यही नोभेम्बर २१ मा ट्रेलर सार्वजनिक भएपछि 'स्पाइडर म्यान : नो वे होम' प्रति संसारभरका दर्शकको क्रेज देखिएको छ।
सर्वाधिक हेरिने ट्रेलरको कीर्तिमानसमेत राखेको फिल्मको भारतमा ३ घण्टामै ५० हजार टिकट बिक्री भएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्। स्पाइडरम्यानका लागि भारतको प्रमुख मल्टिप्लेक्स चेन पिभिआरमा सोमबारसम्म १ लाख बढी टिकट बिक्री भइसकेको बताइएको छ।
आगामी शुक्रबार डिसेम्बर १७ मा रिलिज हुने स्पाइडरम्यानप्रति नेपाली दर्शकको उत्साह पनि कम छैन। नेपालभरिका सिनेमा हलमा रिलिज हुन लागेको यो फिल्मको सोमबारदेखि टिकट बिक्री खुला गरिएको थियो।
क्युएफएक्सका सिइओ रोशन अडिगाले भने, 'हामीले बुकिंग नलिएर सोमबारदेखि टिकट बिक्री खुला गर्यौं। आउने शुक्रबार र शनिबारका लागि टिकटहरु बिक्री भइसकेका छन्।'
मार्भल सिनेम्याटिक प्रस्तुति स्पाइडरम्यान काठमाडौंमा र काठमाडौं बाहिर गरी देशभरका धेरैजसो हलमा प्रदर्शन हुनेछ। मल्टिप्लेक्स चेन क्युएफएक्समा मात्र स्पाइडरम्यानले ५५ भन्दा बढी सो पाएको छ। काठमाडौंका छाया सेन्टर, लबिम मल, सिभिल मल, भाटभटेनी-भक्तपुर आउटलेटमा लगभग सप्ताहन्तको टिकट 'सोल्ड आउट' भइसकेको बताइएको छ। काठमाडौंबाहिरका दर्शकसमेत स्पाइडरम्यान हेर्न उत्साहित छन्।
स्पाइडरम्यानको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक जेनिश पहारीले वर्षकै बहुप्रतीक्षित फिल्म भएकोले स्पाइडरम्यानको प्रदर्शनले उत्साह बढाउने बताइन्। उनले भनिन्, 'यो एभेन्जर्सपछिको ठूलो फिल्म हो। दर्शकहरु टिकट किन्न र बुकिङ गर्न उत्साहित देखिएका छन्।'
नेपालमा मार्भलका सिनेमाप्रति युवा जमातमा ठूलो क्रेज छ। यसअघि पनि यस्तो क्रेज देखिएको हो। तर महामारीपछिको समयमा दर्शक हलमा आउनु खुसीको कुरा हो।
आक्रामक सुरुवात भए पनि हिन्दी फिल्मको तुलनामा अंग्रेजी सिनेमा हेर्ने दर्शक कम भएकोले स्पाइडर म्यान 'सूर्यवंशी' जति लामो समय हलमा नबस्ने सिइओ अडिगाको अनुमान छ।
टिकट सोल्ड आउट भए पनि सिनेमा हलमा महामारी संक्रमणप्रति सचेत हुँदै केही सिट भने खाली राखिने अडिगाले जानकारी दिए। उनले भने, साथी र परिवारका साथमा आउनेहरु सँगै बसे पनि संक्रमणबाट बच्न अपरिचित मानिसलाई सिट खाली राखेर बस्नुपर्ने व्यवस्था मिलाइएको छ।
उनका अनुसार यसरी सिट खाली छोड्दा करिब सत्तरी प्रतिशत मात्र सिट भरिने हुन्छ। जोन वाट्सको निर्देशनमा बनेको 'स्पाइडर म्यान : नो वे होम' मा टम हल्यान्ड, जेनडाया, बेनेडिक्ट कम्बरबेक आदि कलाकार मुख्य भूमिकामा देखिने छन्।
यसअघि बलिउड फिल्म सूर्यवंशीले कोरोना महामारीले थलिएको नेपाली सिनेमा उद्योगलाई चलायमान बनाउन उर्जा थपेको थियो। स्पाइडरम्यानको ओपनिङ पनि आक्रामक हुने देखिएको छ। विदेशी फिल्म हेर्न दर्शकले पहिल्यै टिकट काटे पनि नेपाली फिल्म 'चपली हाइट ३' ले सोमबार नै आफ्नो रिलिज डेट पर सारेको छ।
चपली हाइट ३ यही शुक्रबार पुस २ देखि प्रदर्शनमा आउने घोषणा भएको थियो। फिल्म पुस २ गते सार्वजनिक गर्ने भनेर निर्माता अर्जुन कुमार अन्तिम समयसम्म प्रचार-प्रसारमा सक्रिय थिए।
आफ्नो फिल्मसँगै स्पाइडरम्यान र अल्लु अर्जुनको तेलुगू फिल्म ‘पुष्पा’ समेत प्रदर्शनमा आउने भएपछि अर्जुन कुमार वितरकसँग रिसाएका थिए।
स्पाइडरम्यान र पुष्पाका कारण 'चपली हाइट ३' को रिलिज डेट पछि सर्नुले विदेशी फिल्मले हलमा दर्शक तान्ने माहोल बन्दा को रमाउने र कति रमाउने भन्ने प्रश्नसमेत पेचिलो बनाएको छ।