'राजा–महाराजाहरूको प्रशस्तीले लतपतिएको इतिहासमा खप्तडी, खुलाल, श्रीपाली, कालीकोटे र सिँजापति पैकेलाहरूको इतिहास कतै लेखिएको छैन। जबसम्म यी खस पञ्चमूलको सांस्कृतिक इतिहास लेखिँदैन, तबसम्म हाम्रो इतिहास अधुरो हुन्छ, अपूरो हुन्छ।'
माथिको प्रसंग उपन्यास 'पैकेलो' को हो। जसलाई ओम रिजालले लेखेका हुन् ।
अब खोज्नु पर्नेछ, खप्तडी, खुलाल आदि यी खस पञ्चमूल को हुन्? ती कताबाट आए? किन यिनको इतिहासको खोजीको तातो लाग्यो लेखकलाई? ओम रिजाल यात्राविम्ब (कविता संग्रह), रूँदै बग्दो छ मुगु कर्नाली (यात्रानिबन्ध), हटारु (उपन्यास) हुँदै 'पैकेलो' सम्म आइपुगेका बलिया लेखक हुन्। उनी भावना र कल्पनाको तलाउमा गोता मारेर सिपी खोज्ने गोताखोर हुन्। 'पैकेलो' मा कोरा भावना र कल्पनाका फूल उनिएको छैन। इतिहास र पुरातत्त्वले नपत्याउने गुमनाम तर लोकमा स्थापित एक प्रसिद्ध वीरगाथा उपन्यासको केन्द्रमा छ। गाथाको भावना र कल्पनाको मांसलता भरेर निर्माण गरिएको एक सुन्दर पिरामिड, उपन्यासको कथानक हो।
खस पञ्चमूल मात्र होइन, सिंगो खसकै मूल प्रवाह क्षेत्र, तिनको गति र मति खोजीका अनेक प्रयत्न भएका छन्। द्वापरयुगीन महाभारतको कुरूक्षेत्र युद्धमै किराँत, शक आदि जनजातिसँगै मागिएको सहयोगार्थ युद्धमा सहभागी भएका सिन्धुपारिका धनुर्विद्या र अन्य पहाडि युद्धकलामा निपुण खसको उल्लेख यसरी गरिएको छ:
खशा: किराता: शकयवनाश्च
सिन्धो: परे चापि निवासिनो ये
ते सर्वे राजानमभिप्रयाता
दुर्योधनं यद्धकृतं सहाया ।।
त्यसैगरी ऐतिहासिक रूपले पुष्टि नभए पनि (नलेखिए पनि) आजभन्दा २३/२४ सय वर्षपूर्व अर्थात् ई.पू. ३०० तिर मगधको सिंहासनमा सम्राट अशोकलाई गद्दीमा राख्न तीन जना खस पैकेलाहरूले मद्दत गरेको देखिन्छ। त्यति बेला मगध सेनामा पैकेलाहरूलाई प्राथमिकता दिइने तथ्य यसबाट पुष्टि हुन्छ।
खस जातिकै आगमन र आदिभूमिका विषयमा पनि थुप्रै खोज अनुसन्धान र लेखन भएका छन्। किराँतसँग खसहरूको सम्बन्ध र कतिपय सांस्कृतिक समानताले आरम्भमा खस पनि शैव सम्प्रदायकै भएजस्तो देखिन्छ। यद्यपि यिनमा आफ्ना केही मौलिकता पनि पाइन्छन्। शैव धर्म र सम्प्रदाय वेदभन्दा अगाडिको देखिन्छ।
यसबाट प्रश्न उठ्छ, मूलस्थली कसेससबाट लामो यात्रा पूरा गर्दै, सुमेर सभ्यताका दजला र फरातका बाढी र प्रलय लगायतका थुप्रै आद्यस्मृतिविम्ब, टोटेमहरू बोकेर मेसोपोटामिया, इरान हुँदै मध्य भारतको गङ्गाको मैदानमा आएर आरम्भदेखिका परम्परा, अनुभव, अनुभूति र विश्वासलाई ऋचाबद्ध गर्दै वेद निर्माण गर्नुपूर्व नै फाटेर बाल्हिक क्षेत्रमा बसोबास गरी त्यहाँबाट काश्मीर, गढवाल, कुमाउँ हुँदै पश्चिम नेपालबाट पसेर गुंगे, पुराङ, चपराङ र पूर्वसम्म क्रमशः फैलिँदै गएको भनिने खस जाति र किराँतको सांस्कृतिक, सामाजिक निकटता र कतिपय कुरामा समानता कसरी? तर्कले उत्तर दिने प्रयत्न गरिए पनि यस प्रश्नले थप अध्ययन माग गर्छ।
प्राचीन ह्वेनसाङ, फाहियानहरूले त विशेषतः बौद्ध धर्मसँग सम्बन्धित सूचना र सामग्रीको बढी खोजी गरे, त्यस्तै स्थानको भ्रमण बढी गरे। त्यसपछि पनि थुप्रै विदेशी विद्वानहरूले नेपाल र नेपालीबारे त लेखे तर पश्चिम नेपाल, पश्चिम तिब्बत, खस आदिबारे उल्लेखनीय खोज गरेनन्।
पूर्वमध्यकालका खस मल्ल शासक र तिनका दरबारका, पण्डित पुरोहित र लोक इतिहासकार, कलाकार, साहित्यकार, दमाई, ब्राह्मण, ज्योतिषी आदिले पनि बढीमा राजा महाराजाकै वंशावली लेखे। केही दमाईहरूले केही जात, थरको आशिका अर्थात् वंशावली गाए। ब्राह्मणहरूले मागल गाए। सुदूरपश्चिमतिर भडाहा (भडाक) गाए। जागर गाए। चैत गा । समग्रमा देवगाथा, वीरगाथा र अलिअलि सामाजिक गाथा गाए।
यो समाजका हृदयमा लेखिएको इतिहास पुरातत्त्वविद् र इतिहासकारका निमित्त इतिहास भएनन्। उत्तरमध्य काल सबै दृष्टिकोणले खस्किँदै गए पनि राजा गगनीराजको यात्रा (वि.सं. १५५५) र अन्य केही लेखोटका हिसाबले केही अगाडि बढेको देखिन्छ।
प्रजातन्त्र कालको सुरूदेखि यता इटालीका जोसेफ टुचे, नेपालका योगी नरहरिनाथ र पछि बालकृष्ण पोखरेल, सूर्यमणि अधिकारी, मोहनप्रसाद खनाल, पूर्णप्रकाश नेपाल यात्री, रत्नाकर देवकोटा आदिले खोजेर लेखे। यीमध्ये धेरैले त उनै टुचे, उनै नरहरिनाथ, उनै बालकृष्णलाई व्याख्या गरे, विश्लेषण गरे र टोपी लाए। यीबाहेक टापटुप, टिप्पनटाप्पन सयौंले गरे। सबैले हात्ती छामे। कसैले नाङ्लोजस्तो भने, कसैले खाँबोजस्तो।
लेख्नेहरूले के लेखे, कस्तो लेखे, कति लेखे, किन लेखे र लेखेर के गरे? धेरैभन्दा धेरैले गरिबी लेखे। पछौटेपन लेखे। समग्रमा अँध्यारोपन देखे। अँध्यारोपन लेखे। उज्यालोपन देखेनन्, लेखेनन्। न कैलाश लेखे, न यमल लेखे। न प्राचीन, पूर्वमध्यकालीन कर्णाली लेखे, न सिँजा लेखे। न दुल्लु लेखे, न त्यहाँका जाति, भाषा। न संस्कृति र सभ्यता नै उधिने।
मूल स्रोतसम्म नपुगी, सुनेको भरमै लेखे। जसको मूलपाठ कसैले सुन्न, पढ्न, हेर्न पाएको छैन, त्यहीबारे अनुमानमा लामालामा व्याख्या गरिए। बिचरा, पढ्नेलाई पनि के थाहा, ठूलाबडाले लेखेपछि त्यही आधिकारिक भइदियो आम पाठकलाई।
'भातु खायो शोभान साईले ताउली हाल्यो कुम्ला/जिती आयो गोरख्याय जनि मार जुम्ला।'
आधुनिक कालदेखि त उपेक्षित, तिरस्कृत र सीमान्तीकृत यो भूगोलबारे कुरा गर्नु पनि पछौटे हुनु भयो। तर आजको युगका कतिपय पहिचानवादीहरूले खास वर्गका व्यक्तिलाई देखाएर आजसम्म त्यही सुधो जाति र समुदायले देश खाएको भाष्य विस्तार गरे।
हिजो सम्भ्रान्त खस संस्कृति र सभ्यताले कागज र कलम पाएन, स्वर्ण र ताम्रपत्रमा लेख्यो, शिलापत्रमा लेख्यो। यसरी आफ्नो इतिहास दर्ज गर्यो। कथा, गाथा र गीत बनायो, आफ्नो इतिहास बचायो। आधुनिक भनिने शिक्षाबाट बाहिर परेको, पारिएको कर्णाली क्षेत्रले मौखिक रूपमा आफ्नो इतिहास गायो। लेखन, पठन र बौद्धिकतामा किनारामा धकेलियो। यसैले हुन सक्छ, साबिकको मध्यपश्चिम विकास क्षेत्र र हालको कर्नाली प्रदेश खास पुरस्कारबाट बञ्चित रह्यो। अहिलेसम्म पनि यस्तो अवस्था हुनु विडम्बना छ।
सीमान्तीकृत पैकेला जो आफै आवाजविहीन अर्थात् सबाल्टर्न छन्, तिनको वीरताको, साहसको इतिहास कसले खोजिदिने? कसले लेखिदिने? पर्यटक लेखक वा कर्पाेरेट लेखकबाट त्यो सम्भव छैन। किनकि जसले माटोलाई महसुस गरेको छैन, उसले यथार्थ लेख्न सक्दैन।
बालाराजा काशीरामको भारत, घोगीस्याल बिरीस्यालको भारत, रनी राउतको भारत, रिपु मल्लकी चाँचरी, जितारी मल्ल जालन्धरी मल्लको गाथा, लेखाडी मष्टको चैत आदि लोकले बचाएका छन्। तर, लोकतन्त्रको मालिकलाई त्यो थाहा छैन। सुदूरपश्चिमतिर सकराम कार्की, पिरु बोहोरा, भिमे कठाइत, राजा त्रिमल चनको भडाहा/भडाक मालिकाको चैत छन्, तर ती हावामा उसै उडिरहेका छन्, तिनको दस्तावेजीकरण छैन। झुसे दमाईका जाँगर, भडाहा, चैत, ढुस्को, चाली छन्, तर ती हराएका छन्। यस्तोमा लेखक ओम रिजालले हटारु हुँदै 'पैकेलो' लेखेर तिनको अस्तित्व जीवित राखेका छन्।
दैलेखको दुल्लु–आठबीस र कुमाउँमा समेत प्रचलित लोकगाथा 'बालाराजा काशीरामको भारत'लाई उपजीव्य बनाएर 'पैकेलो' लेखिएको छ।
सुदूरपश्चिमतिर बहादुर, साहसी, वीरको अर्थ बुझाउने शब्दका रूपमा पायक शब्द प्रचलित छ। त्यही पायकलाई कर्णाली प्रदेशतिर 'पैकेलो' भनिन्छ।
'पैकेलो'भित्र सयौं योद्धाहरूलाई एक्लै परास्त गर्न सक्ने वीर पैकेलो बालाराजा काशीराम र अन्य थुप्रै वीर पैकेलाहरू छन्। काशीराम आज गुमनाम देउलीगढ (देवल+ई+गढ/देवल+ई+गाड) का राजा हुन्। न इतिहास न भूगोल कतै नाम निसान नभेटिने देउलीगढ आजको दैलेखको सातलावारि सुखीपिप्लीतिर थियो कि भन्ने अनुमान छ। यो एउटा भुरे राज्यका रूपमा रहेको हुन सक्छ। अथवा, मोरङको मानगढ राज्यको करद राज्य पनि हुन सक्छ। अथवा, मानगढले करद बनाउन खोजेको तर देउलीगढ करद नभएको राज्य पनि त हुन सक्छ।
मानगढको अस्तित्व स्वीकार नगरेको र परापुर्खाबाट आत्मसम्मानपूर्वक बसेको आत्मनिर्भर स्वाभिमानी राज्यजस्तो देखिन्छ, देउलीगढ। तर उसमाथि मानगढले सायद कर नदिएको, सिर्तो नबुझाएकोले देउलीगढ राज्यका मूल पैकेला मोरङसँग लडेका छन्। मानगढसँगको युद्धमा पैकेला कसरी लडे ? हार भयो कि जित ? उपन्यास पैकेलोमा काँडा उमार्ने गरी चित्रण गरिएको छ।
देउलीगढका राजादेखि रैतीसम्मका सम्पूर्ण पैकेलाहरू मारिनबाट नडराउने र वीरतापूर्वक लडेर बरु युद्ध मैदानमा हाँसीहाँसी मर्न तयार हुने वीर, बहादुर, साहसी योद्धा (पैकेला) थिए भन्ने देखिन्छ।
खस जाति प्रायः पहाड–हिमालमै बढी बस्ने र प्राचीन, मध्यकालीन खसान, जडान दुवै क्षेत्रको सान, सौकत, आर्थिक, सामाजिक, राजनीतिक, रणनीतिक आधार घोडापालन नै भएकाले यो सेनाको आधार घोडा हो भन्ने देखिन्छ। स्वयम् बालाराजा काशीरामले पनि घोडामै सवारी चलाउने गरेको देखिन्छ।
समग्रमा उपन्यास 'पैकेलो'मा देउलीगढदेखि दुल्लु राज्यसम्मको गौरवगाथा छ। लोककथा, लोकगाथा र इतिहासदेखि किंवदन्तीसम्मले दुल्लु क्षेत्रको प्राचीन मध्यकालीन उज्ज्वल तस्बिर निर्माण गर्दछन्। हजुरबाले म पात्रका अन्तरहृदयमा अत्यन्त गहिरो गरी गाडिदिएको भाषा, संस्कृति र सभ्यताप्रतिको अगाध माया अन्तिमसम्म बलियो गरी प्रस्तुत हुन्छ। 'मैले खोज्नु छ हराएका वीरखम्बहरू। लालमोहर, सनद र ताम्रपत्रहरू खोज्नु छ। वीरगाथा खोज्नु छ। लोकगाथामा खोज्नु छ खसहरूको सांस्कृतिक इतिहास मेरो प्राचीन, खस सभ्यता। पैकेलाहरूको कथा। लेख्नु छ, आफ्नै गुमनाम इतिहास।'
यही दृढ अठोट योगी नरहरिनाथमा आयो र जीवन अर्पण गरेर सयौं मूल्यवान् ग्रन्थ तयार गरे। बालकृष्ण पोखरेलभित्र जन्म्यो र 'राष्ट्रभाषा' तथा 'खस जातिको इतिहास' लेखे। यही अठोट पूर्णप्रकाश नेपालभित्र जागृत भयो र 'भेरी लोकसाहित्य', 'सिजापतिबाला' आदि लेखनमा जीवनको महत्त्वपूर्ण खण्ड समर्पित गरे।
यही मेलोमा 'पैकेलो'भित्र प्रेम प्रणयको अगाध समुद्रमा पौडिएर जक्तिपुर दरबारबाट भगाएर ल्याइएकी राजकुमारी चम्पामाला र देउलीगढका राजा काशीरामको प्रेम वर्णित छ। जो देउलीगढ दरबारको सुखसयलभन्दा गर्भिणी अवस्थामा नै प्रेमी राजासँगै लडाइँमा जान हत्ते गरिरहेकी छिन्। मुमा वैजयन्तीमालाको पुत्रवात्सल्य र युद्धमा हिँड्नै लागेका बेला जन्मेका राजकुमारप्रतिको पितृवात्सल्यले उपन्यासलाई मार्मिक बनाएको छ। देउलीगढ राज्य रक्षाको दायित्त्व बोकेका पैकेलाहरूको साहस र वीरताको सूक्ष्म र काव्यात्मक विम्बाङ्कन छ। दुल्लु दरबार जस्तो ऐतिहासिक सांस्कृतिक सम्पदा माओवादी द्वन्द्वमा धरतीसात् हुनुको अपूरणीय क्षति पनि उपन्यासमा आउँछ।
रणजीत गुहा, गायत्री चक्रवर्ती स्पिभाक आदिका सबाल्टर्न चिन्तनका कोणबाट उपन्यास 'पैकेलो' सशक्त बनेको छ। महिनौँ लाग्ने बाटो, भामरी आदि अनेक कठिन लेक पार गर्दा बास बस्दाको अनुभव र प्रकृतिको वर्णनले उपन्यासलाई रोचक बनाएको छ। उपन्यासभरि नै शुभ–अशुभ संकेत गर्दै आउने सकुनौती चरोको उपस्थिति विम्बात्मक छ। सकुनौतीले पाठकलाई उपन्यासमा बाँधिराख्न हुकको काम गरेको छ।
चाहे निरंकुश, चाहे निर्वाचित शासकहरूमा चढ्ने दम्भ, अहङ्कार र पाखण्डीपनले निम्त्याउने युद्ध, आतङ्क, काटमार, हिंसा, हत्याको परिणाम चर्काे हुन्छ भन्ने मानवतावादी सन्देश उपन्यासले बोक्छ। भौतिक, अभौतिक, ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, सामाजिक सम्पदाहरू समाजका साझा सम्पत्ति हुन्, तिनलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्छ भन्ने उपन्यासकारको अभिप्राय छ। मानवको आत्मिकदेखि भौतिक विकास र समृद्धिको बाटो अहिंसा, शान्ति र अमनचैन हो भन्दै उपन्यासमा भनिन्छ, 'युद्धको घोडामा लगाम नलगाएसम्म मानव कल्याण र विश्व शान्ति सम्भव छैन।'
उपन्यास सूक्तिमय छ। सङ्कथनहरू प्रश्स्त छन्। प्रवाहमय अत्यन्त चाखिलो काव्यात्मक भाषा छ। जाति, भाषा, संस्कृति, सभ्यता र माटोप्रति अगाध प्रेम र ममता छ।
'पैकेलो' उपन्यास भएको हुँदा साहित्यिक स्वादका लागि त यो महत्वपूर्ण छँदै नै छ। साथै, समाजशास्त्रीय, मानवशास्त्रीय, भाषाशास्त्रीय अध्ययनका लागि पनि उपन्यास 'पैकेलो' पठनीय सन्दर्भ सामग्री हो। यसअघि खस भाषाको यति बृहत् र सुन्दर प्रयोग अरु उपन्यासमा भएको थिएन।
उपन्यास 'पैकेलो' खसहरूको गुमनाम इतिहास खोतल्ने महत्वपूर्ण कडी हो। खस सभ्यता बाँचुन्जेल पढिने नेपाली साहित्यको मूल्यवान् सम्पत्ति हो, 'पैकेलो'।
(लेखक त्रिभुवन विश्वविद्यालयबाट हालै निवृत्त प्राध्यापक तथा समालोचक हुन् ।)