सहर वरपर धान अथवा चामल फल्ने खेतले घेरिएको बस्ती, ख्वप्रिङ। वरिपरि प्रशस्त धानको खेती हुने र वर्षैभरि चाडपर्व, जात्रा र नाचगानमा निमग्न भुल्ने, ख्वप। भक्तग्राम, भक्तहरूको गाउँ। भक्तपतन, भक्तहरूको सहर। भक्तपुर, भक्तहरूको सहर।
सहरको हनुमन्ते र कासाङखुसी खोला सहरको मुख्य पूर्व पश्चिम मार्गबाट समानान्तर भएर बग्दछ। त्यसपछि मुख्य सहरको थुम्को पुग्न चारैतिरबाट उकालो उक्लिनु अनिवार्य छ। खोलाको दायाँ बायाँ खोलाले बोकेको बलौटे उर्वर माटो कृषिको लागि उपयुक्त र अनुकूल भएकोले यहाँ प्रशस्त धान उब्जनी हुने हुँदा संसारकै उच्च कोटिको रक्सी बनाउने विज्ञान सिके।
कृषि कर्ममा व्यस्त किसानहरूको दैनिकी आ-आफ्नो खेतबारीमा बित्ने गर्दथ्यो। कृषिमा निर्भर भक्तपुरका किसान समुदाय आफ्नो शारीरिक श्रममा समय व्यतीत गर्ने कारण प्रशस्त शारीरिक व्यायाम र कसरत आफसे आफ पुग्यो। बढ्दो सहरीकरणसँगै मानिसहरूको जीवनयापनको तवर तरिकामा व्यापक फेरबदल भइसकेको छ। मौलिक खेती प्रणाली सकसपूर्ण भएको हुँदा आधुनिक युवा पुस्ता खेतीभन्दा पनि जागिरमा भर पर्नु पर्ने वाध्यात्मक परिस्थिति छ। साथै मानिसहरूको खानपान र व्यस्त जीवनले व्यक्तिगत स्वास्थ्य प्रतिकूल बन्दै गएको समयमा साइकल संस्कृति समयानुकूल शारीरिक कसरतको उपयुक्त र सजिलो माध्यम हुन गएको छ।
पुराना पुस्ताका मानिसहरू बिहानै उठेर नगरभित्र रहेका मन्दिरहरू धाउँछन् र देवताहरू पुज्छन्। बिहान एकैछिन मठ-मन्दिर छेउछाउ आफूलाई भगवानमा लीन बनाउन खोज्छन्, एकान्त खोज्छन् र मानसिक रूपमा आफूलाई आत्म केन्द्रित बनाई खुसी खोज्छन्। जे छ आफूमा त्यसमै सन्तुष्टिको मार्ग पछ्याउँछन्। परिवर्तित समय, फरक परिवेश र आधुनिकताको पदचापहरू छिटो-छिटो बदलिँदो छ। यस्तोमा हाम्रो पुरानो पुस्ता र नयाँ पुस्ताबिचको सहज मिलनबिन्दु के हुन सक्ला?
आधुनिक जमातले माटोमा पसिना र श्रम संस्कृति अँगाल्न पनि हिजोको जस्तो समय रहेन। भएका जति खेतीयोग्य जमिन बढ्दो सहरीकरणले निल्दै लगेको छ। त्यसको बदलामा शारीरिक श्रमको विकल्प आधुनिक जिमखाना र आधुनिक साधना गर्ने अथवा मेडिटेसन गर्ने उपासना केन्द्रहरूतिर आकर्षित भइरहेका छन्। यस्तो वर्तमान परिस्थितिमा कसरी आफ्नो मौलिकता चटक्कै नछोड्ने भन्नेमा विचार गर्नु परेको छ। कसरी आधुनिकता पनि आँखा चिम्लेर पूर्ण रूपमा नअँगाल्ने हो?
आजभोलि समय फेरिएसँगै मानिसहरू मर्निङ वाक, योग, साधना र जिमतिर आकर्षित भएका छन्। हाम्रो पुरानो नेवारी बस्तीहरूमा आज पनि बिहानको सूर्योदय अघि नै झिसमिसे उज्यालोमा हातमा पूजाको थाली बोकेर नजिकैको आफ्नो गणेश पुज्दै मन्दिरहरू पुज्न पुग्छन्। देवी देवताको उपासनामा आफूलाई एकैछिन लीन हुने प्रयास गर्छन्, मन मस्तिष्क ध्यानस्थ बनाई भगवानका उपर अर्पण गरी उपासना व्यक्त गर्छन्। कठोर तपस्याको मानक माधव नारायण व्रतालुहरू हनुमन्ते खोलाको त्रिवेणीमा बिहानको कठाङ्ग्रिने चिसो मौसममा पनि पानीमा चुर्लुम्म डुबेर स्नान गरी खाली खुट्टा सहरको विभिन्न स्थानहरूमा पुज्न हिँड्दछन्। कठोर साधना र तपस्या कहीँ छ भने निर्धक्क यही देखाइदिए हुन्छ। हाम्रो पुरातन व्यवहार जस्तो लाग्ने यस्ता सांस्कृतिक चालचलन पनि गहिरिएर नियाल्दा त आधुनिक मर्निङवाक, जिम र उपासना केन्द्रहरू रहेछन्। त्यसैले पुरानो पुस्ताका बाजेहरू शारीरिक रूपमा हृष्टपुष्टट र तन्दुरुस्त देखिन्छन्, आजको युवाहरू भन्दा।
विश्वको सबैभन्दा बढी औसत आयु र स्वस्थ मानिसहरू भएको चीन र जापान जस्ता देशहरूको रहनसहन र जीवनशैली अनुसरण गरी उचित शारीरिक श्रम गर्ने संस्कृति अँगाल्न जरुरी रहेको देखिन्छ। खुल्ला क्षेत्रहरूमा सांगीतिक वातावरण सृजना गरी हातखुट्टा चलाएर नाचिरहेका, व्यायाम गरिरहेका र हिँडिरहेका मानिसहरू चीनको सहरहरूमा देखिन्छन्। त्यसरी नै दाफा भजन र सांस्कृतिक क्रियाकलाप पनि हाम्रो माटो सुहाउँदो व्यायाम र उपासना केन्द्रहरू होलान्। मठ मन्दिर, विहार, फल्चा र चोकहरू पनि आफूलाई शारीरिक र मानसिक रूपमा शुद्ध बनाउने सामाजिक रूपमा सामञ्जस्यपूर्ण र उत्कृष्ट साधना गर्ने स्थानहरू नै होलान्। चोक, पाटी पौवा, सत्तलहरू एकैछिन भए पनि बुढ्यौलीमा आ-आफ्नो बह पोख्ने र घाम तापेर आराम गर्ने पुरानो अघोषित ज्येष्ठ नागरिक हेरचाह केन्द्रहरू नै होलान्।त्यस कारण हाम्रो कला र संस्कृतिमा गहिरिएर नियाल्दा जीवन बाच्ने जिजीविषाहरू भेटिन्छन्।
दसैँ सकेर नेपालमा पश्चिमी देशका पर्यटकहरू विशेषतः जाडो छल्न नेपालको हिमालय घुम्न अवतरण गर्छन्। एक हूल विदेशी पर्यटकहरू च्याम्हासिंहको द्वारबाट दत्तात्रय मन्दिर अवलोकन गर्दै सहरको मुख्य व्यापारिक बजार सुकुलढोका पुग्छन्। सुकुलढोकाको लक्ष्मी सनराइज बैक अगाडिको वास्तुकलाले भरिपूर्ण र उत्कृष्ट घरमा पर्यटकहरू एकछिन एकोहरो नियालिरहन्छन्। सूक्ष्म बुट्टाहरूमा ध्यानमग्न हेरिरहन्छन्। यतिकैमा व्यस्त भिडभाड हुने बजारमा एउटा मोटर साइकलको ट्वी-ट्वी हर्न बज्छ र निमग्न भएर ध्यान केन्द्रित गरी नियालिरहेको विदेशी पर्यटकहरू आत्तिन्छन् र छेउ लाग्छन्। त्यसपछि मुख्य सुकुलढोकाको बाटोमा दश पाइला छिचोलेपछि माछा पसलको दुर्गन्धित हावा नाकमुनि ठोकिन्छ। पर्यटकहरू मुख खुम्च्याउँदै नाक छोप्छन् र टौमढीतिर लाग्छन्।
माथिको एक दृष्टान्त एउटा प्रतिनिधि घटना मात्रै हो, जुन दैनिक जसो प्राचीन सुन्दर नगरमा घटित भइरहन्छन्। बेला मौकामा बौद्धिक वर्ग, आम जनमानस र सामाजिक सञ्जालमा भक्तपुरको पुरानो बस्तीभित्र सवारी साधन निषेधित क्षेत्र घोषणा गर्नुपर्ने विषयमा छलफल र अन्तरक्रिया भइरहेको छ। भक्तपुर नपाले पनि त्यसलाई मध्यनजर गर्दै भक्तपुरको मुख्य सांस्कृतिक केन्द्र तःमारीको न्यातपोल र भैरवनाथ मन्दिरमा बिहान देखि बेलुकासम्म सवारीसाधन निषेधित गरेको छ। भक्तपुरको केही स्थानमा सवारी साधन एकतर्फी बनाएसँगै साँघुरो सडकहरूमा आवतजावत सहज भएको महसुस गर्न सकिन्छ। तर यसको दीर्घकालीन उपायहरू के हुन सक्लान्? जसले प्राचीन भक्तपुरमा हरेक मानिसहरू युरोपका प्राचीन नगरहरू जस्तै शान्त र पैदलयात्री पर्यटकहरू स्वच्छन्द विचरण गरिरहेको देख्न सकियोस्।
एकैछिन तपाईं कल्पना गर्नुहोस् त। प्राचीन भक्तपुर नगरी सवारी साधन मुक्त क्षेत्र घोषणा भएको छ। सहरका मानिसहरू सांस्कृतिक र वैचारिक रूपले सक्षम र बौद्धिक छन्। मानिसहरूबिच, पुरानो र नयाँ पुस्ताबिच एवम् आधुनिक प्रविधिबिच तादात्म्य भएर यहाँको कला संस्कृति बाँचिरहेको छ। बाटो, गल्ली, मठ मन्दिरहरू एकदम चिटिक्क र सफा देखिन्छन्। बाटोमा कुनै पनि सवारी साधनहरू छैन। मानिसहरू केही दुरीमा नगर छिचोल्न सकिने भएकाले पैदल नै हिँड्छन्। सूर्यमढीबाट दूधपाटीसम्म, ब्यासीदेखि बाराहीस्थानसम्म मानिसहरू पैदल नै पुग्छन्। बजार, भोजभतेर, चाडपर्वमा पनि मानिसहरू पैदल हिँड्छन्। किनमेलको निम्ति पनि पैदल नै पुग्छन्। कोही स-साना फुच्चा फुच्चेहरू साइकलमा कुदिरहेछन्। चोक-चोकमा पुराना प्राचीन खेलहरू कसिमला पाय, चि कासा, घ्वाइ कासा, गट्टा, लक-टीक, बासकल खेलिरहेछन्। मोटरसाइकलको ट्वाँ ट्वाँ र ट्वी ट्वी त के पुरानो नगरभित्र मोटरसाइकल नै देखिँदैन। अहो कस्तो आश्चर्य चकित ! के यस्तो सम्भव होला र? आजको २१ औ शताब्दीमा?
भक्तपुर घुम्न आउने पर्यटकहरू पनि प्राचीन नगरीमा पैदल नै घुम्दछन्। त्यसपछि पेडलमा पर्यटकहरू प्राचीन चाँगुनारायण मन्दिर डुल्दछन्। त्यहाँबाट डाँडैडाँडा त्रीशुलडाँडा-तेलकोटको बाटो हुँदै नगरकोटको टावरबाट हिमालय शृङ्खला र सूर्योदय नियाल्दछन्। त्यहाँबाट साइकलमै नाला-बनेपा चियाउँदै आशापुरी-डोलेश्वर-सूर्यविनायक मन्दिर हुँदै सुवर्नेश्वर भ्रमण गरेर, थिमीको उकालो लागेर नगदेश-बोडे हुँदै पुनः भक्तपुरको रात्रिकालीन मनोहर दृश्य नियाल्दै आफ्नो यात्रामा पुनर्विराम लगाउँछन्। ओहो! यसरी नै भक्तपुर घुम्न आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई अल्झाइरहन पाए?
बिस्तारै हाम्रो जीवनशैलीलाई आधुनिकताले घिसार्दै लगेता पनि पुरानो मौलिक र वैज्ञानिक चिजको अनुसरण गर्दै त्यसलाई जोगाइराख्नु आजको आवश्यकता हो। माघको घिउ चाकु, मंसिरमा पिँडालु, पुसमा योमरी जस्ता मौलिक खानपिन स्वास्थ्य अनुकूल खाद्य सामग्रीहरू हुन्। स्वास्थ्यकर जीवनशैली त यहीकै सांस्कृतिक खानपान पो हो कि?
साइकल चलाउनु शरीरको सम्पूर्ण अंगहरूको व्यायाम हो। दैनिक ५ किमी आफ्नो अफिस आउजाउ गर्न सकिने स्थानसम्म अथवा भक्तपुर भित्रकै एक नपाबाट अर्को नपा पुग्न हामीले साइकलको प्रयोग गर्न सकिन्छ होला त? छोटो दूरीको यात्राका लागि साइकल उपयुक्त माध्यम हो। भक्तपुरको चाँगुबाट सूर्यविनायकसम्म मज्जाले साइकलमै जाने साइकल संस्कृति विकास गर्न पो सकिन्छ कि? त्यसै गरी उपत्यका भित्रको एक जिल्लाबाट अर्को जिल्ला आवतजावतको लागि मोटरसाइकल पो प्रयोग गर्न सकिन्छ कि? उपत्यका छोडेर जानुपर्ने भएको अवस्थामा मात्र बल्ल चार पाङ्ग्रे प्रयोग गर्ने कि?
सहरमा साइकल प्रतिको रुचि बढिरहेको देखिन्छ। साइकल कनेक्ट भक्तपुरले बेला मौकामा भक्तपुर कोरा, साइकल मैचा, विद्यालय केन्द्रित साइकल सिकाई, बच्चाहरूको किड कोरा आयोजना गरी साइकल संस्कृति निर्माणमा जोडबल गरिरहेको छ। यसरी समग्र समुदाय नै साइकल प्रति आकर्षित बनाउन सके कम्तीमा पैदल र पेडल मैत्री सहर निर्माणतर्फ जागरित भइरहन सम्भव छ। यसका लागि साइकल संस्कृति विकसित गर्न सके अत्यन्त उपयुक्त हुने देखिन्छ। व्यक्तिगत सवारी साधन मुक्त क्षेत्र निर्माण तर्फ दीर्घकालीन उपाय खोजिनुपर्दछ। सार्वजनिक सवारी पार्किङ क्षेत्र निर्धारण गरिनुपर्दछ।
जसरी दैनिक जीवनमा पूजापाठ हाम्रो लागि स्वतःस्फूर्त कर्म हो, त्यसरी नै साइकल संस्कृति हाम्रो कर्म हुन सके काठमाडौँ उपत्यका भित्र रहेका प्राचीन बस्तीहरूको सौन्दर्य बढ्ने देखिन्छ। सवारी साधन मुक्त क्षेत्रमा पैदल हिँड्ने वातावरण निर्माण गर्न सके यसको शान्त, सौम्य र पर्यटकीय सौन्दर्यमा थप शोभा बढ्ने देखिन्छ। अब त्यसको लागि नगरभित्र भएका दुई पाङग्रे र चार पाङ्ग्रे सवारी साधनलाई कसरी व्यवस्थित गर्न सकिन्छ? त्यसबारे एकछिन घोत्लिने पो हो कि?
पैदल र पेडलमैत्री सहर, भक्तपुर। जसरी युरोप, चीन र जापान जस्ता विकसित राष्ट्रहरूमा स्वस्थ जीवनशैलीको एउटा माध्यम साइकल संस्कृति बनेको छ, त्यसै गरी सम्पूर्ण भक्तपुरवासी र उपत्यकावासीहरूको जीवनमा साइकल संस्कृति अभिन्न अंग बन्न सकेमा हामीले कल्पना गरेको पैदल र पेडलमैत्री सहर बनाउन सम्भव होला त?