शुक्रबार झापाको बिर्तामोडमा कवि नवराज पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको छ।
दिउँसो २ बजेदेखि बिर्तामोडस्थित होटल किङ्सवरीमा नेपाली साहित्यको प्रवद्र्धनमा सक्रिय संस्था 'नेपाली साहित्य डटकम' ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
कवि पराजुलीको चर्चित पुस्तक ‘सगरमाथाको गहिराइ’ प्रकाशनको दसौं वर्ष पूरा भएको अवसरमा यो विशेष कार्यक्रम गर्न लागिएको नेपाली साहित्य डटकमका निर्देशक अर्जुन उप्रेतीले बताए।
कार्यक्रममा सहभागी दर्शकहरूले करिब दुई घण्टा लामो कविको एकल प्रस्तुति सुन्न पाउनेछन्। साथै, प्रत्येक टिकटधारी दर्शकलाई 'सगरमाथाको गहिराइ' पुस्तकको एक प्रति प्रदान गरिने कविता कन्सर्टकी संयोजक सुनिता तामाङले बताइन्।
उनका अनुसार दर्शकलाई कविको हस्ताक्षरसहित पुस्तक उपलब्ध गराइनेछ, जसले दीर्घकालमा पठन संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
'सगरमाथाको गहिराइ' पुस्तक वि.सं. २०७३ सालमा पद्मश्री साहित्य सम्मानबाट सम्मानित भएको थियो।
कार्यक्रममा विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न विभिन्न विद्यालयहरूसँग सहकार्य गरिएको छ। विद्यालय संयोजक राज शर्माका अनुसार झापाका क्यानरी एकेडेमी, चिल्ड्रेन इन्भाइरोन्मेन्ट स्कुल, रूपरत्न मेमोरियल स्कुल, बेल्स मोडल स्कुल, इस्ट होराइजन इङ्लिस बोर्डिङ स्कुल, कचनकवल विद्यामन्दिर, सिग्मा इन्टरनेशनल स्कुल, पशुपति बोर्डिङ स्कुल लगायतका विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराउने भएका छन्।
विद्यालयका प्रधानाध्यापकहरूले यस्ता साहित्यिक कार्यक्रममा विद्यार्थीहरूको सहभागिताले नेपाली भाषाप्रति रूचि बढाउनुका साथै अभिव्यक्त क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
विश्वका १७ देशमा कविता कन्सर्ट गरिसकेका कवि पराजुलीले झापामा हुने यस कार्यक्रममार्फत 'सगरमाथाको गहिराइ'प्रति देश-विदेशका नेपालीहरूले देखाएको माया र समर्थनप्रति आभार व्यक्त गर्ने योजना रहेको प्रचार संयोजक विवेक निशानीले जानकारी दिएका छन्।