फिल्म रिलिज नजिकिँदै जाँदा कलाकारहरूमा उत्साह र तनाव दुवै बढ्छ भन्ने आम बुझाइ हुन्छ। अभिनेत्री स्वस्तिमा खड्काको अनुभव भने अलि फरक थियो।
केही साताअघि सेतोपाटी स्टुडिओमा अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँसँगको कुराकानीका क्रममा उनले भनेकी थिइन्, 'बाहिरबाट हेर्नेहरूले रिलिज हुन लाग्यो, कत्तिको नर्भस छौ भनेर सोध्नुहुन्छ। तर हामी काममा यति डुबेका हुन्छौं कि त्यो नर्भसनेस र उत्साह महसुस गर्ने फुर्सद नै हुँदैन।'
यसपटक उनको त्यो अनुभव फरक रह्यो।
'लालीबजार' रिलिजको केही दिनअघि फिल्म प्रदर्शन रोक्न मागसहित उच्च अदालत पाटनमा रिट पर्यो। अन्तिम तयारीमा पुगेको प्रिमियर समेत रोकियो। वैशाख १८ गते पूर्वनिर्धारित मितिमा फिल्म रिलिज हुन सकेन।
बुधबार मात्रै अदालतले फिल्म प्रदर्शनको बाटो खुला गरिदिएसँगै 'लालीबजार' शुक्रबार (आज) देखि रिलिज हुँदैछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वस्तिमाले यो बीचको समय सजिलो नरहेको बताइन्।
बादी समुदायको कथा, रिलिअघिको 'हाइप', उत्पन्न विवाद लगायत कारण पनि यति बेला लालीबजारप्रति चासो फरक ढंगले देखिएको छ।
यो विषयको गम्भीरता बुझेर नै छनोट गरिएको निर्माता रवीन्द्रले बताए।
स्वस्तिमासँग कुरा गर्दै उनले भने, 'जब यम थापाजी (निर्देशक) ले कथा लिएर आउनुभयो, बादी समुदायको कथा भन्नेबित्तिकै हामी गम्भीर भयौं। यो उहाँहरूको आत्मसम्मान र गर्विलो इतिहासको विषय थियो।'
लालीबजार' आमा र छोरीबीचको भावनात्मक कथा हो। वर्षौदेखि शोषण र पीडामा परेकी आमाले आफ्नो सन्तानका लागि गर्ने विद्रोह र संघर्षको कथा यसले प्रस्तुत गर्ने गर्नेछ।
२०४५ सालदेखि २०५८ हुँदै २०६३ सालसम्मको समय–रेखामा फिल्म सकेको रवीन्द्रको भनाइ छ।
उनका अनुसार फिल्ममा कुनै नयाँ कल्पनाभन्दा बढी वास्तविक अनुभव र दस्तावेजको आधार लिइएको छ। धेरै महिलासँग भेटघाट गरेर उनीहरूकै मुखबाट सुनेका घटना र उपलब्ध सामाग्रीलाई कथा निर्माणमा प्रयोग गरिएको थियो।
ट्रेलर सार्वजनिक भएपछि एक युवतीले सामाजिक सञ्जालमा म्यासेज गरेको प्रसंग रवीन्द्रले सुनाए।
नले आफू स्कुलमा हुँदा एउटा उपन्यास पढेपछि केटा साथीबाट नराम्रो प्रस्ताव आएको र अहिले फेरि ट्रेलर हेर्दा पुरानै पीडा सम्झिएको बताएकी थिइन्।
रवीन्द्रले ती युवतीलाई भेटेर आफूले किन यो कथा उठाउन आवश्यक ठानेको स्पष्ट पारेको सुनाए।
उनले भने, 'मैले उहाँलाई भनेँ, तिमीजस्तै अरू बहिनीहरूले त्यो अवस्था फेरि भोग्न नपरोस् भनेर नै मैले यो जोखिम लिएर कथा उठाएको हुँ।'
उनले अगाडि भने, 'घाउ छ भने किन छोपेर राख्ने? जबसम्म खुला बहस हुँदैन, समाजले हेर्ने दृष्टिकोण बदलिँदैन।'
रवीन्द्र यो फिल्म मात्र नभई इतिहासको दस्तावेजीकण पनि भएको बताउँछन्।
फिल्मको तयारीमा लेखक तथा निर्देशक यम थापाको अनुभव महत्वपूर्ण रहेको उनले बताए।
बर्दियाको राजापुरमै हुर्किएका यमले देखेका र सुनेका कथा नै प्रारम्भिक स्रोत थिए। त्यसपछि निर्माण टिमले समुदायका धेरै महिलाहरूसँग विभिन्न चरणमा भेटघाट गरेर थप अध्ययन गरेको थियो।
स्वस्तिमाले फिल्मको कथासँग जोडिँदा आफूले धेरै कुरा सिक्न पाएको बताइन्। उनले पात्रमा प्रवेश गर्दा आफूहरू कति विशेष सुविधायुक्त परिवेशमा हुर्किएका रहेछौं भन्ने महसुस भएको अनुभव साझा गरिन्।
भनिन्, 'मान्छेहरूले संघर्षका कथा मात्र किन देखाउने भनेर सोध्नुहुन्छ। तर मैले आमाहरूलाई भेटेपछि पीडाभन्दा ठूलो शक्ति देखेँ।'
उनले बादी समुदायका केही महिलाहरूसँगको भेट पनि सम्झिइन्।
रवीन्द्र बादी समुदायप्रतिको नजरिया बदल्ने उद्देश्यले फिल्म बनाएको बताउँछन्।
'उहाँहरूबाट सुन्यौं, त्यो बेला न्याय खोज्न जाँदा पनि अपमान सहनुपर्थ्यो। बलात्कारको मुद्दा दर्ता गर्न जाँदा प्रहरीबाट नै उपहास गरिएको घटना हामीले सुनेका छौं,' उनले भने, 'यो विषय उठाएर उहाँहरूलाई चोट पुर्याउनु होइन। यो कुनै पेसा होइन, यो त उत्पीडनको इतिहास हो। अहिले पनि कतिपयले बादी थर सुन्दा दुईचोटि हेर्ने अवस्था छ। हाम्रो उद्देश्य त्यो नजरिया बदल्ने हो।'
छायांकनका क्रममा फिल्मको टिम र समुदायबीच आत्मीय सम्बन्ध बनेको प्रसंग पनि स्वस्तिमाले साझा गरिन्।
लालीबजारको छायांकन दसैंपछि सुरू भएको थियो भने तिहार सेटमै मनाइएको थियो। त्यसक्रममा रविन्द्रले बादी समुदायका केही महिलालाई दिदीबहिनी मानेर भाइटीका लगाएका थिए। त्यो आत्मीयता आफूलाई निकै राम्रो लागेको स्वस्तिमाले बताइन्।
त्यस विषयमा रवीन्द्रले भने, 'हामी उहाँहरूसँग भावनात्मक रूपमा नजिक भयौं। त्यो सम्बन्ध फिल्म रिलिजसम्म मात्र सीमित नहोस् भन्ने लागेर नै टीका लगाउने प्रस्ताव गरेको थिएँ।'
उनी बादी समुदायलाई मनोरञ्जनसँग मात्र जोडेर हेर्नु अधुरो दृष्टिकोण भएको बताउँछन्। उनीहरूसँग आफ्नै कला, सीप र सांस्कृतिक विरासत रहेको उनको बुझाइ छ।
फिल्मको उद्देश्य कुनै समुदाय वा वर्गलाई ठेस पुर्याउनु नरहेको उनीहरू दुवैले प्रस्ट पारे।
स्वस्तिमाको पहिलो पटक अडिसन
नेपाली फिल्ममा नाम चलेका कलाकारहरूले अडिसन दिनु सामान्य अभ्यास मानिँदैन। तर स्वस्तिमाले लालीबजारका लागि अडिसन दिइन्।
अझ रोचक कुरा, यो स्वस्तिमाको १० वर्षभन्दा लामो करिअरकै पहिलो अडिसन थियो।
रवीन्द्रका अनुसार फिल्ममा पात्र छान्ने क्रममा निर्माण टिमलाई गाह्रो भइरहेको थियो। फिल्ममा ग्ल्यामर देखाउन खोजिएको थिएन। आमा पात्र देखाउनुपर्ने थियो।
हामीले सोच्यौं, पात्रसँग नजिक हुने केही हाउभाउ र आमा पात्र कोबाट नजिक देखिन्छ। त्यसका लागि अडिसन लिऔं भन्ने भयो। अभिनय राम्रो गर्नेहरू धेरै हुनुहुन्छ तर लुक टेस्ट नै गरेर हेरौं भनेपछि बोलायौं,' रवीन्द्रले भने।
स्वस्तिमाले अडिसनलाई लिएर आफूमा कुनै समस्या नभएको बताइन्।
'नेपालमा स्थापित कलाकारले अडिसन दिने चलन खासै छैन। तर मलाई लाग्छ, अडिसन लिनु भनेको पात्रप्रति गम्भीर हुनु हो। यदि यही फिल्म अर्को टोलीले बनाउन लागेको भए म सायद सशंकित हुन्थेँ। तर षट्कोण आर्ट्स र यो टिमको उद्देश्यप्रति मलाई विश्वास थियो।'
स्वस्तिमाको निर्णयले निर्माण टिमलाई पनि प्रभावित बनाएको रहेछ। उनले अडिसन दिएर मात्र होइन, फिल्मप्रति देखाएको समर्पणले पनि सबैलाई प्रभावित पारेको रवीन्द्रले बताए।
रवीन्द्रले भने, 'स्वस्तिमाले यो फिल्मका लागि धेरै ठूला अफर र पैसा छाडेर काम गर्नुभयो। उहाँले दिएको मेहनत, समय र सुझावले हामीलाई थप हौसला मिल्यो। गीतमा आमा र छोरी सँगै नाच्नुपर्छ भन्ने सुझाव पनि उहाँकै थियो।'
स्वस्तिमा र रवीन्द्र दुवैको भनाइमा यो फिल्म मनोरञ्जन मात्र होइन, एउटा समाज र समुदाय बुझाइ पनि हो।
हेर्नुस् स्वस्तिमा खड्का र रवीन्द्रसिंह बानियाँबीचको केही दिनअघिको भिडिओ कुराकानीः–