गुड फ्राइडे सिनेमा
इश्वरन तमिल नाडूको पलानी (भारत) मा काम गर्ने एक सरकारी कर्मचारी हुन्।
उनकी एक आठ वर्षीया भातिजी छिन्, सुन्दरी। सुन्दरीलाई उनी अत्यन्त माया गर्छन् र उनको सुरक्षाप्रति निकै सजग रहन्छन्।
इश्वरनका केही नजिकका साथीहरू पनि छन्, जसमध्ये एक जना प्रहरी अधिकारी वडिवेल पनि छन्। वडिवेलकी छोरी पोन्नी र सुन्दरी मिल्ने साथी हुन्।
एक दिन पोन्नी आफ्नी दिदी आफ्ना प्रेमीसँग भिडिओ कल गरिरहेका बेला पुग्छिन्। सानी पोन्नीले त्यसबारे बुझ्दिनन्। उनको बुझाइमा साँझ ५ बजे जंगलमा हरिण देखिन्छ भन्ने पर्छ।
पोन्नीले सुन्दरीलाई पनि हरिण हेर्न जाऔं भन्छिन्। स्कुलबाट दुवै बालिका उक्त क्षेत्रमा जान अटोरिक्सा चढ्छन्। तर काकालाई देखेपछि सुन्दरी डराएर रिक्साबाट ओर्लिन्छिन् र पोन्नी एक्लै जान्छिन्।
फर्केपछि पोन्नी निराश र हतास देखिन्छिन्। सुन्दरीले आफू उनीसँग नगएकाले रिसाएकी भन्ठानेर फकाउने कोसिस पनि गर्छिन्। तर पोन्नी एकदमै डराएकी हुन्छिन्।
सुन्दरीले आफ्ना काकालाई पोन्नी रिसाएको सुनाउँछिन्। इश्वरनले पोन्नीलाई घरसम्म छाड्छन्। तर उनी बोल्न खोज्दा पोन्नी डराएर भाग्छिन्।
पोन्नी घर पुगेर बेहोस भएको खबर आउँछ।
यसपछिको कथा थाहा पाउन दक्षिण भारतीय फिल्म 'चिथा' हेर्नुहोला।
सन् २०२३ मा बनेको चिथा अपराध कथामा बनेको फिल्म हो। सिद्धार्थद्वारा निर्मित यो फिल्मको मुख्य भूमिकामा पनि उनै छन्।
फिल्म खासगरी एक काका र उनकी भतिजीबीचको सम्बन्ध वरिपरि घुम्छ।
चिथाले समीक्षकहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको थियो। अभिनय, कथा, निर्देशन र संवेदनशील विषयवस्तुको प्रस्तुतिका कारण यसको विशेष प्रशंसा गरिएको थियो। चिथा व्यावसायिक रूपमा पनि सफल रह्यो।
६९ औं फिल्मफेयर अवार्ड्स साउथमा यो फिल्मले उत्कृष्ट तमिल फिल्म सहित सात वटा पुरस्कार जितेको थियो।
हेर्नुस्, युट्युबमा