एउटा निजी अस्पतालको स्त्रीरोग कक्ष अगाडि पचपन्न-साठी वर्षकी जस्ती देखिने आमा र चौबिस-पच्चीस वर्षकी देखिने छोरी हातमा मेडिकल फाइल बोकेर उपचारको पालो कुरेर बसेका हुन्छन्।
केहीबेरमै भित्रबाट छोरीको नाम बोलाइयो र उनी हतार हतार उपचार कक्षतर्फ लागिन्। कक्षभित्र पस्नासाथ कर्मचारीले आवश्यक तयारी भएर बस्नु भनेपछि ढोका बन्द भयो।
बाहिर भने आमा निन्याउरो अनुहार बनाउँदै छोरीको स्वास्थ्य र भविष्यका विषयमा गम्भीर सोचमा डुब्न थालिन्। त्यो प्रतीक्षा केवल उपचारको पालो कुर्नु मात्र थिएन पाँच वर्षदेखि थिचिँदै आएको पीडाको मौन प्रतीक्षा पनि थियो।
केही समयपछि आमा प्रतीक्षा कक्षमा रहेका मानिसहरूसँग बिस्तारै खुल्न थालिन्।
उनले भनिन्, 'मेरो छोरीको बिहे भएको पाँच वर्ष भइसक्यो, अहिलेसम्म छोराछोरी भएको छैन। उपचार गर्न ल्याएर आएकी छु, अब के हुन्छ हेरौँ।'
उनको स्वरमा आशा र डर दुवै मिसिएको थियो।
उनले थपिन्, 'पहिले छोरी त्यति आत्तिएकी थिइन, तर देवरानीको बिहे भएको एक वर्षमै छोरा जन्मियो। त्यसपछि परिवारमा पनि कुरा आउन थाल्यो, छोरी आफै पनि तनावमा पर्न थाली।'
यो कथा सुन्दा सामान्य लाग्न सक्छ तर यो कुनै एक घरको मात्र अनुभव होइन, आजका धेरै दम्पतीले दैनिक जीवनमा भोगिरहेको यथार्थ हो।
कुरा गर्दै जाँदा उनले अहिलेका दम्पतीमा किन समयमा बच्चा हुँदैन भन्ने आफूले बुझेको कारण पनि सुनाइन्।
उनले भनिन्, 'आजभोलि मान्छेलाई मोबाइल भए पुग्छ। मेरो ज्वाइँ एउटा प्राइभेट अफिसको म्यानेजर हुनुहुन्छ, उहाँको पेशा आफैमा व्यस्त भइरहनु पर्ने खालको छ। अझ घर आएपछि पनि जतिखेरै मोबाइलमात्र चलाइरहनु हुन्छ। त्यसो भएपछि बच्चा कसरी हुन्छ?'
आमाको यो भनाइ कुनै वैज्ञानिक निष्कर्ष होइन तर एउटा आमाको अनुभव र घरभित्र घट्दै गएको संवाद र बढ्दै गएको दूरीप्रतिको डर हो। अनि यो आफ्नै छोरीज्वाइँको अवस्थामाथिको टिप्पणी मात्र थिएन, बदलिँदो जीवनशैली र पारिवारिक सम्बन्धमाथिको गहिरो प्रश्न पनि थियो। अत्यधिक मोबाइल प्रयोग, कामको व्यस्तता र आपसी समयको अभावले सम्बन्धमा मात्र होइन जैविक प्रक्रियामै असर पारेको छ भन्ने चिन्ता त्यो प्रश्नमा लुकेको छ।
आज यो दृश्य केवल एउटा अस्पतालमा सीमित छैन। नेपालका धेरै अस्पताल, क्लिनिक र स्वास्थ्य केन्द्रमा यस्तै कथा दोहोरिइरहेका छन्। नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा खानपान, काम गर्ने शैली र प्रविधिमा आधारित जीवनपद्धतिले मानवीय व्यवहारलाई गहिरो रूपमा बदलिदिएको छ। पढाइ, पेशा, करियर र आर्थिक स्थायित्वलाई पहिलो प्राथमिकता बनाउने क्रममा विवाह ढिला गर्ने र विवाहपछि पनि सन्तान योजनालाई निरन्तर पछि सार्ने प्रवृत्ति बढेको छ।
सन्तान अब प्राकृतिक प्रक्रियाको सहज परिणाम होइन, योजनामा जन्माइने "प्रोजेक्ट" जस्तो बन्न थालेको छ। यस्तै योजनाको जाल बुन्ने क्रममा कतिपयले त लिंग पहिचान गरेर छोरी भएमा वा योजनाबिनै बच्चा बस्यो भनेर गर्भ पतन गराउने पनि प्रचलन छ। तर शरीरले सधैँभरि योजनाको भाषा बुझ्दैन। समयसँगै शरीर थाक्छ, मन थाक्छ र जब योजना अनुसार बच्चा जन्माउने समय आउँछ, तब सहजता हराइसकेको हुन्छ। यही योजनाबद्धताले धेरै अवस्थामा तनाव सिर्जना गर्छ र गर्भधारण प्रक्रियामा नै अवरोध उत्पन्न हुन्छ।
प्रकृतिले मानिस र अन्य प्राणीलाई प्रजननका लागि समान आधार दिएको छ। भाले र पोथी जातिबीच आकर्षण हुन्छ, नजिकिन्छन्, सहवास हुन्छ र आनन्द लिन्छन्। यही रमाइलो र सहज प्रक्रियाबाट गर्भाधान हुन्छ। मानिसलाई पनि प्रकृतिले यही क्षमता दिएको हो।तर आजको मानिसले रमाइलोका लागि गरिने यौन सम्बन्धलाई करियर, समयतालिका र योजनासँग तुलना गर्न थालेको छ।
'अहिले होइन, दुई वर्षपछि', 'अलि स्थिर भएपछि', 'प्रमोशन पाएपछि', 'बिदेशको भिसा लागेपछि' भन्ने सोचले प्राकृतिक प्रक्रियालाई निरन्तर धकेलिरहँदा शरीर र मन दुवैमा दबाब बढ्दै जान्छ र शरीरले अपेक्षित साथ नदिन सक्छ।
त्यसपछि अस्पतालको यात्रा सुरू हुन्छ। परीक्षण, रिपोर्ट, सुई र औषधिको नियमित समयतालिका बन्न थाल्छ। महिलाको अण्डा कहिले झर्छ, कति झर्छ भन्ने गणना हुन्छ, पुरूषको वीर्यमा शुक्राणुको संख्या कति छ भनेर परीक्षण गरिन्छ। यौन क्रिया कहिले गर्दा, कसरी गर्दा गर्भ रहन्छ र के खाँदा प्रजनन् स्वास्थ्य राम्रो हुन्छ भनेर परामर्श दिइन्छ।
वास्तवमा प्राकृतिक यौन तथा प्रजनन् क्रियाका लागि यो सबै कुरा थाहा पाउनु पर्ने र थाहा पाएर गरिने विषय होइन। त्यसपछि यौन सम्बन्ध रमाइलो, आनन्द र आत्मीयताको माध्यमभन्दा पनि बच्चा जन्माउनुपर्ने बाध्यतामा रूपान्तरण हुन्छ। यही बाध्यताले थप तनाव जन्माउँछ र तनावले यौन क्षमतासँगै प्रजनन क्षमतामा अझ नकारात्मक असर पार्छ। यसरी मानिस आफैले निर्माण गरेको जीवनशैलीले प्रकृतिको सहज नियमलाई चुनौती दिँदा पीडाको चक्रमा फस्न पुग्छ। गर्भधानको उपचारका लागि अस्पताल र क्लिनिकमा लाखौं रूपैयाँ पैसा बुझाउनु पर्ने हुनसक्छ। त्यति गर्दा पनि उपचार सफल भएर सन्तान हुन्छ नै भन्ने सुनिश्चित हुँदैन। 'ज्वाइँ जतिखेरै मोबाइल चलाएर बस्नुहुन्छ' भन्ने आमाको गुनासो पनि यही व्यापक समस्याको एउटा प्रतिबिम्ब हो।
विभिन्न अन्तर्राष्ट्रिय अध्ययनअनुसार अहिले विवाहित महिला-पुरूषमा बाँझोपनको समस्या तीव्र गतिमा बढिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब छ जनामध्ये एक जनाले जीवनको कुनै न कुनै चरणमा बाँझोपनको सामना गर्नुपर्छ। यो समस्या धनी, गरिब, विकसित तथा विकासोन्मुख सबै देशमा लगभग समान रूपमा देखिएको छ।
नेपालमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सन् २०१९ मा गरेको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले बच्चा जन्माउने दर घट्दै गएको देखाएको छ।
बाँझोपन अवस्थाबारे आधिकारिक एकीकृत राष्ट्रिय तथ्यांक नभए पनि अस्पताल र केही संस्थाहरूले गरेको अध्ययनका आधारमा करिब १० देखि १५ प्रतिशत दम्पतीमा गर्भधारण सम्बन्धी समस्या देखिने गरेको अनुमान छ।
केही अध्ययनले देखाए अनुसार बाँझोपनको कारण महिला मात्र होइन पुरूष र दुवैको संयुक्त कारण पनि लगभग समान अनुपातमा देखिन्छ। यो तथ्यांक सुन्दा सामान्य लाग्न सक्छ, तर हरेक प्रतिशतभित्र एउटा परिवार, एउटा सम्बन्ध र धेरै सपनाहरू लुकेका छन् उक्त परिवारका लागि यो केवल दश पन्ध्र प्रतिशत होइन शतप्रतिशत हो अथवा सम्पूर्ण जीवन हो।
नेपालको सन्दर्भमा बाँझोपन केवल स्वास्थ्य समस्या मात्र होइन गहिरो सामाजिक र मानसिक समस्या पनि हो। बच्चा नहुनु महिलाको दोष जस्तो गरी हेरिने सामाजिक मानसिकता अझै बलियो छ। यसले महिलालाई एकातिर जैविक समस्या र अर्कोतिर सामाजिक दबाबको दोहोरो पीडा दिन्छ।
पुरूषमा समस्या भए पनि त्यसबारे खुलेर कुरा नगर्ने र कुरा गरिहाले पनि समाजले नपत्याउने प्रवृत्ति छ। कसैले आफ्नो पेशा तथा व्यवसायमा अब्बल क्षमता प्रस्तुत गरेको भएता पनि बच्चा नभएकै कारण समाजले उक्त प्रगतिको अवमूल्यन गर्ने र सामाजिक अपहेलनाको शिकार हुनुपर्ने बाध्यता छ। यही कारण धेरै दम्पती समयमै उपचारमा नपुग्ने र तनाव झन् बढ्दै जाने अवस्था देखिन्छ।कतिपयको त वैवाहिक तथा पारिवारिक सम्बन्धमा नै खटपट हुने अवस्था समेत आइपर्ने गरेको छ।
आधुनिक चिकित्सा विज्ञानले बाँझोपन उपचारका धेरै उपाय विकास गरिसकेको छ। तर उपचार मात्र पर्याप्त हुँदैन। जीवनशैली सुधार, मानसिक स्वास्थ्यको ख्याल, आपसी संवाद र सामाजिक बुझाइ पनि उत्तिकै आवश्यक छन्। बच्चा हुनु वा नहुनु कुनै प्रतिस्पर्धा होइन न त पारिवारिक प्रतिष्ठाको प्रश्न नै हो।यो जैविक, मानसिक र सामाजिक पक्षको संयुक्त परिणाम हो भन्ने बुझाइ समाजमा विकास हुनु जरुरी छ।
अन्ततः, अस्पतालको बाहिर बसेकी ती आमाको चिन्ता केवल उनको छोरीका लागि मात्र थिएन। त्यो चिन्ता आजको समाजले सिर्जना गरेको दबाब, बदलिएको जीवनशैली र कमजोर हुँदै गएको आत्मीय सम्बन्धको प्रतीक थियो। यदि हामीले प्रजनन् समस्यालाई व्यक्तिगत दोष होइन, स्वास्थ्य र जीवनशैलीसँग जोडिएको साझा समस्या भनेर बुझ्न सकेनौँ भने प्रजनन् स्वास्थ्य उपचारको लागि प्रतिक्षालयमा बसेका आमाहरूको निन्याउरो अनुहार अझै धेरै वर्ष देखिरहनेछ।