आजको मान्छेबाट मानवता हराउँदै गएको हो कि हामीले त्यसलाई देख्ने आँखा नै गुमाउँदै गएका हौँ? समयसँगै प्रविधि बढ्यो, गति बढ्यो, सुविधा बढ्यो तर त्यो गतिसँगै कतै हाम्रो संवेदना, करुणा र सहानुभूति भने चुपचाप हराउँदै गइरहेका छन्। साँच्चै भन्नुपर्दा, आजको समाजमा मानिसहरू व्यस्त छन्— तर जीवनप्रति होइन, दृश्यप्रति। हामी समयसँग दौडिरहेका छौँ तर त्यो दौडमा कतै हाम्रो संवेदना, करुणा र मानवता पछाडि छुट्दै गएको छ।
आज प्रश्न उठ्छ- मान्छे बदलिएको हो कि मान्छेभित्रको मान्छे हराउँदै गएको हो?
मेरो एउटा सानो तर नियमित बानी छ। प्रत्येक दिन फेसबुक खोल्ने बित्तिकै फेसबुक मेमोरी हेर्छु। कहिलेकाहीँ ती स्मृतिहरू केवल तस्बिर र हाँसोका क्षणहरू हुन्छन्, कहिलेकाहीँ भने ती स्मृतिहरूले मनलाई गहिरोसँग छोइदिन्छन्। आज त्यही भयो। आज देखिएको मेमोरी छ वर्षअघि मैले लेखेको एउटा दुर्घटनासम्बन्धी स्ट्याटस थियो। समय धेरै बितिसकेको रहेछ तर त्यो लेख पढ्दा अनुभूति उस्तै ताजा लाग्यो। त्यसले मलाई फेरि एक पटक सोच्न बाध्य बनायो— समाज कति बदलियो?
पहिलो पटक त्यो दिन आज नजिकबाटै दुर्घटना भएको देखे। म त्यहाँ आइपुग्दा घाइतेको नाक मुखबाट रगत बगिरहेको र ऊ छटपटाइरहेको थियो। तर उता २०/३० जना मान्छे हातमा मोबाइल लिएर फोटा खिच्न मात्र व्यस्त देखिन्थे। करिब १०/१५ मिनेटसम्म पनि। घाइतेको अवस्था गम्भीर जस्तो लाग्थ्यो। लगत्तै म अनि दुई जना अर्को दाइ र सन्देश भाइले घाइतेलाई उठाएर बाटो छेउमा ल्याइयो।
आउँदै गरेको कारलाई रोकेर हस्पिटल सम्म पुराउन सहयोग मागियो। कारवला दाइले ‘एउटा मान्छे (घाइते) हुँदैमा हामीलाई किन जाममा राखेको?’ भन्दै असहमति जनाए। त्यसको प्रति जवाफ म लगायत अरू साथीले ब्याजसहित त फर्काइदियौँ तर त्यो धनी मान्छेको गरिबी दिमाग देखेर मलाई रिस मात्र होइन, त्योसँग मेरो मानवताको साइनो छ भन्ने कुराले म आफैलाई लज्जित बनायो। त्यसपछि अर्को गाडीमा घाइते राखेर २ जना दाइलाई सागै पठाइयो। तर बाटो पुरै जाम थियो। यतिन्जेल सम्म पक्कै ४०/४५ मिनेट बित्यो। जहाँ घटनास्थलबाट हस्पिटल पुर्याउन ५ मिनेट लाग्छ। समयमै घाइतेलाई हस्पिटल पुर्याउन नसक्दा मन कुँडिरहेको थियो। घाइतेसँग त म पुरै अपरिचित थिए तर पनि...
त्यो स्ट्याटस पढ्दै जाँदा मलाई लाग्यो— हामी केवल संवेदनाको संकटमा मात्र छैनौँ, कानुनको गलत बुझाइको संकटमा पनि छौँ। धेरैजसो मानिसको मनमा एउटा गहिरो डर छ— ‘पुलिस नपुगुन्जेल घाइतेलाई छुन हुँदैन।’ यो वाक्य कानुनभन्दा बढी हाउगुजी बनेर समाजमा फैलिएको छ। यही भ्रम चिर्न नसक्दा कति निर्दोष मानिसहरूले समयमै उपचार नपाएर अनाहकमा ज्यान गुमाएका छन्, यसको हिसाब कसले राख्छ?
कानुनको उद्देश्य मानिसलाई डराउनु होइन, ज्यान जोगाउनु हो। तर जब जनताको बुझाइ र कानुनको मर्मबिच दूरी बढ्छ, तब कानुन पनि मानवीय बन्न असफल हुन्छ। यसमा केवल जनता दोषी छैनन्; सरकार, राज्य र सम्बन्धित निकायले पनि गम्भीर होमवर्क गर्नुपर्छ। कानुन लेख्नु मात्र पर्याप्त हुँदैन, त्यसको सही व्याख्या र व्यवहारिक शिक्षा जनतासम्म पुर्याउनु अझै ठुलो जिम्मेवारी हो।
यहाँ अस्ट्रेलियाको सन्दर्भ उल्लेख गर्नु सान्दर्भिक हुन्छ। अस्ट्रेलियामा आपत्कालीन अवस्थामा घाइतेलाई सहयोग गर्नु कानुनी रूपमा प्रोत्साहित गरिन्छ। सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) को कुरा यो सबै नागरिकका लागि कानुनी रूपमा अनिवार्य त छैन तर अत्यन्तै सशक्त रूपमा प्रोत्साहित छ। धेरै पेसा जस्तै- शिक्षक, केयर वर्कर, सेक्युरिटी, ड्राइभर, खेल प्रशिक्षक आदिका लागि सिपिआर तालिम अनिवार्य हुन्छ। विद्यालय, कार्यस्थल र समुदायमा नियमित सिपिआर तालिम दिइन्छ ताकि आपत्कालीन अवस्थामा मानिस दर्शक होइन, सहयोगी बन्न सकोस्। तर हाम्रो देशमा अवस्था उल्टो देखिन्छ। यहाँ सहयोग गर्नुभन्दा पहिले मानिस कानुनसँग डराउँछ, समाजसँग डराउँछ, झन्झटसँग डराउँछ। ‘कतै फसिन्छ कि? कसैले दोष लगाउँछ कि? भन्ने सोचले मानिसको हात बाँधिन्छ। यसरी डरले बाँधिएको हातले कसरी कसैको जीवन समाउन सक्छ?
समस्या संवेदनाको मात्र होइन, सूचनाको अभाव पनि हो। यदि सरकारले स्पष्ट रूपमा जनतालाई भनिदियोस्- ‘आपत्कालीन अवस्थामा सहयोग गर्नु अपराध होइन, कर्तव्य भने कति जीवन बच्न सक्छन् होला?
दुर्घटना स्थलमा घाइतेलाई उठाउँदा ‘केस पर्ला’, ‘पुलिसले दुःख दिन्छ’, ‘अदालत धाउनुपर्ला’ भन्ने डरले मानिसहरू पछाडि हट्छन्। यो डर कानुनले होइन, अनिश्चितता र अविश्वासले जन्माएको हो। जब कानुन कार्यान्वयन पारदर्शी हुँदैन, तब सही काम गर्ने मानिस पनि अपराधी जस्तो महसुस गर्न थाल्छ।
आज लाग्छ, न्युटनको स्याउ जस्तै मानवता दिनदिनै समाजको रुखबाट खसिरहेको छ। तर फरक यति हो न्युटनले स्याउ खस्दा गुरुत्वाकर्षणको सूत्र फेला पारे तर मानवता खस्दा हामीले अझै कुनै सूत्र बनाएका छैनौँ। अब समाजलाई मानवता बचाउन अर्को न्युटनको आवश्यकता छ जो भौतिकशास्त्र होइन, मानवीय चेतनाको सूत्र लेख्न सकोस्।
हामी प्रायः नियत र नियतिको बहसमा अल्झिन्छौँ। तर कहिलेकाहीँ ती दुवैलाई नजरअन्दाज गरेर सही काम गर्नु नै सबैभन्दा ठुलो दर्शन सबै क्षणमा तर्क, सिद्धान्त, नीति, कानुनले मात्र काम गर्दैनन्। कानुनभन्दा पर पनि केही मूल्यहरू छन् जहाँ व्यवहारिकता, मानवता र भावना बसोबास गर्छन्। यदि सकिन्छ भने, यी मूल्यहरूलाई सहजै मर्न नदिनुहोस्। यहीँ तपाईंको महानता सुरु हुन्छ।
रवीन्द्रनाथ ठाकुरले भनेका छन्, ‘मानवता भनेको नियमको पालना होइन, हृदयको पुकार सुन्न सक्ने क्षमता हो।’आज हामी नियम खोज्दैछौँ तर हृदयको आवाज सुन्न बिर्सिरहेका छौँ। हामी व्यस्त छौँ तर संवेदनशील छैनौँ। हामी जोडिएका छौँ तर सम्बन्धित छैनौँ।
यो त एउटा मात्र उदाहरण भयो। आजको समाजमा यस्ता दृश्यहरू सामान्य बन्दै गएका छन्। मानिसहरू पीडाभन्दा बढी स्क्रिन टाइममा व्यस्त छन्। केही समयअघि एक जना साथीको परिवारलाई आकस्मिक रूपमा अस्पताल लैजानु पर्ने अवस्था आयो। छिमेककै भाइलाई सहयोग माग्न फोन गरियो। तर ऊ फोन उठाउँदैन किनकि ऊ गेम खेलिराखेको थियो। त्यो लापरबाही केवल किशोर अवस्थासम्म सीमित छैन; परिपक्व भनिने मानिसहरूबाट पनि यस्तै व्यवहार बारम्बार देख्न र सुन्ने गरिन्छ।
आज हामीमध्ये धेरैको एउटा साझा बानी बनेको छ— आफू व्यस्त देखिन फोन नउठाउने, कल ब्याक नगर्ने र आपतका सन्देशहरू हेरेर छोडिदिने। हामीलाई थाहा हुँदाहुँदै पनि बेवास्ता गर्ने यो प्रवृत्तिले सम्बन्ध मात्र होइन, कहिलेकाहीँ जीवन नै तोडिदिन्छ।
अन्ततः समाज परिवर्तन ठुलो नाराले होइन, साना निर्णयले हुन्छ। दुर्घटना स्थलमा मोबाइल झिक्ने कि घाइते उठाउने त्यो निर्णयले नै तपाईं कुन प्रकारको मानव हुनुहुन्छ भन्ने निर्धारण यदि आज तपाईंले एउटा जीवन बचाउन सक्नु भएन भने कम्तीमा मानवता मर्न नदिनुस्।