यसपालि प्रतिनिधिसभा निर्वाचनको अघिल्लो साता सांग्रिलाबाट प्रकाशित निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 'विचित्रको लोकतन्त्र, गजबको निर्वाचन' मेरो हात पर्यो।
मैले पाण्डुलिपि पनि हेर्ने मौका पाएकाले किताब लगभग एकै बसाइ, अर्थात् बिहानदेखि साँझसम्म लगातार पढेर सकेँ।
किताब समीक्षा मेरो विधा त होइन। तर निर्वाचन मेरो रूचिको विषय भएकाले यसबारे म तीन वटा पाटा विश्लेषण गर्ने प्रयास गर्छु।
पहिलो, मेरो लागि चाखको विषय — यो किताब नेपालमा आगामी दिनमा हुने निर्वाचनहरूका लागि कत्तिको उपयोगी छ?
दोस्रो, नेपाल र अमेरिकाको निर्वाचन प्रणालीको प्रत्यक्ष तुलना नगरे पनि लगातार नेपालको प्रसंग लिइएकाले यो किताबको सान्दर्भिकता के छ?
र, तेस्रो, यसको अर्को संस्करणमा कुन बुँदा थप्दा यो अझ प्रभावकारी हुन्थ्यो?
लेखक थपलियाको अमेरिकाको सन् २०२४ को राष्ट्रपति निर्वाचनको अवलोकन गर्दाखेरिको अनुभव र अन्य अध्ययनलाई समेटिएको किताब 'विचित्रको लोकतन्त्रः गजबको निर्वाचन' ले अमेरिकी निर्वाचन प्रणालीको उपयोगी अवलोकन गर्दै नेपालका लागि महत्त्वपूर्ण सिकाइ प्रस्तुत गरेको छ।
३४० पृष्ठको किताब रोचक र उपयोगी १५ अध्यायमा लेखिएको छ। यस किताबमा परिपक्व मानिएको अमेरिकी लोकतन्त्रको भित्री कथा, विभिन्न साझेदारहरूसँगको शक्ति सन्तुलनका नालीबेली, निर्वाचनमा प्रविधि र पैसाको जबर्जस्त प्रभाव तथा मतदाताको आकांक्षालाई लेखकले दुई तरिकाले उल्लेख गरेको भेटिन्छ।
महत्त्वपूर्ण कुरा, लेखकले अमेरिकामा बस्दा र अनुगमन गर्दाको आत्म–अनुभूतिलाई उतारेका छन् भने त्यसको सत्यापन गर्न थुप्रै स्रोत सामग्री अध्ययन र अनुसन्धानबाट विश्लेषण गरेका छन्।
अमेरिकाको लोकतन्त्र बाहिर हेर्दा जति उन्नत लाग्छ, लेखकले आलोचनात्मक रूपमा त्यसो नभएको विश्लेषण गर्दै केही सुझाव पनि दिएका छन्।
थपलियाले लोकतन्त्रलाई केवल मतपेटिका र परिणामको सीमिततामा होइन, इतिहास, विचार, संस्थागत संरचना, राजनीतिक सुझबुझ र नागरिक तहको उच्च चेतनाको तालमेलबाट मसिनो ढंगले केलाएका छन्।
लेखकले अमेरिकी लोकतन्त्र वा निर्वाचन प्रणालीको एकतर्फी आलोचना वा प्रशंसा मात्र गरेका छैनन्। त्यहाँका प्रणालीभित्र रहेका शक्ति, सम्भावना, विरोधाभास र चुनौतीहरूलाई सरल भाषामा प्रस्तुत गरेका छन्।
नेपालको निर्वाचन आयोगमा प्रमुख भूमिका निर्वाह गरेका थपलियाले ट्रम्पको दोस्रो कार्यकाल सुरू हुने क्रममा नजिकबाट हेर्दै आफ्नो व्यक्तिगत संस्मरण, विश्लेषण र अन्तरदृष्टिको संयोजन गरेर लेखेकाले यो किताब निर्वाचनको एकोहोरो प्राविधिक फेहरिस्तभन्दा पनि एउटा सलल बगेको नदीजस्तो लाग्छ। वा यसो भनूँ, यो किताब पढ्दा एउटा चाखलाग्दो उपन्यासभित्र हराएजस्तो भान हुन्छ।
अमेरिकी सरकारको निम्तोमा अमेरिका पुगेका लेखकले त्यहाँको प्रक्रिया, प्रविधि, खर्च, दुई–दलीय प्रणाली, मतदाता मनोविज्ञान र चुनौतीहरूलाई नेपाली पाठकका लागि सरल र गहन रूपमा प्रस्तुत गरेका छन्।
अमेरिकी प्रणाली नेपालीहरूका लागि चाखलाग्दो छ, किनकि यो विश्वकै पुरानो र परिपक्व लोकतान्त्रिक प्रणाली हो। किताबले यसलाई नेपाली सन्दर्भसँग जोडेर व्याख्या गर्छ।
जस्तै, प्रविधि प्रयोग, मतदाता पहुँच र खर्च नियन्त्रणका विविध पक्ष केलाएका छन्। लेखकले अमेरिकाको अनुभवबाट नेपाललाई प्रणाली सुधार्न प्रशस्त सिकाइहरूको फेहरिस्त दिएका छन्।
अमेरिकाले राष्ट्रपति निर्वाचन १७८८–१७८९ देखि सुरू गरेको हो। यो पहिलो निर्वाचन थियो, जसमा जर्ज वासिङटन सर्वसम्मत चुनिएका थिए। अमेरिकी संविधान सन् १७८७ मा लागू भएपछि यो प्रणाली सुरू भयो जसले विश्वमा लोकतान्त्रिक निर्वाचनको आधार राख्यो। किताबले यसको ऐतिहासिक विकासलाई छोएको छ। नेपालमा औपचारिक रूपमा पहिलो निर्वाचन सन् १९४७ जुन ११ मा काठमाडौं नगरपालिका (म्युनिसिपालिटी) का लागि भएको थियो।
समयका हिसाबले नेपालले निर्वाचनको सुरूआत धेरै पछाडि गरे पनि नेपाली लोकतन्त्रको यात्रासँग तुलना गर्न सकिन्छ।
नेपालको राजनीतिक इतिहासमा निर्वाचन सधैं एउटा आशा र चुनौती दुवैको प्रतीक रहँदै आएको छ। २०४६ सालको जनआन्दोलनदेखि २०७२ सालको संविधानसम्म र २०७४ र २०७९ का निर्वाचनहरूबाट गुज्रिँदा हामीले लोकतन्त्रको यात्रा कति जटिल र रोचक छ भन्ने महसुस गरेका छौं।
सन् २०२४ विश्वका लागि 'निर्वाचन वर्ष' का रूपमा पनि चिनिन्छ। यस वर्ष 'विचित्रको लोकतन्त्रः गजबको निर्वाचन' किताबले सन् २०२४ मा ७२ देशहरूमा निर्वाचन भएको उल्लेख गर्छ, जसले विश्वव्यापी लोकतन्त्रको महत्व देखाउँछ।
किताबले अमेरिकी निर्वाचन प्रणालीलाई केन्द्रमा राखेको छ, जसले विश्वव्यापी लोकतन्त्रमा यसको प्रभाव, यो प्रणाली विश्वमा उत्कृष्ट हो कि होइन, नेपालीहरूका लागि यसको चाखलाग्दो पक्ष, विश्वमा कति देशहरूले निर्वाचन अपनाएका छन्, अमेरिकाले कहिलेदेखि यो प्रणाली सुरू गरेको हो, र नेपालको आउँदा निर्वाचनसँग यसको महत्व जस्ता विषयहरूलाई पनि छुन्छ।
यी बुँदाहरू किताबको मूल्यांकनमा थपिएका छन्।

किताबका मुख्य विशेषता र बलिया पक्षहरू
किताबको सबभन्दा ठूलो गुण भनेको व्यक्तिगत अनुभव र अन्तर्राष्ट्रिय दृष्टिकोणको मिश्रण हो। लेखकले आफूलाई 'जिज्ञासु विद्यार्थी, समालोचक दृष्टि र अन्तरसंवादकर्ता' का रूपमा प्रस्तुत गरेका छन्।
किताब प्राविधिक प्रतिवेदनजस्तो लाग्दैन। किताब जीवन्त संस्मरणका रूपमा आएको छ।
अमेरिकी प्रणालीको गहिरो चित्रण
अमेरिकाको इलेक्टोरल कलेज नेपालका लागि नयाँ र कुतूहलताको विषय हो। स्विङ स्टेटहरू (पेन्सिलभेनिया, मिचिगन, विस्कन्सिन) ले अमेरिकाको निर्वाचनलाई कसरी निर्धारण गर्छन्, राजनीतिक कार्य समितिले उम्मेदवार वा दललाई सिधै पैसा दिन नसके पनि असीमित रकम उठाएर स्वतन्त्र रूपमा कसरी खर्च गर्न सक्छन् र उक्त खर्च उम्मेदवारसँग समन्वय नगरी पनि कसरी गरिन्छ भन्ने कुरा नेपाली पाठकका लागि रमाइलो विषय बनेका छन्।
मतदान मेसिन र पेपर ट्रेलको संयोजन, जनमत सर्वेक्षणको विश्वसनीयता, र 'सुरक्षित राज्य' र 'स्विङ राज्य' को अवधारणा जस्ता विषयहरूलाई लेखकले रोचक ढंगले व्याख्या गरेका छन्। विशेषगरी सन् २०२४ निर्वाचनमा एआई–जनरेटेड कन्टेन्ट र मिसइन्फर्मेसनको प्रभाव उल्लेख गर्नुले किताबलाई समसामयिक बनाएको छ।
मलाई यो किताबको मन परेको पक्ष भनेको लेखकले बारम्बार नेपालको सन्दर्भ जोड्नु हो।
लोकतन्त्रप्रति विश्वास, प्रश्न र निरन्तर सुधार गर्दै जाने अभ्यास नेपालका लागि उपयोगी हुन सक्छ। बहुदलीय प्रणालीको जटिलता, मतदाता शिक्षाको कमी, प्रचारमा पैसाको प्रभाव र निर्वाचन आयोगको भूमिकाबारे पनि चर्चा गरिएको छ।
उदाहरणका लागि, अमेरिकाको प्रविधि प्रयोग जस्तै इलेक्ट्रोनिक पोल बुक र बारकोड स्क्यानरलाई नेपालमा लागू गर्न सकिने सम्भावनाको चर्चा छ।
भाषा र शैलीको कुरा गर्दा सलल बहने अखबारी भाषामा लेखिएको यो किताब सरल, प्रवाहपूर्ण र पठनीय छ। 'विचित्र' र 'गजब' जस्ता शब्दले अमेरिकी प्रणालीको जटिलता र आकर्षण दुवैलाई राम्रोसँग समेट्छ।
नेपालको निर्वाचनसँग यसको उपयोगिता
नेपालमा २०८२ को प्रतिनिधिसभा निर्वाचन मात्र होइन, आगामी निर्वाचनहरूका लागि पनि यो किताबको महत्त्व छ। दिनेश थपलियाको किताब निम्न तरिकाले उपयोगी हुने देखिन्छ।
पहिलो, मतदाता शिक्षाका लागि उत्कृष्ट सामग्री।
किताबले मतदाता मनोविज्ञान, प्रचार अभियानको प्रभाव र पैसाको भूमिकाई विस्तारमा व्याख्या गर्छ। नेपालमा पनि पैसाको प्रभाव बढ्दै गएको छ र यो किताबले मतदातालाई कसरी प्रभावित हुने वा नहुने भन्ने कुरा बुझाउँछ।
दोस्रो, प्रविधि र पहुँचको सिकाइ।
अमेरिकाको अनुभवबाट नेपालले विद्युतीय भोटिङ मेसिन, बायोमेट्रिक भेरिफिकेसन र अनलाइन रजिस्ट्रेसन जस्ता विषयमा सिक्न सक्छ। लेखकले प्रविधिको लचिलोपनको प्रशंसा गरेका छन् र नेपालको आगामी मार्ग पनि यही हुन सक्ने संकेत गरेका छन्।
तेस्रो, अहिलेको निर्वाचनको मूल कुरा भनेको मिसइन्फर्मेसन र डिजिटल चुनौती नै हो।
किताबले सन् २०२४ अमेरिकी निर्वाचनमा एआई र सोसल मिडियाको भूमिका उल्लेख गरेको छ। नेपालमा पनि टिकटक र फेसबुकमार्फत निर्वाचन प्रभावित हुने अवस्थामा यो किताबले निर्वाचन आयोग, मिडिया र नागरिक समाजलाई सामाजिक सञ्जालको प्रयोगबारे सचेत बनाउँछ।
चौथो, निर्वाचन खर्च र वित्त प्रणाली। पुस्तकले अमेरिकी निर्वाचनमा हुने 'असीमित र अपारदर्शी' खर्चको प्रभावलाई गम्भीरता साथ उठाएको छ। नेपालमा पनि मौलाउँदो खर्चिलो निर्वाचन प्रणालीका लागि यो एउटा ठूलो पाठ हुन सक्छ।
पाँचौं, मतदाता पहुँच र सहजता।
अमेरिकामा अपनाइने पोस्टल भोटिङ, अर्ली भोटिङ र अबसेन्टी भोटिङ जस्ता अभ्यासहरूले मतदातालाई कति सहज बनाएको छ भन्ने कुरामा थपलियाले जोड दिएका छन्। नेपालमा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तयारी भइरहँदा यी बुँदा अत्यन्त सान्दर्भिक र सिक्न लायक छन्।
समग्रमा, यो किताब नेपालका आगामी निर्वाचनका लागि अति नै उपयोगी छ।
यो मतदाता, राजनीतिक दल, निर्वाचन आयोगका कर्मचारी, पत्रकार र युवा कार्यकर्ताका लागि पाठ्य सामग्री बन्न सक्छ। अमेरिकी प्रणालीका सफलता र असफलताबाट नेपालले सिक्न सक्ने कुरा उजागर गरेको हुँदा यस किताबले समयानुकूल महत्व राख्छ।
किनकि नेपालमा हालको राजनीतिक अस्थिरता, मिसइन्फर्मेसन र युवा असन्तुष्टिको अवस्थामा यो किताबले समाधानका उपायहरू दिएको छ। यसका सिकाइले कालान्तरमा नेपालको निर्वाचनलाई थप विश्वसनीय बनाउन मद्दत पुग्छ।
अमेरिकी निर्वाचनले विश्वव्यापी लोकतन्त्रमा पारेको प्रभाव
किताबले अमेरिकी निर्वाचनलाई केन्द्रमा राखेर यसको विश्वव्यापी प्रभावलाई पनि छोएको छ। अमेरिका लोकतन्त्रको 'मोडल' मानिने हुँदा अमेरिकी निर्वाचनले विश्वव्यापी लोकतन्त्रमा ठूलो प्रभाव पार्छ। सन् २०२४ को निर्वाचनमा ट्रम्पको जितले विश्वमा लोकतान्त्रिक पछौटेपनको चिन्ता बढाउनुका साथै लोकतन्त्रमाथि बेलाबेलामा प्रश्न उठ्ने गरेको छ।
विश्वव्यापी रूपमा अमेरिकी निर्वाचनमा देखिने मिसइन्फर्मेसन, विदेशी हस्तक्षेप र धनाढ्य वर्गको प्रभावजस्ता क्रियाकलापले अन्य देशहरूमा पनि लोकतन्त्रलाई प्रभावित पार्न सक्छन्। किताबले यो प्रभावलाई अमेरिकी 'विचित्र' पक्षका रूपमा व्याख्या गर्छ, जसले नेपालजस्ता विकासशील लोकतन्त्रहरूलाई सतर्क रहन प्रेरित गर्छ।
किताबले अमेरिकी प्रणालीलाई विश्वमा उत्कृष्ट 'परिपक्व तर अनिश्चित' रूपमा चित्रण गर्छ।
उदाहरणका लागि, इलेक्टोरल इन्टेग्रिटी प्रोजेक्टमा अमेरिका पश्चिमी लोकतन्त्रहरूमा कमजोर देखिन्छ भने फ्रिडम हाउसमा यसको अंक ११/१२ छ। विश्वव्यापी रूपमा अमेरिकी इलेक्टोरल कलेज र विकेन्द्रीकृत व्यवस्था अनौठो छ, तर प्रत्यक्ष निर्वाचन प्रणालीको तुलनामा यसलाई कम लोकतान्त्रिक मानिने तर्क पनि छ।
किताबले यसलाई 'गजब' तर 'विचित्र' रूपमा देखाउँछ, जसले नेपाली पाठकहरूलाई आफ्नो प्रणाली सुधार्न प्रेरित मात्र गर्ने नभई अमेरिकी पद्धतिलाई पनि आलोचनात्मक रूपमा हेर्न सिकाउँछ।
किताब धेरै राम्रो छ, तर यदि दोस्रो संस्करण वा अर्को किताब लेख्ने हो भने नेपाल–अमेरिका प्रत्यक्ष तुलनात्मक अध्याय थपेर एउटा छुट्टै अध्यायमा नेपालको प्रत्यक्ष र समानुपातिक प्रणालीको तुलना अमेरिकाको इलेक्टोरल कलेज, बहुदलीय प्रणालीको तुलनामा दुई–दलीय व्यवस्था, खर्च सीमा र मतदाता शिक्षाजस्ता विषयसँग गर्न सकेको भए अझ प्रभावकारी हुन सक्थ्यो।
निष्कर्ष– एउटा प्रेरणादायी योगदान
दिनेश थपलियाको 'विचित्रको लोकतन्त्र, गजबको निर्वाचन' नेपालको लोकतान्त्रिक यात्रामा एउटा महत्त्वपूर्ण कृति हो। यो किताबले हामीलाई अमेरिकी प्रणालीको 'गजब' पक्ष मात्र होइन, 'विचित्र' चुनौती पनि देखाउँछ। स्पष्ट रूपमा भन्नुपर्दा लोकतन्त्र पूर्ण हुँदैन, तर सुधार सम्भव छ र यो सुधार हुँदै जाने प्रक्रिया हो।
नेपालको आगामी निर्वाचनहरूमा यो किताब पढेर मतदाता, उम्मेदवार र नीति निर्माताले आफ्नो भूमिका राम्रोसँग बुझ्न सक्छन्। लेखकलाई बधाइ तथा शुभकामना।
***
(लेखक रमेश अधिकारीले तीन दशक सुशासन तथा निर्वाचन प्रक्रियामा नेपालसहित श्रीलंका र अफगानिस्तानमा काम गरेका छन्। उनका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)