'कलमका साथी' ले वरिष्ठ साहित्यकार डा. राम पौडेलको नवीन कथाकृति माथि अन्तर्क्रिया गरेको छ।
राजधानीको आयोजित एक कार्यक्रममा आयोजक संस्थाका सदस्यत्रय अनिता कोइराला, भारती न्यौपाने र शोभा शरभले कथामाथि बहस गरेका छन्।
कृतिको समीक्षा गर्दै अनिता कोइरालाले पौडेलका कथाले सामाजिक जीवनको विकृतिलाई चिरफार गरेको दाबी गरेकी छन्।
उनले प्रकृति र प्रणयदेखि अध्यात्मसम्मको गम्भीर विषय कथामार्फत प्रकट भएको बताइन्।
समीक्षक भारती न्यौपानेले पौडेलका कथाहरू मनोवैज्ञानिक पृष्ठभूमिमा विकास भई चेतन प्रवाह शैलीमा विस्तार भएको टिप्पणी गरिन्।
उनले प्रकृतिका पृष्ठाधारमा विकसित सामाजिक यथार्थ नै पौडेलको कथा लेखनको प्रवृत्ति बन्न पुगेको औँल्याइन्।
समीक्षक शोभा शरभले जीवनको वास्तविकता उजागर गर्न सक्षम पौडेलका कथाहरू संस्मराणात्मक शैलीको धरातलमा उभिएको विश्लेषण गरिन्।
उनले शैलीगत जटिलताका कारण लेखकबाट पाठक टाढा भाग्ने तर्क राख्दै यस विषयमा सचेत हुन हरेक कथासर्जकलाई सुझाव दिइन्।
लेखक पौडेलले सहरको विकृतिबाट भागेर मौलिकता उजागर गर्न कथाका माध्यमबाट जरामा पुगी रैथाने सिर्जना र ज्ञानमा डुबुल्की मारी कथाको धरातल निर्माण गरेको खुलासा गरेका छन्।
उनले विषय, विचार, शैली, शिल्प, भाषा र कथ्यमा नवीनता र मौलिकता खोज्ने क्रममा आफ्ना कथाहरू परम्पराभन्दा भिन्न बन्न पुगेको बताएका छन्।
भावकीय अभिमत राख्ने क्रममा वरिष्ठ पत्रकार हरिविनोद अधिकारीले कथाको नवीन शिल्पलाई सौन्दर्यका रूपमा ग्रहण गर्नुपर्ने अभिमत राखेका छन्।
प्रतिक्रियाकै क्रममा कथाकार डा. दीनबन्धु शर्माले शास्त्रीय शैलीको भाषिक विन्यास पौडेलको कथाशिल्पको सम्पत्ति बनेको ठहर गरेका छन्।
जटिल भाषाशैलीगत प्रस्तुति नै पौडेलको कथाको मिठास बन्न पुगेको प्रतिक्रिया शालिग्राम शर्माले राखेका छन्।
'कलमका साथी' ले लेखकलाई नभई कृतिलाई चिन्ने अभिव्यक्ति दिँदै अध्यक्ष गीता रेग्मीले साहित्यमा वैचारिक विमर्श यस समूहको अभियान भएको धारणा राखेकी छिन्।
सहजकर्ताको भूमिकामा देखिएका डा. हेम भण्डारीले कथाकार पौडेललाई पर्यावरणीय चेतनाका धरातलमा मानव जीवनको यथार्थ खोतली शैलीगत नवीनताका साथ हिँड्न सफल कथाकारका रूपमा चिनाएका छन्।
पौडेलको यो प्रथम कथाकृति हो, जसमा १६ ओटा कथा संग्रहित छन्।