पियारा, एउटा प्रश्न गर्न मन थियो। मनमा हजार प्रश्नहरू त छन् तर ती सबै प्रश्नहरू सोध्न योग्य रहेनन् र अब उत्तर पाएँछु भने पनि ती उत्तर मेरा लागि उत्तर हुँदैनन्, झन् अर्को नयाँ प्रश्न बन्नेछन्। त्यसैले यो सम्बन्धबाट जाँदा-जाँदै एउटा प्रश्न तिमीलाई।।
खै त्यस्तो के थियो ती अरूकी श्रीमतीमा र तिमीले मलाई छोड्ने हिम्मत गऱ्यौ?
त्यस्तो अमूल्य अनि खास के थियो उनीसँग जुन मसँग थिएन?
उनी के कुरामा त्यति अब्बल थिइन्, जुन म सर्वस्व सुम्पिएर नि हुन सकिनँ?
उनले आफ्ना श्रीमान्सँग लुकेर र छलेर तिमीलाई के-के दिने गर्थिन्, जुन मैले यतिका वर्ष प्रेमिका भएर र श्रीमती भएर पनि तिमीलाई दिन सकिनँ?
त्यस्तो के थियो ती दुई सन्तानकी आमा र अरूकी श्रीमतीसँग कि तिमीले वर्षौँदेखिकी प्रेमिका र अहिलेकी श्रीमतीलाई नै यसरी लत्त्याउन सक्यौ?
बस् यति नै प्रश्न थियो मसँग, भनौँ भने मसँग यी प्रश्नपछि अरू कुनै प्रश्न नै हुँदैनन्। थाहा छ, तिम्रो उत्तरले मलाई अझै हजार वटा अरू प्रश्नहरू निकाल्दिन्छ तर पनि मलाई बुझ्न छ र मलाई जान्न छ- खै मसँग के थिएन र उनीसँग के-के थियो?
बस् यति त भनिदेऊ, केही गरी समयको खेलले मलाई र मेरो शरीरलाई बिच बाटोमै यो सासले साथ दिन सकेनछ भने पनि मेरो मनमा खड्को रहने थिएन। किनकि म एक सफल प्रेमिका त बनेँ, तिम्री श्रीमती पनि बनेँ तर एक सफल श्रीमती बन्न सकिनँ किनकि म तिम्रो एउटा मात्र श्रीमती बन्न सकिनँ। हो ल मानौँ धेरै वर्ष सम्बन्धमा बसेर तिम्रो मन भरियो होला मदेखि तर, तर विवाह बन्धनमा बाँध्नु अगाडि छोडिदिएको भए म एक श्रीमान्ले छोडिदिएकी श्रीमती त हुने थिइनँ, समाजले पाप बोकेर आएकी छे भनेर मेरो सौभाग्य बनेर आउने सन्तानलाई जन्मनु अगाडि सराप्ने थिएनन्। म आफै प्रेमबाट लुटिने थिइनँ।
भ्रममा परेकी श्रीमती जति अभागी कोही हुँदैनन् किनकि उसले भ्रममा आफ्नो घर परिवार छोड्छिन्, भ्रममा नै नाम पछाडिको थर छोड्छिन्। त्यही भ्रममा आफ्नो कुल छोड्छिन्। आफ्नो शरीर छोड्छिन्। यही भ्रममा जिन्दगीमा महिलाले छोड्न र दिन सक्ने सबै कुरा श्रीमान्ले राखेको भ्रम र दिएको भ्रममा छोड्छिन् तर ती भ्रमले उसको जिन्दगीभर अर्को भ्रम उमार्दिन्छ- कोही पुरुष सत्य हुँदैनन् र कुनै पुरुष साँचो हुँदैनन्।
पियारा, विवाह त पवित्र बन्धन होइन र? कसैसँग सात जुनी काट्छु भनेर, सात वचन खाएर, सयौँ परिवार र अग्निलाई साक्षी राखी साँचो मन र दिमागले, खाली सिउँदोमा सिन्दूर हाली, गलामा मङ्गलसूत्रको बन्धन दाम्लो जसरी लगाइदिएर अब मारे पाप पाले पुण्य भनेर अरूको घरमा फुलेर बसेकी छोरीलाई उसको आँगनबाट आफ्नो घरमा भित्र्याउँदै गर्दा, तिमी आफ्नो वचन र आफ्नो जवाफदेही भित्र कसिएर उभिन सकेनौ?
हामी हिजोको दिनमा प्रेम सम्बन्धमा रहँदा यति विश्वस्त किन बनायौ मलाई कि मेरो दिमागमा तिमी नै सर्वस्व, तिमी नै संसार भन्ने लाग्यो। मैले त्यही विश्वासमा आफ्नो श्रीमान् तिमी बनाउने निर्णय गरेँ र दैलामा आएका हजार विवाहका प्रस्तावलाई गलहत्याएँ। मैले ठाडो शिर पारेर कहिल्यै पर पुरुषलाई हेर्ने हिम्मत नै गरिनँ। यस्तै होला भन्ने भएको भए, तिमीले जिन्दगीमा मलाई ल्याएर पर्समा अर्काकी श्रीमतीको फोटो राखेर हिँड्दा म पनि त सिन्दूरमा तिमीलाई राखेर, सारीको फेरोमा अरू पुरुष राखेर हिँड्थे होला। तर मैले मायालाई इज्जत बनाएँ, सम्बन्धलाई धर्म जसरी निभाएँ। मेरो नैतिकताले मलाई कहिल्यै आफ्नो घरको दैलो कमजोर छ भनेर पराईका घरका छाना हेर भनेन।
सुन न मेरा नामका मात्र श्रीमान्, मलाई यसरी छोड्नु अगाडि पनि त हजार पटक छोडिसकेको त थियौ होला। किन कुनै दिन यो महसुस हुन दिएनौ कि म बोझ भइरहेको छु यो सम्बन्धमा भनेर? म तिमीलाई सजिलो बाटो दिने थिएँ, म खुला छोडिदिन्थेँ तिमीलाई। उसलाई पनि त दुई साना सन्तान र श्रीमान्लाई छलेर तिमीलाई समय दिन त गाह्रो भएको थियो होला। अनैतिक सम्बन्ध निभाउन त गाह्रो हुन्छ नि, यो दुनियाँ र समाजसँग लुकेर र लाज पचाएर हिँड्न। बरु मलाई चटक्क छोडिदिएको भए त यति बाधा तिमीलाई हुने नै थिएन नि।
छोड्नु थियो भने विवाहपश्चात् छोडिहालेको भए पनि यो कोखमा बसेको बच्चाले धर्तीमा टेक्नु अगाडि नै उसलाई बिना बाबुको टुहुरो बन्नै पर्थेन नि! भोलिका दिनमा यो बच्चाले बुबाबिनाको जिन्दगी कति संघर्ष गर्नुपर्छ, के-के सहन पर्छ, कति चिज झेल्नुपर्छ। अबको ८ महिनापछि मैले आफैलाई के जवाफ दिने? समाजले प्रश्न पक्कै गर्ने छ, बिना बाबुको बच्चा भनेर! किनकि मैले देखेको समाजले सजिलै महिलालाई केही कुरामा स्विकार्दैन, यो थाहा छ मलाई।
सुन न, भोलि यो बच्चाले बा खोज्ला, बाको काख खोज्ला, बाको माया खोज्ला, भोलि पढ्न जाँदा विद्यालयमा साथीका बाका माया देखेर आफ्ना बाको पनि त्यस्तै माया खोज्ला, अभिभावक दिवसमा बा-आमालाई बोलाऊ भनेर शिक्षकले भन्दा उसले मसँग आएर तिमी कहाँ छौ भनेर सोध्ला, म के जवाफ दिने?
कसरी उसलाई तिमी गलत हौ, गलत थियौ र तिमीले हामीलाई अलपत्र पारेर छोडेका थियौ भनेर त्यो अबोध बालकलाई सम्झाउने?
कसरी एउटा सन्तानको आँखामा बाप्रतिको घृणा उब्जाउने?
सुन न, मैले नसुनाएको कथा तिमीलाई सुनाउँछु, छोडेर जाँदै छौ, म सबै कुरा भनेर बिदा हुन्छु! मेरा दुःख सुनेर जिन्दगीमा कहिल्यै अपसोस भएछ आफ्नो यो निर्णयमा भने सोच्नु नि है, माफ दिन सकुँला नसकुँला तर दोषी तिमीलाई बनाउने छैन।
म सानै थिएँ रे, बल्लबल्ल बा भन्न सक्ने भएकी थिएँ रे, बाले बाल कथा सुनाउँदै बाटोमा हिँड्दा एक्कासि मुटु दुख्यो भनेर निसासिएर मुटु समाउँदा समाउँदा, मलाई समाउन नसकेर काखमा बसेकी म भुईंमा खसेकी थिएँ रे। माटोमा लडेका मेरा बा र म दुवै जना जिन्दगीमा उठ्नै सकिएन। बा भगवान्का प्यारा भए र बाको माया मैले कहिल्यै मनदेखि महसुस गर्नै पाइनँ।
आमाका सिउँदो पुछिए, चुरा फुटाइए, मङ्गलसूत्र चुँडाइदिए, त्यो लगाइराखेको रातो सारी पनि फेरिदिए। आमाका विवाहमा आमालाई दिएको भनेको सिन्दूर, पोते, चुरा मात्र थियो, बा जाँदा सिन्दूर, चुरापोते बाले आफैसँग लगेका थिए, त्यसमा कुनै गुनासो थिएन तर आमालाई मन पर्ने रातो रङ जुन आमाले बाल्यकालदेखि लगाउँथिन् त्यो पनि लगे। यो प्रश्न सधैँ खट्किन्थ्यो मनमा, रातो रङ श्रीमान्कै देन हो?
हुन त आमाका जिन्दगीमा अब रङ नै कहाँ थिए र आमा बेरङ भइन्, बा आफू त गए-गए, घरका खुसी, सुख, आमाका रङ, शान्ति सबै लिएर गएका थिए। अनि हामी आधा टुहुरो भयौँ, आमाले मलाई शिरमा राखेर यत्तिको बनाइन्। आमाका आँसु, आमाका संघर्ष, आमाको मिहिनेत सब देखेकी एक्लो छोरी म, अब आफूले रोजेको मान्छे पाएपछि उहाँलाई दोब्बर खुसी दिन्छु भन्ने आसमा बुनेका हरेक सपना फिक्का गराइदियौ पियारा। अब यो कलिलै उमेरमा पेटको बच्चा लिएर आमाकै झुपडीमा कसरी फर्किनु?
म त जसोतसो मन बुझाउँला, मेरी आमाका फुलेका कपाल र चाउरिएका गालामा फेरि खुम्चिएका निधार र भरिएका आँखा कसरी हेरौँ म, आमाले सन्तान जन्माएपछि, अकालमा श्रीमान् गुमाइन तर छोरीले सन्तान पेटमा रहँदै, श्रीमान् गुमाउन पुगिन्। फरक यत्तिको आमाको मन बरु बुझ्दो हो, आमाका ठाउँमा बाले अर्की महिला ल्याएनन् तर मेरो मन कसरी मान्दो हो, आफैले रोजेको श्रीमान्ले, उसको गर्भमा बच्चा रहँदा गुमाउन पुगेको भन्छन् नि आफैलाई मन परेर रोजेको जुत्ताले डस्दा केही गर्न सकिँदैन भनेर।
आमाका श्रीमान् फर्केर आउँदैनन्, मेरा सन्तानका बाले फर्केर हेरेनन्। कस्तो गोरेटो गल्लीमा हिँड्न पऱ्यो हामी आमा, छोरी र नातिनी। मेरो सन्तानले नि बाको मायाको भोगी भएर बाँच्नुपर्ने भयो। यति अन्याय एउटै मान्छेलाई यही जिन्दगीमा कसरी दिन्छौ हे भगवान्? थाकिसकेँ म तिम्रा नाम हरेक मन्दिरमा जपेर तर तिमी मलाई दुःख दिनलाई किन थाकेका छैनौ बुझ्न सकिनँ।
दुनियाँका अगाडि तिमी पाएकोमा घमन्ड गर्ने मान्छे म, हेर न अब समाज र आफन्तका अगाडि कसरी अनुहार देखाऊँ? गलत तिमी गर्ने, सहनु मैले पर्ने अनि लाज मलाई लाग्ने, पीडा मलाई हुने कस्तो ऋण दियौ मलाई यो? मैले दिन सक्ने र गर्न सक्ने के गरेको थिइनँ? तिमीसँग केही नहुँदा र तिमी जिन्दगीमा हरेस खाँदा, मैले साहस दिएँ, आँट दिएँ, विश्वास दिएँ। तिमी गरिबीले पिल्सिँदा, नयाँ लाउने र मिठो खाने रहर गर्दा, आमाका ओखती किनेपछि बाँकी रहेका पैसा सबै तिमीलाई थमाएर म महिनाभरि जसोतसो गुजारा गर्थेँ।
बिना बाबुकी छोरी, बेरोजगार आमाकी छोरी हुँदा पनि घरको टिन फेर्न जरुरी हुँदा, तिम्रा पाउका फाटेका जुत्ता फेरिदिने म, मेरो मायाको अलिकति पनि इज्जत गर्न मन लागेन?
तिम्रा बाले जुवातासमा लगाएको ऋण तिर्न आमाले रहर गरेर फेर्न खोजेका सारीसमेत नकिनेर ती ऋण भरेकी मलाई, यति ठुलो बज्रपात दिँदै गर्दा तिम्री आमा किन मौन बसेकी छिन् भनेर प्रश्न गर्न मन थियो। तिम्रा बाले गोठालो जाँदा अरूका श्रीमतीलाई आँखा लगाए भन्दा समाजका अगाडि तिम्रा इज्जत जोगाउन साहुका अगाडि सुनपानी छोएर, भोलिका दिनमा यस्तो केही भए मेरो कठालो समाउनुहोला भनेर बिन्ती गरेर पुलिसका हातमा गएका तिम्रा बा पनि धरौटी बसेर जमानत गरेकी ममाथि यति अन्याय हुँदा अगाडि उभिएर छोरालाई एक प्रश्न गर्न नसकेका ती बालाई प्रश्न गर्न मन थियो।
बाको माया नपाएकी म, तिम्रा बाका हरेक इच्छा पूरा गर्न खोज्दा कति चाडबाडमा मैले कपडा पनि फेरिनँ तर आज ममाथि यो अन्याय हुँदा मौन बसेका ती आमा बाप्रति पनि ठुलो प्रश्न छ, अझै सबैभन्दा ठुलो प्रश्न तिमीलाई, भोलि ती महिलाले तिम्रा कमाएका २/४ पैसा लिएर अरू कसैसँग लागिन् भने कुनै अपसोस हुन्छ कि हुँदैन तिमीलाई?
किनकि सन्तान र श्रीमान् छोड्न सक्ने महिला र श्रीमती अनि धर्तीमै नआएको बच्चा छोड्न सक्ने बाले संसारमा जे अनि जो पनि छोड्न सक्छन्, भोलि त्यसले तिमीलाई छोडी भने के गर्छौ?
होस् जेसुकै गर तर मेरो बाटोमा झुक्किएर नि देखा नपर है, अब बच्चाका लागि एक्लो खम्बा भएर उभिनु छ। आमाको सहारा बन्नु छ, यस्ता दुनियाँका सारीमा लुक्दै हिँड्ने पुरुष मलाई चाहिएको छैन। त्यसैले जहाँ छौ, जस्तो छौ, जे छौ, त्यहाँ त्यसरी नै बाँच्नू।
तिमी मरेको खबर नआओस् मलाई तर खैर त्यो खबर पाएँछु भने पनि एक छाक खाना तिम्रो मरणमा छोड्ने छैन किनकि तिमीले शारीरिक र आर्थिक मोहमा मलाई फेरि एक पटक टुहुरो बनाइदिएका छौ। म बिर्सने छैन तिमीलाई र तिम्रो बैगुनलाई र म हार मानेर नि बस्ने छैन, तिमीलाई पश्चात्ताप हुने गरी प्रगति गर्ने छु। परैबाट मेरो सफलतामा जल्नू र खरानी हुनू है। एकल महिला भएर कुनै पुरुषको केही साथ बिना नै आमा र छोरीलाई खुसी राख्नेछु।