प्रतिनिधि सभा निर्वाचन सकिएको एक महिना भइसक्यो। ३८ सांसद रहेको नेपाली कांग्रेसले अझै संसदीय दल नेता चयन गर्न सकेको छैन।
कांग्रेस नेताहरूका अनुसार संसदीय दल नेता चयन प्रक्रिया सुरू गर्न अझै तीन-चार दिन लाग्न सक्छ।
सरकारले केही दिनभित्रै यो अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने चर्चा छ। यसो भएमा कांग्रेसले यो अधिवेशनभर संसदीय दल नेता छान्दैन!
सांसद उर्मिला थपलियाले सकेसम्म सर्वसहमतिमा संसदीय दल नेता चयन गरे राम्रो हुने बताइन्।
‘संसदीय दल नेता चयनका विषयमा छलफल भइसकेको छैन,’ उनले भनिन्, ‘सर्वसहमतिमा भए राम्रो हुन्थ्यो।’
कांग्रेसका एक पदाधिकारीले प्रतिनिधि सभा बैठक नचलेका दिन पारेर केही दिनभित्रै संसदीय दल नेता चयन प्रक्रिया सुरू गरिने बताए।
‘दिनहुँजसो प्रतिनिधि सभा बैठक बसिरहेको छ, हाम्रा सांसद बैठकमा जानुपर्छ, संसद नचल्ने दिन पारेर संसदीय दल नेता चयन प्रक्रिया अघि बढ्छ,’ ती पदाधिकारीले भने, ‘सांसदहरूले सकेसम्म सहमतिमा नभए प्रतिस्पर्धाबाट संसदीय दल नेता चयन गर्नुहुन्छ। ढिलोमा पनि चैत मसान्तभित्र संसदीय दल नेता चयन गरिसक्छौं।’
संसदीय दल नेता चयनमा भइरहेको ढिलाइप्रति सोध्दा ती पदाधिकारीले विगतकै अभ्यासकै निरन्तरताका रूपमा लिए। दल नेता सांसदहरूबीचकै छलफलबाट होस् भन्ने पार्टीले चाहेको पनि उनले बताए।
‘२०७९ सालमा मंसिर ४ मा चुनाव भएको थियो, संसदीय दल नेता चुनाव पुस ६ गते भयो, एक महिनापछि,’ ती पदाधिकारीले भने, ‘अहिले पनि एक महिना भयो, अब केही दिनभित्रै दल नेता चयन भइहाल्छ।’
उनकाअनुसार सकेसम्म सर्वसहमतिमै संसदीय दल नेता चयन गर्न अनौपचारिक छलफलहरू भइरहेका छन्।
प्रतिनिधि सभामा कांग्रेस सांसद अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य थिए। सभामुख चयन नहुँदासम्म उनले सभा सञ्चालन गर्नुपर्ने थियो। चैत २२ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल सभामुख बने। उनले सोमबारदेखि प्रतिनिधि सभा बैठक सञ्चालन गर्न थालिसकेका छन्।
ती पदाधिकारीका अनुसार संसदीय दल नेताका एक जना आकांक्षी अर्जुननरसिंह केसी ज्येष्ठ सदस्य हुँदा पनि संसदीय दल नेता चयन प्रक्रिया सुरू हुन सकेको थिएन।
‘ज्येष्ठ सदस्यका रूपमा प्रतिनिधि सभा बैठक चलाउनुपर्ने भूमिकाबाट अर्जुन दाइ बाहिरिनुभयो, सभामुख आइसक्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘अब संसदीय दल नेताका आकांक्षीहरूबीच संवाद गर्ने, सकेसम्म सहमतिमा, नभए प्रतिस्पर्धा गरेर दल नेता चयन प्रक्रिया अघि बढ्छ।’
सांसद केसीले पनि आफू ज्येष्ठ सदस्यको भूमिका निर्वाह गर्नुपर्दा संसदीय दल नेता चयन ढिलाइ भएको स्वीकार गरेका छन्।
‘संसदीय दल नेता चयनको विषय जटिल छैन, दुई-तीन दिनभित्रै हामी यसलाई टुंग्याउँछौं,’ सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै केसीले भने, ‘सबैको दाबीलाई हामी बैठक बसेर एकीकृत गर्दै सहमतिमै निर्णयमा पुग्छौं। को अघि बढ्ने वा को पछि हट्ने भन्दा पनि यो सहमतिमै टुंगिने विषय हो भन्ने लाग्छ।’
कांग्रेसका अर्का पदाधिकारीका अनुसार संसदीय दल नेता आकांक्षीमा मुख्य गरी पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे देखिएका छन्। उनीहरू दुवै समानुपातिकतर्फबाट सांसद बनेका हुन्।
‘संस्थापन पक्षबाट अर्जुननरसिंह र भीष्मराज आङ्देम्बे वा अरू कोही प्रत्यक्ष निर्वाचित सांसद उम्मेदवार हुन सक्छ,’ ती पदाधिकारीले भने, ‘बरू शेरबहादुर देउवा पक्षले संसदीय दल नेता उम्मेदवार खोज्दैछन्।’
२०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा भीष्मराज आङ्देम्बे सहमहामन्त्री जितेका थिए। त्यसबेला उनी देउवा समूहका उम्मेदवार थिए।
उनले विशेष महाधिवेशन पक्षधरलाई मिलाएर लैजानुपर्ने कुरा सुरू देखिनै बताउँदै आएका थिए। आङ्देम्बेले चुनाव पछि देउवा समूह छाडेको चर्चा छ। चैत १९ गते आङ्देम्बेले संसदमा दिएको अभिव्यक्तिले उनी संस्थापन पक्षसँग निकट छन् भन्ने संकेत गर्छ।
त्यस दिन आङ्देम्बेले संसदमा भनेका थिए, ‘बिपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै आज विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरूपको रुपान्तरणमा प्रवेश गरेको छ। तर छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पंक्तिमा पुर्याउन सकिएन तर आगामी दिनमा आफूभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र व्यवहारलाई देशमा भएको परिवर्तन अनुरुप रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलका रूपमा हामी प्रष्ट छौं।’
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सांसदहरूलाई बधाई दिन धुम्बाराहीमा राखेको कार्यक्रममा र त्यसपछि आयोजित निवर्तमान केन्द्रीय सदस्यहरूको भेलामा पनि आङ्देम्बे सहभागी नरहेको नेताहरू बताउँछन्।
‘भीष्म दाइले पनि संस्थापन पक्षबाटै संसदीय दल नेता बनाउने भए बन्छु, नबनाउने भए बन्दिनँ तर देउवा पक्षबाट संसदीय दल नेता उम्मेदवार हुन्न भन्ने गर्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘विशेष महाधिवेशनबाट कांग्रेस रूपान्तरणमा प्रवेश गरेको अभिव्यक्ति संसदबाटै दिएपछि त्यही विशेष महाधिवेशनविरूद्ध सर्वोच्चमा मुद्दा हाल्नेहरूले भीष्म दाइलाई संसदीय दल नेता स्वीकार्न गाह्रो पर्ने देखिन्छ, त्यसैले उहाँहरू उम्मेदवार खोज्दै हुनुहुन्छ।’
विगतमा देउवा पक्षमा रहेका आङ्देम्बेसहित कतिपय नेताहरूले त्यो समूह छाडिसकेको ती पदाधिकारीले बताए।
‘पुष्पा भुसाल, उदयशम्शेर राणा मात्र होइन, भीष्मराजले पनि काँचुली फेरिसके भन्ने देउवा पक्षले बुझिसकेको छ,’ ती पदाधिकारीले भने, ‘देउवा पक्षबाट संसदीय दल नेता उम्मेदवार नै नहुने अवस्था पनि बन्न सक्छ।’
पूर्वसहमहामन्त्री तथा सांसद भीष्मराज आङ्देम्बेले संसदीय दल नेता चयनमा ढिलाइ गर्न नहुने बताए।
‘संसदीय दल नेता चयनका विषयमा पार्टीले छलफल गरिराखेको छ भन्ने सुनेको छु, पार्टीले हामीलाई खबर गर्ला, अब ढिलो गर्न हुन्न,’ सेतोपाटीसँग कुराकानी गर्दै उनले भने, ‘सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा एउटा समिति बनेको छ, निर्वाचन कार्यतालिका पनि आउला।’
संसदीय दल नेता उम्मेदवार बन्नेबारे सोधिएको प्रश्नमा आङ्देम्बेले भने, ‘मेरो नाम पनि चर्चा हुनु राम्रो हो, सर्वसहमति हुन्छ कि प्रतिस्पर्धा हुन्छ भन्ने समयले बताउला।’
देउवा पक्षका एक नेताले सहमति नभएका खण्डमा संसदीय दल नेतामा प्रतिस्पर्धा हुने बताए।
त्यसका लागि अनुभवीदेखि युवा सांसद आफूहरूसँग रहेको ती नेताको भनाइ थियो।
‘शेरबहादुर दाइ सभापति हुँदा नै उहाँकै हस्ताक्षरमा समानुपातिक सांसद सूची बुझाइएको हो, समानुपातिकबाट सांसद बनेका अधिकांश र प्रत्यक्ष पनि कतिपय सांसद देउवा पक्षमै छन्, हामीले बलियो उम्मेदवार खडा गर्छौं, युवा चाहिन्छ भन्ने हो भने मुस्ताङबाट जितेका ३२ वर्षीय योगेश गौचन थकाली पनि हुनुहुन्छ,’ ती नेताले भने।
तर सांसद योगेश गौचन थकालीले बधाई तथा शुभकामना दिनेजस्ता केही कार्यक्रमहरूमा नेताहरूले बोलाएका बेला गए पनि आफू गुट भेला र नेताहरूका घरदैलोमा नगएको बताए। साथै आफू कुनै गुटबाट संसदीय दल नेता उम्मेदवार नहुने पनि उनले बताए।
‘मेरो नाम कहिले शेखर कोइराला पक्ष त कहिले शेरबहादुर देउवा पक्ष भनेर लेखेको देख्छु, भनेको सुन्छु, म कुनै गुटमा छैन। हामी कुनै गुटमा स्थायी रूपमा छैनौं भन्ने कुरा हाम्रो परिवारको राजनीतिक इतिहासले पनि देखाउँछ,’ योगेशले सेतोपाटीसँग भने, ‘संसदीय दल नेता उठ्न ३८ जना सांसद नै योग्य हुनुहुन्छ, त्यसरी हेर्दा म पनि छु। तर म यो वा ऊ पक्षको उम्मेदवार बन्दिनँ। जेनजी आन्दोलनको भावनाअनुसार रूपान्तरण र पुस्तान्तरणका लागि हो भने त्यसका लागि म पनि योग्य छु भन्ने लाग्छ।’
नेता प्रकाशशरण महतले संसदीय दल नेताका विषयमा पार्टीभित्र छलफल भइनसकेको बताए। ‘मैले यो विषयमा धेरै चासो त राखेको छैन, तर पार्टीभित्र छलफल भइसकेकोजस्तो मेरो जानकारीमा छैन,’ उनले भने।
संसदीय दल नेताका लागि संस्थापन र संस्थापनइतर पक्षबाट प्रतिस्पर्धा हुने अवस्था देखिएमा कुन पक्षले जित्छ अहिले भन्न सकिँदैन।
दुवैतर्फका नेताहरू दाबीअनुसार संसदीय दल नेतामा २ जनाबीच प्रतिस्पर्धा भए दुवैले कम्तीमा १६-१६ मत पुर्याउने देखिन्छ। कांग्रेसका ३८ सांसद छन्। बाँकी ६ जना सांसद को कता ढल्किन्छन् त्यसले परिणाम दिनेछ।
फागुन २१ को प्रतिनिधि सभा चुनावका लागि समानुपातिकतर्फ तत्कालीन सभापति शेरबहादुर देउवा र प्रत्यक्षतर्फ विशेष महाधिवेशनबाट सभापति भएका गगन थापाको हस्ताक्षर प्रयोग गरिएको थियो।
समानुपातिक र प्रत्यक्ष दुवैतर्फ गगन र देउवानिकट उम्मेदवार जितेर आएका छन्। कतिपय सांसदले चुनावपछि गुट फेरेकोसमेत चर्चा छ।
कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। कांग्रेसले संसदीय दल नेता चयन नगर्दा संवैधानिक परिषदले पूर्णता पाएको छैन। प्रतिपक्षी दल नेता संवैधानिक परिषद सदस्य रहने व्यवस्था छ।