पछिल्लो समय नेपालको संसद् बाँदरका कारण रापिलो बन्यो। कृषि क्षेत्रका अध्ययन तथा अनुसन्धानकर्ता, कृषक र मन्दिर आसपासका मानिसहरूका लागि बाँदर सदियौँदेखिकै समस्या हो। कृषिक्षेत्रले बाँदरलाई हानिकारक जीवको रूपमा दशकौँदेखि मान्दै आएको दस्तावेजले देखाउँछ। तर वन्यजन्तु संरक्षणकर्मीहरू बाँदर एक पारिस्थितिकीय प्रणालीको अभिन्न अंग मान्दछन्। त्यसैगरी हिन्दु धर्मावलम्बीहरू बाँदरलाई हनुमान मान्दछन्।
हरेक जीवको अस्तित्व हुन्छ र एकआपसमा प्रत्यक्ष वा परोक्ष सम्बन्ध रहन्छ। विवेकशील मानिनुका कारण वन्यजन्तुसँग सहअस्तित्व कायम गर्न मानिस नै जिम्मेवार हुनुपर्छ। त्यसो भए मान्छेले जनावरबाट हुने समस्या निर्विवाद सहनुपर्ने हो? अन्य जीव रहेमात्र सहअस्तित्व हुन्छ भनेर बस्नुपर्ने हो? भन्ने प्रश्न रहन सक्छ, तर त्यसो होइन।
जब देशको निर्वाचनमा समेत बाँदरको समस्या मुद्दा बन्छ भने, त्यो सामान्य हुँदैन। यथासक्य समाधानको खोजी हुनुपर्दछ।
बाँदर किन र कसरी समस्या भयो?
सर्वप्रथम बाँदरको आनीबानीको बारेमा जान्नुपर्दछ। बाँदर विशुद्ध भोजनको लागि बस्ती तथा कृषि क्षेत्रमा आउने हो। अन्य हिंस्रक जनावरको कारण तथा मान्छे वन पस्नाले बाँदर मानव बस्ती तथा कृषिक्षेत्रमा आउने गरेको होइन। वन क्षेत्रमा भोजन भएपनि सहज रूपमा भोजन प्राप्त हुनेहुँदा बाँदर बस्ती तथा कृषिभूमिमा पस्छ। उदाहरणको लागि घना जङ्गलका सडकमा समेत बाँदरको ओइरो लाग्दछ।
वन क्षेत्र बढ्दा बासस्थान अनुकूल हुँदा बाँदरको संख्या पनि बढेको छ। वनमा भोजन ‘कम या बढी’ अध्ययनको विषय होला, अध्ययन पनि सहज छैन। बाँदरले अधिकांश कृषि उपज, फलफूल र वनस्पतिका पातको फेद र मुना रुचाउँछ। हिजो बेल (साह्रो) तथा सुन्तला (राग आउने) नखाने बाँदर पछिल्लो समय सहजै खान्छ। अझ मासु पनि खान्छ, जस्तै भुसुना, माखा, किरा फट्याङ्ग्रा, जुम्रा, छेपारो लगायत। बाँदरले मकै, गहुँ जस्ता अन्नबाली त छरेको बिउ समेत खोतलेर खान्छ, उम्रने बित्तिकैको बोट खान्छ। त्यसैगरी केही ठूला भएपछि भाँचेर डुको (भित्री काण्ड) र फलेपछि फल खान्छ, सखापै पार्दछ। गेडागुडी त झन् यसको मनपर्ने भोजन हो।
१. बाँदरको स्वभाव
अवस्था र क्षमताको आधारमा बाँदर निकै चलाख हुन्छ। सहजै भाग्न सक्ने, रुख तथा कुनै पनि भौतिक संरचनामा उक्लिन सक्ने क्षमताको कारण यो आफू निकै सुरक्षित रहेर क्षति पुर्याउँछ। बाँदर यति बाठो हुन्छ कि बिहान र साँझ/बेलुका मान्छे घरमा हुँदा कृषि क्षेत्रमा सक्रिय हुन्छ भने दिउँसो मानिसहरू विद्यालय, कार्यालय र कृषि क्षेत्रमा सक्रिय हुँदा बाँदर घरमा आई क्षति गर्दछ। बाँदरले बिहान/साँझ समय र स्थान हेरी क्षति गर्दछ।
२. गाउँमा वयस्क नहुनु
बाँदर समूहमा बस्दछ, हिंस्रक पनि हुन्छ। वृद्ध, बच्चासँग बाँदर डराउँदैन, झम्टन्छ, कोपर्छ, टोक्छ। गाउँमा वयस्कहरू (रुग्ने मान्छे) को कमीले बाँदर बढी सक्रिय छ। पछिल्लो समय बाँदर रुग्न राखिएको कुकुरलाई पनि बाँदरले समूहमा रहेर झम्टिन्छ।
३. बसाइँसराइ
बसाइँसराइको कारण पहिलेको दाँजोमा गाउँमा मानिस संख्या कमी हुँदै गएको छ। त्यसैले आवश्यकता अनुसार कृषिबाली रुग्ने मान्छे छैनन्। हिजो बाँदर बस्ती पस्दा, गाउँमा कोही न कोही गाउँमा हुन्थ्यो र बाँदर लखेट्ने कार्य प्रभावकारी थियो। आजको समयमा त्यो अवस्था छैन र ग्रामीण क्षेत्र बाँदर अनुकूल बन्दै गइरहेको छ।
४. कृषि कर्ममा आएको कमी
बसाइँसराइसँगै गाउँमा कृषि कार्य घट्दै गएको छ। केही मात्र परिवार ग्रामीण भेगमा बस्छन्। हिजोको दाँजोमा सीमित क्षेत्रमा मात्र खेतीबाली हुने गरेको छ। जसकारण हिजो धेरै स्थानमा बाँडिएर क्षति गर्ने बाँदरहरू, आज कृषि कर्म घट्दा, कृषि गर्ने थोरै कृषकहरूका लागि बाँदर बढी विनाशकारी भएको छ।
५. वनक्षेत्रको विस्तार
संरक्षणमुखी वन व्यवस्थापन तथा वन व्यवस्थापन कार्यमा आएको कमीले वन क्षेत्र झाँगिँदै गएको छ। बसाइँसराइले कृषिभूमि निरन्तर वन क्षेत्रमा परिणत भएका छन्। हिजो टाढा रहेको वनक्षेत्र आज बाँकी रहेका घरसम्मै पुगेको छ जसले गर्दा बाँदरको आगमनलाई सहज बनाएको छ।
६. मध्यवर्ती क्षेत्र व्यवस्थापन
अवधारणा अनुसार मध्यवर्ती क्षेत्र भनेको संरक्षित क्षेत्रको केन्द्र भाग (कोर एरिया) भन्दा जनावरका लागि कम मैत्री हुनेगरी व्यवस्थापन गरिनुपर्ने हो। जसकारण जनावरहरू मध्यवर्ती क्षेत्रमा आइपुग्दा क्रमशः असुरक्षित महसुस गरी पुनः कोर एरियामै फर्किऊन्। तर मध्यवर्ती क्षेत्रलाई कोर एरियाभन्दा बढी वन्यजन्तु मैत्री बनाउँदा जनावरहरू कृषि तथा मानव बस्तीमा सहजै आइपुग्ने अवस्था भएको छ। अवधारणा बाहिर गएर गरिएको व्यवस्थापनका कारण बाँदर बढी समस्या भएको छ।
७. भावनामा बहकाव
बाँदरको समस्यालाई फरक तरिकाले विश्लेषण हुनुले समाधानभन्दा समस्यालाई गिजोलेको छ। फलस्वरूप समस्या ज्यूँका त्यूँ रहेको र खर्च बढेको छ। बाँदर पारिस्थितिकीय प्रणालीको एक सदस्य हो भन्नेमा दुईमत छैन। तर बाँदर समस्या नै होइन भन्ने भाष्य स्थापित गर्न खोजिएको पनि पाइन्छ। पारिस्थितिकीय प्रणालीमा कुनै जीवले समस्या निम्त्याउँछ भने त्यसको संख्याको विश्लेषण हुनुपर्दछ। बाँदरको संख्या गणना गर्न गाह्रो छ, गैँडा जस्तो संवेदनशील, विशाल, कम संख्या र केही स्थानमा मात्र पाइने जनावरको त संख्या गणना गर्न गाह्रो छ। बाँदरको संख्या र बासस्थानको क्षमता आँकलन असम्भवप्रायः छ। यस अवस्थामा स्थानीयले भोगेको समस्या र आइयूसिएनको तथ्याङ्कलाई हेरेर व्यवस्थापनको उपाय सोच्नुपर्छ। संख्या धेरै भएको जनावरलाई पारिस्थितिकीय प्रणाली भनेर रटान लगाउनु हुँदैन, संख्या व्यवस्थापनमा लाग्नुपर्दछ।
८. धार्मिक आस्था
हिन्दुहरूलाई बाँदर हनुमानका रूप हुन्। तर जनमानसको उठीबास लगाउँदा आस्थालाई अतिरञ्जित गरेर व्यवस्थापनलाई ओझेलमा पार्नु हुँदैन। प्रायः जनावरहरू धर्मसँग जोडिन्छन्। त्यसैले समस्या निम्त्याउने बेला यस्ता विषयलाई गौण मान्नुपर्दछ।
९. जनावर/पशु अधिकारकर्मीको विश्वास
अधिकारकर्मीको मात्र होइन आम बुझाइ नै हो, कुनै पनि जीव मार्नु सकारात्मक होइन। तर मानव बस्ती नै विस्थापित गर्ने र जीविकोपार्जनका उपाय नै नासिँदा अपत्यारिला उपायको अंगीकारमा पनि सहमत हुनुपर्दछ। भला जनावर छनोट (कलिङ्ग) र सदुपयोग नै किन गर्नु नपरोस्।
१०. नीति निर्माता र व्यहोर्ने समुदाय बीच फरक
वन्यजन्तुबाट पीडित प्रायः ग्रामीण भेगमा बस्दछन् भने नीति निर्माणकर्ता प्रायः सहरी क्षेत्रमा। कतिपय नीति निर्माताले पीडितलाई पीडित नै मान्दैनन्। उनीहरू बाँदर बस्ती पसेको होइन बरु मानिस चाहिँ वन्यजन्तुको बासस्थानमा बसेका हुन् भन्छन्। मानव वन्यजन्तु द्वन्द्वलाई विषय नै नमान्ने पनि धेरै छन्। बरु समुदायलाई नै स्थानान्तरण गर्नुपर्दछ भन्दछन्। किनकि त्यो वर्गले द्वन्द्व र समस्या झेलेको हुँदैन, केवल भावनात्मक रूपमा जनावरसँग जोडिन्छ। द्वन्द्व पीडितको अवस्था र नीति निर्माताको बुझाइमा रहेको खाडलका कारण बाँदर व्यवस्थापन जटिल बन्ने गरेको छ।
११. बुझ्नेभन्दा नबुझ्ने अगाडि
निर्विवाद छ, जनसमुदाय बाँदरबाट आक्रान्त छ। निर्वाचनको मुद्दा बन्नुले समस्याको संवेदनशील छ भन्ने दर्शाउँछ। निर्वाचित प्रतिनिधिले संसदमा विषय उठाउनु जायज छ। विषय संसदमा उठे पनि निवारण त्यहाँबाट हुँदैन। किनकि सांसदहरू न बाँदरबारे तालुक राख्छन् न त संरक्षणका खातिर, हुनसक्छ केहीले समस्या व्यहोरेका होलान्। समाधानका लागि जानकार पक्ष वन्यजन्तु संरक्षण। व्यवस्थापन, कृषि तथा शैक्षिक क्षेत्रबाट खोजिनुपर्दछ। सांसदहरूले आफू हरेक विषयको जानकार अर्थात् सर्वज्ञानी मान्ने चलन निकै खतरापूर्ण हो। त्यसैको कारण केही वर्ष अगाडि वन व्यवस्थापन कोपभाजनमा परेको विषय अझै ताजै छ। त्यसैले बाँदरको समस्या समाधानमा त्यो प्रवृत्ति दोहोरिन सक्छ। जानकारहरूमा त एकमत हुँदैन, कोही संरक्षणमुखी त कोही छनोटमा अडिग हुन्छन्। त्यसैले सही पक्षबाट उपायको खोजिएन भने समस्या समाधानको नाममा समय र स्रोतको क्षति सिवाय केही हुँदैन।
१२. सहयोगमा कमी हुने त्रास
जैविक विविधता संरक्षणको प्रतिफल बारेको लेखाजोखा कमै भएको पाइन्छ। संरक्षण खर्च अधिक छ। जस्तैः संरक्षणमा लगानी, वन्यजन्तु बढ्यो हिंस्रक भयो समात्न। पाल्न खर्च, बढेको वन्यजन्तुले क्षति गर्यो फेरि राहतमा खर्च। यो प्रवृत्तिको संरक्षण देशको स्रोतले थाम्दैन र संरक्षणमुखी दातामा निर्भर हुनुपर्ने बाध्यता छ। यदि व्यवस्थापनका लागि छनोट (कलिङ) र सदुपयोगको उपाय अवलम्बन गरियो भने भोलिका दिनमा दाताहरूले सहयोग नगर्लान् भन्ने डर हामीमा छ। तर संवेदनशीलताको आधारमा दाताहरूलाई विश्वस्त बनाउनु पर्दछ। विश्वमा संरक्षणमा सहयोग गर्ने राष्ट्रले पनि छनोट (कलिङ) र सदुपयोगको उपाय अवलम्बन गरेका छन्।
१३. चुरो उपायबाट बिमुख
हाल देखिएको समस्या भनेको बाँदरले गर्ने खेती (फलफूल तथा अन्नबाली) नष्ट, मान्छेलाई आक्रमण, घरमा पसी अन्न। कपडा लगायतका वस्तुहरू लाने वा बिगार्ने हो। जस मध्ये खेतीबाली नष्ट गर्ने मुख्य हो। हालसम्म अपनाइएका उपायहरूमा कृषिमा वैकल्पिक खेती, निरन्तर हेरचाह। निगरानी तथा धपाउने, कुकुरमार्फत लखेट्ने, गुलेली। घुयत्रोको प्रयोग, आवाज। ध्वनि यन्त्र जडान, ड्रोन प्रयोग, बुख्याचा स्थापना लगायतका छन्।
बाँदरको आकार प्रकार, बुद्धिमानी। बठ्याइ, आनीबानी (हिंस्रक), शरीरको बनोट, शारीरिक क्षमताको कारण बाँदरको समस्या समाधान सहज छैन। जमिन मात्र नभएर रुख वा जस्तोसुकै भौतिक संरचना पनि बाँदरलाई सहज हुने भएकाले, लखेटेर लखेटिँदैन। बाँदर यति बुद्धिमानी हुन्छ अपनाइएको हरेक उपाय क्षणिक बन्छन्। दीर्घकालीन हुँदैनन् किनकि बाँदर सहजै अनुकूलित भइहाल्छ।
निगरानी गर्न गाउँमा आवश्यक मान्छे उपलब्ध छैनन्। एकाध व्यक्तिबाट सम्भव हुँदैन, धेरैको जोहो गर्न अवसर लागतहिसाब गर्दा व्यर्थ देखिन्छ। बाँदर प्रायः समूहमा बस्ने, हिंस्रक आनीबानी हुँदा पहरेदार तथा कुकुरमाथि जाइलाग्छ। वृद्ध, महिला तथा केटाकेटी देख्न हुँदैन। पछिल्लो समय ध्वनि यन्त्र, गुलेली तथा घुयत्रो (सुधारिएको यन्त्र) पनि निष्प्रभावी भएका छन्। ड्रोनको प्रयोग खुल्ला क्षेत्रमा लाभकारी भएतामा पनि रुख भएको तथा अग्ला बाली भएकोमा प्रभावकारी हुँदैन।
पछिल्लो समय बाँदरलाई बगैँचामा राखेर पर्यापर्यटन बढाउने कुरा उठेको पाइन्छ। तर बाँदरको संख्या धेरै भएकाले सो प्रक्रिया अनुसार व्यवस्थापन गर्न कठिन हुन्छ। कतिवटा र कस्तो संरचनामा बनाउने निकै चुनौतीपूर्ण छ। बाँदरलाई न पूर्ण रूपमा बन्द जालीमा राख्न मिल्छ न खुला आकाशमा अड्याउन सकिन्छ। बाघ, गैँडा, हात्ती जस्तो होइन बाँदर, जसलाई तारबारमा सीमित गर्न सकियोस्। बाघ बगैँचा स्थापना गर्ने र पर्यटन विकास गर्ने जस्तो बाँदरको हकमा सम्भव हुँदैन।
वनमा भोजनको कमीले बाँदर बस्ती पसेको कि बाँदरको संख्या नै बढेको भन्ने विषय छ। लेखकको अनुभवमा वनको क्षेत्रसँगै बाँदरको संख्या पनि बढेको छ। किनकि घना जङ्गल तथा संरक्षित क्षेत्रका सडकमा बाँदर बेग्रल्ती भेटिन्छन्। एकातिर बाँदरको संख्या बढ्दै जानु र अर्कोतिर बसाइँसराइका कारण वनक्षेत्र स्थानीयहरूको घर तथा खेतीक्षेत्रसम्म प्रसारण हुनुले बाँदर बढी समस्या भएको हो। वनमा भोजनको कमी भएर बाँदर गाउँ पसेको हो, वनमा बाँदरका भोजन प्रजातिको व्यापक वृक्षारोपण गर्दा समस्या कम हुन सक्छ भनिन्छ। वनमा भोजन प्रजातिको वृक्षारोपण गर्दा बासस्थान थप अनुकूल बन्ने हुँदा झन् बाँदरको संख्यामा वृद्धि हुन्छ। झन् समस्या बढ्छ।
विद्युतीय (सोलार) तारबार पनि जनावर छेक्ने एक उपाय हो। तर यसका पनि सीमा हुन्छन्। समथर क्षेत्र र हिँडडुल गर्न जमिन प्रयोग गर्ने जनावरको हकमा यो प्रभावकारी हुन्छ। तर बाँदर जस्तो जमिन मात्र होइन वृक्षको सहारामा जहाँ पनि पुग्न सक्ने जनावरको हकमा फलदायी देखिँदैन। नेपालका पहाडी भूभागमा वृक्ष (कृषिवन प्रणाली) जहीतही पाइन्छ जसका कारण तारबार गरेर बाँदर रोकिँदैन। बाँदर यति चलाख हुन्छ तारबार छलेर पनि खेतीसम्म सहजै पुग्दछ। विद्युतीय तारबार विशाल क्षेत्रमा गरिने व्यवसायिक खेतीको हकमा लाभकारी हुन सक्छ निर्वाहमुखी खेती प्रणालीको क्षेत्रमा यो खर्चालु प्रविधि हो। साना कृषकले यो धान्न सक्दैन भने राज्यबाट सहुलियत पनि सम्भव हुने देखिँदैन। यदि सक्षम परिवारले गरे भने पनि, बाँदर झन् गरिबका लागि थप समस्या बन्ने हुन्छ। गाउँमा कृषकहरू पशुपालन पनि गर्दछन्, बाँदरलाई राखिएका विद्युतीय तारबार वस्तुभाउका लागि प्रत्युपादक हुनसक्छ।
अर्को उपाय भनेको कृषिबाली परिवर्तन हो। यसलाई सुरक्षित उपायको रूपमा लिइन्छ तर यसका पनि धेरै सीमितता छन्। वैकल्पिक कृषि प्रजाति के के हुन सक्छन् भन्ने अन्योलता रहन्छ। बाँदरले मन नपराउने नगदे बाली उत्पादन गरी बजारमा बिक्री गर्ने र घरको आवश्यकता पूर्ति गर्न बजारबाट खरिद गर्ने उपाय हुन सक्छ। तर उत्पादित वस्तुहरूको बजारीकरण सहज नहुन सक्छ। सानो परिमाणमा गरिने उत्पादनले बजार पाउने विषय निकै कठिन हुन्छ। कृषकहरूलाई यस विषयमा समेट्न चुनौतीपूर्ण छ। यदि कुनै क्षेत्रलाई विशेष खेती क्षेत्र घोषणा गरी सरकारले भिन्न कार्यक्रम चलाएर उत्पादन बढाउन सकेमा यो विधि सही हुन सक्छ।
बाँदर (पोथी) को बन्ध्याकरण पनि एक उपाय हो। अन्यत्र पनि (हङकङ, इन्डोनेसिया) अवलम्बन भएको छ। यो उपाय खर्चले धान्छ कि धान्दैन र तत्कालको समस्या समाधान हुन्छ हुँदैन त्यो ख्याल गर्नुपर्दछ। नेपालको हकमा एक अध्ययनका लागि पनि यो केही स्थानमा अवलम्बन गर्न नसकिने भन्ने चाहिँ छैन।
त्यसैगरी छनोट तथा सदुपयोग पनि एक सान्दर्भिक तर नेपालको सन्दर्भमा अलिक अपाच्य जस्तो लाग्छ। पशु अधिकारकर्मी र संरक्षणकर्मीलाई असहमत हुनसक्छन्। संघ संस्थाहरूले सहयोग नगर्न सक्ने सम्भावना रहन्छ। तथापि यो विधि संसारमा प्रचलित विधि नै हो र अमेरिका विभिन्न राज्य तथा मलेसियामा भएको पनि छ। नेपालमा अपाच्य नै सही तर समस्याको अधिकता, जीविकोपार्जनको संवेदनशीलता र समाधानको आवश्यकताको आधारमा अवलम्बन गर्न पछि हट्नु हुँदैन।
नेपालको परिदृश्य
नेपालले संरक्षण र मानव वन्यजन्तु द्वन्द्व समाधानको लागि विभिन्न उपाय तथा ठूलो धनराशि खर्च गर्दै आएको छ। तर सफलता भने सोचअनुरूप हासिल गर्न सकेको छैन। मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपालले वन क्षेत्र र मानव बस्ती बीचमा खाडल खन्ने, काँडे तारबार, विद्युतीय तारबार, जाली तारबार, जस्ता कार्य अवलम्बन गर्यो। अपेक्षित सफलता नमिल्दा सबै निष्प्रभावी जस्तो भएपछि पछिल्लो समय सिमेन्टका पर्खाल निर्माण गर्न विवश भएको छ।
साथै सुधारिएको गोठ, वैकल्पिक बाली, द्वन्द्व न्यूनीकरण शिक्षा जस्ता कार्यक्रमहरू पनि सञ्चालन भएका छन्। तर बाँदरका हकमा यी उपायहरू प्रभावकारी भएको पाइँदैन। त्यसैले बाँदरबाट हुने समस्या समाधानको लागि भिन्न रूपमा सोच्न आवश्यक छ। हामीले स्मरण के गर्नुपर्दछ भने हिजो गरिएका प्रयास जो अपेक्षित रूपमा प्रभावकारी भएका छैनन्। त्यस्ता कार्यलाई दोहोर्याउनु भन्दा पृथक प्रयास गर्नु जरुरी छ।
निष्कर्ष
देशमा बाँदरको समस्या भने दिनानुदिन बढ्दै छ। मानिसहरू गाउँ छोड्न, अदालतको ढोका ढकढक्याउन विवश भएको र निर्वाचनको मुद्दा समेत बाँदर बनेको छ। यस अवस्थामा राज्यले समाधानको लागि अविलम्ब ठोस कदम चाल्नुपर्ने देखिन्छ। हालसम्म गरिएका प्रयासहरू जो केही हदसम्म प्रभावकारी छन् तिनलाई केही समय निरन्तरता दिँदै केही भिन्न कार्यक्रमहरू जस्तै बृहत् वैकल्पिक खेती कार्यक्रम, बन्ध्याकरण र छनोट सहितको सदुपयोग कार्यक्रमहरूलाई अविलम्ब परीक्षण कार्यक्रमको रूपमा अवलम्बन गर्न चुक्नु हुँदैन।
परीक्षण कार्यक्रमको प्रभावकारिताको अध्ययन गरी सफल कार्यक्रमलाई भोलिका दिनमा बृहत् बनाएर लैजानुपर्दछ। जसले जनतामा सरकार केही गर्दैछ भन्ने विश्वास हुनेछ, किसानमा आशा पलाउँदछ। वैकल्पिक खेतीमध्ये उतीस, कागती, हलेदो, अदुवा लगायत अन्य बजार सुनिश्चित भएका प्रजाति बढावा कार्यक्रम सञ्चालन गर्नुपर्दछ। बन्ध्याकरणका विभिन्न उपायमध्ये एक अवलम्बन गर्नु आवश्यक छ। तर समस्याको संवेदनशीलतालाई मध्यनजर गरी यथासक्य छनोट तथा सदुपयोग कार्यक्रम अवलम्बन गर्नुको विकल्प छैन। त्यसको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा बजार प्रवर्धनमा पनि ध्यान दिनु जरुरी हुन्छ।
(लेखक वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखराका उप प्राध्यापक हुन्।)