काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औं संस्करण समापन भएको छ।
'खण्डित आवाज, निर्मित भाष्य' नाराका साथ जेठ १४ गतेदेखि भएको महोत्सवमा ३० देशका ६५ भन्दा बढी फिल्महरू प्रदर्शन गरिएको थियो।
नेपाल पानोरामा अन्तर्गत सौरभ घिमिरे निर्देशित 'सन्ग्स अफ लभ एण्ड हेट' ले उत्कृष्ट नेपाली फिक्सन फिल्मको अवार्ड जितेको छ। त्यस्तै साजा सुनुवार निर्देशित 'छाऊ' ले उत्कृष्ट नेपाली वृत्तचित्र पुरस्कार प्राप्त गर्यो र अडियन्स अर्वाड भने कलानी गोकनको 'फेमली म्यान' ले जित्न सफल भयो।
इसिमोड सर्वोत्कृष्ट पर्वतीय फिल्म पुरस्कार सोनम याङ्जोमको 'बटफ्र्लाइ' भुटानले प्राप्त गर्यो। भारतका मनोहर के. लाई 'बर्ड अफ अ डिफरेन्ट' का लागि केयू इमर्जिङ फिल्ममेकर पुरस्कार प्रदान गरियो। केन्जी सुकोमोटो निर्देशित 'अशिमा' ले सर्वोत्कृष्ट माउन्टेरिङ्ग एण्ड एक्स्प्लोरेसन फिल्म पुरस्कार जिते भने फेलिन गेर्हाड्रटको 'माइनस् १०३ डिग्रीज' ले सोही विधामा विशेष उल्लेख प्राप्त गरेको थियो।
अन्तर्राष्ट्रिय विधामा, फाम नोच लानको 'क्यू ली नेभर क्राइज' ले सर्वोत्कृष्ट फिचर फिक्सन फिल्म पुरस्कार जित्यो भने याकूप तेकिन्तान्जाक निर्देशित 'मोरी' ले सर्वोत्कृष्ट सर्ट फिक्सन फिल्म जित्यो। त्यस्तै यी-शान लोज्को 'आफ्टर द स्नोमेल्ट' ले पनि सर्वोत्कृष्ट फिचर डकुमेन्ट्री जितेर सम्मान प्राप्त गर्यो। डोमिनिक साइनरको 'विन्टर टाइगा' ले सर्वोत्कृष्ट छोटो वृत्तचित्र पुरस्कार प्राप्त गर्यो।
यस वर्षको कट.कथा प्रत्यक्ष पिच सत्रमा तीन विजेता घोषणा भए। श्रिया सिंहले ब्रिटिश काउन्सिल पुरस्कार (रु. १,५०,०००) प्राप्त गरिन् भने आकृति श्रेषले गोएथे सेन्ट्रम पुरस्कार (रु. १,००,०००) जितिन् र सुष्मिता बोगटीले शान्ता नेपाली प्रोडक्सन पुरस्कार (रु. ३,५०,००० बराबरको प्रोडक्सन् एण्ड पोस्ट प्रोडक्सन् मद्दत) प्राप्त गरिन्।
किम्फ फाउण्डेसनका बोर्ड सदस्य शेखर खरेलले समापन समारोहमा प्रायोजक, निर्णायक मण्डल, स्वयंसेवकहरू र सम्पूर्ण टोलीलाई धन्यवाद दिंदै आगामी संस्करण अझ प्रभावकारी हुने प्रतिबद्धता साथ कार्यक्रम समापन गरे।