प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा मन्त्रिपरिषद गठन भएको दुई साता नबित्दै मंगलबार यसका सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको छ।
सरकार गठन भएको यति कम समयमै मन्त्रीहरूको मर्यादाक्रम तलमाथि गरिनुले यस्तो स्थिति कसरी आयो भन्ने प्रश्न उठेको छ।
यो हेरफेरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट मन्त्रीहरूको मर्यादाक्रम पहिलेभन्दा माथि तानिनु र प्रधानमन्त्री बालेनको समूहबाट उनीसँगै रास्वपा प्रवेश गरेका मन्त्रीहरू तल पारिनुले थप प्रश्न उठाएको छ।
उदाहरणका लागि, प्रधानमन्त्री बालेनले आफ्नै जोडबलमा गृहमन्त्री बनाएका सुधन गुरूङ यसअघि तेस्रो वरीयतामा थिए। नयाँ मर्यादाक्रम अनुसार उनी पाँचौंमा झरेका छन्। जबकि, यसअघि चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयतामा चढाइएको छ भने ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ छैठौंबाट चौथोमा उक्लिएका छन्। शिशिर र विराज पार्टी सभापति निकट मानिन्छन्।
सरकार गठन भएको १२ दिनमै मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गर्नुपर्ने अवस्था कसरी आयो भनेर हामीले दुई जना मन्त्री र पार्टीका केही नेतासँग कुरा गरेका छौं।
उनीहरूका अनुसार मर्यादाक्रममा गल्ती भयो भन्ने कुरा पहिलो दिन नै उठेको थियो।
मन्त्रिपरिषदकै केही सदस्यले अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भइसकेका विराजभक्त, शिशिर लगायतलाई वरीयतामा तल राखेर भर्खरै पार्टी प्रवेश गरेका वा पहिलोचोटि मन्त्री भएकाहरूलाई माथि राखिएकोमा प्रश्न उठाएका थिए।
उनीहरूले यो कुरा प्रधानमन्त्री बालेन, पार्टी सभापति रवि लामिछाने, उपसभापति लगायत सचिवालयका अन्य नेताहरूलाई पनि सुनाए।
त्यसपछि सबैसँग सरसल्लाह गरेर पार्टी सभापति लामिछानेले प्रधानमन्त्री बालेनको सहमतिमा मर्यादाक्रम सच्याएको एक मन्त्रीले जानकारी दिए।
'खासमा यो मर्यादाक्रम तुरून्तै सच्याउनुपर्ने थियो। तर तुरून्तै सच्याउँदा नकारात्मक सन्देश जाने भयो भनेर हामीले केही समय पर्खने निधो गर्यौं,' उनले भने, 'यसबीच सबैसँग सरसल्लाह गरियो। जो तल जान्थे र जो माथि आउँथे, उनीहरूसँग पनि सरसल्लाह गरियो। यसका लागि केही समय लाग्यो।'
उनले अगाडि भने, 'पार्टी सभापतिले प्रधानमन्त्रीको सहमतिमा मुख्यसचिवलाई मर्यादाक्रम सच्याउनैपर्छ भनेर भन्नुभयो।'
उनका अनुसार सभापति र प्रधानमन्त्रीको सहमतिमा पार्टीको वरिष्ठता, अघिल्लोचोटि मन्त्री भए/नभएको र अन्य राजनीतिक योग्यताका आधारमा नयाँ मर्यादाक्रम तोकिएको हो।
यस अनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पार्टी उपसभापतिका हैसियतले दोस्रो वरीयतामै रहे।
त्यसपछि अघिल्लो चोटि रास्वपा सरकारमा गएका बेला मन्त्री भएका परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ तेस्रो र चौथो वरीयतामा उक्ले।
शिशिर र विराजपछि बालेन समूहबाट आएका र जेनजी आन्दोलनको प्रतिनिधित्वका हिसाबले गृहमन्त्री सुधन गुरूङ पाँचौं मर्यादाक्रममा रहे भने उनीपछि छैठौं वरीयतामा बालेन समूहकै सुनिल लम्साल रहे।
सुधन र सुनिलपछि पार्टीमा सचिवालय सदस्य रहेकी र अघिल्लोचोटि पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेकी सोबिता गौतमलाई सातौं वरीयतामा राखियो। सोबिता यसअघि १२औं स्थानमा थिइन्।
यही प्रकारले पार्टीको वरिष्ठता हेर्दै तथा पार्टी सभापति र प्रधानमन्त्री दुवै तर्फका सदस्यलाई मिलाउँदै नयाँ मर्यादाक्रम तय गरिएको एक मन्त्रीले बताए।
हामीले पहिले मर्यादाक्रम तय गर्दा कसरी गल्ती भयो भनेर पनि दुवै मन्त्रीलाई सोधेका थियौं।
त्यति बेला हतार हतारमा मन्त्रीहरूको नाम टिपाउँदा राष्ट्रपति कार्यालयबाटै यही मर्यादाक्रम अनुसार नाम राखिएको उनीहरूले बताए।
'१२ बजे शपथ थियो, ११ जबेसम्म मन्त्रीहरू को बन्ने टुंगो थिएन। हतार हतार राष्ट्रपति कार्यालयमा नाम टिपाइयो। नाम टिपाउनेहरूले मर्यादाक्रम यस्तो हुन्छ भनेर भन्नुभएन। उहाँले जुन जुन नाम पहिले टिपाउनुभयो, राष्ट्रपति कार्यालयबाट त्यसै अनुसार मर्यादाक्रम तोकियो। पहिले मन्त्री भइसकेकाहरूको नाम माथि हुनुपर्छ, पार्टीमा सिनियर रहेकाहरू मर्यादाक्रममा माथि रहनुपर्छ, सचिवालय सदस्यहरूलाई माथिल्लो स्थानमा राख्नुपर्छ भन्ने ख्याल नै गरिएन,' उनले भने।
त्यसपछि पहिलो दिनबाटै यसलाई सच्याउनेतर्फ कुराकानी सुरू भएको र अन्तत: १२ दिनपछि मर्यादाक्रम सच्चिएको उनले बताए।
नयाँ मर्यादाक्रम अनुसार भौतिक योजनामन्त्री सुनील लम्साल पाँचौंबाट छैठौंमा झरेका छन्। शिक्षामन्त्री सस्मित पोखरेललाई आठौंबाट ११औं वरीयतामा झारिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री खडगराज (गनेश) पौडेललाई सातौं वरीयताबाट १२औं झारिएको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी १५औंबाट आठौं वरीयतामा उक्लिएकी छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई ११औं वरीयताबाट नवौंमा ल्याइएको छ। स्वास्थ्यमन्त्री निशा मेहतालाई नवौंबाट दसौं वरीयतामा ल्याइएको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनालाई १०औं स्थानबाट १३औं वरीयतामा झारिएको छ भने कृषिमन्त्री गीता चौधरी १३औंबाट १४औंमा परेकी छन्। श्रममन्त्री दिपक साह १४औंबाट १५औंमा झरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मर्यादाक्रम भने परिवर्तन गरिएको छैन। उनी प्रधानमन्त्री बालेनपछि दोस्रोमा छन्।
यस्तो छ मन्त्रीहरूको मर्यादाक्रम –
-1775545779.jpg)