जति-जति घुम्दै जान्छु, उति-उति देशप्रतिको माया बढ्दै जान्छ। यो कुनै एउटा लेखकको कल्पना मात्र होइन, यो त मेरो हिँडाइ, मेरो अनुभव र मेरो यात्राबाट जन्मिएको, बढ्दै गइरहेको र गहिरिँदै गएको देश प्रेमको प्रतिबिम्ब हो।
पछिल्लो दुई चार वर्षको अवधिभित्र युट्युबमा ट्राभल ब्लग, डकुमेन्ट्रीहरू खिच्ने क्रममा मेरा पाइलाहरू देशका थुप्रै कुनाकाप्चाहरूमा पुगे।
घुम्नु मात्र मेरो लागि यात्रा होइन। जब क्यामेरा बोक्छु, म एक्लो यात्री होइन, ‘सक व्हील्स’ बन्छु— त्यो मान्छे जसले आफ्नो आँखाले देखेको देशलाई अरूको आँखामा पुर्याउने प्रयास गर्छ।
हामी धेरैजसो आफ्नो जन्मथलो, परिवेश, सहर वा गाउँभित्र सीमित भएर बस्छौँ। हामीलाई लाग्छ, यही हो मेरो देश। तर साँचो देश चिन्न, बुझ्न र माया गर्नको लागि त्यो सीमालाई पार गर्नुपर्छ। भूगोलको मात्र होइन, चेतनाको पनि। मैले पनि यात्राको क्रममा थाहा पाएँ, देश के हो? यो केवल मेरो घर वरिपरि सीमित छैन।
जति-जति घुम्दै गएँ, उति नै धेरै कथाहरू बटुल्ने मौका पाएँ।। ती कथाहरू केवल रमाइलोका लागि होइन, ती त आत्माको दरबारमा सञ्चित हुने अमूल्य रत्न थिए। मैले ती कथाहरूलाई बटुलेर आफ्नो हृदयको कुनामा राखेँ अनि ती कथाहरूले मेरो देशप्रतिको मायालाई झन् बढाउँदै लगे।
त्यसरी हिँड्दा-हिँड्दै मैले मेरो देशका थुप्रै अनुहारहरू देखेँ। कतै पाखा पखेरामा गीत गाउने किशोरीहरू भेटिए, कतै खेतमा दगुर्ने बालबालिका— कतै तामाकोसी किनारमा चिया खाँदै जीवनका दुःख–सुख साट्दै गरेका वृद्धहरू भेटिए। ती सबै अनुहारहरूले मलाई सिकाए— देश भनेको केवल भूगोल होइन, देश त ती अनुहारहरू हुन्, ती कथाहरू हुन्, जसले देशलाई जीवन्त बनाउँछन्।
एक पटक खुमाइबाट कोरचानको डाँडामा हामी बिहान सबेरै उठेर सनराइज हेर्न पुगेका थियौँ। सबै साथीभाइहरू चिया बिस्कुट खानलाई टी-हाउस भित्र छिरिसकेका थिए। तर मलाई भने त्यो सूर्योदयको घडीले माछापुच्छ्रे र अन्नपूर्णलाई मोतीको दाना सरी टल्काएको क्षण मिस गर्न मन लागेन— आफ्नो क्यामरामा कैद गर्न मन लाग्यो। शिरदेखि खुट्टासम्म चिसोले कठ्याङ्ग्रिएको थियो। त्यहाँ बोल्ने कोही थिएन तर त्यो हिमालले केही भनेजस्तो लाग्थ्यो।
ललितपुर भन्यो भने धेरैलाई पाटन, दरबार स्क्वायर र सहर लाग्ने रहेछ। म आफै पनि ललितपुरमै जन्मेको एउटा यात्रु भए तापनि अलि अगाडिसम्म मलाई पनि त्यस्तै लाग्थ्यो। तर म पुगेको थिएँ दक्षिण ललितपुरका ती गाउँहरूमा, जहाँ अझै घण्टौँ हिँडेर विद्यालय जानुपर्छ, ती गाउँहरूमा मैले देखेको देशभन्दा बिलकुल फरक थियो— जहाँ म एक्लै हिँडिरहेको थिएँ, त्यहाँका मान्छेहरू, ती घामले तताउने गोरु गोठ— सब ‘क्याप्चर’ गर्दा महसुस भयो, देश क्यामरामा मात्र होइन, आत्मामा बस्छ।
त्यहाँ न त सहरी जीवनको चकचकी थियो, न सबै सुविधाहरू। तर त्यहाँ थियो— मान्छेबिचको आत्मीयता, सहयोग र त्यो गर्व जसले उनीहरूलाई आफ्नो माटोप्रति समर्पित बनाएको थियो।
मैले त्यहाँ देशको अर्को अनुहार भेटेँ— सहरी चमकभन्दा बाहिरको शुद्धता।
पाँचपोखरीको ट्रेकमा कहिले हिँड्दै, कहिले रोकिँदै, थकाइले शरीर भारी भए तापनि मन भने हलुका लाग्थ्यो। टाढा कतै झुल्केको सूर्य, शान्त पोखरीहरू अनि मौन पहाड— तिनलाई क्यामेराले कैद गर्दा आफैँ कता हराए जस्तो लाग्थ्यो। प्रकृतिको विशालता र मौनतासँगै देशप्रतिको माया पनि थप गहिरियो।
कति पटक त मैले आफ्नै आँखाले देखेँ— स्कुल जान दुई घण्टा उकालो ओरालो हिँड्ने बालबालिका, स्वास्थ्य चौकी पुग्न दिनभर यात्रा गर्ने वृद्धहरू र तिनै कठोर अवस्थामा पनि ‘यो मेरो देश हो’ भनेर गर्व गर्ने जनजीवन। यस्तो दृढता र धैर्यताले मलाई सिकायो— देश प्रेम केवल भाषण वा गीतहरूमा होइन, ती जनताहरूको जीवनशैलीमै गहिरिएको हुन्छ।
साँच्चिकै भन्नुपर्दा, असली जादु त घर फर्किएपछि सुरु हुन्छ। जब म टेबलमा बसेर ‘इडिटिङ’ सफ्टवेयर खोल्छु र त्यो सबै फुटेजहरू हेर्न थाल्छु, लाग्छ म फेरि त्यही ठाउँ फर्किएँ। कुनै क्लिपमा त्यहाँ चिया पिएको झझल्को आउँछ अनि अर्कोमा त्यो जट्टाधारी अघोरीले सुनाएको यौन कथा सम्झिन्छु। काम गरिरहँदा कहिले हाँसिन्छ, त कहिले आँखै रसाउँछ।
कतिले भन्छन्, ‘त्यत्रो इडिटिङ गाह्रो हुँदैन?’
म भन्छु, ‘हो, गाह्रो त पक्कै हुन्छ तर काम गरिरहँदा म त्यही गाउँको गल्लीहरूमा फेरि आफ्नो पाइला राखिरहेको पाउँछु।’
सुटिङ भनेको यात्राकै हिस्सा न हो र सम्पादन भनेको त्यो यात्राको पुनर्जन्म। सक व्हील्सको भित्री संसार भनेको त्यो फुटेज भित्रको भावना हो— जुन म केवल लेन्सले मात्र होइन, दिलले नै कैद गर्छु।
तर साँचो कुरा के हो भने, त्यो भिडियो बनाउने क्रममा मैले आफैँलाई पनि चिनेँ। हरेक फ्रेममा मेरो देशको अनुहार भेटेँ अनि सम्पादनले त्यो अनुहारहरूलाई अझ नजिक ल्यायो।
यात्राले मलाई नयाँ दृष्टिकोण दियो। काठमाडौँमा बसेर हेर्दा जुन कुरा ‘पछाडि परेको’ देखिन्थ्यो, त्यसको आफ्नै गहिरो अर्थ थियो। गाउँमा पसिना बगाएर काम गर्ने किसानको अनुहारमा जुन गर्व थियो, त्यो गर्व राजधानीका गगनचुम्बी भवनहरूमा थिएन। मैले त्यहाँ देशको आत्मा भेटेँ जुन न कुनै झन्डाले नाप्न सक्छ, न कुनै भाषणले बयान गर्न सक्छ।
यसरी घुम्दा मलाई लाग्यो, देश प्रेम केवल ‘देशको माया’ भनेर भनिदिने कुरा होइन, यो त जीवनभर सिकिरहने प्रक्रिया हो। जसरी नदी बग्दाबग्दै गहिरो हुन्छ, त्यस्तै यात्राले मेरो देशप्रतिको माया झन् गहिरो बनाइदियो।
कहिलेकाहीँ लाग्छ- ‘म किन घुमिरहेछु?’ सायद यो मेरो देशप्रतिको श्रद्धा हो, मेरो खोज हो— जुन खोजमा म केवल दृश्य होइन, आत्मा भेट्दै छु।
आज म जहाँ जान्छु, त्यहाँ म देशको अर्को अनुहार भेट्छु। देशको नयाँ भाषा, भूगोल, संस्कृति, दुःख, संघर्ष अनि यी सबैले मिलेर एउटा अद्भुत मायालुपन सिर्जना गर्छन्। त्यो मायालुपन जुन शब्दमा बयान गर्न सकिँदैन, मात्र महसुस गर्न सकिन्छ।
यात्रा गर्दै जाँदा मैले देखेको दृश्यहरू त सुन्दर थिए नै तर तीभन्दा पनि सुन्दर थिए ती अनुभवहरू— एक्लो रातमा स्थानीयको घरमा बसेको पल, ओठमा राखिएको स्थानीय रोटीको स्वाद र बाटोमा सुस्ताउँदै गरेको बुढी आमाको आशीर्वाद। ती नै थिए मेरा लागि देश।
अनि यी सब अनुभवहरूले मलाई देशको गहिराइमा पुर्यायो जुन सायद कहिल्यै कुनै किताबमा भेटिँदैन।
यात्राले मलाई मेरो देश चिन्न, बुझ्न र माया गर्न सिकायो। अब म देशलाई हेर्दा केवल नक्सा देख्दिनँ; म त ती कथाहरू, ती अनुहारहरू र ती अनुभवहरू देख्छु जसले मेरो आत्मालाई छुन सफल भएका छन्। साँच्चै भन्नुपर्दा- जति-जति घुम्दै जान्छु, उति-उति देशको माया बढ्दै जान्छ।