वर्तमान विश्व अत्यन्तै विविधतायुक्त, जटिल र बहुआयामिक छ। यहाँ संसारका हरेक अवयव, घटना र मानवीय अवस्थाहरूलाई मानव जातिले आ-आफ्नो चस्मा, व्यक्तिगत स्वार्थ अनि बौद्धिकताको पृथक् नजरियाद्वारा सूक्ष्म ढङ्गबाट नियाल्ने गर्दछ।
कुनै व्यक्तिले कुनै एउटा घटना वा परिस्थितिलाई गहिरो समस्याका रूपमा हेरिरहेको हुन्छ भने अर्को व्यक्तिले सोही घटनालाई आफ्नो फरक पृष्ठभूमि, व्यक्तिगत भोगाइ तथा परिवेशको आधारमा समाधान वा एउटा सामान्य अवसरका रूपमा चित्रित गरिरहेको हुन्छ।
वास्तवमा कुनै पनि व्यक्तिको आफ्नो सोच्ने तरिका, उसको वरिपरिको वातावरण, पारिवारिक संस्कार, सामाजिक संरचनाको बनोट र उसले ग्रहण गरेको औपचारिक तथा अनौपचारिक शिक्षाको प्रत्यक्ष प्रभावले गर्दा घटनाको बोध गर्ने तथा बुझ्ने प्रक्रियामा कहिल्यै पनि एकरूपता पाइँदैन। मानव जातिले आफ्नो बुझाइ र संस्कारले प्रदान गरेको मानसिक ढाँचा अनुरूप नै हरेक घटना, परिघटना एवम् विषयवस्तुहरूमा आफ्ना धारणाहरूको निर्माण गरिरहेका हुन्छन्।
यही पृष्ठभूमिमा रहेर जब हामी हाम्रो समाजको एउटा ठुलो हिस्साको रूपमा रहेको अपाङ्गता र अपाङ्गता भएका व्यक्तिहरूको अवस्थालाई नियाल्छौँ, तब समाजको संकुचित र विरोधाभासपूर्ण चेतना छताछुल्ल हुन पुग्दछ।
साधारणतया अपाङ्गता शब्द सुन्नासाथ वा कोही अपाङ्गता भएका व्यक्तिसँग अचानक जम्काभेट हुनासाथ आम मानिसको दिमागमा झट्ट के कुरा खेल्छ अनि उनीहरूको धारणा कस्तो निर्माण हुन्छ भन्ने प्रश्न निकै पेचिलो छ। यस सन्दर्भमा अधिकांश मानिसहरूको एउटै खालको सतही र परम्परागत जवाफ आउने गर्दछ। समाजको एउटा वर्गले उनीहरूलाई विशेष क्षमता, फरक क्षमता, बहुमुखी प्रतिभाको धनी, भगवान्को वरदान, कति धेरै जान्ने वा प्रेरणादायी व्यक्तिको रूपमा अतिरञ्जित प्रशंसा गर्दछ भने कतिपयले भावीले ठगेको भन्दै भाग्यवादी सोचको विम्ब बनाउँछन्।
अर्कोतिर, समाजकै कतिपय व्यक्तिहरूले अपाङ्गतालाई पूर्वजन्मको पाप, धर्तीको बोझ, बरा बिचरा, कमजोर, बिरामी, अनुत्पादक नागरिक अनि सधैँ अरूमाथि आश्रित व्यक्तिको रूपमा अत्यन्तै हीन भावनाका साथ चित्रण गर्ने गर्दछन्। अब आफैँ विचार गर्नुहोस्, कसैले अपाङ्गतालाई शिखरको टुप्पोभन्दा पनि माथि राखेर देवत्वकरण गर्ने अनि अर्कातिर फेरि त्यसैलाई समुद्रको पिँधभन्दा पनि मुनि डुबाएर उपहास गर्ने यो कस्तो खालको चेतना हो?
यी दुई पक्षहरू आफैँमा परस्पर विरोधी र विभेदकारी छैनन् र?
वास्तवमा अपाङ्गता कुनै पनि व्यक्तिको व्यक्तिगत समस्या वा कमजोरी नभएर यो मानव जातिमा देखा पर्ने प्राकृतिक विविधताको एउटा सामान्य स्वरूप मात्र हो। यो जन्मजात अनि जीवनको कुनै पनि कालखण्डमा आइपर्ने दुर्घटना, रोग वा उमेरको कारणले आर्जित दुवै अवस्थामा देखा पर्न सक्छ। आज आफूलाई सबलाङ्ग र समाजको शक्तिशाली दर्जामा राख्न चाहने कुनै पनि व्यक्ति भोलिका दिनहरूमा विविध अनपेक्षित कारणवश अपाङ्गताको अवस्थासम्म पुग्न सक्छ। यो संसारको एक कठोर यथार्थ अनि ध्रुवसत्य कुरा हो, जुन कुरालाई सहज रूपमा स्वीकार गर्न धेरै बलियो मनस्थिति र उच्च मानवीय चेतनाको आवश्यकता पर्दछ।
अपाङ्गता आफैँमा पूर्ण अवरोध होइन, बरु समाज, समाजका सदस्यहरू, भौतिक पूर्वाधारको संकुचन र सामाजिक वातावरणमा व्याप्त विभेदकारी पर्खालहरूका कारण सिर्जित अवरोधहरूले गर्दा उत्पन्न भएको एक विशिष्ट खालको अवस्था हो। तसर्थ, अपाङ्गतालाई विविध कृत्रिम उपमा भिराएर समाजभन्दा टाढा राख्न खोज्नु र यसलाई समस्या एवम् अनावश्यक बोझका रूपमा मूल्याङ्कन गर्नु आधुनिक समाजको चरम बौद्धिक मूर्ख्याइँ र मानवीय चेतनाको स्खलन हो भन्दा न्यायोचित नै हुन्छ।
नेपाली समाज र समुदायमा अपाङ्गतासँग सम्बन्धित धेरै मिथ्या धारणाहरू र अरूलाई दिग्भ्रमित पार्ने यथेष्ट भ्रम अनि गहिरो अविश्वासले परापूर्वकालदेखि जरा गाडेर बसेका छन्। यसकै फलस्वरूप अपाङ्गता भएका व्यक्तिहरूप्रति मानिसहरूका मतभिन्नताहरू र पूर्वाग्रहपूर्ण व्यवहारहरू दैनिक रूपमा सतहमा देखा पर्ने गरेका छन्।
अपाङ्गता भएका व्यक्तिहरूले केही गर्न सक्दैनन्, यिनीहरूलाई पालनपोषण गर्ने दायित्व राज्यको मात्र हो, यिनीहरूले परिवार निर्माण गर्न सक्दैनन्, सबै अपाङ्गता भएका व्यक्तिहरू परनिर्भर हुन्छन्, यिनीहरूले समाजमा राम्रो साथीको भूमिका निर्वाह गर्न सक्दैनन्, यस्ता व्यक्तिहरूमा मानवीय यौन भावना वा शारीरिक संवेग हुँदैन र यिनीहरू असल अभिभावक बन्न सक्दैनन् भन्ने जस्ता अनगिन्ती पश्चगामी, संकुचित र रूढिवादी विचारहरूद्वारा वर्तमान समाज निर्देशित छ।
त्यति मात्र नभएर सिङ्गो राज्यको संरचना र नीति-नियमहरू पनि कतिपय ठाउँमा विभेदकारी र पूर्वाग्रही देखिन्छन्। अपाङ्गता भएका व्यक्तिहरूको पनि मनोभाव हुन्छ, उनीहरूको आफ्नै विशिष्ट आवश्यकता हुन्छ, उनीहरू पनि साथीभाइको सर्कलमा रहन खोज्छन्, उनीहरूसँग जीवनका विशिष्ट योजना र अनगिन्ती सुन्दर सोचहरू हुन्छन् भन्ने कोणबाट राज्य र समाजले कहिल्यै सोच्ने चेष्टासम्म पनि गरेनन्।
अपाङ्गतालाई केवल अपाङ्गता भएकाहरूको निश्चित समूहमा सीमित गर्ने र बाहिरी वृहत् समाजसँगको अन्तरक्रिया र अन्तर्घुलनमा अदृश्य बन्देज लगाउने जुन नियत र सोच व्याप्त छ, यसले सिङ्गो अपाङ्गता समुदायको सामाजिकीकरणको प्रक्रियामा गहिरो र दीर्घकालीन नकारात्मक प्रभाव पारिरहेको छ।
यस सन्दर्भमा आफूलाई आधुनिक, शिक्षित र सचेत भन्न रुचाउने नयाँ युवा पुस्ताहरूले पनि अपाङ्गताको सवाललाई उत्तिकै नजरअन्दाज र उपेक्षा गर्ने गरेका छन्। व्यावहारिक रूपमा हेर्ने हो भने युवा पुस्तामा संवेदनशीलताको चरम अभाव देखिन्छ। उदाहरणका लागि, यदि कोही दृष्टिसम्बन्धी अपाङ्गता भएको व्यक्ति सडकमा सेतो छडी टेकेर हिँडिरहेको छ भने, उसको सेतो छडी कुल्चेर हिँड्ने र गल्तीवश त्यसो हुन जाँदा माफी माग्नुको साटो उल्टै अपाङ्गता भएका व्यक्तिलाई नै तथानाम गाली गरेर हिँड्ने प्रवृत्ति नवयुवा वर्गमा व्याप्त छ।
अर्कोतिर, सार्वजनिक स्थलहरूमा कुनै सहयोग माग्दा पूर्ण रूपमा बेवास्ता गरेर हिँड्ने र सार्वजनिक सवारी साधनहरूमा कानुनद्वारा तोकिएको अपाङ्गता भएका व्यक्तिहरूको सिट छोड्न अनुरोध गर्दा अटेर गर्ने, उल्टै आक्रोश पोख्ने काम पनि अधिकांश युवाहरूले गर्ने गरेका छन्। विभिन्न कलेज तथा विश्वविद्यालयका क्याम्पसहरूमा आवश्यक प्राज्ञिक एवम् अन्य व्यावहारिक सहयोग माग गर्दा धेरैजसो सहपाठी र सरोकारवालाहरूले बेवास्ता गर्ने व्यवहार पनि अधिकांश अपाङ्गता भएका विद्यार्थीहरूले नियमित रूपमा सामना गर्नुपरिरहेको तीतो सत्य हो।
त्यसैगरी, सार्वजनिक संस्थाहरू र विभिन्न मुद्दामा काम गर्ने गैरसरकारी निकायहरूले पनि अपाङ्गतालाई केवल देखाउने दाँतको रूपमा प्रयोग गरेको कुरा करिब शतप्रतिशत यथार्थमा आधारित छ। विभिन्न सामाजिक मुद्दाहरूमा काम गर्ने संस्थाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना कार्यक्रम तथा क्रियाकलापहरूमा निम्ता त गर्छन्, तर उनीहरूको उपस्थितिलाई केवल दाताहरूका अगाडि समावेशिता देखाउने एउटा देखावटी सङ्केतको रूपमा मात्र प्रस्तुत गर्दछन्। उनीहरूको अर्थपूर्ण सहभागिता र विचारको कदर गर्ने कुरामा सधैँ उदासीनता देखाइन्छ, जुन आफैँमा एक दूषित र निन्दनीय कार्य हो।
अपाङ्गताको सवालमा सबैभन्दा बढी उपेक्षित र चर्चा नगरिएको तर अत्यन्तै गम्भीर पाटो भनेको अन्तरवैयक्तिक सम्बन्ध, मित्रता र प्रेमको सवाल हो। हाम्रो समाजमा अपाङ्गता नभएका बहुसङ्ख्यक युवा-युवतीहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो वास्तविक र आत्मीय साथीको रूपमा स्वीकार गर्नै चाहँदैनन्। अपाङ्गता भएका व्यक्तिसँग जति नै उच्च क्षमता, बौद्धिकता, सीप वा मानवीय गुणहरू किन नहोस्, सबलाङ्ग समाजले त्यस क्षमतालाई भगवान्ले दिएको विशेष वरदान भन्दै संकुचित रूपमा परिभाषित गरिदिन्छ र उनीहरूको भित्री सुन्दरता वा योग्यतालाई पूर्ण रूपमा नजरअन्दाज गरिदिन्छ। उनीहरूले व्यक्तिको विचार र भावनालाई भन्दा शरीरको बाहिरी आवरणलाई मात्र सम्बन्ध विस्तारको प्रमुख मानक वा भाष्य निर्माण गर्दछन्।
धेरै ठाउँहरूमा अपाङ्गता नभएका व्यक्तिहरूसँग अपाङ्गता भएका व्यक्तिहरूको औपचारिक साक्षात्कार वा चिनजान त हुन्छ, उनीहरू क्षणिक रूपमा बोलेझैँ पनि गर्छन् र आधुनिक प्रविधिको सिको गर्दै सामाजिक सञ्जालका विभिन्न माध्यमहरूमा जोडिन्छन् पनि। तर जब सम्बन्धलाई अलि गहिरो बनाउने वा प्रत्यक्ष कुराकानी र नियमित भेटघाट गर्ने प्रसङ्ग आउँछ, तब उनीहरू विस्तारै पन्छिन थाल्छन्, म्यासेज र फोनहरूको जवाफ दिन छोडिदिन्छन् र पूर्णतया बेवास्ता गर्ने तहसम्म पुग्दछन्। यो व्यवहारले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मानमा कति गहिरो चोट पुर्याउँछ भन्ने कुराको महसुस सबलाङ्ग समाजले कहिल्यै गर्न सक्दैन।
त्यसभन्दा पनि डरलाग्दो र संकुचित अवस्था त प्रेम र विवाहको क्षेत्रमा देखिन्छ। अपाङ्गता भएका व्यक्तिहरूसँग प्रेम सम्बन्धमा बस्ने र त्यस्ता सम्बन्धहरूलाई पवित्र विवाहमा परिणत गर्ने आँट वा साहस कसैले पनि गर्दैनन्। यदि कसैले समाजको यो परम्परागत पर्खाललाई भत्काएर त्यो आँट वा साहस गरिहाल्यो भने पनि उसको परिवार, नातागोता, आफन्त र छिमेकीहरूले यसलाई सहजतापूर्वक लिँदैनन्। उनीहरूले त्यस्तो सम्बन्धलाई पूर्णतया अस्वीकार गर्ने, कुल खानदानको इज्जत गएको भन्दै मानसिक तनाव दिने र सम्बन्धविच्छेदका लागि दबाब दिने कार्य गर्दछन्।
नेपाली समाज र समुदाय आजको समयमा आइपुग्दा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो प्रेमी-प्रेमिका, श्रीमान्-श्रीमती, ज्वाइँ, बुहारी, दाजु, भाउजू वा भिनाजुका रूपमा स्वीकार गर्न मानसिक रूपमा तयार नै छैन। अपाङ्गता भएका व्यक्ति जतिसुकै क्षमतावान्, आर्थिक रूपमा सक्षम र बौद्धिक रूपमा अब्बल भए तापनि, उनीहरूको शारीरिक आवरण र कथित शारीरिक कमी-कमजोरीहरूलाई मात्र केलाउँदै हाम्रो समाज र यसभित्रका सदस्यहरू अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो सच्चा र दिगो सम्बन्धमा जोड्न चाहँदैनन्।
यदि कतिपय अवस्थामा धेरै ठुलो सङ्घर्ष गरेर वा सामाजिक दबाबका बिच विवाह भइहाल्यो भने पनि, त्यो सम्बन्ध लामो समयसम्म सहज रूपमा अगाडि बढ्न सक्दैन। विवाह भइसकेपछि पनि परिवार र समाजको निरन्तरको दबाब, नकारात्मक टिप्पणी र असहयोगका कारण बिचमै सम्बन्धमा गम्भीर दरार आउने गर्दछ। जीवनसाथीले समाजको दबाब थाम्न नसक्दा वा स्वयं आफ्नै मनमा पलाएको ‘हीनताबोध’ का कारण असमझदारी बढ्दै जान्छ र अन्ततः त्यो पवित्र सम्बन्ध पारपाचुकेको अवस्थासम्म पुग्ने गर्दछ।
समाजले अपाङ्गता भएका व्यक्तिको जीवनसाथीलाई कस्तो विवशतामा परेको होला भन्दै सहानुभूति देखाउने र अपाङ्गता भएको व्यक्तिलाई बोझको रूपमा प्रस्तुत गर्ने हुनाले धेरैजसो वैवाहिक सम्बन्धहरू अदालतको ढोकामा पुगेर टुङ्गिने गरेका छन्। यो अवस्थाले के देखाउँछ भने समाजले अपाङ्गता भएका व्यक्तिलाई एउटा स्वतन्त्र र सुखमय पारिवारिक जीवन जिउने अधिकारबाट पूर्ण रूपमा वञ्चित गर्न हरसम्भव प्रयास गरिरहेको हुन्छ।
एउटा द्रष्टा र अपाङ्गता भएका व्यक्तिहरूको रूपमा मेरो आफ्नै व्यक्तिगत अनुभव र भोगाइले पनि समाजको यही निर्मम र कठोर यथार्थलाई पुष्टि गर्दछ। कलेज जीवनका केही औँलामा गन्न सकिने साथीहरू र म आबद्ध रहेका केही सीमित ठाउँहरूका अतिरिक्त मेरो आफ्नो भन्ने एकदमै नजिक र आत्मीय साथी यो संसारमा केवल एक जना मात्र हुनुहुन्छ। उहाँसँग मेरो नियमित अन्तरालमा कुराकानी हुन्छ, भेटघाट हुन्छ र सँगै बसेर चिया पिउँदै जीवनका थुप्रै आयामहरू, सुख-दुःख र दर्शनका बारेमा घण्टौँ कुरा हुन्छ।
उहाँले मेरो अपाङ्गतालाई अत्यन्तै सहज र स्वाभाविक रूपमा लिनुभएको मैले पाएको छु। उहाँको मन र मस्तिष्कमा अपाङ्गताप्रति कुनै पनि प्रकारको पूर्वाग्रही सोच, दयाको हीन भावना वा घृणा छैन। हामीबिच बडो गहिरो, घनिष्ठ, पवित्र र सहज मानवीय सम्बन्ध अघि बढिरहेको छ।
तर यहाँ सोचनीय र दुःखद कुरा के छ भने, यी एक जना साथीबाहेक मैले अन्य धेरै व्यक्तिहरूसँग पनि सम्बन्ध र मित्रता विस्तार गर्न नखोजेको वा प्रयास नगरेको निश्चितै होइन। म आफैँ अगाडि बढेर मित्रताको हात बढाउँदा पनि कोही पनि तयार हुँदैनन्। मानिसहरू औपचारिक रूपमा बोलेझैँ गर्छन्, तर मनदेखि साथी स्वीकार गर्न हिचकिचाउँछन्। यदि मलाई साथीका रूपमा स्वीकार गर्नुहुने ती एकमात्र साथीको मनमा पनि अपाङ्गताप्रति समाजमा व्याप्त नकारात्मक वा पूर्वाग्रही धारणा हुँदो हो त, पक्कै पनि उहाँले मलाई साथीको रूपमा स्वीकार गर्ने अवस्था हुने थिएन होला। तर उहाँको आवरण र अन्तरआत्मा नै पूर्ण सकारात्मकता र उच्च मानवीय चेतनाले भरिएको छ, जुन आजको समाजमा एउटा दुर्लभ अपवाद मात्र हो।
कहिलेकाहीँ म र मेरा अन्य अपाङ्गता भएका युवा साथीहरूका बिचमा चिया गफ हुने गर्दछ। हामी आफ्नो जीवनका भोगाइहरू र सामाजिक व्यवहारहरू साटासाट गर्दा एउटा यस्तो निष्कर्षमा पुग्छौँ, जुन एकदमै स्तब्ध पार्ने खालको र निराशाजनक छ। यदि हामीले काठमाडौँको बसन्तपुर जस्ता धेरै भिडभाडजन्य र युवाहरूको जमघट हुने सार्वजनिक स्थलहरूमा गएर एउटा निष्पक्ष सर्वेक्षण वा अनुसन्धान गर्ने हो र त्यहाँका सबलाङ्ग युवायुवतीहरूलाई अपाङ्गता भएका व्यक्तिहरूसँगको सम्बन्धका बारेमा सोध्ने हो भने, उनीहरूसँग निःस्वार्थ साथी बन्न चाहने र सम्बन्ध विस्तार गर्न इच्छुक एक जना पनि व्यक्ति भेटाउन मुस्किल पर्छ होला।
त्यस्ता सर्वेक्षणहरूमा सायद अपाङ्गतालाई कोही पनि व्यक्ति सहर्ष र व्यावहारिक रूपमा आफ्नो व्यक्तिगत जीवनमा स्वीकार गर्न तयार हुने छैनन्। मानिसहरू सामाजिक सञ्जालका पानाहरूमा समावेशीताका ठुला-ठुला कुरा त लेख्लान्, तर आफ्नो व्यावहारिक जीवनमा अपाङ्गता भएका व्यक्तिलाई साथी वा जीवनसाथीको रूपमा भित्र्याउने सवालमा उनीहरूको मन सधैँ खुम्चिने गर्दछ।
यस प्रकारको उपेक्षा, लाञ्छना र सामाजिक बहिष्करणले अपाङ्गता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्य र आत्मविश्वासमा कति गम्भीर असर पारिरहेको छ भन्ने कुराको लेखाजोखा राज्य र समाजसँग छैन। उनीहरूलाई दया वा सहानुभूतिको कचौरा थमाएर होइन, बरु एउटा नागरिकका रूपमा पाउनुपर्ने नैसर्गिक अधिकार र सम्मान दिएर मात्र यो समस्याको समाधान सम्भव छ। जबसम्म हाम्रो समाजले शारीरिक बनोट वा आवरणको दास बन्ने प्रवृत्तिको अन्त्य गर्दैन र व्यक्तिको आन्तरिक क्षमता, भावना र मानवतालाई सम्मान गर्न सिक्दैन, तबसम्म हामीले दाबी गर्ने आधुनिकता, शिक्षा र विकास केवल एउटा खोक्रो र अर्थहीन नारामा मात्र सीमित रहनेछ।
सम्बन्धहरू शारीरिक पूर्णताका आधारमा होइन, हृदयको विशालता र वैचारिक सामीप्यताका आधारमा तय गरिनुपर्दछ। समाजका हरेक सदस्यले आफ्नो सोचाइको चस्मा बदल्न जरुरी छ, ताकि अपाङ्गता भएका व्यक्तिहरूले पनि कुनै पनि प्रकारको लाञ्छना र बहिष्करणको महसुस नगरीकन सम्मानजनक, सुरक्षित र सुखमय जीवनयापन गर्न सकून्। अनि मात्र यो धर्ती साँच्चिकै सबैका लागि बस्न योग्य र न्यायपूर्ण बन्न सक्नेछ।
(लेखक युवा अपाङ्गता अधिकारकर्मी हुन्।)