डेसनले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजमा यही फागुन २८ देखि २९ सम्म 'फाइनप्रिन्ट फिभर' आयोजना गर्दै छ।
'फाइनप्रिन्ट फिभर' फाइनप्रिन्टबाट २०७७ सालमा प्रकाशित कृतिका प्रायः लेखकको उपस्थिति रहनेछ।
फाइनप्रिन्ट फिभरका अवसरमा 'एक ज्यान दुई जुनी'का लेखक देवेन्द्रराज पाण्डे, 'गुमनाम आमाहरूको कथा'का लेखक डा. बाबुराम भट्टराई, 'जिजीविषा'की लेखक मनीषा कोइराला, 'देश देशावर'का लेखक जीवा लामिछाने, 'पुँजीवाद र स्वतन्त्र समाजका आधारशीला'का अनुवादक मुराहरि पराजुली, 'क'का लेखक असीम सागर, 'कबाल्स एन्ड कार्टेल्स'का लेखक राजीव उपाध्याय, 'बिटविन क्विन्स एन्ड द सिटिज'का लेखक निरञ्जन कुँवर र 'रहर'का लेखक सुरेश बडालको सहभागिता रहनेछ।
यी लेखकका कृतिबारे सत्रहरू सञ्चालन हुनेछन्। उक्त अवसरमा रवीन्द्र मिश्रको नयाँ कृति 'राजनीतिसँगै राजकाज' पुस्तकमा केन्द्रित रहेर सञ्चारकर्मी रवि लामिछानेले संवाद गर्ने कार्यक्रम पनि छ।
भेलामा बौद्धिक विमर्शका सत्रहरू पनि सञ्चालन हुनेछन्। कार्यक्रममा पुस्तकका विषयमा चर्चा परिचर्चाबाहेक लेखकसँग हस्ताक्षर कार्यक्रम, विशेष छुटमा पुस्तक प्रदर्शनी लगायत गतिविधि पनि रहनेछ।
यो कार्यक्रमले पाठक एवम् लेखकलाई नजिक्याउने र बौद्धिक बहसको क्रमलाई निरन्तरता दिने फाइनप्रिन्टले विज्ञप्ति मार्फत जनाएको छ।
बिहिबार जारी विज्ञप्ति अनुसार 'फाइनप्रिन्ट फिभर' लेखक साहित्यकारको जमघट मात्र हुने छैन, यो कला, संस्कृति, साहित्य आदिमा रुचि एवम् जिज्ञासा राख्नेहरूको महोत्सव बन्नेछ।
कार्यक्रम चौधरी फाउन्डेसनसँगको सहकार्यमा हुन लागेको हो। कार्यक्रमका सबै सत्रमा सहभागिताका लागि शुल्क लाग्ने छैन।
चितवनको नारायणगढ बजारबाट करिब १२ किमि दूरीमा रहेको नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजमा सांस्कृतिक थारु गाउँको अवधारणामा काम भइरहेको छ।