पर्दा पछाडिका हिरो
सहर अन्धकार हुँदै जान्छ। सडकको चहलपहल कम हुन्छ। वातावरण बिस्तारै शान्त हुँदै जान्छ।
अनि नवीन घर्ती मगर कम्प्युटरको स्क्रिन अगाडि बस्छन्। र, गीतसँगै आफ्नो काममा डुब्छन्। दृश्य काट्छन्, मिलाउँछन्, हरेक फ्रेममा कथा खोज्छन्।
उनी म्युजिक भिडिओ सम्पादक हुन्।
'म प्रायः राति काम गर्छु,' नवीनले भने, 'रातमा शान्त हुने भएकाले सहज लाग्छ।'
रातमा बाहिरी हल्ला कम हुने भएकाले ध्यान केन्द्रित गर्न सजिलो हुने उनको अनुभव छ।
उनले यसरी काम गरेको एक दशकभन्दा बढी समय भइसकेको छ। अहिलेसम्म सयौं म्युजिक भिडिओ सम्पादन गरिसकेका छन्।
प्रकाश सपुत र देवी घर्तीले गाएको 'माकुर माकुर घुर' देखि प्रकाश दूतराजका 'घर कता हो बैनीको', 'रिमै', 'छैन र माया' लगायत धेरैजसो गीतको भिडिओ नवीनले सम्पादन गरेका छन्।
राजु परियार, पशुपति शर्मा, रामजी खाँड, शान्तिश्री परियारदेखि एलिना चौहानसम्मका गीतमा नवीनको सम्पादन देख्न सकिन्छ।
७/८ मिनेटको म्युजिक भिडिओ दर्शकले आकर्षक मानेर हेर्छन्। तर ती मिनेटहरूलाई प्रभावशाली र आकर्षक बनाउन घन्टौं खर्चिन्छन् उनीजस्ता भिडिओ सम्पादकहरू।
नवीनका लागि सम्पादन दृश्य काट्ने काम मात्रै होइन, सिर्जनात्मक प्रक्रिया हो। कम्प्युटर अगाडि बसेपछि उनी सबभन्दा पहिले गीतको संगीत र शब्दमा डुब्छन्।
'सुरूमा म गीत राम्रोसँग सुन्छु। संगीत र शब्दभित्र के भाव छ, त्यो बुझ्नुपर्छ,' उनी भन्छन्, 'गीतले कस्तो भाव मागिरहेको छ, त्यो महसुस गर्नुपर्छ। त्यसपछि निर्देशकको भिजन सुन्छु।'
नवीन अगाडि भन्छन्, 'निर्देशकले कस्तो कथा देखाउन खोजेको हो, कस्तो टोन चाहिएको छ, त्यो स्पष्ट भएपछि मात्रै दृश्य मिलाउन सजिलो हुन्छ।'
उनका अनुसार कहिलेकाहीँ सुरूमा राखेको दृश्य पछि हटाउनु पनि पर्छ। फेरि फेरि मिलाउँदा झन् राम्रो बन्दै जान्छ। सम्पादक केवल निर्देशन पालना गर्ने व्यक्ति होइन, कहिलेकाहीँ सुझाव दिने सर्जक पनि हो।
'सम्पादन क्रममा यसरी राख्दा अझ राम्रो हुन्छ भनेर सुझाव दिने काम पनि हुन्छ,' नवीनले भने, 'अन्ततः लक्ष्य भनेको दर्शकसम्म सही भाव पुग्नु हो। दर्शकको मन जित्ने गरी भिडिओ तयार पार्नु हो।'
सम्पादन काम बाहिरबाट हेर्दा जति सरल देखिन्छ, भित्रबाट त्यति नै चुनौतीपूर्ण हुने नवीन बताउँछन्।
भन्दा सजिलो लागे पनि बन्द कोठाभित्र बसेर अरूले बनाएको संरचनासँग आफूलाई 'कनेक्ट' गर्नु र त्यसबाट दर्शक–स्रोतासँग पुग्ने सामग्री निकाल्नु सजिलो हुँदैन।
'राम्रो गीत, राम्रो भिडिओ फुटेज हुनुपर्यो। त्यसलाई सिँगार्ने, हेर्न लायक बनाउने र आँखालाई आनन्द दिने काममा सम्पादकको भूमिका महत्त्वपूर्ण हुन्छ,' नवीनले भने।
यो काममा प्रविधिसँग पनि अद्यावधिक भइरहनुपर्छ।
ट्रेन्ड बदलिइरहन्छ। सफ्टवेयर बदलिइरहन्छ। दर्शकको रूचि बदलिइरन्छ।
'त्यसैले सिकाइ कहिल्यै रोक्नु हुँदैन,' उनले भने।
कुनै भिडिओ सम्पादन गर्न कति समय लाग्छ भन्ने कामको प्रकृति अनुसार फरक हुन्छ। कुनै तीन–चार दिन लाग्न सक्छ, कुनै ५–६ घन्टामै सकिन्छ। गीत नृत्यप्रधान छ कि कथाप्रधान, कति अवधिको हो, फुटेज र आवश्यक भाव अनुसार समय तय हुन्छ।
नवीनको घर पाल्पाको पूर्वखोला हो। तानसेनमा बसेर एसएलसी (एसइई सरह) दिएर उनी काठमाडौं आएका थिए। पढाइसँगै केही गर्नुपर्छ भन्ने सोच थियो। तर सम्पादन नै गर्छु भन्ने उनलाई थाहा थिएन।
काठमाडौं आएपछि उनको जीवनले नयाँ मोड लियो।
'छैन र माया' गीत छायांकनका क्रममा मुस्ताङमा प्रकाश दूतराज र नवीन घर्ती मगर।
'गीत–संगीत क्षेत्रमा आबद्ध डोलराज बाह्रघरे मेरो भेना पर्नुहुन्छ। उहाँले म्युजिक भिडिओको प्रोमो काट्ने काम सिकाउनुभयो,' नवीनले भने, 'प्रोमो काट्दा २५ सयदेखि ३ हजार रूपैयाँ पाइन्छ भन्नुभयो। आर्थिक हिसाबले पनि ठिक लागेर म यतातिर लागेँ।'
यसरी नै उनले भिडिओ सम्पादन सिके। पछि उनी कृष्ण फिल्म्ससँग जोडिए।
'सुरूमा एक महिना त उनी पछाडि बसेर अरूले काम गरेको हेरेँ,' उनले भने।
कृष्ण फिल्म्स म्युजिक भिडिओ प्रोडक्सन हाउस हो। त्यहाँ रहँदा प्रायः शंकर बिसीले निर्देशन गर्ने सयौं गीतका भिडिओ सम्पादन उनले गरे। त्यसपछि एकता फिल्म्स र बी स्टार फिल्म्समा पनि म्युजिक भिडिओ सम्पादकका रूपमा जागिर गरे।
अनुभव बढ्दै जाँदा उनले स्वतन्त्र रूपमा आफ्नै प्रोडक्सन हाउस खोलेर काम गर्न थाले।
संघर्ष र सिकाइको यात्रापछि अहिले नवीन व्यस्त सम्पादकका रूपमा चिनिन्छन्। हिजोआज उनी महिनामा १०–१५ वटा म्युजिक भिडिओ सम्पादन गर्छन्। मेहनत र आम्दानीका हिसाबले पनि यो क्षेत्र राम्रै भएको उनी बताउँछन्।
'अहिलेसम्म मैले सम्पादन गरेका भिडिओको संख्या त ३ हजारभन्दा बढी पुगे होला,' उनले भने।
केही वर्षअघि नवीनले ८–१० वटा म्युजिक भिडिओ निर्देशन समेत गरे। यति बेला पनि चर्चामा रहेको गीत 'छैन र माया' मा उनकै निर्देशन छ। गीतलाई कथाका रूपमा अझ राम्रो तरिकाले गर्न सकिन्छ कि भनेर निर्देशन गरेको उनी बताउँछन्।
'व्यावसायिक रूपमा होइन, यसरी पनि बनाउन सकिन्छ है भनेर गरी हेरेको हो। निर्देशनको अनुभवले सम्पादनलाई अझ फराकिलो दृष्टिकोणबाट बुझ्न मद्दत गर्छ,' नवीनले भने।