मान्छे जन्मिएपछि शिशु अवस्थामा खासै रमाउन पाउँदैन, ऊ रुन्छ र केवल भोक लागेको इशारा वा संकेत गर्छ आमातर्फ हेर्दै। उसको चेतना स्तर पनि वृद्धि भइसकेको हुँदैन। बाल्यावस्थामा प्रवेश गरेपछि भने ऊ मीठो खान पाउँदा र राम्रो लुगा लगाउन पाउँदा रमाउने र खुसी हुने गर्दछ। किशोरावस्थामा भने मान्छेमा केही जिम्मेवारी आउन थाल्छ, घर व्यवहारको काममा आमाबुवालाई उसले सघाउनुपर्ने अवस्था आउन सक्छ। किशोरावस्थाको उत्तरार्धदेखि युवावस्थामा आइपुग्दा उसको मानसिक र शारीरिक अवस्थामा परिवर्तन आउँछ र मनोविज्ञानका कुराहरू आउँछन् उसमा। राम्रो नराम्रो छुट्टाउने उमेर हो यो। राम्रा कुराहरूमा मात्र ध्यान दिन सकेमा उसको पढाइ स्तर पनि राम्रो हुन्छ र नराम्रो कुराहरूमा ध्यान दिएमा पढाइको स्तर निश्चय पनि स्तरीय बन्न सक्दैन। पढाइ सकिएपछि र कुनै पेसामा आबद्ध भएपछि बिहेका कुरा आउँछन् र ऊ पारिवारिक जिम्मेवारीमा बाँधिन पुग्छ।
यी विविध समयका विभिन्न चक्रहरू पार गरेर म सरकारी सेवाबाट २०७९ असार २३ देखि अवकाश भएको एक वर्षपछि अर्थात् २०८० सालमा मेरा दोस्रो र तेस्रो कृति प्रकाशन र एउटा गीत समेत सार्वजनिक भइसकेपछि म धेरैका लागि एकाएक ध्यानाकर्षणको केन्द्र बन्न पुगेँ। साहित्य-लेखनमा सक्रियता बढाउँदै जाँदा २०८१ साउन १८ गते एक सञ्चार माध्यममा प्रकाशित लेख प्रकाशन भए लगत्तै सो लेखलाई इलामदेखि डडेलधुरासम्मका तमाम सञ्चार माध्यमहरूले साभार गरेर प्रकाशन गरे। सो लेखलाई तमाम पाठकहरूले व्यापक रूपमा फैलाइदिएपछि (अधिकाधिक सेयर गरिदिएपछि) मलाई लेखन कार्यमा अझै उत्साह थपिएको महसुस भयो। आफ्ना लेखहरूमार्फत शुभचिन्तक तथा पाठकहरूलाई प्रकृति प्रेम र देशभक्ति पनि सिकाउँछु।
कलमको शक्ति
कलमको शक्ति कति हुन्छ भन्ने कुरा मेरा केही लेखहरूले देखाइसकेका छन्। ‘सिंहदरबारको सुरक्षामाथि सधैँ प्रश्न’ शीर्षकको मेरो एक लेख कुनै एक सञ्चार माध्यममा प्रकाशन भएको भोलिपल्टै सिंहदरबारभित्र तरंग पैदा भएको पाएँ। सुरक्षा सम्बन्धमा सिंहदरबारभित्र देखिएका सुधारका काम देखेर त्यहीँ रहेर मैले सन्तुष्टिको सास फेरेको थिएँ। ‘गुणस्तर विभागको सेरोफेरो नै गुणस्तरहीन’ शीर्षकको लेखले केही दिनमै विभागले साइनबोर्ड फेरेको वा पुनर्लेखन गरेको देखिएको थियो भने विभागमा रङरोगनका कामहरू भएर विभागको भवन नै आकर्षक बन्न पुगेको थियो। सो लेख प्रकाशन भएको केही हप्तापछि विभागको अगाडिको सडक सुधार्ने काम थालियो। विभाग र विभागको सेरोफेरोमा सुधारका दृश्य देखेर पनि मलाई आनन्द महसुस भयो।
मेरो गीत टेबुलको घर्रामा यसरी डढ्यो
लामो दूरीका यात्रुवाहक सवारी साधनहरूमा चर्को आवाजमा बजाइने झर्को लाग्दा गीतहरू सबैलाई मन पर्दैन, कसै-कसैलाई मन पर्छ होला। अपांग तथा वृद्ध यात्रुहरूलाई त्यस्ता गीतहरूबाट वाक्कदिक्क लाग्छ नै। त्यही भएर मैले बसका चालक, सहचालक र यात्रुहरूलाई उपयुक्त हुने खालको चेतनामूलक गीत रचेँ- ‘लालीगुराँस डाँडाको वन-वनमा शुभयात्रा कल्पनुस् मनमनमा।‘ सो गीत रेकर्ड भएको भए सायद सालाखाला आधा घण्टा समयको हुन्थ्यो होला। गीत रचेको केही दिनमा बग्गीखाना स्थित ट्राफिक कार्यालयमा गएर गीत रेकर्डिङ गराउन अनुरोध गर्दा बजेट नभएको जानकारी पाएँ र फर्किएँ। त्यसपछि सो गीत लगेर यातायात व्यवस्था विभागमा गएँ, एकजना निर्देशकले ‘वाह! यो गीत साह्रै उत्कृष्ट र सुन्दर छ’ भन्नुभयो भने विभागका महानिर्देशकले गीत सहितको निवेदनमा तोक लगाइदिनुभयो र सम्बन्धित शाखाका अधिकृतको टेबुलमा पुग्यो त्यो गीत। ती अधिकृतले पनि गीतका एक-एक पङ्क्ति पढ्नुभयो र गजब राम्रो भएको जनाउनुभयो अनि म विभागबाट आफ्नो गन्तव्यतर्फ लागेँ। मैले ती अधिकृतलाई बेलाबेलामा फोन गर्दा यसका लागि योजना बनाउनुपर्छ, बजेट छुट्टाउनुपर्छ भनेपछि मैले पछि पनि बेलाबेलामा फोन गरी नै रहेँ।
गीत लेखिएको तीन पृष्ठको कागज ती अधिकृतको टेबुलको घर्रा अर्थात् ड्रयरमा महिनौँसम्म सीमित रहन गयो। जेन-जी विद्रोहका कारण जलेका कैयन सरकारी भवनहरूमध्ये यातायात व्यवस्था विभाग पनि अछुतो रहेन र आखिरमा मेरो त्यो गीत टेबुलको घर्राभित्र खरानी भयो भन्ने लाग्यो मलाई। ‘नेपालको कानुन दैवले जानुन्’ भन्ने उखान यहाँ चरितार्थ भयो। समयमै सो गीततर्फ सम्बन्धित निकायको ध्यान नजाँदा र सो गीतको पन्नामा ‘अग्राख’ पलाउँदा म निराश भएँ। त्यति बेला मलाई राम्रो कामका लागि यहाँ स्थान छैन भन्ने लाग्यो पनि।
२०५३ देखि २०६१ सालसम्म गोरखापत्र र त्यसका सह-प्रकाशन अनि कान्तिपुर र त्यसका सह-प्रकाशनहरूमा मेरा लेख-रचनाहरूले स्थान पाउँदै आएका थिए। कान्तिपुरमा प्रकाशित ‘हाम्रा बाजे’ शीर्षकको मेरो कविता एकजना स्कुले विद्यार्थीले अन्नपूर्ण पोस्टमा चोरी प्रकाशन गराउँदा मलाई दुःख नलागेर उल्टै खुसी लागेको थियो। किनकि कविता चोर्न लायक रहेछ अर्थात् उत्कृष्ट रहेछ भन्ने मलाई लाग्यो। २०६१ सालमा ‘बालमार्ग’ पत्रिकाका लागि सक्रिय सल्लाहकार भएर काम गरेको थिएँ भने विभिन्न स्मारिकाका लागि सल्लाहकार र व्यवस्थापक भएर पनि काम गरेँ। मलाई अरू स्रष्टाका पुस्तक सम्पादन गरेको अनुभव पनि छ र हाल चार वटा पुस्तकहरू सम्पादन गरिरहेको छु। कहिले राति तीन बजे नै उठेर काम गर्नुपर्ने त कहिले राति एक बजेसम्म व्यस्त रहनुपर्ने अवस्था छ। जुम्लादेखि दोलखासम्मका अनलाइन सञ्चार माध्यम र पत्रपत्रिकाहरूमा स्थान पाउँदा खुसी नै लाग्छ। मैले केन्द्रमा स्थान पाएँ भन्दैमा मोफसलका अनलाइन सञ्चार माध्यमहरू र पत्रपत्रिकाहरूलाई बिर्सन चाहन्नँ र पठाउँछु बेलाबेलामा लेख-रचनाहरू।
२०६१ सालमा बडो कठिनाइपूर्वक मेरो बाल कविता सङ्ग्रह ‘इन्द्रेणी’ प्रकाशन भएको थियो भने २०८० मा ‘ओगिल्जा’ र लगत्तै ‘रापतीका अलग शब्दहरू’ (भाषिका) प्रकाशन भयो। यस भाषिकाको दोस्रो संस्करणको तयारी भइरहेको छ। थप तीन कृति प्रकाशनको संघारमा रहेका छन् भने भविष्यमा अरू आधा दर्जन पुस्तकका लागि पाण्डुलिपि तयारी अवस्थामा छन्। अवकाश भएको छोटो अवधिमै साहित्य-लेखनका कारण आधा दर्जनको हाराहारीमा उपाधि, उपनाम, सम्मान र पुरस्कार पनि पाएँ।
काँठ क्षेत्रले माया गरेको म रोल्पाली
केही दशक अघिसम्म काठमाडौँको चक्रपथभन्दा बाहिरका क्षेत्रलाई काँठ क्षेत्र भनिन्थ्यो, जहाँ सहरीकरण हुने क्रम तीव्र छ। काठमाडौँमा बसोबास गर्ने काठमाडौँ उपत्यका बाहिरका मान्छेहरूलाई यहाँका रैथाने बासिन्दाहरूले अलिक हेय दृष्टिका साथ ‘तीन आने’, ‘चारआने’, ‘पाँच आने’ भनेर चिन्ने गर्छन्। तर त्यस मामलामा म भने अपवाद बन्न पुगेँ र काँठक्षेत्रले मलाई माया गर्दै आएको छ। मेरो दोस्रो कृति ‘ओगिल्जा’ मा काँठक्षेत्रको बुढानीलकण्ठ नगरपालिकामा पर्ने हात्तिगौँडाका प्राज्ञ वियोगी बुढाथोकीले मिठासपूर्वक भूमिका लेखिदिनुभएको छ भने मेरो जीवनी पुस्तक ‘अमर अधिकारी: व्यक्तित्व र कृतित्व’ तारकेश्वर नगरपालिकाको जीतपुरफेदीका डा. घनश्याम पुडासैनीले लेख्नुभएको हो। सो पुस्तकको विमोचन पनि काँठक्षेत्रमै रहेको मनमैजु सांस्कृतिक केन्द्रमा भएको र काँठक्षेत्रकै विद्वानहरूको आतिथ्यमा कार्यक्रम भएको थियो। मलाई ‘सुपर राइटर’ को उपाधि प्रदान गरिने सम्मान कार्यक्रम पनि काँठक्षेत्रको बुढानीलकण्ठको गणेश माध्यमिक विद्यालयको सभा हलमा भएको थियो। लेखन कार्यमा अझै उत्साह बढोस् भनेर मलाई ‘स्वर्णाभ कलम’ प्रदान गर्ने व्यक्ति पनि काँठक्षेत्रकै कीर्तिपुरमा जन्मिनुभएका र हाल संयुक्त राज्य अमेरिकाको ओरेगनमा बसोबास गर्नुहुने, तीन विषयमा स्नातकोत्तर (नेपालबाट दुई र नेदरल्याण्डबाट एक विषयमा) भरत बाँस्कोटाले प्रदान गर्नुभएको हो। यसरी मलाई काँठक्षेत्र र त्यहाँका विद्वानहरूबाट सद्भाव र माया प्राप्त भएको महसुस भयो।
लेखक/साहित्यकारको पहिचान हुने परिचयपत्र
मैले लेखक/साहित्यकारहरूलाई नेपाल प्रज्ञाप्रतिष्ठानबाट पहिचान हुने परिचयपत्र लिन घचघच्याएपछि धेरैको ध्यानाकर्षण भयो र परिचयपत्र लिँदै जानुभएको जानकारी पनि पाएको छु। कतिपयले परिचयपत्र लिनका लागि के-के छ प्रावधान भनेर सोध्दा मैले धेरैलाई सो सम्बन्धमा जानकारी दिइसकेको छु।
साहित्यले लेख्नभन्दा बोल्न बढी सिकायो
२०४० देखि २०५६ सम्म संस्थान सेवा र २०५६ देखि २०७९ असार २२ सम्म निजामती सेवामा रहँदा म धेरै बोल्दैनथे, कम बोल्दथेँ। जब मैले २०७९ असार २३ गतेदेखि अनिवार्य अवकाश लिएँ, मेरो व्यस्तता तीन खण्डीभन्दा पनि बढी हुन थाल्यो। खासमा भन्नुपर्दा साहित्यले मलाई मञ्चबाट दर्शकदीर्घातिर फर्केर बोल्न सिकायो। साथै निर्धक्कसँग कहिले गीत, कहिले कविता त कहिले मुक्तक वाचन गर्न सिपालु बनायो। मञ्चमा गएर एक्कासि बोल्नुपर्दा धेरैलाई संकोच लाग्नु स्वाभाविकै पनि हो। बोल्नुपर्छ बोल्ने बानी बसाल्नुपर्छ भन्ने कुरा मैले थाहा पाएँ।
साठी कटेसी रमाउँदा
सामान्यतया मान्छे रमाउने भनेको जिम्मेवारी विहीन अवस्था बाल्यावस्था हो भने अर्को अवस्था उसको योग्यता, क्षमता र कार्यकुशलता बमोजिमको रोजगारी पाएपछि हो। तर म भने ती दुवै अवस्थामा खासै रमाउन पाएको थिइनँ। जब मैले सरकारी सेवाबाट अनिवार्य अवकाश लिएँ तबदेखि मात्र म बिस्तारै बिस्तारै रमाउन थालेँ। मेरा तमाम लेख-रचनाहरू नियमित रूपमा प्रकाशन हुँदै जाँदा र मेरो सक्रियता देखेर धेरै जना छक्क पनि पर्नुभएको छ। एक चर्चित गीतमा ‘चालीस कटेसी रमाउँला’ भनिए पनि म भने साठी कटेसी मात्र रमाउन पाएँ। खास कारण भनेको म स्वतन्त्र रूपमा लेख्न र बोल्न पाएँ अनि सम्मान र पुरस्कारहरू पाउँदै गएँ। देश विदेशमा रहनुभएका शुभचिन्तक अनि विद्वान तथा प्राज्ञहरूबाट समेत धेरै नै हौसला पाउँदै आएको छु। साहित्यतर्फ सक्रियता बढाउँदा कुनै कार्यक्रममा प्रमुख अतिथि, कुनैमा विशेष अतिथि त कुनैमा अतिथिको भूमिका निर्वाह गर्ने अवसरहरू पनि पाएको छु। जुन साठीको उमेरअघि मैले यस्ता अवसरहरू पाएको थिइनँ।