तीन वर्ष अगाडि विद्यार्थीको रूपमा बेलायत आउँदा मेरो यात्रा एउटा कागजको पानाबाट सुरू भएको थियो।
आवेदनबाट छनोट भएर जब विश्वविद्यालयको 'अफर लेटर' हातमा पर्यो, त्यहाँ ठेगानाको पुछारमा एउटा अनौठो अक्षरको झुप्पा थियो— एलबी १० ९एबी (AL 10 9AB)।
मलाई लाग्यो, सायद यो कुनै प्रशासनिक कोड होला।
घर भाडामा लिएपछि घरबेटीले पनि आफ्नो ठेगाना पठाउँदा सबभन्दा अगाडि लेखिदिए— १७२।
मलाई अचम्म लाग्यो, यो संख्याले मात्र मलाई कसरी मेरो गन्तव्यसम्म पुर्याउला?
नेपालमा गुगल म्यापबाट लोकेसन पत्ता लगाउने गरेको थिएँ। टुटल, पठाओ, इनड्राइभ आदिले पनि लोकेसन हेर्दै गन्तव्य पत्ता लगाउने गरेको थाहा थियो। तर नम्बरको कोड प्रयोग गर्ने गरिएको थाहा थिएन।
विदेशी विश्वविद्यालयको आवेदनमा पोस्टकोड सोध्दा काठमाडौंको ४४६०० राख्ने त गरेको थिएँ तर थाहा थिएन, त्यो के थियो।
जब पहिलो पटक लन्डनको हिथ्रो विमानस्थलमा ओर्लिएँ, मनमा एउटा डर थियो। नयाँ ठाउँ, नौलो मान्छे, कसरी खोज्ने होला त्यो घर?
तर जब राइड सेयरिङ एप उबर बुक गरेर ड्राइभरलाई त्यो जादुयी कोड र घर नम्बर १७२ दिएँ, उनको मुहारमा कुनै अलमल देखिएन।
उनले मेसिनमा ट्याक–ट्याक कोड टाइप गरे र स्टेरिङ घुमाउँदै भने, 'चिन्ता नगर्नुस्, हामी २० मिनेटमा ठ्याक्कै तपाईंको ढोकामा हुनेछौं।'
नेपालमा भएको भए सायद बाटोभरि ड्राइभरले दस पटक घरबेटीलाई फोन गर्थे होलान्। तर यहाँ, ड्राइभरले सडकको दायाँ–बायाँ हेर्दै जब '१७२' नम्बर देखिने घरको अगाडि ब्रेक लगाए, म निःशब्द भएँ। म आफू बस्ने घरको ढोकामै पुगेको थिएँ।
नेपालमा 'त्यो ठूलो बरको रूखबाट दाहिने मोडिनुस्' वा 'रातो गेट भएको घरको ठ्याक्कै अगाडि' भनेर ठेगाना बताउने हाम्रो रैथाने शैलीलाई यहाँको एउटा सानो कोडले चुनौती दिइरहेको थियो।
न कुनै मन्दिर खोज्नुपर्यो, न त कसैलाई बाटो सोध्नुपर्यो। एउटा स्पष्ट ठेगानाले अपरिचित सहरलाई पनि कति छिटो आफ्नै बनाइदिँदो रहेछ!
दैनिक जीवनमा पोस्टकोडको जादु
यो व्यवस्थित प्रणाली केवल यात्रामा मात्र होइन, यहाँको दैनिक जीवनको हरेक पाइलामा उत्तिकै भरपर्दो हुने रहेछ।
मेरो अनुभवले पोस्टकोडको महत्व कति ठूलो हुन्छ भन्ने कुरा स्पष्ट रूपमा देखायो।
मैले अनलाइनमार्फत बैंक खाता खोल्ने सबै प्रक्रिया पूरा गरेपछि बैंकले मलाई 'तपाईंको डेबिट कार्ड एकदेखि पाँच कार्यदिनभित्र तपाईंले दिएको ठेगानामा पठाइनेछ' भनेर जानकारी दियो।
यो कुरा सुन्दा म निकै अचम्ममा परेँ, किनभने नेपालमा बैंकमा खाता खोलेपछि एटिएम कार्ड पाउन भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यता हुन्छ।
यहाँ भने मेरो ठेगानासँग जोडिएको सही पोस्टकोड भएकै कारण डेबिट कार्डजस्तो महत्त्वपूर्ण कागजात कुनै समस्या बिना सिधै मेरो घरमा आइपुग्छ भन्ने कुरामा बैंक पूर्ण रूपमा विश्वस्त थियो।
पोस्टकोडले ठेगानालाई अझै स्पष्ट र निश्चित बनाइदिने रहेछ, जसले गर्दा हुलाक सेवाले सही व्यक्ति र सही स्थानसम्म कागजात छिटो र सुरक्षित रूपमा पुर्याउन सक्छ। त्यसैले डेबिट कार्ड, बैंक सम्बन्धी गोप्य कागजात वा अन्य महत्त्वपूर्ण कागजपत्र हराउने डर निकै कम हुने रहेछ।
मेरा लागि पोस्टकोडको महत्व त्यतिमै सीमित छैन।
यदि भविष्यमा बैंकका नियम, सेवा शुल्क वा कुनै महत्त्वपूर्ण नीतिमा परिवर्तन भयो भने, बैंकले त्यसको औपचारिक जानकारी पत्रमार्फत मेरो घरको ठेगानामै पठाउँछ। यसका लागि मलाई बैंक धाउनुपर्ने वा अनावश्यक रूपमा समय खेर फाल्नुपर्ने अवस्था आउँदैन।
अझै लोभलाग्दो पक्ष त आपतकालीन सेवामा देखिने रहेछ।
मेरो छिमेकमै घटेको एउटा घटनाले पोस्टकोड प्रणाली आपतकालीन सेवामा कति प्रभावकारी हुन्छ भन्ने कुरा झन् स्पष्ट बनायो।
एक दिन हाम्रो छिमेकको एउटा युवक साइकल चलाउँदै खेलिरहेको बेला अचानक लड्यो।
दुर्घटना गम्भीर देखिन्थ्यो— उसको बायाँ खुट्टा भाँचिएको जस्तो लाग्थ्यो र ऊ तीव्र पीडामा कराइरहेको थियो। यस्तो अवस्थामा समय नै सबभन्दा महत्त्वपूर्ण हुन्छ भन्ने सबैलाई थाहा थियो।
तुरुन्तै एम्बुलेन्स बोलाउन ९९९ मा फोन गरियो। फोनमा लामो रूपमा बाटो, गल्ली वा कुनै चिनारी स्थानको विवरण दिनु परेन। केवल पोस्टकोड भनिदिँदा नै पर्याप्त भयो।
आश्चर्यजनक कुरा के भने, फोन गरेको पाँच मिनेट पनि नबित्दै एम्बुलेन्स सिधै घटनास्थलमा आइपुग्यो। छिमेकीहरू अझै आत्तिँदै गर्दा स्वास्थ्यकर्मीहरू उपचारका लागि तयार भइसकेका थिए।
यदि यस्तो घटना नेपालमा भएको भए, सम्भवतः एम्बुलेन्सलाई ठेगाना बुझाउन धेरै समय लाग्थ्यो, बाटो सोध्दै ढिला हुन्थ्यो र बिरामीलाई अस्पताल पुर्याउन निकै समय खर्चिनुपर्थ्यो।
तर यहाँ स्थिर र स्पष्ट पोस्टकोड प्रणाली भएकै कारण आपतकालीन सेवाले एक सेकेन्ड पनि नलम्ब्याई सही ठाउँ पहिचान गर्न सके।
एक दिन मेरो घर नजिकैको एउटा पसलमा अचानक प्रहरी गाडीको सायरनको आवाज सुनियो। पछि थाहा भयो, केही मानिसहरूले पसलबाट सामान चोरी गर्ने प्रयास गरेका रहेछन्।
पसलेले उनीहरूलाई चोरी गर्दै गरेको देखेपछि रोक्न खोज्दा ती व्यक्तिहरूले उल्टै उनलाई कुटपिट गर्ने धम्की दिएछन्। अवस्था गम्भीर बन्दै गएपछि पसलेले तुरून्तै प्रहरीलाई फोन गरे।
प्रहरीलाई फोन गर्दा पनि धेरै विवरण दिनु परेन। पसलको घर नम्बर र पोस्टकोड बताउनासाथ केही मिनेटमै प्रहरी सिधै पसलअगाडि आइपुग्यो।
प्रहरी समयमै आइपुगेकाले ती चोरी गर्ने व्यक्तिहरू भाग्न नपाई समातिए र पसले पनि सुरक्षित रहन सके। यदि प्रहरी ढिला आएको भए अवस्था झन् बिग्रिन सक्थ्यो।
विभिन्न घटना देख्दा मलाई लाग्यो, पोस्टकोड प्रणाली आपतकालीन सेवाको मेरूदण्ड जस्तै रहेछ भन्ने कुरा झन् बलियो रूपमा महसुस हुन्छ। चाहे एम्बुलेन्स बोलाउनु परोस् वा प्रहरीको तत्काल सहायता आवश्यक परोस्, सही र स्थिर पोस्टकोडले सेवाहरूलाई छिटो र सही स्थानमा पुग्न सहयोग गर्ने रहेछ।
यी दुवै घटनाले मलाई यो कुरा गहिरोसँग बुझायो कि पोस्टकोड केवल ठेगानाको सामान्य चिनारी होइन, यो आपतकालीन अवस्थामा समय बचाउने, अपराध नियन्त्रण गर्ने र अन्ततः मानिसको ज्यान तथा सुरक्षालाई सुनिश्चित गर्ने अत्यन्तै महत्त्वपूर्ण प्रणाली हो।
यो प्रणालीले कसरी काम गर्छ?
बेलायतको पोस्टकोड प्रणालीले एक प्रकारको डिजिटल नक्साको काम गर्छ। यहाँ पोस्टकोडको पहिलो भागले सहर (जस्तै L (एल) ले लिभरपुल वा M (एम) ले म्यानचेस्टर जनाउँछ भने दोस्रो भागले त्यो सहरभित्रको एउटा सानो गल्ली वा भवनको ब्लकलाई समेत छुट्टाछुट्टै पहिचान दिन्छ।
साथै, यहाँका घर नम्बरहरू पनि निकै व्यवस्थित हुन्छन्। प्रायः सडकको एकातर्फ १,३, ५ (बिजोर) र अर्कोतर्फ २, ४, ६ (जोर) क्रममा मिलाइएका हुन्छन्। यसले यहाँको हुलाक र डेलिभरी सेवालाई धेरै सहज बनाएको रहेछ।
नेपालको हुलाकको प्रयोग धेरै कम भए पनि बेलायतमा भने चिठीपत्र, बैंकका कागजपत्र, सरकारी वा अन्य कागजपत्र आदान–प्रदान गर्न अझै जीवन्त देखिन्छ। यो सबै पोस्टकोडले सहज बनाएको छ।
नेपालका लागि सम्भावना र चुनौती
नेपालमा पनि बेलायतको जस्तै आधुनिक प्रणाली लागू गर्न 'मेट्रिक हाउस नम्बरिङ' पद्धति अपनाउन सकिने देखिन्छ।
यसमा सडकको सुरू विन्दुबाट घरको ढोका कति मिटरको दुरीमा छ, त्यसैको आधारमा घर नम्बर दिइन्छ (जस्तै सडकको सुरुबाट ५० मिटरमा रहेको घरको नम्बर ५० हुन्छ)।
यसका साथै, नेपालको हालको ५ अंकको पोस्टकोडलाई अझै परिष्कृत गरी हरेक टोल र गल्लीका लागि छुट्टाछुट्टै 'अल्फा न्युमेरिक' कोड बनाउन सकिन्छ।
यदि सरकारले गुगल म्याप वा स्थानीय डिजिटल नक्सासँग यो नम्बरिङलाई जोड्ने हो भने, नेपालका दुर्गम गाउँका घरहरूले पनि स्पष्ट पहिचान पाउने थिए र इ–कमर्स व्यवसायमा ठूलो क्रान्ति आउने थियो।
यद्यपि, नेपालमा यस्तो प्रणाली कार्यान्वयन गर्न केही गम्भीर चुनौतीहरू छन्। हाम्रा सहरहरू योजनाबद्ध छैनन् र गल्लीहरू निकै घुमाउरो र अव्यवस्थित छन्, जसले गर्दा सडकको नामकरण गर्न नै कठिन छ।
साथै, पुराना घरहरूमा नम्बरिङ परिवर्तन गर्न र मानिसहरूलाई नयाँ डिजिटल ठेगाना प्रयोग गर्न अभ्यस्त गराउन ठूलो पहलको आवश्यकता पर्छ।
तर बाटो विस्तार भइरहेका नयाँ बस्तीहरूमा अहिलेदेखि नै यो प्रणाली सुरू गर्ने हो भने भविष्यमा ठूलो सहयोग पुग्नेछ।
बेलायतमा आएपछि थाहा भयो, एउटा स्पष्ट ठेगाना हुनु भनेको केवल चिठी पाउनु मात्र होइन रहेछ, यो नागरिकको पहिचान र राज्यको सेवा पाउने अधिकारसँग जोडिएको विषय रहेछ।
नेपालले पनि बिस्तारै बेलायतको यस्तो अभ्यासबाट सिक्ने हो भने यसले सर्वसाधारणको समय बचाउनेछ, व्यापारलाई सहज बनाउनेछ र आपतकालीन अवस्थामा मानिसको ज्यान जोगाउन समेत मद्दत पुग्नेछ।
(लेखक श्रीकृष्ण डंगोलले बेलायत बस्छन् र युनिभर्सिटी अफ हर्टफोर्डशायरबाट 'फाइनान्स एन्ड इन्भेस्टमेन्ट बैंकिङ' विषयमा स्नातकोत्तर गरेका छन्)