देशको राजनीतिक, सामाजिक, आर्थिक इतिहास लेखिएलान्। इच्छा हुनेहरूले खोजेर पढ्लान्। पढ्न चाहनेले त्यस्ता सामग्री खोजेर पढ्न पाउँछन्। तर व्यक्ति व्यक्ति र समाजका छरिएका इतिहास लेखिँदैनन्। लेखेर साध्य पनि हुँदैन।
खास गरी नेपाली समाज र परिवेश दुनियाँका लागि २००७ पछि मात्र खुला भएको हो। शिक्षा, स्वास्थ्य, सडक, बिजुली आदिको सुरुवात त्यसपछि भएको हो। २०४६ सालपछि त्यो फैलियो। व्यापक हुँदै गयो। राजनीतिप्रति निराशा छ अहिले। केही भएन, नेताले केही गरेनन् भन्ने मानक छ तर त्यो पूरै साँचो होइन। खोजे जति नभएको सत्य हो।
भन्न र लेख्न चाहेको कुरा के हो भने ‘जी’ र ‘अल्फा’ पुस्तालाई विगतका दुख, पीडा, अभाव थाहा नहुन सक्छ। खानका लागि, स्कुल पुग्नका लागि र बाच्नका लागि संघर्ष थियो। ’जेन-जी’ ले प्रविधि सिक्यो। पुस्ता ‘अल्फा’ प्रविधिसँगै जन्मियो। यस्ता पुस्ता भर्चुअलमा विश्वास गर्छन्। अनलाइनमा काम गर्छन्। इन्टरनेट उनीहरूका लागि सबै थोक हो। प्रविधिमा चलाख छन्। पहिले र अहिलेको अवस्था सम्झाउन सन्ततिलाई पुराना पुस्ताले भोगेका वृत्तान्त सुनाउनु पर्छ। यो जरुरी छ।
शिक्षा, स्वास्थ्य, सञ्चार, यातायात, कृषि, सरसफाइ, खानेपानी, दैनिक काम, जीवनशैली आदिको अवस्था बिलकुल फरक थियो त्यस बेला। ‘जी’ र ‘अल्फा’ पुस्तालाई काल्पनिक र कथा भनेको जस्तो लाग्न सक्छ।
स्कुलहरू खुल्दै थिए तर नजिक थिएनन्। घण्टौँ हिँडेर जानु पर्थ्यो। विषय शिक्षक पाउन त्यत्तिकै गाह्रो थियो। शिक्षक र किताबको भरमा पढ्नु पर्थ्यो। त्यसैले गुरुलाई ज्ञानको खानी भनेको हुनु पर्छ।
नोट लेखाउने र नोट बनाउनेको खुब महत्त्व हुन्थ्यो त्यस बेलाको पढाइमा। अहिले जस्तो स्मार्ट बोर्ड वा प्रोजेक्टर वा ह्वाइट बोर्डमा मार्करले लेख्ने र नजानेको कुरा च्याट जिपिटी वा गुगल सर्च गरेर पत्ता लगाउने कुरा झन् कल्पनै थिएन। कालो पाटीमा चक वा खरीले लेख्नु पर्थ्यो। कपीको सट्टा बोकेर हिँड्न मिल्ने कालो पाटीमा लेख्नु पर्थ्यो। कालोले पोतेको हुँदा जीउभरि लागेर कपडा झन् फोहोर! अहिलेको जस्तो कपि कलम कहाँ पाउनु? वनमारे झारको मसी बनाएर ‘फिलिम’ कलमले लेखेको अझै याद छ। अझ त्योभन्दा पुरानो पुस्ताले बासको कलम बनाएर लेखेका रे!
स्कुलमा खाजा खान कहाँ पाउनु? होटेल नै हुन्थेनन्। भए पनि पैसा हुँदैन थियो। भुटेको मकै वा गहुँ बाटोमा लुकाएर राख्थ्यौँ। बेलुका फर्केर खाइन्थ्यो। कहिलेकाहीँ त अरूले चोरिदिन्थे। खत्तम! लुकाउन पनि खुब सिपालु हुनु पर्थ्यो! अँध्यारोलाई दियालोबाट उज्यालो बनाउनु पर्थ्यो। अलि हुने खानेका घरमा मट्टितेलको टुकी बत्ती र लालटिन बाल्थे। उज्यालो बनाउने साधन तिनै थिए। टुकी बत्ती नजिक राखेर पढ्दा कपाल त कति पटक डढ्यो डढ्यो!
रोग लाग्यो भने बाँच्न भगवान् भरोसा हो। हस्पिटल थिएन। भए पनि पहुँचमा थिएनन्। जडीबुटी खाने चलन थियो। यातायात नहुँदा डोको वा डोलीमा बोकेर बिरामी लानु पर्थ्यो। अस्पतालमा अहेव हुँदा रहेछन्। डाक्टर भन्थ्यौँ हामी उनीहरूलाई। औसत आयु ५० वर्षको आसपास थियो। बाल मृत्युदर, मातृ मृत्युदर उच्च थियो। सँगैका साथी त बच्चैमा कति मरे मरे! सानो छँदा दादुरा र पोलियो खोप सुरु हुँदै थियो। खोप लगाउँदा दुख्छ भनेर धेरै जना भागे स्कुलबाट। भाग्नेमा म पनि परेँ।
जता जान पनि पैदल यात्रा नै हो। हुनेखानेका घोडा हुन्थे। अलि पछि अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ बनेपछि गाडीको अनुहार देख्न थालियो। घर जस्तो गाडी कसरी हिँडेको होला भन्ने प्रश्न आइरहन्थ्यो। मेरा हजुरआमा र बाले गाडी भन्ने देख्दै नदेखी बित्नु भयो। चढ्ने कुरा त परको कुरा!
हवाई यातायात र अहिलेको जस्तो जस्तो सडक यातायात सहज थिएन। सरकारी बजेट गोरेटो र घोडेटो बनाउन खर्च हुन्थ्यो। पुल नहुँदा वारि पारि गराउने काम माझीले डुङ्गाबाट गराउँथे। वर्षा लागेपछि हिँडडुल बन्द हुन्थ्यो। कतै पुल थिएन। खोला र नदी उर्लिएर आउँथे। नुन किन्न र साट्न जानु सबैभन्दा सास्तीको काम थियो त्यस बेला। नुन चामलसँग साट्नु पर्थ्यो। नुन घरमा ल्याई पुर्याउन महिनौँ लाग्थ्यो। नुन बोकेर खुवाउने छोराको बहादुरी समाजमा चर्चा हुन्थ्यो।
जीवन धान्ने आधार खेती थियो। त्यो पुरै परम्परागत थियो। गोरु वा राँगोले जोत्ने! कोदालो-कोदालीले खन्ने! परम्परागत धान, गहुँ, मकै मात्र रोप्ने चलन थियो। घरमा अन्न हुनेहरू धनीमानी ठानिन्थे। खेतबारीको महत्त्व त्यस बेला हुन्थ्यो। छोरी दिने नदिने कुरा परालको माच, मकैको थाङ्ग्रा हेरेर निर्णय हुन्थ्यो! गरिबहरूले साटो गरेर बिहे गर्ने चलन थियो। मेरा बाले साटो गरेर बिहे गर्नु भयो। फुपू मामालाई दिनु भयो। त्यसको साटो बाले मेरी आमा पाउनु भयो। बिहेको चलन यस्तो पो थियो त! कता लभ म्यारिज! कता विवाह!
ढिँडो, च्याँख्ला खानु गरिबको सूचक थियो। भात खानेहरू धनी कहलिन्थे। मासु-भात, चिउरा, सेल खान दसैँ-तिहार वा ठुलै चाडपर्व आउनु पर्थ्यो। दसैँमा नयाँ लुगा लगाउँदा अरूलाई देखाउन गाउँभरि घुमेको अहिले झैँ लाग्छ। लुगा नसिलाइदिँदा रोएको अझै याद छ। बारीको पाटामा विवाहको जन्ते बाख्राको झोल भात खाँदा कम्ती मिठो हुन्थेन! झोल हाल्यो कि टपरीबाट चुही हाल्ने! मःम, चाउमिन, पिज्जा वा चाउचाउ कहाँ पाउनु? भुटेको मकै, गहुँ वा रोटी नै त्यस बेलाका खाजा थिए।
कसैका घरमा पनि ट्वाइलेट हुँदैन थियो। स्कुलमा समेत हुँदैन थ्यो। पिसाब वा दिसा लाग्यो भने टिफिन टाइम कुर्नु पर्थ्यो। सन्चो भएन वा पखाला लाग्यो भने स्कुल छुट्टी लिइन्थ्यो। कतै टाढा जानु पर्यो भने त्यो गाउँ आयो आएन भन्ने कुरा गन्ध आएपछि थाहा हुन्थ्यो। ‘गन्ध आयो कि गाउँ आयो’ भन्ने बुझिन्थ्यो। गल्ली, बाटोको छेउ, बारी वा पाखोमा दिसा पिसाब हुन्थ्यो। तराईमा त अझै मैदान जाने भन्ने छँदै छ। सिंहदरबारमा समेत राणा प्रधानमन्त्री चन्द्र शमशेरले त्यत्रो सिंहदरबारमा एउटा पनि ट्वाइलेट बनाएनन् रे! ट्वाइलेट भनेको कोपारा थियो। कोपाराको चलन थियो। रातिको दिसा-पिसाब कोपारामा!
नुहाउन साबुन र स्याम्पु कता पाउनु? सिउँडी, खरेटो आदिले कपाल र जीउ नुहाउने हो। तातो पानीमा खरानी हालेर मुङ्रोले कुट्ने हो कपडा त्यस बेला! कताको वासिङ मेसिन! कताको साबुन-स्याम्पु!
खानेपानीको लागि कुवा, मूल र खोलामा पुग्नु पर्थ्यो। माटोको गाग्रोमा पानी बोक्ने काम महिलाको हुन्थ्यो। पानीकै लागि घण्टौँ समय जान्थ्यो। सूचना आदान प्रदान र खबर थाहा पाउने माध्यम पँधेरो हुन्थ्यो। पाइपबाट पानी वितरण सहर बजारमा सुरु हुँदै थियो।
रोजगारका नाममा केही स्कुलहरू खुल्दै थिए। मास्टर जागिरको महत्त्व थियो। सहर बजारमा केही सरकारी अफिस थिए। पहुँच हुनेले सेना र प्रहरीमा जागिर पाउँथे। जागिरभन्दा खेतीपातीलाई महत्त्व दिइन्थ्यो। तर खेतीपाती पूरै परम्परागत थियो। गाई बाख्रा चराउने, घाँस काट्ने, दाउरा काट्ने र बोक्ने, मल बोक्ने मुख्य काम थिए। खाना पकाउन दाउराको विकल्प थिएन। ऊर्जाको स्रोत दाउरा थियो। अझै त घटेको छैन गाउँमा! दाउराले खाना पकाएको धुवाँले पुरै घर कालो हुन्थ्यो। खान पकाउने काम कम्ती सास्तीको थिएन! धुवाँले आँखा पोलेर हैरान।
धान कुट्ने ओखल र पिठो पिस्ने जाँतो हुन्थ्यो। अलि पछि त्यसलाई पानी घट्टले विस्थापन गर्यो। घट्ट जान घण्टौँ ओरालो उकालो हिँड्नु पर्थ्यो। घट्टमा पिसेर ल्याउन सक्नु पनि बहादुरी काम हुन्थ्यो। पालो नपाएर रातभर घट्टमा बस्नु पर्थ्यो। भोक लाग्दा मकैको काँचो पिठो कम्ती मिठो हुन्थेन!
मेरी हजुरआमा र बालेले कहिल्यै जुत्ता चप्पल देख्नु भएन। खाली खुट्टाले नै संसार चहार्नु भयो। कडाले कति खोप्यो होला? तिखा ढुङ्गाले कति बिझायो होला? मैले समेत स्कुल जाँदा खाली खुट्टा हिँडेँ। फित्तावाला चप्पलको लोता चुँडिएर चप्पल हातमा बोकेर हिँडेको याद छ। हात्ती छाप चप्पल र हाफ मिलिटरी जुत्ता बजारमा पाइन्थ्यो। हिउँद र जाडोमा लगाउने कपडा एउटै हो। सिजनअनुसार कपडा त लगाको लगाई भो। भए पो लगाउनु! लँगौटी लगाएको पनि देखेँ मैले! नभएर त होला त्यो।
अहिले हात हातमा फोन छ। इन्टरनेटको उपलब्धताले विश्वभर एकै पटक सञ्चार गर्न सकिन्छ। खान, लगाउन कुनै दुख छैन। दुनियाँको खबर थाहा पाउन सकिन्छ। सामाजिक सञ्जाल र वेबसाइटबाट तत्काल जानकारी लिन सकिन्छ। एआईको विकासले अझ परिवर्तन भयो। घोक्नु परेन! कण्ठ गर्नु परेन। नक्सा चाहिएन। गुगल म्याप हेरेर दुनियाँभर पुग्न सकिने भयो। पुरानो पुस्ताले घोकेको हो, कण्ठ गरेको हो। परीक्षामा विश्वको नक्सा भर्न आउँथ्यो। कम्ती गाह्रो हुन्थेन! ग्लोब र प्रिन्टेड नक्सा भूगोल सिकाउने महत्त्वपूर्ण शैक्षिक सामग्री थिए। अनौठो लाग्छ अहिलेका केटाकेटीलाई!
हुलाक युगको महत्त्व कम्ती थिएन! गीतमा पनि चिठी ल्याइदेऊ हुलाकी दाइ भनेर गाइन्थ्यो। चिठी पत्र हुलाकबाट ओहोरदोहोर हुन्थे। अलि धेरै पैसा तिरेर पठाउने चिठी ‘रजिष्ट्री’ भनिन्थ्यो। त्यो अलि छिटो पुग्थ्यो। सामान्य चिठी पुग्न ३/४ महिनासम्म लाग्थ्यो। आकाशवाणी, तार फोन, कटुवाल प्रथा सूचना सम्प्रेषण गर्ने माध्यम थिए।
काठमाडौँमा धरहरा चढेर बिगुल फुकेपछि के रहेछ भनेर मानिस टुँडिखेल आउँथे रे खबर थाहा पाउन! घण्टाघरको घडीको आवाजले समय पहिचान हुन्थ्यो! घाम, जून, तारा र छाया हेरेर कति समयको पहिचान हुन्थ्यो त्यस बेला। कति बजे जन्मियो भन्दा ‘घाम भर्खरै झुल्किएका थिए’ भन्ने जस्ता कुरालाई प्रमाण मानिन्थ्यो।
स्थानीय खबरका लागि कटुवाल प्रथा थियो। आवा. र हुलाक थिए बाह्य सञ्चारका लागि। काठमाडौँ सहरमा तार फोन थियो। एउटा तार फोनको लाइन लिन दुई लाखसम्म पर्थ्यो! एसटिडी र आइएसटिडीमा मिटर घुमे झैँ पैसा चढ्थ्यो। हेलो भन्दा पैसा सत्यानाश, गफ गर्नु त कता कता! सीमित ठाउँमा थियो त्यो सुविधा पनि। महिनौँ अगाडि लेखेको चिठी पुग्नुभन्दा चिठी लेख्ने मान्छे घर पुग्थ्यो पहिला कहिलेकाहीँ!
सुन्दा पनि अनौठो लाग्न सक्छ अहिलेका ‘जी’ र ‘अल्फा’ पुस्तालाई। तर त्यो सत्य थियो। कम्प्युटर/मोबाइल र इन्टरनेटमा हुर्केका अनि धान-चामल, तरकारी, दूध लगायत चिज पसलमा फल्छ भनेर सिकेका र बुझेका अहिलेका पुस्तालाई विगत र वर्तमानको अवस्था बिचको फरक भन्नु पर्छ। इतिहास दोहोर्याउने होइन तर इतिहासबाट सिक्नु पर्छ! र, विगतका कुरा देखाउन नसके पनि कथाको रूपमा वृत्तान्त सुनाउन सकिन्छ। सुनाउनु पर्छ। ताकि पुरानो पुस्ताले भोगेको दुख, दर्द, पीडा र अभाव नयाँ पुस्ताले महसुस गरून्।