तिहारयता एकपछि अर्को नेपाली फिल्म प्रदर्शन मिति घोषणा हुन थालेका छन्। यही क्रममा हरर फिल्म 'कठपुतली' ले पनि प्रदर्शन मिति घोषणा गरेको छ।
अंग्रेजी नयाँ वर्ष र तमु ल्होसारको अवसर पारेर आउँदो पुष १५ गते फिल्म प्रदर्शन मिति घोषणा गरेको हो। तमु ल्होसारको सार्वजनिक विदा भएकाले फिल्म बिहीवारबाटै प्रदर्शनमा आउने बताइएको छ।
सम्पदा मल्लको लेखन र भीमसेन लामाको निर्देशनमा बनेको 'कठपुतली' मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ।
कठपुतलीले विदेशका महोत्सवहरुमा प्रदर्शन भई अवार्डसमेत जित्न सफल भएको थियो। फिल्मले हालै अमेरिकाको ‘विन्टर फिल्म अवार्ड’ मा दुई वटा अवार्ड जितेको थियो।
पृथ्वी राना मगर निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सम्पदा मल्ल, सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन्। फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टुडियोमा भएको हो ।
पृथ्वी राना प्रोडक्सनको ब्यानरमा निर्मित ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा एकदमै भिन्न रहेको निर्देशक लामाले दाबी गरेका छन्। उनी यो फिल्मलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन्।
फिल्मका सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर फिल्म अन्तर्गत ‘बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ समेत जितेका छन्।