पुस्तक समीक्षा
चिनियाँ कम्युनिस्ट पार्टी ‘सीपीसी’ केन्द्रीय समितिको पार्टी स्कुलका प्राध्यापक र अनुसन्धानकर्ता शन चुआनलियाङद्वारा लेखिएको किताब हो ‘सीपीसीले कसरी निर्णय लिन्छ?’
यस किताबले सीपीसीको इतिहासदेखि वर्तमान अवस्थासम्मको विकासका सँगै यसले गर्ने निर्णय तथा कार्यशैलीका बारेमा गहन उदाहरणसहित व्याख्या गरेको छ।
सन् १९४९ देखि सीपीसीले चीनमा अभिछिन्न शासन गरिरहेको छ। स्थापनाको १०५ वर्षको इतिहास र ७७ वर्षको शासकत्व अनुभव बोकेको सीपीसीले गर्ने निर्णय र ती निर्णयको कार्यान्वयनका बारेमा चीनमा मात्र नभई विश्वका अधिकांश देशले चासो राख्दै आएका छन्। यही चासोलाई सम्बोधन गर्ने काम यस पुस्तकले गर्दछ।
चीनमा ७७ वर्षको शासनकालसँगै सन् १९७८ देखि चीनमा सुरू भएको सुधार र खुलापनपछि चीनले नयाँ राजनीतिक ढाँचा विकास गरेको छ। उक्त ढाँचाको न्वारान पनि चीनले नै गरेको छ ‘चिनियाँ शैलीको बजारमूलक समाजवादी व्यवस्था’।
सी चिनफिङ सत्तामा आएपछि नयाँ टर्मिनोलोजी थपिएको छ ‘नयाँ युगमा चिनियाँ चरित्रको समाजवादमा सी चिनफिङ विचारधारा’। राजनीतिक परिपाटीको नाम जेसुकै भए पनि चीनले भौतिक पूर्वाधारमा गरेको विकास र आर्थिक छलाङले एक्काइसौँ शताब्दीमा विश्व हाँक्ने एकाधिकार पाएको घोषणा गरेको अमेरिका पनि कायल भएको छ। अरूका लागि फलामका च्युरा मानिने उपलब्धिका पछाडि पनि सीपीसीले गर्ने निर्णय नै मियो भएकाले यो पुस्तक चीन र चिनियाँप्रति चासो राख्ने हरेकाका लागि पठनयोग्य छ।
चिनियाँ कम्युनिस्ट पार्टीले नीतिगत छनोट र कार्यान्वयन कसरी गर्छ भनेर यस पुस्तकले व्याख्या गरेको छ।
प्रभावकारी निर्णय लिने कार्य नै सीपीसीको शासन सफलताको केन्द्रबिन्दु रहेको भन्दै यसका लागि ‘एक अभिमुखीकरण र छ स्तम्भहरू’ भनेर बुँदागत रूपमा वर्णन गरिएको छ।
पुस्तकमा व्यक्त एक अभिमुखीकरणमा सीपीसीको जनतामुखी दृष्टिकोण हो भनिएको छ। जनतालाई केन्द्रमा राख्ने र जनताका विषय सधैं प्राथमिकतामा राख्ने कार्यले गर्दा सीपीसीका सबै निर्णयहरू व्यापक जनताका हितमा आधारित हुने किताबमा दाबी गरिएको छ।

यसैगरी निर्णय लिने छ वटा स्तम्भहरूमा लोकतान्त्रिक परामर्श; माथिदेखि तलसम्म र तलदेखि माथिसम्मको निरन्तर अन्तरक्रिया; निरन्तर नीति विकास; विज्ञानको सम्मान; कानुन पालना गर्ने प्रक्रियाहरू र कार्यान्वयन दक्षता रहेका छन्। चीनले निर्णय गरेका विकास योजनालाई व्यवस्थित, तर्कसंगत र आन्तरिक रूपमा लोकतान्त्रिक रूपमा अगाडि बढाउँदै सफल कार्यान्वय गर्ने गर्छ। चीनले आफ्ना योजनालाई राजनीतिक विचारभन्दा पनि राजनीतिक विज्ञानका केन्द्रित गर्दछ।
किताबमा सीपीसीका निर्णय प्रकिया यसरी गरिन्छ भनेर बुँदागत रूपमा ट्वाक्क नबताइकन यसका संरचनात्मक रूपरेखा प्रस्तुत गरेर इतिहासदेखिका दस्ताबेजहरू राखेको छ। उल्लिखित एक अभिमुखीकरण र छ स्तम्भहरूका वरिपरि रहेर पाठकहरूलाई औपचारिक र अवधारणात्मक रूपमा निर्णयहरू कसरी गरिन्छ भन्ने बारे प्रष्ट्याउने काम गरेको छ।
यो पुस्तकले सीपीसी गर्ने निर्णय प्रक्रियालाई एक केन्द्रबिन्दु र छवटा आधार स्तम्भमा राखेर व्याख्या गरेको छ। चीनमा तङ स्याओफिङले सन् १९७८ मा सुरू गरेको सुधार र खुलापनको नीति पछिका विभिन्न ऐतिहासिक निर्णयहरूलाई पुस्तकमा उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
सन् १९७८ मा सम्पन्न सीपीसी एघारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकबाट भएका निर्णयलाई कोशेढुङ्गा मानिएको छ। उक्त बैठकले पार्टीको ध्यान वर्ग सङ्घर्षबाट हटाएर आर्थिक निर्माणमा केन्द्रित गर्ने ऐतिहासिक निर्णय भएको थियो। सोही बैठकले सीपीसीलाई सामूहिक नेतृत्व, तहगत छलफल र जनताका आवश्यकतालाई केन्द्रमा राख्ने निर्णय सुरु भएको उल्लेख गरिएको छ।
सीपीसीले गरेको अर्को महत्वपूर्ण निर्णयका रूपमा विशेष आर्थिक क्षेत्रको स्थापना हो। पुस्तकमा यस बारेमा व्याख्या गर्दै उक्त निर्णयलाई पनि अर्को कोशेढुङ्गा मानिएको छ।
सन् १९७९ जुलाई १५ मा सीपीसीले सुधार र खुलापनलाई टेवा दिने गरी विशेष निर्णय गरेको थियो। उक्त निर्णय अनुसार शनचन, शान्थौ, चुहाई र सियामन चारवटा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो। हङकङको ठीक वारिपट्टि रहेको शनचन सहर विश्वकै सबैभन्दा कान्छो सहर भए पनि सबैभन्दा तीव्र विकास भएको मानिन्छ।
चीनलाई खुला र सुधारको मार्गदर्शन नीति अवलम्बन गर्ने नेता तङ स्याओ फिङले शनचनमा विशेष आर्थिक क्षेत्र स्थापना नीति पार्टीमा प्रस्ताव गर्दा उक्त ठाउँ गरिब माझीहरूको सानो तटवर्ती क्षेत्र मात्र थियो। चार दशकको छोटो समयमै शनचन विश्वका अत्याधुनिक सहरका लहरमा उभिएको छ। विशेष आर्थिक क्षेत्र स्थापना गर्ने निर्णय चीनमा प्रयोगात्मक रूपमा नयाँ नीति लागू गर्ने, परिणाम हेर्ने, त्यसपछि विस्तार गर्ने 'क्रमिकवाद' अन्तर्गत निर्णय प्रक्रियाको एउटा उदाहरण हो।
सुधार र खुलापनलाई फराकिलो गराउने सीपीसीको अर्को निर्णय विश्व व्यापार संगठनमा सामेल हुनु पनि हो। चीन सन् २००१ डिसेम्बर ११ मा विश्व व्यापार सङ्गठनको १४३ औँ सदस्यका रूपमा औपचारिक रूपमा आबद्ध भएको थियो। यसअघि २००१ नोभेम्बर १० मा कतारको राजधानी दोहामा भएको डब्लुटीओको चौथो मन्त्रीस्तरीय सम्मेलनले चीनको सदस्यता स्वीकृत गरेको थियो। उक्त सदस्यता हासिल गर्न चीनले सन् १९८६ देखि प्रयास गरेको थियो। नेता तङको नेतृत्वमा भएको प्रयास तङको देहान्तपछि मात्र प्राप्त भयो। नेता तङको देहान्त सन् १९९७ मा भएको थियो।
डब्लुटीओको सदस्य बन्न चीनले आफ्नो आर्थिक प्रणाली र कानुनी ढाँचामा व्यापक सुधार गर्ने सहित धेरै ठोस प्रतिबद्धताहरू गरेको थियो। जसमा भन्सार दर घटाउने, बजार पहुँच विस्तार, कानुन तथा नियमहरूको सुधार, बौद्धिक सम्पत्ति अधिकारको संरक्षण, कृषि सम्बन्धी प्रतिबद्धता लगायतका प्रतिवद्धताहरू चीनले पूरा गरेको थियो।
यी नीतिगत सुधारले चीनलाई विश्व अर्थतन्त्रमा एकीकृत हुन र व्यापारिक सम्बन्धहरू विस्तार गर्न मद्दत गर्यो। यही दुरगामी निर्णयले गर्दा आज चीनको अर्थतन्त्र र विकासले विश्वलाई आश्चर्य बनाएको छ।
विश्व व्यापार सङ्गठनमा सामेल हुने कि नहुने भन्ने विषयमा चीनमा निकै गहन र लामो बहस भएको थियो। सीपीसीभित्र आन्तरिक रूपमा लामो बहससँगै चीनका विभिन्न मन्त्रालयहरूबीच समन्वय र अन्तर्राष्ट्रिय अवस्थाको विश्लेषण गरिएको थियो। पुस्तकले यसलाई 'वैज्ञानिक निर्णय' र 'कानुनी प्रक्रिया' का उदाहरण भनी व्याख्या गरेको छ।
सीपीसीले चीनमा गरेको अर्को महत्वपूर्ण निर्णय ग्रामीण कर उन्मूलन थियो। सन् २००६ मा स्थानीय तहमा भएको प्रयोग, जनताको प्रतिक्रिया र तथ्याङ्कीय अध्ययनपछि केन्द्रबाट निर्णय गरियो। निर्णयको यो प्रक्रियालाई 'तलदेखि माथि र माथिदेखि तल' अन्तरक्रियाको उदाहरण भनिएको छ।
उल्लिखित निर्णयका उदाहरणहरू पुस्तकमा प्रक्रियाका आधारस्तम्भहरू (जनकेन्द्रित, लोकतान्त्रिक परामर्श, वैज्ञानिकता, कानुनी बन्धन, क्रमिक कार्यान्वयन) लाई स्पष्ट पार्न प्रयोग गरिएका छन्।
नेपालका धेरै राजनीतिक दल (विशेषगरी कम्युनिस्ट नामधारी पार्टीहरू) का नेता तथा कार्यकर्ताहरूले नियमित रूपमा चीनको भ्रमण गर्दछन्। चीन भ्रमणका क्रममा उनीहरूले चिनियाँ विकास मोडलहरूलाई नजिकबाट बुझ्ने क्रममा स्थलगत अवलोकन तथा अध्ययन भ्रमण पनि हुने गरेका छन्। एक अर्ब ४० करोडभन्दा बढी जनसंख्या भएको मुलुकलाई यति लामो समयसम्म शासन गर्नु चानचुने कुरा हुँदै होइन। त्यसकारण सीपीसीले कसरी काम गर्छ भन्ने बारेमा नेपालका सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूलाई चासो छ। त्यसकारण पनि सीपीसीले आफ्नो शासनलाई कसरी प्रभावकारी बनाउँछ र जनता बीचमा यति लोकप्रिय किन छ भन्ने कुरा थाहा पाउन पनि सीपीसीले कसरी निर्णय गर्छ भन्ने थाहा पाउन आवश्यक छ।
पुस्तकमा सीपीसीले नीति निर्माणलाई तर्कसंगत, परामर्शदायी र विज्ञान-आधारित कार्यलेको विश्लेषणले किताबलाई थप गहन बनाएको छ।
पुस्तकले सीपीसीका कोरा राजनीतिक प्रणालीको सैद्धान्तिक व्याख्या नगरिकन शैक्षिक विषय र तालिम पुस्तिकाका रूपमा नीति कार्यान्वयन र परिणामहरूलाई जोड दिएको छ।
यो पुस्तक विश्लेषणात्मकभन्दा पनि सामान्य खालको छ। यसले सीपीसीको दृष्टिकोणलाई वैज्ञानिक, लोकतान्त्रिक र प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
यसले चिनियाँ नीति दर्शाउने कामसँगै चिनियाँ नरम शक्ति ‘सफ्ट पावर’को वकालत गर्दछ। यो पुस्तक पढेपछि चीनको आलोचना गर्ने व्यक्ति पनि चिनियाँ दृष्टिकोणप्रति सद्भाव र सहानुभूति राख्ने मनस्थितिमा पुग्छ।
यसका लेखक शन चुआनलियाङचिनियाँ कम्युनिस्ट पार्टीको पार्टी स्कुलसँग सम्बद्ध छन् र उनी सीपीसीको इतिहास र वर्तमान पद्धतिका बारेमा धुरन्धर विद्वान मानिन्छन्। उनले सीपीसी र चिनियाँ राज्य विचारधारालाई वस्तुनिष्ठ सामाजिक विज्ञानमा राखेर विश्लेषण गर्दै आन्तरिक राजनीतिक लक्ष्यलाई प्रतिबिम्बित गरेका छन्।
अमेरिका र उसका गठबन्धन शक्तिले सीपीसीमा वास्तविक निर्णय प्रक्रियाहरू बढी केन्द्रीकृत, कम पारदर्शी र अभिजात वर्ग शक्ति गतिशीलताको अधीनमा छन् भनेर आलोचना गर्ने गर्छन्। पुस्तकले यस्ता आलोचनालाई अस्वीकार गर्दै चीनमा वैज्ञानिक व्यवस्था छ भन्ने कुराको पुष्टि गरेको छ।
पुस्तकले चीनमा सीपीसीले विकास गरेको लोकतान्त्रिक र वैज्ञानिक प्रक्रियाको दाबीलाई थप व्याख्या गरेको छ भने यसले चीन र चिनियाँ शासन पद्धति बुझ्न पनि सहज बनाएको छ। विशेष गरी चिनियाँ कम्युनिस्ट पार्टीको आन्तरिक भाषा र शासनको अवधारणात्मक रूपरेखा बुझ्न खोज्ने पाठकहरूका लागि यो निकै उपयोगी छ।
यो पुस्तक चिनियाँ नीति निर्माणमा एक अन्तर्दृष्टिपूर्ण सीपीसीको आधिकारिक दृष्टिकोण पनि हो। यसले सीपीसीको निर्णय प्रणालीलाई बुझाउँदै आधिकारिक, आन्तरिक व्याख्या प्रदान गर्दछ र चीनमा सामूहिक नेतृत्व, पार्टी संरचना भित्र लोकतान्त्रिक परामर्श, सहमति पछि केन्द्रीकृत कार्यान्वयन, दीर्घकालीन रणनीतिक योजनालाई प्रष्ट्याउने काम गर्छ। अनि यसले पार्टी अनुशासन, क्याडर शिक्षा, नीति व्याख्यार वैचारिक प्रशिक्षणकाकाम गर्दछ।
पुस्तकले सीपीसीभित्र नीति निर्माण व्याख्या गर्ने एक व्यवस्थित तरिका रहेको प्रकाश पार्छ। सीपीसीको विचारधारा, परामर्श, कानुन, विज्ञान र कार्यान्वयनलाई आपसमा जोडेर पूर्ण र अन्योन्याश्रित रहेको देखाउँछ। निर्णय लिने क्रममा नीतिगत परिणामसँग जोड्ने रूपरेखा प्रस्तुत गर्दै केन्द्रीय अधिकार, आन्तरिक लोकतन्त्र, प्राविधिक विशेषज्ञता, शासन प्रणालीआदिका बारेमा पाठकका तिर्सनालाई मेट्ने काम गर्छ। यसले चीनमा विद्यमान नीतिगत स्थिरता र निरन्तरतालाई बुझाउँछ।
क्रमिकतावादसँगै चीनले लागू गरेका गुरू योजनाहरू, जोखिम नियन्त्रण, दीगो विकास, प्रकृतिसँगको सदभावपूर्ण विकास जस्ता नवीन विषयमाथि पनि किताबले प्रकाश पारेको छ। चीनमा अन्य देशमा जस्तो धेरै बहुलवादी राजनीतिक प्रणालीभन्दा फरक नीति छ। अनि चीनमा लोकतन्त्रको उत्कृष्ट नमूना छ भनेर पनि चिनियाँ नेताले दावी गर्दछन्। त्यसकारण चिनियाँ नीतिसँगै चिनियाँ नेतृत्वको निरन्तरता बुझ्नका लागि पनि यो पुस्तक महत्त्वपूर्ण छ। चिनियाँ निर्णयहरू व्यक्तिगतभन्दा संस्थागत रूपमा कसरी विकास गरिन्छ भनेर पनि यसले बुझाउँछ।
पश्चिमा पुँजीवादी राजनीतिक पक्षधरका लागि पनि यो पुस्तक महत्वपूर्ण छ किनभने चीनको आलोचना गर्नका लागि पनि उनीहरूले सीपीसीले कसरी निर्णय गर्छ भन्ने थाहा पाउनुपर्छ।
सन् २०१९ मा चाइना इन्टरकन्टिनेन्टल प्रेसद्वारा प्रकाशित यो पुस्तकलाई चिनियाँ भाषाबाट अंग्रेजी भाषामा अनुवाद गरिएको छ। अंग्रेजी भाषामा अनुदित पुस्तक २२० पृष्ठको छ र यसको मूल्य ९८ चिनियाँ युआन (लगभग २ हजार २ सय नेपाली रुपैयाँ) रहेको छ।
(सबै फोटो उही पुस्तकबाट)