'माला' र 'रूद्रप्रिया' फिल्ममा उनले 'हरर' र मानव जीवनको अँध्यारो पाटो चित्रित गरे।
ती कथाले संवेदना र रोमाञ्च त दियो, तर निर्देशक सुदीप भूपाल सिंहलाई कताकता लागिरह्यो — आफ्नै घरपरिवारका दर्शकलाई पूर्ण रूपमा समेट्न सकिएन कि?
पारिवारिक अनुभूति दिने, सकारात्मक सन्देश बोकेको कथा बनाउने सोच त्यहीँबाट जन्मियो।
त्यसैको परिणाम हो उनको झन्डै ९ वर्षपछिको कमब्याक फिल्म 'श्री बुकुरोः द होम कलिङ'।
'माला' मा हरर र बदलाको भाव मिसिएको थियो भने 'रूद्रप्रिया' मानव जीवनको अँध्यारो यथार्थ — एसिड आक्रमणको पीडा र त्यसपछिको भावनात्मक संघर्षमा केन्द्रित थियो।
ती दुवै फिल्मले थ्रिल र गहिराइ मन पराउने दर्शकलाई आकर्षित गरे। तर सुदीपलाई लागिरह्यो, फिल्म कथा सुनाउने माध्यम मात्र होइन, हलमा पुगेर दर्शकलाई अर्को संसारको अनुभूति गराउने कला पनि हो।
उनलाई महसुस भयो— घरका सदस्य, विशेषतः आमा, वा पारिवारिक दर्शकले ती फिल्म हेर्दा सायद पूर्ण सन्तुष्टि पाएनन्।
'ती फिल्मबाट पारिवारिक दर्शकहरूलाई प्रभाव पार्न सकिनँ कि जस्तो लाग्यो,' उनले भने।
उनी बदला, पीडा र अँध्यारो भावनाबाट केही पर सरेर अब सकारात्मक ऊर्जा दिने कथा भन्नुपर्छ भन्ने सोचमा पुगे।
'मेरो घरका मानिसले पनि हेरेर ठिक बनाएछ है भन्न सकून्, साथीहरूले पनि राम्रो अनुभूति लिएर हलबाट निस्कून् भन्ने चाहना थियो,' सुदीपले भने।
यो यात्रा तत्काल सम्भव भएन। बीचमा कोभिड महामारी र समयको असहजता पार गर्दै वर्षहरू बिते।
'आठ–नौ वर्ष ग्याप भइसकेछ। बीचमा जुरेन भनौं न!,' उनी सम्झिन्छन्, 'धेरै कथा लेखिरहेको थिएँ। अगाडि अर्को फिल्मको तयारी पनि थियो। तीमध्ये श्री बुकुरो चाहिँ अगाडि बनाउनुपर्छ भन्ने अनुभूति आयो। अहिले सही समय हो जस्तो लागेपछि बनाएँ।'
श्री बुकुरोको कथा भने राजमार्गमा देखिएको दृश्यबाट अंकुराएको हो। राजमार्गमा मोटरसाइकलको पछाडि वृद्ध आमालाई राखेर यात्रा गरिरहेका छोराहरूका दृश्य उनले बारम्बार देखिरहे।
विशेषतः थानकोट कटेदेखि पश्चिमका महेन्द्रनगर, कञ्चनपुरतिर पनि देखिने यस्तो दृश्यले उनलाई छोयो।
'हामीले देख्ने त केवल एक क्षण हो,' उनी भन्छन्, 'तर त्यसको पछाडि विगत पनि छ, भविष्य पनि छ। कहाँबाट आए होला? घर कहाँ होला? को–को पर्खिरहेका होलान्? कहाँ जाँदैछन्?'
यिनै प्रश्नहरूले कथाको बीउ रोपे। उनलाई आमाको दृष्टिकोणबाट कथा भन्ने सोचतर्फ डोहोर्यायो। त्यसपछि पारिवारिक संवेदना केन्द्रमा राखेर कथालाई पर्दामा उतार्ने तयारी सुरू भयो।
मोटरसाइकलमा यात्रा गरिरहेका आमा–छोराको दृश्य मनमा खेलाउँदै सुदीपले पहिले गीत लेखे —
घर मेरो सानो बुकुरो मभन्दा धेरै टाढा छ
सत्य हो त्यो घरको माया मभित्र धेरै गाढा छ...
त्यो गीत यात्राको भावसँगै अघि बढ्छ। थकाइ, बाटो, विश्राम र स्मृतिका बीच आमाको मन बोल्छ —
भत्केको घरमा ताला लागेछ
सुस्केरा सबै कता हराएछन्
कतै त होलान् कुनै भूमिमा
दुःखमा छन् कि रमाएका छन्...
गीत तयार भएपछि उनले वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई सुनाए।
गजमेरले संगीत भरे, शिव परियारले गाए।
'प्रेरणा त्यही यात्राको दृश्यबाट आयो। त्यसपछि मलाई पारिवारिक अनुभूति चाहिएको थियो। कथा आमाको दृष्टिबाट बग्न थाल्यो,' सुदीपले भने।
उनका अनुसार तयारीमै दुई वर्षभन्दा बढी समय लाग्यो भने एक वर्षभन्दा बढी समय पोस्ट–प्रोडक्सनमा खर्च भयो।
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा स्टार कलाकारको खोजी र प्रतिस्पर्धा बढी देखिन्छ। सुदीपले भने चर्चित अनुहारभन्दा पात्रलाई प्राथमिकता दिएका छन्।
उनी स्पष्ट भन्छन्, 'यो मेरो छनोट हो। आमाको भूमिकाका लागि लक्ष्मी गिरी पहिलो रोजाइ मात्र होइन, विकल्प नै थिएन भनौं!'
कथाको केन्द्रमै आमा भएकाले त्यो भूमिकामा गहिरो अनुभूति र जीवनको परिपक्वता चाहिन्थ्यो, जुन उनले लक्ष्मीमा देखे।
त्यसैगरी आर्शीवाद क्षेत्री र निकिता आचार्यलाई पनि उनले उनीहरूका अघिल्ला काम हेरेर रोजेका हुन्।
'अगाडिको फिल्म हेर्दा राम्रो लागेको थियो, सहकार्य जुरिहाल्यो,' सुदीप भन्छन्, 'सबैले राम्रो काम गर्नुभएको छ।'

अब प्रश्न छ — श्री बुकुरोले कस्तो व्यापार गर्ला?
सुदीप स्वयं यसबारे अत्यन्त स्पष्ट र इमानदार छन्।
'दर्शक आउँछन् कि आउँदैनन् भन्ने त समयले बताउँछ,' उनले भने, 'निर्देशकको हैसियतले मैले एउटा मनोरञ्जनात्मक र हृदय छुने फिल्म देखाएर पठाउने हो।'
प्रत्येक फिल्मको अन्तिम परीक्षा दर्शकसँगको सम्बन्धमै निहित हुने उनी मान्छन्।
'रिलेट गर्न र दर्शक तान्न नसके फिल्म असफल हो, निर्देशक पनि असफल हो,' उनले भने।
उनको विश्वास छ — हरेक विचार आफैमा सुन्दर हुन्छ, हरेक कथामा सम्भावना हुन्छ। तर प्रश्न कथाको होइन, कथनको हो। आइडिया सबैसँग हुन्छ, तर कसरी भनियो भन्ने कुरा मुख्य हो।
श्री बुकुरो हेरेर दर्शकले 'आहा, राम्रो फिल्म रहेछ, सकारात्मक रहेछ, नेपालीपन रहेछ' भन्ने अनुभूति लिएर हलबाट निस्कून् भन्ने उनको अपेक्षा छ।
सिनेमाघरमै पुगेर कथा अनुभव गर्न मन पराउने दर्शकका लागि यो फिल्म आफ्नो विधामा अब्बल बनेको उनको दाबी छ।
शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको श्री बुकुरोबारे सुदीप दर्शकलाई आश्वस्त पार्छन्, 'यो एकदमै सजिलो फिल्म हो। धेरै दिमाग खर्च गर्नुपर्दैन। एउटा आमाले आफ्नो कथा भनिरहेकी छन्, हामी त्यसलाई हेर्छौं।'
यसअघि उनका फिल्मले प्रशंसा पाए पनि अपेक्षित व्यापार गर्न सकेनन्।
यसपालि भने फिल्मले सकारात्मक 'भाइब्स' दिइरहेको उनले बताए।
सिंगापुरबाट फिल्म प्रोडक्सन पढाइ पूरा गरेर फर्किएपछि सुदीपले फिल्म निर्देशनमा पाइला चालेका हुन्।
अहिले ९ वर्षको अन्तरालपछि फर्किएका सुदीप अब फेरि लामो विश्राम लिने मनस्थितिमा छैनन्।
'तत्काल अर्को फिल्म बनाउने हो,' उनले भने, 'लभस्टोरी बनाउन मन छ। प्रेमलाई सुन्दर रूपमा प्रस्तुत गर्न चाहन्छु– प्रेम के हो, कति गहिरो हुन्छ भनेर देखाउन मन छ।'