'म स्कूल पढ्दादेखि नै त्यो समाज, त्यहाँको जीवनशैली र केही पात्रहरू देखिरहेको थिएँ। पछि फिल्म लेख्न, बनाउन थालेपछि त्यो कुरा फेरि दिमागमा फर्कियो,' लेखक तथा निर्देशक यम थापा भन्छन्।
यमका अनुसार फिल्म 'लालीबजार' पश्चिम नेपालको बादी समुदायको एउटा बस्तीको परिवेशमा आधारित कथा हो। उक्त समुदायबारे बनेका सीमित धारणाभन्दा बाहिर गएर उनीहरूको मानवीय पक्ष, सम्बन्ध र पीडालाई फिल्मले देखाउने उनले बताए।
'हामी धेरैजसो एउटै दृष्टिकोणबाट हेर्छाैं,' यमले भने, 'तर उनीहरूको पनि परिवार छ, भावना छ, संघर्ष छ। लुकेका धेरै कुराहरू छन्। ती कुरा दर्शकले थाहा पाऊन् भन्ने चाहना हो।'
फिल्मको मूल कथा आमा-छोरीको सम्बन्धमा आधारित छ।
'जुनसुकै समाज, पेशा वा समुदाय भए पनि सम्बन्ध भनेको सम्बन्ध नै हो। आमा र छोरीको सम्बन्ध सबै ठाउँमा उस्तै हुन्छ,' यम भन्छन्।
उनले पाँच/छ वर्षअघि यही कथालाई पहिलो पटक लेखनका रूपमा उतार्ने प्रयास गरेका थिए। तर विभिन्न कारणले तत्काल फिल्म बन्न सकेन। समयसँगै कथा थप परिपक्क हुँदै गयो।
'पहिले लेख्दा एउटा सोच थियो, पछि फर्केर हेर्दा त्यो कथालाई अझ गहिरो रूपमा भन्न सकिन्छ भन्ने लाग्यो,' थापाले सम्झिए।
वैशाख १८ गतेदेखि प्रदर्शन तयारीमा रहेको 'लालीबजार' यसअघि सुपरहिट फिल्म दिइरहेको षट्कोण आर्टस्को निर्माण हो। जसले यसअघि 'टलकजंग भर्सेस टुल्के', 'जात्रा', 'जात्रै जात्रा', 'महापुरूष', 'महाजात्रा' जस्ता हिट फिल्म दिइसकेको छ।
'लालीबजार' को कथा र निर्देशन यमको हो भने पटकथा तथा संवाद उनले प्रदीप भट्टराईसँग मिलेर तयार पारेका हुन्।
यम सुरूमा यस फिल्ममा निर्देशकका रूपमा जोडिएका थिएनन्। उनका अनुसार केही वर्षअघि निर्देशक प्रदीप भट्टराईले तराईको अरू कुनै विषयवस्तुमा फिल्म बनाउने तयारी गरेका थिए।
उनी स्मरण गर्दै भन्छन्, 'म पनि तराईकै मान्छे, मैले यसअघि तराईकै विषयवस्तुमा फिल्म राज्जारानी पनि बनाइसकेको थिएँ। विषयवस्तुबारे छलफलकै लागि उहाँसँग भेट भएको थियो।'
उनका अनुसार त्यसपछि भएको संवादले सहकार्यको ढोका खोल्यो।
'उहाँसँग कुरा हुँदा भन्नुभयो- हामीले पनि बाहिरको फिल्म गर्न खोजेको तर खोजेको जस्तो भएन। त्यसपछि मैले मसँग भएको स्क्रिप्ट पठाएँ।'
यमलाई पर्सिपल्टै प्रदीपको फोन आयो। उनले केही नभनी फिल्म साइन गरे। फिल्मको कथावारे सुरूमा प्रदीपको टिमलाई शंका थियो। तर लोकेसन हेर्न बर्दिया पुगेपछि यथार्थता देख्दा विश्वास बलियो बन्यो।
'जब उहाँहरू लोकेसन हेर्न बर्दिया पुग्नुभयो। पात्रहरू पनि त्यही परिवेशमै स्वाभविक रूपमा भेटिनुभयो। यमजीले देखेको कथा रहेछ भन्नुभयो,' यम भन्छन्, 'म बर्दियाकै भएको र पहिल्यै केही फिल्म निर्देशन पनि गरिसकेको थिएँ। त्यसैले होला, उहाँहरूबाटै निर्देशनको अफर आयो। निर्देशकका रूपमा मलाई उहाँहरूले एकदमै विश्वास गर्नुभयो।'

यमका अनुसार यो कथा उनले प्रत्यक्ष देखेको एउटा घटनाबाट प्रेरित हो, जुन द्वन्द्वकालतिर अन्त्य भएको एक संवेदनशील परिस्थितिसँग जोडिएको छ। सोही समयरेखामा रहेर कथा भनिएको छ।
यद्यपि फिल्मले कुनै समुदायलाई दोष दिने वा प्रश्न उठाउने उद्देश्य नराखी मानवीय दृष्टिकोणबाट सहज ढंगले कथा भन्ने प्रयास गरेको यम बताउँछन्।
'हामीले कसैलाई दोष लगाउने फिल्म बनाएका होइनौं। सकेसम्म सम्मानपूर्वक र सहज तरिकाले कथा भनेका छौं,' उनी स्पष्ट पार्छन्।
यमले यसअघि 'राज्जारानी' र 'मेरी मामु' फिल्म निर्देशन गरिसकेका छन्। त्यस्तै उनले 'कोहीनूर', 'वीर विक्रम', 'कान्छी', 'अञ्जिला', 'परान' जस्ता फिल्ममा कथा तथा लेखनमार्फत काम गरेका छन्।
उनले 'लालीबजार' लाई आफ्नो करिअरको महत्वपूर्ण मोडका रूपमा लिएको बताएका छन्।
'यो फिल्म मेरो लागि केवल अर्को प्रोजेक्ट होइन। मैले देखेको, लेखेको र भोगेको सबै अनुभव जोडिएको कथा हो,' उनी भन्छन्, 'यो फिल्ममा एक वर्षभन्दा बढी समय दिएको छु। सकेसम्म भरपुर मेहनत पनि गरेको छु।'
फिल्मले केवल मनोरञ्जन मात्र नभई भावनात्मक प्रभाव छाड्ने उनको अपेक्षा छ। उनले दर्शकहरू हलबाट निस्कँदा सम्बन्ध र मावनीय भावनालाई महसुस गरून् भन्ने चाहना व्यक्त गरे। फिल्मको टिजर, ट्रेलर सार्वजनिक भइसकेपछि पाएको सकारात्मक प्रतिक्रियाले आफू झन् उत्साहित भएको उनी बताउँछन्।
'किन हो थाहा छैन, यसपालि म ढुक्क छु,' उनले भने, 'दर्शक हलबाट निस्कँदा एकपटक अंगालून् भन्ने चाहना छ।'
यमले 'लालीबजार' लाई आफ्नो करिअरको नयाँ उचाइतर्फको यात्रा मानेका छन्।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, विशाल देवकोटा, समाइरा थापा, प्रशंसा सुवेदीलगायत कलाकारहरूको अभिनय छ।