जलवायु परिवर्तनका विषयमा धेरै वृत्तचित्र बनेका छन्, तर तिनले शारीरिक अपांगता भएका व्यक्तिको जीवनमा पारेको प्रभावलाई खासै छोएको पाइँदैन।
निर्देशक राजन कठेतले यही विषयलाई केन्द्रमा राखेर वृत्तचित्र बनाएका छन् — द रोड टु तिल (तिलको बाटो)।
हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा हिमताल फुटेपछि उत्पन्न अवस्थालाई आधार बनाएर यो वृत्तचित्र बनाइएको हो।
१५ मिनेटको यो वृत्तचित्र यसपालि काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा प्रिमियरको तयारीमा छ। किम्फको नेपाली पानोरामाका लागि आधिकारिक छनोट भएको यो वृत्तचित्र बिहीबार बिहान ११ बजे क्युएफएक्सको छायाँ सेन्टर, ठमेलमा प्रिमियर हुन लागेको छ।
'तिलको बाटो' को यो पहिलो प्रदर्शन हो। यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरलाई नजिकबाट देखाउँछ।
तापक्रम वृद्धिसँगै हिमनदीहरू छिटो पग्लिँदा बाढी र पहिरोले पुलहरू बगाएका छन्। गाउँको सडक सम्पर्क विच्छेद भएको छ। यस्तो अवस्थामा अपांगता भएका व्यक्तिका लागि आवतजावत, राहत र सुरक्षा झन् कठिन बनेको छ।
वृत्तचित्रको केन्द्रमा छन्, दृष्टिविहीन सामाजिक अभियानी छिटुप लामा।
उनी हुम्लाको सिमकोटबाट राहत लिएर गाउँतिर यात्रा गर्छन्। बाटोमा उनले अपांगता भएका व्यक्तिहरूलाई भेट्दै उनीहरूको दैनिकी र संघर्षबारे सुन्छन्।
उनले थाहा पाउँछन् — कसैको खेती नष्ट भएको छ, कसैको यात्रा योजना मौसमका कारण बदलिएको छ।

'पहिले मौसमको एउटा निश्चित ढाँचा थियो। अहिले जुन बेला पनि पानी पर्न सक्छ, जुन बेला पनि विपत्ति आउन सक्छ। त्यसले अपांगता भएका व्यक्तिको दैनिकी बदलिँदो रहेछ,' निर्देशक राजन कठेतले सेतोपाटीसँग भने, 'जलवायु परिवर्तनले हामी सामान्य मानिसलाई नै असहज बनाइरहेको हुन्छ भने समाजभित्र ओझेलमा परेका अपांगता भएका व्यक्तिलाई झन् कति असर पारिरहेको होला भन्ने प्रश्न उठ्छ।'
'जलवायु परिवर्तन र शारीरिक अपांगताबीचको यही सम्बन्ध हामीले देखाउन खोजेको छौं,' उनले भने।
वृत्तचित्र निर्माणको सुरूआती योजना हिमताल फुटेर पहिरो गएको तिल गाउँमै पुगेर छायांकन गर्ने थियो। तर बाटो अवरूद्ध थियो, पुलहरू बगेका थिए। प्रशासनबाट हेलिकप्टर लैजाने अनुमति पनि नपाएपछि उनीहरू त्यहाँ पुग्न सकेनन्।
अन्ततः सिमकोट आसपासका गाउँहरूमा छायांकन गर्दै पुराना फुटेज र स्थानीय अनुभव जोडेर फिल्म तयार पारेको उनी बताउँछन्।
'तिलको बाटो' मूलतः अन्तर्राष्ट्रिय 'डिसेबिलिटी जस्टिस' परियोजनाअन्तर्गत बनेको फिल्म हो। यसले अपांगता भएका व्यक्तिलाई आफ्नो अनुभव र कथा आफै भन्न प्रेरित गर्छ।
निर्देशक राजनका अनुसार त्यो परियोजना नै फिल्म निर्माणको सुरूआती विन्दु हो।
उनले फिल्ममा काम गर्न थालेको १० वर्ष भयो। काठमाडौंमा रहेर फिल्म मेकिङमा सक्रिय उनी फिक्सन र नन-फिक्सन दुवै विधामा काम गर्छन्। यसअघि फिचर फिल्म 'दोख' लेखेका थिए भने 'मोक्ष' मा सह-लेखक र मुख्य सहायक निर्देशकका रूपमा काम गरेका छन्।
उनका सर्ट फिल्ममध्ये 'बेयर ट्रिज इन द मिस्ट' क्यानडाको टोरन्टोमा वर्ल्ड प्रिमियर भएको थियो।
त्यस्तै, 'ढोरपाटनः नो विन्टर होलिडेज' राजनको चर्चित डकुमेन्ट्री फिल्म हो। यो पनि विभिन्न प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन हुनुका साथै विभिन्न पुरस्कार समेत जितेको थियो।

डोकनोमाड्स युरोपियन मास्टर्सका पूर्वविद्यार्थी राजन लामो समयदेखि फेस्टिभल क्युरेसन र फिल्म अध्यापनमा समेत सक्रिय छन्।
उनी बर्लिनाले ट्यालेन्ट्स, ग्लोबल मिडिया मेकर्स, भिडियो कन्सोर्टियम जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्मसँग पनि आबद्ध छन्। यसअघि राजनले किम्फमा फिल्म छनोट, प्रोग्रामिङ तथा मेन्टरको भूमिका निर्वाह गरिसकेका छन्।
उनले 'आइडिए डकुमेन्ट्री अवार्डस' र 'निफ' मा जुरी सदस्यका रूपमा काम गरेका छन् भने 'अल्टरनेटिभा फिल्म फेस्टिभल' को छनोट समितिमा पनि संलग्न छन्।
राजनका अनुसार यस्ता महोत्सवहरू नयाँ फिल्मकर्मीलाई अवसर दिने प्लेटफर्म पनि हुन्।
'फेस्टिभलहरू केवल स्क्रिनिङका ठाउँ होइनन्, नयाँ फिल्ममेकरका लागि सिक्ने र जोडिने प्लेटफर्म पनि हुन्,' उनले भने।
अहिले राजन 'अक्सिजन' नामक सर्ट फिक्सन फिल्ममा काम गरिरहेका छन्। त्यस्तै, मानवअधिकारसँग सम्बन्धित फिल्म प्रोजेक्टमा समेत काम गरिरहेका छन्। छिट्टै कथानक फिल्ममा फर्किने योजना पनि बनाएको उनी बताउँछन्।
यो पनिः सुकुम्बासी बस्तीको बालकका आँखाबाट कथा भनिएको 'ब्यान्डेड्स'
सिक्किमबाट बुसान हुँदै काठमाडौं आइपुगेको 'शेप अफ मोमो'