कविता
अचेल मलाई आफैदेखि दया लागेर आउँछ
आफ्नो हालत देखेर आफैलाई हाँसो उठ्छ
आफैलाई आफैमाथि व्यङ्ग्य गर्न मन हुन्छ
आफ्नो अज्ञानता सम्झेर दुःख लाग्छ
आफ्नो मूर्खतासँग झोक चल्छ
आफूभित्रको अन्तरविरोधमा अल्झिएर
कुहिरोमा हराएको काग भएको छु
आफूभित्रको अन्तद्वन्द्वमा फसेर
हुरीमा परेको माहुरी भएको छु
यस्तो विरोधाभासपूर्ण जीवन बाँच्नु
आफैमा ठूलो सजाय हुँदोरहेछ
क्याक्टस चपाउँदा मरूभूमिमा
आफ्नो ओठबाट निस्केको रगतलाई
क्याक्टसको रस ठानेर स्वाद मान्ने ऊँटझैं
अथवा साँघु तरिरहेको अगुवा भेडो
खुट्टो चिप्लिएर खोलामा खस्दा
पालैपालो खोलामा हाम फाल्ने
पछाडिका अरु भेडाहरूझैं
अथवा आफ्नो घाउ आफै कोट्याएर
आफैलाई पीडा थपिरहेको बाँदरझैं
अथवा कमान्डरबिनाको किंकर्तव्यविमुढ सिपाहीझैं
मैले गर्नुपर्ने के हो?
म के गरिरहेको छु?
कुनै अत्तोपत्तो नपाएर
यसरी नै सधैँ भड्किरहेको हुन्छु
आफैमाथि विश्वास नभएपछि
कसैमाथि भरोसा नहुँदो रहेछ
आशङ्काको आगोले झन्
आफ्नै मन डढाउँदो रहेछ
म को हुँ ?
अरूले नै मलाई चिनाइ दिनुपर्छ
मैले के खोजेको हुँ ?
अरूले नै मलाई बताइ दिनुपर्छ
म आफै बल्न सक्दिनँ
कसैले सलाइ कोरिदिनुपर्छ
म आफै निभ्न जान्दिनँ
कसैले पानी खन्याइ दिनुपर्छ
'मिरमिरे उज्यालो भइसक्यो
अब सुनौलो बिहानी उदाउँछ'
भन्यो कसैले भने पटक्कै विश्वास लाग्दैन
तर 'सृष्टिमा प्रलय आउँदै छ'
भन्ने खबर कहीँकतै सुनेँ भने
म एकदम छिटो पत्याइहाल्छु
कान नछामी कागको पछि कुद्नु
र न्याउरी मारेर पछुताउनु
यी मेरा विशेषता नै हुन्
सपनाको रुमालमा एक छेउमा बुट्टा भर्न
अर्को छेउबाट धागो तानिरहेको हुन्छु
रहरको राजमार्गमा एक ठाउँको खाल्डो पुर्न
अर्को ठाउँको पिच खनिरहेको हुन्छु
कहिलेकाहीँ खुसीको एक पेग लिऊँ भन्दा
आफ्नै आँसुले भरिएको प्याला उठाइरहेको हुन्छु
सुख भन्नु मेरा लागि मृगतृष्णा भएको छ
म पहाडको टुप्पोमा ढुङ्गो अड्याउन नसक्ने
सिसिफसजस्तो भएको छु
म मात्रै यस्तो हुँ कि सोचेको
म मात्रै यस्तो होइन रहेछु
मेरो परिवार पनि मजस्तै रहेछ
मेरो गाउँ पनि मजस्तै रहेछ
मजस्तै रहेछ मेरो देश पनि
गलामा राष्ट्रिय झन्डा भिरेर
राष्ट्रको शरीरमा आगो झोस्नेहरू
मेरा आफ्नै दाजुभाइ रहेछन्
म मात्र मजस्तो रहेनछु
मेरो मूर्खता मेरो मात्र रहेनछ
मेरो अज्ञानता मेरो मात्र रहेनछ
यो अज्ञानता र मूर्खताबाट मुक्ति पाउन
हरेक पटक म आफैसँग युद्धको शङ्खघोष गर्छु
हरेक पटक म लडाइँको मैदानमा ओर्लिन्छु
किन्तु, हरेक पटक मेरो बलिदान खेर जान्छ
हरेक पटक मैले गरेको सङ्घर्ष माटोमा मिल्छ
आफ्नै जीवनको नदीमा परेको भूमरीभित्र
वर्षौंदेखि यसरी नै फसिरहेको छु
तर मलाई आशा छ
मेरा दुई सन्तान– विवेक र चेतना हुर्केपछि
तिनीहरूले मेरो उद्धार गर्ने छन्
र जिन्दगीभर रिँगाटा लाउने यो गोलचक्करबाट
मैले सधैँका लागि मुक्ति पाउने छु।।