पछिल्लो साता 'मोहर' र 'आ बाट आमा' को दोस्रो शृंखला घोषणा भयो। 'मोहर' गत साउनमा रिलिज भएको थियो भने 'आ बाट आमा' हलमा अझै प्रदर्शनरत फिल्म हो।
आगामी दसैंलाई प्रदर्शन लक्षित गर्दै 'झिंगे दाउ २' को छायांकन केही साताअघि मात्र सकिएको छ। 'छ माया छपक्कै २', '१२ गाउँ २' लगायतका फिल्मले छायांकन नहुँदै दसैंलाई प्रदर्शन मिति घोषणा गरिसकेका छन्। 'आ बाट आमा २' ले पनि दसैंलाई नै प्रदर्शन टार्गेट गरेको छ।
यी पहिल्ला केही उदाहरण हुन्, जसले स्पष्ट देखाउँछ– नेपाली फिल्ममा सिक्वेल शृंङखलाको लहर फेरि तीव्र बनेको छ।
राम्रो व्यापार गर्यो कि सिक्वेल घोषणा
फिल्म शृंखला वा सिक्वेल/सिरिज (सोही नामको निरन्तरता दिँदै नयाँ फिल्म) निर्माण गर्ने अभ्यास नयाँ होइन्।
दर्शकको साथ र बक्स अफिसको सफलतालाई आधार मान्दै निर्माता/निर्देशकहरूले स्थापित ब्राण्डलाई निरन्तरता दिने रणनीति अपनाउँदै आएका छन्। हलिउड र भारतीय फिल्म उद्योगमा फ्रेन्चाइज र सिक्वेलले बलियो स्थान बनाएका छन्।
सामान्यतः सिक्वेल कथाको निरन्तरता, दर्शकको माग र व्यापारिक सम्भावनामा बनाइन्छ। तर नेपाली सन्दर्भमा धेरैजसो सिक्वेल केवल व्यापारिक लाभको आधारमा बन्ने गरेको देखिन्छ। 'सिक्वेल' भनिए पनि कतिपय फिल्म वास्तविक अर्थमा निरन्तरता नभई पुरानो नाममा नयाँ कथा प्रस्तुत गर्ने शैलीका हुन्छन्। सफल ब्राण्डको नाम दोहोर्याउनु कम जोखिमको लगानी मानिन्छ।
त्यसैले पनि फिल्म क्षेत्रमा सिक्वेललाई अनौपचारिक रूपमा 'ब्याज खाने' भन्ने पनि गरिन्छ। यसको अर्थ पहिलो भागले कमाएको लोकप्रियता र बजार भरोसालाई दोस्रो भागमा प्रयोग गरेर कम जोखिममा फाइदा लिन खोज्नु भन्ने हो।
'आ बाट आमा' का निर्देशक तथा निर्मातासमेत रहेका चन्द्र पन्त यो फिल्म राम्रो चलेकै कारण दोस्रो भाग घोषणा गरिएको स्वीकार्छन्। नेपालमा ११ करोड रूपैयाँमाथिको व्यापार गरेपछि 'आ बाट आमा २' को घोषणा गरिएको थियो।
उनका अनुसार सुरूमा 'आ बाट आमा' को सिक्वेल बनाउने योजना थिएन। उनीसँग दसैंको विषयवस्तुमा आधारित 'जमरा' नाममा फिल्म बनाउने सोचका साथ अर्को कथा तयार थियो। तर त्यो कथालाई होल्ड गरेर 'आ बाट आमा' पहिले छायांकन गरेका थिए।
'आबाट आमा सफल भएपछि पहिलेको त्यही होल्ड गरिएको कथामा 'आ बाट आमा २' बनाउने निर्णय गरिएको हो। यसको कथा पनि आमासँग सम्बन्धित भएकाले सो निर्णय गर्यौं,' उनी प्रष्ट पार्दै भन्छन्, 'यदि आबाट आमा नचलेको भए पनि फिल्म बनाउँन्थ्यो। तर नाम अर्कै हुन्थ्यो।'
उनका अनुसार दोस्रो भाग पहिलोसँग कथागत रूपमा प्रत्यक्ष जोडिएको छैन, त्यसैले यो शुद्ध सिक्वेलभन्दा 'सिरिज' हो।
आमा सरस्वती मुभिजसँग मिलेर 'छ माया छपक्कै २' को तयारीमा रहेका निर्माता रोहित अधिकारी सिक्वेलको लहर बढनुमा केही कारणहरू औंल्याउँछन्। कतिपय अघिल्लो भागमा पूरा नभएको कथा दोस्रो भागमा पूरा गर्ने चाहनाले सिक्वेल बनाउँछन्। त्योभन्दा महत्वपूर्ण सिक्वेलमा व्यवसायिक हिसाबले पनि राम्रो हुने अपेक्षा निर्मातामा हुने उनी स्वीकार्छन्।
त्यसैगरी, पछिल्लो समय अन्य नयाँ फिल्मले अपेक्षाकृत सफलता नपाउँदा केही निर्माता फेरि सुरक्षित विकल्पका रूपमा सिक्वेलतर्फ फर्किएको उनको बुझाइ छ। 'सिक्वेल बनाउँदा सेफ भइन्छ भन्ने सोच हुन्छ नै,' उनले भने।

रोहितले 'छ माया छपक्कै' पछि 'फर्फी फर्की' र 'माइतीघर' निर्माण गरे पनि 'छ माया छपक्कै २' को योजना भने पहिल्यैदेखि रहेको उनको भनाइ छ।
'हाम्रो सन्दर्भमा 'छ माया छपक्कै' को कथा अलिकति अधुरो लागेको थियो,' रोहितको दाबी छ, 'पहिल्यै योजना भए पनि त्यो हिसाबको कथा पाएका थिएनौं। अहिले कथा पूरा भएपछि तयारी थालिएको हो।' अपूरो कथा पूरा गर्नुका साथै व्यापारिक हिसाबले पनि सोचेर सिक्वेलमा लागेको उनले बताए।
फाइदासँगै चुनौती पनि
ब्राण्ड विस्तार गर्ने अभ्यास फिल्म क्षेत्रमा मात्र होइन, अन्य क्षेत्रमा पनि हुन्छ। निर्देशक चन्द्र पन्त भन्छन्, 'कुनै चिया पसल राम्रो चल्यो भने त्यसका शाखा खुल्छन्। गाडीका सोरूम विस्तार हुन्छन्। फिल्ममा ब्राण्ड विस्तार पनि स्वाभाविक हो।' तर सिक्वेलमा अवसरसँगै चुनौती पनि उत्तिकै हुने उनको बुझाइ छ।
'चलिसकेको नाम दर्शकलाई सम्झन सजिलो हुन्छ। हामी डेढ वर्षदेखि 'आ बाट आमा' भनेर दर्शकमाझ पुगिरहेका छौं। त्यसको फाइदा दोस्रो भागले लिन्छ। प्रचारमा पनि धेरै मेहनत गर्नुपर्दैन भन्ने हाम्रो अपेक्षा छ,' उनले भने, 'यद्यपि, चुनौती पनि हुन्छ नै। अलिकति तलमाथि भयो भने दर्शकले तुरून्तै अस्वीकार गरिदिन्छन्। अहिलेका दर्शक पहिलाजस्ता छैनन्, रिभ्यु बुझेर हल जाने चलन बढेको छ। त्यसैले दबाब धेरै हुन्छ।'
उनका अनुसार दोस्रो भागले पहिलो भाग किन चलेको थियो भन्ने प्रमाणित गर्नुपर्ने चुनौती हुने बताउँछन्।
'सामान्यतया पहिलो भाग ब्लकबस्टर भयो भने दोस्रो भागले यत्तिकै पनि एभरेज व्यवसाय गर्ने सम्भावना हुन्छ। पहिलो भाग ब्राण्ड भइसकेको हुन्छ। कलाकार र निर्देशकको क्रेज पनि त्यसमै केन्द्रित हुन्छ। त्यसपछि फिल्म साँच्चै राम्रो बन्यो भने मात्र अपेक्षा पूरा गर्न सकिन्छ,' चन्द्रको भनाइ छ।
निर्माता रोहित अधिकारी पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल बनाउँदा प्रचार–प्रसारमा तुलनात्मक रूपमा कम खर्च लाग्ने बताउँछन्।
'राम्रो चलेको फिल्मलाई दोस्रो भागमा प्रचारका लागि धेरै पैसा खर्च गर्नुपर्दैन। पहिलो भागकै प्रचारले दर्शकसम्म जानकारी पुगिसकेको हुन्छ,' उनी भन्छन्।
यदि पहिलो फिल्म दर्शकलाई मन परेको छ भने त्यसको दोस्रो भाग आउँदैछ भन्ने सूचना स्वतः दर्शकमाझ पुग्ने भएकाले यसले प्रचार खर्चमा बचत गराउने उनको बुझाइ छ। सिक्वेल निर्माणमा सबैभन्दा ठूलो चुनौती दर्शकको उच्च अपेक्षा रहने रोहित बताउँछन्। अपेक्षा पूरा गर्न नसक्दा सिक्वेलले नकारात्मक प्रभाव पार्ने जोखिम रहने उनको बुझाइ छ।
'दर्शकको अपेक्षा एकदमै उच्च हुन्छ। त्यो अनुसारको फिल्म बनाउन सकिएन भने उल्टो असर पनि गर्न सक्छ,' उनी भन्छन्।
फिल्म विश्लेषकहरू व्यवसायिक उद्देश्यले मात्र सिक्वेल बनाउनु राम्रो नभएको बताउँछन्। उनीहरू भन्छन्, 'व्यवसायिक उद्देश्यले जबरजस्ती सिक्वेल बनाउँदा त्यसले उल्टै 'प्राणघातक' परिणाम पनि निम्त्याउन सक्छ।' दर्शकलाई केवल नामले मात्र नभई, बलियो कथाले तान्नुपर्ने उनीहरू बताउँछन्।
स्वतन्त्र रूपमा फिल्म समीक्षा गर्दै आएका प्रशन्न माली पुरानो नाम मात्र दोहोर्याएर फिल्म बनाउँदा सुरूमा फाइदा देखिए पनि कथा र भावनात्मक प्रवाह कमजोर भए दीर्घकालमा ब्राण्डलाई नै क्षति पुग्न सक्ने बताउँछन्। 'सफल सिक्वेलको लागि कथा, पात्र र ब्राण्ड सन्तुलन अनिवार्य हुन्छ भन्ने लाग्छ,' उनी भन्छन्। केवल नामको भरोसामा बनाइएका शृंखलाले दर्शकको विश्वास गुमाउन सक्ने उनको भनाइ छ।
'एउटा स्पष्ट मार्गचित्र पाइसकेपछि त्यसैलाई मात्रै दोहोर्याइयो भने त्यसको सार मर्दै जान्छ। स्वभाविक रूपमा जन्मिएका फिल्ममा भने राम्रो परिणाम देखिएको छ। यद्यपि त्यस्ता उदाहरण अन्तर्राष्ट्रिय रूपमा पनि धेरै छैनन्,' उनी भन्छन्।
फिल्म मेकिङ अध्ययन गरेका र हाल एभरेस्ट फिल्म एकेडेमीमा अध्यापन समेत गराउँदै आएका प्रशन्नको बुझाइमा नेपालमा सिक्वेलको प्रवृत्ति पोस्ट-कोभिडपछि झन् बढेको छ।
उनी भन्छन्, 'कोभिडपछि प्रदर्शनमा आएको 'कबड्डी ४' ले बक्स अफिसमा त्यसबेला रेकर्ड नै बनायो। त्यही समयमा भारतीय फिल्म 'पुष्पा' लगायतका फिल्मले पनि दर्शक तानिरहेका थिए। त्यसले पनि सिक्वेलतर्फ आकर्षण अझ बढायो कि भन्ने लाग्छ।'
प्रशन्नको बुझाइमा अहिले दर्शकमा परिचित नाम र पात्रप्रतिको सहजता र अपनत्वको भावना बलियो बन्दै गएको छ। इन्टरनेट र पप संस्कृतिको प्रभावले पनि यो मनोविज्ञान बढाएको उनको तर्क छ। उनका अनुसार सामाजिक सञ्जाल र विभिन्न प्लेटफर्ममार्फत निरन्तर विभिन्न सामाग्री हेर्ने संस्कृतिले दर्शकलाई चिनिएको पात्र र त्यो संसारमा फर्किन सहज महसुस गराउँछ भन्ने लाग्छ।
उनी भन्छन्, 'दर्शकलाई नयाँभन्दा पहिलेदेखि परिचित पात्र र परिवेशमा फर्किन सजिलो लाग्छ। त्यो परिचितताको सहजता शृंखलाले पूरा गरिदिन सक्ने बुझेरै सिक्वेलमा आकर्षण बढेको भन्ने लाग्छ।'
उनको बुझाइमा यही कारणले निर्माता पनि ब्राण्ड भ्यालु र बजार अवस्थालाई ध्यानमा राखेर दोस्रो भाग बनाउनेतर्फ आकर्षित हुन्छन्। पहिलो भाग सामान्य चले पनि वा राम्रो चले पनि स्थापित नामले केही हदसम्म दर्शक तान्ने विश्वास निर्मातामा हुने उनको बुझाइ छ।
अर्गानिक रूपमा सुरू भएका 'कबड्डी', 'जात्रा', 'छक्का पञ्जा' जस्ता फिल्मको सुरूका भन्दा त्यसपछिका भागले झन् ठूलो दर्शक वर्गमा पहुँच बनाएको उनको बुझाइ छ। यसले देखाउँछ कि कथा, पात्र र दर्शकबीच सम्बन्ध बलियो भए शृंखला स्वभाविक रूपमा अगाडि बढ्न सक्छ।
पात्र र कथा–वर्ल्ड विस्तार गर्दै शृंखला निर्माण गर्ने प्रवृत्ति विश्व बजारमा सफल भएको थुप्रै उदाहरण छन्। हिन्दी फिल्म उद्योगमा पनि यो ट्रेन्ड ब्याप्त छ। त्यसको प्रभाव नेपालमा पर्ने नै भयो।
यद्यपि, सिक्वेलको बढ्दो प्रवृत्तिमा जोखिम पनि उत्तिकै छ। केवल चलिरहेको सफलतालाई निरन्तरता दिने नाममा शृंखला बनाउँदा त्यसले उल्टै नकारात्मक असर पार्न सक्छ।
अर्का एक समीक्षक भन्छन्– 'मलाई पहिल्ला एक/दुई वटा फिल्म त्यस्तो लागेको थियो। जसको दोस्रो भाग आफैमा नराम्रो होइन्। तर पहिलो भाग आफैंमा पूर्ण कथा थियो। त्यसलाई अगाडि बढाउँदा पहिलो भागको प्रभाव धेरै हदसम्म ओझेलमा परेको लाग्यो। व्यवसाय पनि तुलनात्मक रूपमा कमजोर नै रह्यो।'
उनको निष्कर्ष छ- सिक्वेल बनाउनु आफैंमा गलत होइन, तर केवल सफलताको 'ब्याज' खान वा पहिल्यै चलेको सूत्र दोहोर्याउन मात्र बनाइए त्यसले दीर्घकालमा शृंखलाकै पहिचान कमजोर बनाउन सक्छ। कथा, भावनात्मक गहिराइ र स्वभाविक विस्तार नै सफल सिक्वेलको आधार हुने उनले बताए।

नेपालमा ऐतिहासिक कमाइ गरेको फिल्म 'पूर्णबहादुरको सारंगी' को पनि सिक्वेल घोषणा भइसकेको छ। पहिलो भाग सुपरहिट भएपछि 'पूर्णबहादुरको सारंगी २' घोषणा गरिएको थियो।
सुपरहिट फिल्म 'बोक्सीको घर' को पनि सिक्वेल बन्ने चर्चा छ। त्यस्तै, यस वर्षको हिट फिल्म 'ऊनको स्वीटर' को पनि सिक्वेल बन्ने सम्भावना खुला छ। यो फिल्म युट्युबमा सार्वजनिक भएसँगै धेरै दर्शकले दोस्रो भागको माग गरिरहेको देखिन्छ।
यसका निर्देशक नवीन चौहान भन्छन्, 'थुप्रैले सिक्वेल आउनुपर्छ भनेर प्रतिक्रिया दिनुभएको छ। यसले सोच्न बाध्य चाहिँ बनाउँदो रहेछ।'
अभिनेत्री मिरूना मगरले 'जारी २' रिलिजको क्रममा भनेकी थिइन्,– 'जारी मन नपराएको भए सिक्वेल बनाउँदा गाह्रो हुनसक्थ्यो। एकदमै माया गरेको क्यारेक्टरलाई फेरि देख्न पाउँदा दर्शक आफै उत्साहित हुनुहुन्छ भन्ने लाग्छ। आफूले मन पराएको पात्र, उसको अगाडिको जीवनमा के हुन्छ भन्ने कुरा हेर्न उत्साहित हुनुहुन्छ भन्ने लाग्छ।'
लेखक तथा निर्देशक उपेन्द्र सुब्बाका अनुसार सिक्वेलमा पात्र निर्माण गर्नु नपर्ने सहजता हुन्छ। त्यसको इतिहास खोतल्न पर्दैन, मनोविज्ञान केलाउन पर्दैन।
'त्यो भएर कथा मात्रै अगाडि बढाउनुपर्यो, सामग्री दह्रो बनाउनुपर्यो भन्ने हुन्छ। किनभने थप भन्न सक्ने भनेको प्राविधिक कमजोरी थियो भने दोस्रो भागमा राम्रो गर्नुपर्यो, सुन्दर गरी भन्नुपर्यो, प्रगति देखून् भन्ने सोच आउँछ,'- 'जारी २' रिलिजका क्रममा सेतोपाटी स्टुडिओमा भिडिओ कुराकानी गर्दै उपेन्द्रले भनेका थिए।
सिक्वेल एकातिर सजिलो विकल्प देखिए पनि अर्कोतिर ठूलो जोखिम पनि बोक्ने उपेन्द्रको आशय थियो। चिनिएको पात्र र संसारको सहजता भए पनि अपेक्षाको चापले त्यसलाई अझ जटिल बनाइदिने उनले बताएका थिए।
'तर चुनौती अझ धेरै हुन्छ। किनभने, दर्शकमा ठूलो अपेक्षा हुन्छ। पहिलोभन्दा बढेर माग्छन्। अघिल्लो भन्दा प्रगति, राम्रो देखाउनै पर्यो,' उनले भनेका थिए।
दर्जनौं फिल्म छन् सिक्वेल
नेपालमा सिक्वेल बनेका त्यस्ता फिल्मको सूची निकै लामो छ। यसअघि 'नाइँ नभन्नू ल', 'कबड्डी', 'प्रेम गीत', 'ए मेरो हजुर', 'पशुपति प्रसाद', 'लुट', 'सायद', 'दर्पण छायाँ', 'जात्रा', 'लप्पन छप्पन', 'छड्के', 'म यस्तो गीत गाउँछु', 'परदेशी', 'जारी' लगायत थुप्रै फिल्मको सिक्वेल बनिसकेका छन्। यीमध्ये धेरैको सिक्वेलमा स्तर खस्किएको गुनासो आए पनि ति फिल्मले व्यवसायिक सफलता पाएका छन्।

उसो त कतिपय शृंखला व्यवसायिक रूपमा नराम्ररी असफल समेत छन्। 'दर्पण छायाँ', 'छड्के', 'प्रसाद' लगायतको सिक्वेल बक्स अफिसमा सफल हुन सकेका थिएनन्।
पहिलो भाग असफल हुँदा सिक्वेल घोषणा प्रायः अधुरै रहन्छ
नेपालमा कतिपय फिल्मले पहिलो भाग रिलिज हुनु अघि वा पोस्ट क्रेडिटमार्फत सिक्वेलको घोषणा गर्छन्। तर, पहिलो भागले बक्स अफिसमा सफलता नपाउँदा दोस्रो भाग प्रायः बन्दैन।
उदाहरणका लागि 'अगस्त्यः च्याप्टर १' रिलिज भएको दुई वर्ष भइसकेको छ। तर बक्स अफिसमा असफल भएपछि अहिलेसम्म 'च्याप्टर २' को तयारी देखिँदैन। त्यस्तै, 'हात्तीछाप' को प्रोस्ट क्रेडिटमा दीपकराज गिरीको केमियोमार्फत सिक्वेलको संकेत गरिएको थियो। तर दोस्रो भाग अहिलेसम्म बनेको छैन।
'चित्रा' लगायतका फिल्मले पनि पोस्ट क्रेडिटमा सिक्वेल घोषणा गरे, तर लामो समयसम्म तयारी देखिँदैन। पछिल्लो समय 'अभिमन्यु', 'एक्लो', 'शिवांस' जस्ता फिल्मले 'च्याप्टर २' को घोषणा गरेका छन्। तर, पहिलो भाग बक्स अफिसमा असफल भएपछि दोस्रो भाग बन्छ कि बन्दैन पर्खिनु र हेर्नुको विकल्प छैन।