अघिल्लो वर्ष ५७ वटा नेपाली फिल्म प्रदर्शनमा आए। त्यसमध्ये ५६ वटा फिल्मको बक्स अफिस विवरण चलचित्र विकास बोर्डले सार्वजनिक गरिसकेको छ। वर्षको अन्त्यतिर रिलिज ‘राम नाम सत्य’ को व्यापार विवरण भने आगामी सोमबारमात्रै सार्वजनिक हुनेछ।
गत वर्ष सर्वाधिक कमाउने १० फिल्ममा क्रमशः 'परान', 'आबाट आमा', 'जेरी अन टप', 'उनको स्विटर', 'जारी २', 'बलिदान', 'मोहर', 'हरिबहादुरको जुत्ता', 'माग्ने राजा' र 'माइतीघर' छन्।
करोडौं कमाएका यी फिल्महरूले कति नाफा गरे होलान् भन्ने चासो हुन्छ।
तर शीर्ष स्थानमा परेका यी सबै फिल्म नाफामा भने छैनन्। केही फिल्मले मात्र राम्रो नाफा कमाएका छन्। केहीले लगानी उठाउनै संघर्ष गरेका थिए।
यसले बक्स अफिसमा करोडौं रूपैयाँ कमाएका सबै फिल्म नाफामै नहुन सक्ने देखाएको छ। फिल्मको नाफा/घाटा मुख्यतः निर्माण लागत, कलाकार तथा प्राविधिक पारिश्रमिक, प्रचारप्रसार खर्च र अन्य आम्दानी स्रोतमा निर्भर रहन्छ।
फिल्म क्षेत्रका जानकारहरूका अनुसार सार्वजनिक हुने ग्रस कलेक्सनलाई मात्रै आधार मानेर कुनै फिल्म नाफा वा घाटामा गयो भनेर निष्कर्ष निकाल्न मिल्दैन। कुल ग्रस कलेक्सनबाट कर कटौती हुन्छ। त्यसपछि हलको हिस्सा, वितरक कमिसन र अन्य खर्च कटेपछि मात्रै बाँकी रकम निर्मातासम्म पुग्छ।
फिल्मको टिकटमा १३ प्रतिशत भ्याट लाग्छ भने ५ प्रतिशतसम्म स्थानीय मनोरञ्जन कर तिर्नुपर्छ। त्यसपछि बाँकी रकम हल र निर्माता पक्षबीच बाँडफाँट हुन्छ। त्यसमा वितरकहरूलाई समेत सेयर दिनुपर्छ। निर्माताहरूका अनुसार अन्ततः कुल ग्रस कलेक्सनको ४० प्रतिशत हाराहारी रकम मात्र निर्माताको हातमा पुग्छ। अर्थात् कुनै फिल्मले १० करोड रूपैयाँ व्यापार गरे पनि निर्माताले करिब ४ करोड रूपैयाँ मात्र प्राप्त गर्ने अवस्था रहन्छ।
कतिपय फिल्मको निर्माण लागत धेरै हुन सक्छ। यस्ता फिल्मको कमाइ उच्च हुँदा पनि लगानी उठ्न कठिन हुने अवस्था आउँछ। कलाकारको पारिश्रमिक, प्राविधिक, प्रचारप्रसार खर्च लगायतले लागत बढाउँछ।
चलचित्र विकास बोर्डका अनुसार फिल्म 'माइतीघर' ले बक्स अफिसमा ४ करोड १६ लाख ३१ हजार रूपैयाँ ग्रस कमाएको छ। तर यसका निर्माता रोहित अधिकारी बक्स अफिस कमाइबाट फिल्म ठूलो घाटामै रहेको बताउँछन्।
'हाम्रो लागत नै ४ करोड रूपैयाँभन्दा बढी पुगेको थियो। लगानी उठ्नु त परको कुरा, बक्स अफिसबाट २ करोड रूपैयाँभन्दा बढी घाटामै रह्यौं,' अधिकारीले भने।
चर्चित कलाकारका कारण पारिश्रमिकमै ठूलो रकम खर्च भएको उनले बताए। त्यस्तै, एउटा गीतमै ५० लाख रूपैयाँ खर्च गरिएको उनको दाबी छ।
'प्रचारप्रसारमा पनि ठूलो खर्च भयो,' उनले भने, 'सोहीकारण लागत बढ्यो। डिजिटल, विदेश राइटस्लगायतको आम्दानी जोड्दा पनि एक करोड रूपैयाँ हाराहारी घाटामा रह्यौं।'
करोडौं कमाए पनि लगानी धेरै हुँदा आफ्नो फिल्म घाटामा रहेको रोहितले बताए।
यो मात्र होइन्, धेरै कमाएको भनिएका अन्य केही फिल्म पनि घाटामा रहेको देखिन्छ। फिल्म 'हरिबहादुरको जुत्ता' ४ करोड ७१ लाख ३८ हजार रूपैयाँसहित वर्षको धेरै कमाउने सूचीको आठौं नम्बरमा छ। यद्यपि बक्स अफिसको कमाइबाट फिल्म घाटामा रहेको निर्माता सरोज वली स्वीकार्छन्।
उनका अनुसार फिल्ममा ३ करोड ३७ लाख रूपैयाँ लगानी गरिएको थियो। दसैंको अवसर पारेर असोजमा फिल्म प्रदर्शनमा आएको थियो।
बक्स अफिसबाट घाटामा रहे पनि डिजिटल, विदेश राइट्स र ब्रान्ड विज्ञापनबाट ३०/३५ लाख रूपैयाँ नाफा कमाएको सरोजले बताए।
'सबैजना चलेका कलाकार हुनुभयो। धेरै हिसाबले लगानी बढ्यो,' उनले भने, 'तर जेनजी आन्दोलनपछिको माहोलमा कत्तिको चल्छ भन्ने अन्यौल थियो। त्यस्तो समयमा उक्त व्यापार गर्नु, लगानी सुरक्षित हुनु ठूलो कुरा थियो।'
पहिलो फिल्मको लगानी सुरक्षित भएकै कारण आफू दोस्रो फिल्मको तयारीमा लागेको सरोजले बताए।
चलचित्र विकास बोर्डमा पेश गरिएको विवरणअनुसार 'बलिदान' को लागत ३ करोड रूपैयाँ उल्लेख गरिएको छ। यद्यपि यसको लागत अझै निकै बढेको बताइन्छ। तर फिल्मले ५ करोड १० लाख ५१ हजार रूपैयाँ ग्रस कमाएको छ। उक्त कमाइ हुँदा निर्माताको हातमा करिब २ करोड रूपैयाँ मात्र पुग्ने अनुमान छ। त्यस आधारमा फिल्म घाटामै देखिन्छ। यो फिल्म गत वर्ष धेरै कमाउनेमा छैठौं नम्बरमा छ।
त्यस्तै, वर्षको धेरै कमाउने सूचीमा पाँचौं नम्बरमा रहेको 'जारी २' समेत बक्स अफिस कमाइमा घाटामा रहेको देखिन्छ। बोर्डमा पेश गरिएको विवरणअनुसार यसको लागत २ करोड ८० लाख रूपैयाँ उल्लेख छ।
रिलिजअघि ठूलो हाइप भए पनि यो फिल्मले बक्स अफिसमा ६ करोड २४ लाख १७ हजार रूपैयाँ कमाइ गरेको थियो। उक्त कमाइ हुँदा निर्माताको हातमा २ करोड ५० लाख रूपैयाँ हाराहारी मात्रै पुग्ने देखिन्छ। यद्यपि डिजिटल राइट्स, विदेश प्रदर्शन अधिकारलगायतबाट फिल्म नाफामा गएको हुनसक्छ।
गत वर्ष 'परान' ले १७ करोड ७६ लाख ८४ हजार रूपैयाँ ग्रस कमाउँदै सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाएको छ। 'आबाट आमा' १३ करोड १५ लाख रूपैयाँसहित दोस्रो स्थानमा रह्यो। 'जेरी अन टप' ले १२ करोड २८ लाख ८४ हजार रूपैयाँ कमाउँदा 'ऊनको स्वीटर' ले ११ करोड ४१ लाख ९२ हजार रूपैयाँ व्यापार गरेको थियो। यी फिल्महरूको लागत चलचित्र विकास बोर्डमा क्रमशः २ करोडदेखि २ करोड ५० लाख रूपैयाँसम्म उल्लेख गरिएको छ।
यी फिल्मले बोर्डमा पेश गरेको लागत विवरणलाई आधार मान्ने हो भने 'परान' बाट निर्माताको हातमा ७ करोड रूपैयाँभन्दा बढी आउने देखिन्छ।
त्यस्तै, 'आबाट आमा' निर्मातासँग ५ करोड २६ लाख रूपैयाँ र 'जेरी अन टप' निर्मातासँग ४ करोड ९० लाख रूपैयाँ सेयर आउने देखिन्छ।
'जेरी अन टप' का निर्माता सरोज न्यौपाने विकास बोर्डमा पेस गरिएको लागतभन्दा आफ्नो फिल्ममा धेरै खर्च भएको बताउँछन्।
'हाम्रो फिल्मको विषयवस्तु नितान्तः फरक थियो। एउटा एक्स्पेरिमेन्ट जस्तो पनि भयो। धेरै दृश्य पुनः छायांकन समेत गर्नुपर्यो। त्यसका कारण लगानी बढ्यो,' उनले भने, 'यति/उति भन्दा पनि कुल लगानीको ५० प्रतिशत हाराहारी नाफामा छौं।'
गत वर्ष फिल्म 'मोहर' ५ करोड ८ लाख ९५ हजार रुपैयाँसहित सातौं तथा 'माग्ने राजा' ४ करोड ६९ लाख ४३ हजार रुपैयाँसहित नवौं स्थानमा परेका थिए। यी दुवै फिल्मले निर्माण लागत २/२ करोड रूपैयाँ देखाएका थिए।
फिल्मको कमाइ बक्स अफिसमै सीमित हुँदैन। यद्यपि बक्स अफिसलाई हेर्दा गत वर्ष केही सीमित फिल्म मात्रै नाफामा गएको देखिन्छ।
डिजिटल राइट्स, विदेश प्रदर्शन अधिकार, ब्रान्ड सहकार्य तथा अन्य व्यावसायिक सम्झौताबाट पनि अतिरिक्त आम्दानी हुने गर्छ। पछिल्ला वर्षहरूमा डिजिटल राइट्स नेपाली फिल्मको प्रमुख आम्दानी स्रोतका मध्येमै पर्छ। त्यस्तै, नेपालमा सफल कतिपय फिल्मले विदेशमा समेत ठूलो कमाइ गर्दै आएका छन्।
यसकारण पनि हलको व्यापार मात्रै कुनै फिल्म सफल भयो वा असफल भयो भन्ने अन्तिम मापन मान्न नसकिने यस क्षेत्रका जानकारहरू बताउँछन्।