काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औं संस्करण बुधबारदेखि काठमाडौंमा सुरू हुँदैछ।
यस वर्षको महोत्सव भारतकी निर्देशक त्रिवेणी राई निर्देशित पुरस्कारप्राप्त फिल्म 'छोरा जस्तै' (सेप अफ मोमो)को नेपाल प्रिमियरबाट उद्घाटन हुन लागेको हो। फिल्मले सहर छोडेर गाउँ फर्किएकी एक पात्रको आत्मपहिचान र परम्पराबीचको द्वन्द्वलाई चित्रण गर्छ।
ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा आयोजित ५ दिने महोत्सवमा २९ देशका ५० भन्दा बढी फिचर, वृत्तचित्र, छोटा तथा साहसिक फिल्महरू प्रदर्शन हुँदैछन्।
महोत्सवअन्तर्गत 'नेपाल पानोरमा' खण्डमा नेपाली समाज र समकालीन जीवनलाई उजागर गर्ने फिल्महरू पनि समावेश गरिएका छन्।
महोत्सव निर्देशक रम्यता लिम्बूका अनुसार यस वर्षको किम्फले मनोरञ्जनसँगै सामाजिक विषयमा गम्भीर संवादलाई पनि प्राथमिकता दिएको छ। उनका अनुसार चयन गरिएका फिल्म तथा कार्यक्रमहरूले नेपाली समाजलाई असर गरिरहेका समसामयिक विषयमाथि बहस सिर्जना गर्ने विश्वास गरिएको छ।
नेपाल–स्विट्जरल्याण्ड कूटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको अवसरमा 'अल्पाइन अलायन्सेसः न्यु वेभ अफ नेपाली सिनेमा' शीर्षकमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। यसमा वक्ताका रूपमा भर्खर कान्समा पुरस्कार जितेर फर्किएको फिल्म 'एलिफेन्ट्स इन् द फग' का लेखक तथा निर्देशक अविनाशविक्रम शाहसहित ‘शाम्बाला’ का लेखक तथा निर्देशक मीन भाम र निर्माता रामकृष्ण पोखरेल (आइसफल प्रोडक्सन)सहभागी हुनेछन्। उनीहरूसँग अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा सहजकर्ताको रूपमा रहनेछिन्।
त्यस्तै, 'ह्वाट्स इन अ स्टोरी-सिनेमा एन्ड सेन्सरशिप' शीर्षकमा प्यानल छलफल पनि हुनेछ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा जापानी निर्देशक साकामोटो जुन्जी निर्देशित 'क्लाइम्बिङ फर लाइफ' विशेष प्रदर्शन गरिनेछ। यो फिल्म सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेईको जीवनमा आधारित छ।
महोत्सवमा काठमाडौं डक ल्याबको दोस्रो संस्करण, छोटा फिक्सन ल्याब, स्क्रिप्ट पिचिङ फोरम तथा युवाकेन्द्रित 'आशाः ड्रीम्स इन मोसन' कार्यक्रम पनि समावेश छन्।
अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा भारतकी अन्तर्राष्ट्रिय फिल्म प्रोग्रामर दीप्ति डी’कुन्हा, थाइल्यान्ड फिल्म अभिलेखालयकी निर्देशक चलिदा उअबुमरुङ्जित, नेपालका लेखक तथा कवि कुमार नगरकोटी तथा इटालीस्थित चेर्भिनो सिनेमाउन्टेन फेस्टिभलका निर्देशक लुका बिच रहेका छन्।
निर्णायक मण्डलले उत्कृष्ट फिचर फिक्सन, फिचर वृत्तचित्र, छोटो फिक्सन र छोटो वृत्तचित्र विधामा पुरस्कार प्रदान गर्नेछ। 'नेपाल पानोरमा'तर्फ लुसी डे बारोस, निर्देशक नवीन चौहान तथा फिल्म पत्रकार एवं समालोचक रीना मोक्तान निर्णायक मण्डलमा रहेका छन्।
अन्तर्राष्ट्रिय विधाका विजेताले १ हजारदेखि १ हजार ५ सय अमेरिकी डलरसम्म पुरस्कार प्राप्त गर्नेछन् भने ‘नेपाल पानोरमा’ विजेतालाई जनही १ लाख रूपैयाँ प्रदान गरिनेछ। किम्फ दर्शक पुरस्कारको राशि पनि १ लाख रूपैयाँ छ।
सर्वसाधारणका लागि टिकट शुल्क १५० रूपैयाँ र विद्यार्थीका लागि १०० रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ। किम्फ फाउन्डेसनद्वारा आयोजित महोत्सव जेठ १७ गते आइतबारसम्म सञ्चालन हुनेछ।
'किम्फ २०२६' सँग सम्बन्धित स्टोरीहरूः
राजनले देखाएको 'तिलको बाटो'
सुकुम्बासी बस्तीको बालकका आँखाबाट कथा भनिएको 'ब्यान्डेड्स'
जोया अख्तर र राणा दग्गुबाती जोडिएको नेपाली भाषाको फिल्म