सरकारले भोगचलनको अधिकार प्राप्त गरेका तर कानुन अनुसार लिजमा परिणत नभएका जग्गा खाली गर्न बुधबार जारी गरेको परिपत्रबाट सबभन्दा पहिला प्रभावित हुनेमा नेकपा एमाले परेको छ।
उक्त परिपत्रका आधारमा नेकपा एमालेले च्यासलमा रहेको आफ्नो केन्द्रीय कार्यालय सार्नुपर्ने भएको छ। यसका लागि पार्टीले तयारी थालिसकेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार परिपत्र गर्दै लिजमा परिणत नभएका जग्गा खाली गर्न निर्देशन दिएको थियो।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार पारेको सूची अनुसार ३४२ वटा संस्थाले देशभरि विभिन्न ठाउँमा रहेका सरकारी जग्गाको भोगाधिकार लिएका छन्। तीमध्ये लिजमा परिणत नभएका जग्गा खाली गर्नुपर्नेछ। नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको ललितपुर च्यासलको जग्गा त्यसैमध्ये पर्छ।
एमाले कार्यालय रहेको भवन तुलसीलाल स्मृति प्रतिष्ठानले त्यस्तो भोगाधिकार प्राप्त गरेको जग्गामा बनेको छ। सरकारले २०७३ जेठ ३१ गते निर्देशन जारी गर्दै भोगाधिकार लिएको जग्गा लिजमा परिणत गर्न भनेको थियो। तर तुलसीलाल स्मृति प्रतिष्ठानले भोगाधिकार दिएको जग्गालाई लिजमा परिणत गरेको थिएन। बरू एमालेलाई २०७८ देखि भाडामा लगाएको थियो।
सरकारले २०५८ फागुन १० को निर्णयबाट भोगाधिकार दिएको जग्गा तेस्रो पक्षलाई भाडामा लगाउन मिल्दैनथ्यो। प्रतिष्ठानले विधि मिचेर भाडामा लगाएको भवन तथा जग्गा खाली गर्न सरकारले निर्देशन दिएपछि एमाले त्यहाँबाट सर्नुपर्ने भएको हो।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले अहिलेसम्म कार्यालय सानुपर्नेबारे आधिकारिक जानकारी नआएको बताए। तथापि कार्यालय सार्नेबारे पार्टीभित्र छलफल चलिरहेको जानकारी दिए।
'भोगाधिकार लिएको जग्गा खाली गर्नू भन्ने एकमुष्ठ सूचना थाहा पायौं। त्यसबाहेक छुट्टै परिपत्र पाएका छैनौं,' उनले सेतोपाटीसँग भने, 'कार्यालय सार्नेबारे हामी छलफलमै छौं।'
प्रतिष्ठानले साविक ललितपुर महानगरपालिका वडा नम्बर ९ 'ख' को कित्ता नम्बर २३९ र ९ 'ङ' को कित्ता नम्बर १३९ को दुई कित्ता जग्गा भोगाधिकार लिएको थियो।
कित्ता नम्बर २३९ को ९ रोपनी ४ आना २ पैसा २ दाम र कित्ता नम्बर १३९ को ३ रोपनी २ आना ३ पैसा १ दाम जग्गा भोगाधिकार लिइएको छ।
च्यासल बाटो वारिपारिको सम्पूर्ण भवन अहिले एमालेले नै उपभोग गरिरहेको छ। जेनजी आन्दोलनमा जलाइएको उक्त भवन एक महिनामै पुनर्निर्माण गरी एमालेले प्रयोगमा ल्याएको थियो।
एमाले २०७२ को भुइँचालोदेखि भाडामा बस्दै आएको छ। भुइँचालोमा बल्खुको कार्यालय भवन भत्किएपछि एमाले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा सरेको थियो। त्यहाँ पनि एमाले गैरकानुनी तवरले भाडामा बसेको भन्दै प्रश्न उठेपछि थापाथली हाइटमा रहेको एउटा व्यवसायीको घरमा सरेको थियो। त्यहाँको घर साँघुरो भएपछि एमाले च्यासल सरेको हो।
भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा एमालेलाई दान दिँदै भवनसमेत बनाइदिने भन्दै २०८१ असोजमा शिलान्यास गरेका थिए। उनले एक वर्षमा भवन बनाएर हस्तान्तरण गर्ने भने पनि निर्माण सुरू गरेका थिएनन्।
२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलन क्रममा भाटभटेनीसमेत निशानामा परेपछि व्यवसायी गुरूङ आफै संकटमा छन्। उनले एमालेलाई भवन बनाउन नसक्ने बताइसकेका छन्।
सरकारले अहिले च्यासलबाट हटाउने भएपछि एमालेलाई नयाँ कार्यालय भवन खोज्नुपर्ने बाध्यता आएको छ।