गएको साता सेयर बजार परिसूचक नेप्से लगातार तीन दिन घट्यो।
दुई दिन २५ देखि २६ अंकसम्म घटेको नेप्से अन्तिम दिन पाँच अंकले मात्रै घट्यो।
घट्ने दर कम हुँदै जानुले बजार थप घट्न रोकिन सक्ने संकेत गर्छ।
चैत १० गते २९६० विन्दुमा रहेको नेप्सेले गएको बिहीबारसम्म दुई सय २२ अंक गुमाइसकेको छ। बिहीबार बजार बन्द हुँदा २७३८ विन्दुमा रह्यो।
चैत १० यता नेप्से एक पटक २६७६ विन्दुसम्म पुगेर सुधारको प्रयासमा थियो। पछिल्ला दिनमा बजार उच्च दरमा घटबढ देखिँदै आएको छ।
त्यसो भए अब बजार कसरी अगाडि बढ्ला?
आज हामीले बजारलाई चलनचल्तीका तीन प्राविधिक विश्लेषणका औजारबाट हेरेका छौं।
मैनबत्ती चित्र
विगत नौ कारोबार दिनमा नेप्सेले एक दिनबाहेक हरेक दिन साना ठूला आकारका राता मैनबत्ती आकृति बनाएको छ। बजार खुलेको समयभन्दा नेप्से परिसूचक तल पुगेर बजार बन्द हुँदा रातो मैनबत्ती आकृति बनेको हो।
पछिल्लो तीन दिनमा सुरूका दुई दिन लामा लामा राता मैनबत्ती बनेका छन्। यसले बजारमा उच्च बिक्री बढेको संकेत गर्छ। अन्तिम दिन बिहीबार भने तल्लो लामो धागो भएको 'दोजी' आकृति बनेको छ।
यसले सुरूमा बजारमा उच्च बिक्री देखिए पनि पछि भने खरिददारी बढ्दै गएको र सेयरहरूले मूल्य पाउँदै गएको देखाउँछ। यो दिन नेप्से २७०८ विन्दुसम्म पुगेर फर्किएको थियो।
यसले बजार थप घट्न रोकिन सक्ने संकेत गर्छ। तर यो नै दरिलो संकेत भने होइन। सोमबारको बजार दोहारो अंकले बढेमा भने केही दिन बजार बढ्न सक्ने देखिन्छ।
सामान्यतया बजारमा सय जस्ता शून्य अंक रहेका विन्दुहरूलाई मनोवैज्ञानिक विन्दु मानिन्छ। नेप्से २७ सयको यस्तै विन्दुबाट बढ्ने प्रयासमा रहेको संकेत गरिरहेको हो।
मुभिङ एभरेज
नेप्सेको रेखा चित्रमा बनाइएको ५० दिने र २०० दिने मुभिङ एभरेजले बिहीबारसम्म बजारमा बुलिस प्रवृत्ति कायमै रहेको देखाइरहेको छ। अहिले पनि २०० दिने रेखामाथि ५० दिने रेखा छ। यो अवस्था भनेको बजार बुलिस प्रवृत्तिमा छ भन्ने हो।
यदि २०० दिने रेखामुनि ५० दिने रेखा आएमा बजार वियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ।
यी दुई रेखाबीचको दुरी कम भएको छैन। एक अर्काबीच दुरी कायम राखेरै यी अगाडि बढिरहेका छन्।
आरएसआई
नेप्सेमा १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) हेर्दा अहिले यो ० देखि १०० सम्मको स्केलमा २२.९९ विन्दुमा छ।
अहिले बजारमा उच्च बिक्री चाप रहेको यसले संकेत गरिरहेको छ।
आरएसआई स्केलको ० देखि ३० सम्म हुँदा यो सूचकले बजारमा तीव्र बिक्री हाबी भएको र बजार अवमूल्यन भएको संकेत गर्छ। यसले ढिलो, चाँडो बजार फर्किन सक्ने संकेत गर्छ।
त्यस्तै, ३० देखि ७० सम्मको सूचकले बजारमा खरिद–बिक्री सन्तुलित अवस्थामा रहेको देखाउँछ।
७० देखि १०० सम्मको सूचकले बजारमा आक्रामक रूपमा खरिददारी बढेको र बजार उच्चदरले अधिमूल्यन भएको संकेत गर्छ। र, बजार ढिलो चाँडो उचाइबाट फर्किन सक्ने संकेत गर्छ।
आरएसआई सूचक लिने अवधि फरक फरक हुन सक्छ। बजारमा १४ दिनको अवधि लिने परिपाटी धेरै छ। आरएसआई सूचक पनि कसरी घटबढ भइरहेको छ, याद गर्नुपर्छ। हाल यो एकोहोरो घटेको छैन, सामान्य घटबढ भइरहेको छ।
यी सूचकले मात्र पनि बजारको पूर्ण अवस्था देखाउँदैन।
लगानीकर्ताले विभिन्न सूचकहरूको आधारमा लगानी रणनीति बनाउनु सही हुन्छ।