साथी, आज फेरि म त्यही चिया पसलमा बसेको छु। उही मोड, उही धुलाम्मे बाटो, उही टिनको छाना, र बेलुकाको हावासँगै बजिरहेको उही कुकरको सिटी।
समय धेरै बदलियो, तर यो पसल बदलिएको छैन। बदलिएको छ भने केवल कुर्सीहरूको अवस्था ती पाँच वटा कुर्सी आज पनि रित्तै छन्। ती केवल काठका संरचना होइनन्; ती हाम्रो अधुरा बहस हुन्, हाम्रो युवावस्थाका सपनाहरू हुन्, हाम्रो देशप्रतिको चिन्ताका जीवित साक्षी हुन्।
पहिले यहीँ बसेर हामी चुनावको विश्लेषण गर्थ्यौं कसले देश बचाउँछ, कसले बिगार्छ, को आशा हो, को निराशा।
कसैले समाजवादको परिभाषा दिन्थ्यो, कसैले उदार अर्थतन्त्रको पक्ष लिँदै तर्क गर्थ्यो; कसैले संविधानका कमजोरी औँल्याउँथ्यो, कसैले नेताहरूको नैतिकतामाथि प्रश्न उठाउँथ्यो। हामीसँग धन थिएन, पहुँच थिएन, शक्ति थिएन तर हामीसँग विश्वास थियो। शब्द थिए। देश बदल्न सक्छ भन्ने बालसुलभ तर पवित्र भरोसा थियो।
आज ती शब्दहरू चिसिएका छन्, ठीक चियाजस्तै। किनकि तिमीहरू कोही दुबईको घाममा पसिना बगाइरहेका छौं, कोही कोरियाको कारखानामा घडीसँग दौडिरहेका छौं, कोही अस्ट्रेलियाको सहरमा नयाँ पहिचान खोज्दैछौं। यहाँ भने चिया पसलमा सम्झनाहरू मात्र बसिरहेका छन्। चुनाव आउँछ, झण्डा फेरिन्छ, नारा फेरिन्छ 'समृद्धि', 'रोजगार', 'स्थिरता', 'परिवर्तन' तर गाउँका बाटा अझै धुलाम्मे छन्, युवाका आँखा अझै थकित छन्।
हामीले धेरै पटक चुनावपछि सरकार बनेको देख्यौं, गठबन्धन जोडिएको र भत्किएको देख्यौं, प्रधानमन्त्रीहरू फेरिएको देख्यौं। तर हाम्रो जीवनको प्रश्न उही रह्यो रोजगार कहिले? न्याय कहिले? योग्यता कहिले मानिन्छ? यही प्रश्नहरूले तिमीलाई टाढा पठायो, र हामीलाई यहाँ एक्लो बनायो। देश छोड्दा केवल दूरी बढेन, मुटु पनि आधा भयो। आमाको आँसु, बुबाको मौनता, रित्तिएको चिया पसल यी सबैले हाम्रो पीडा बोलिरहे।
हामीले देखेका र भोगेका निराशाका क्षणहरू आँसुका थिए। आँसु केवल व्यक्तिगत दु:खको संकेत थिएनन्; ती हाम्रो सामूहिक पीडाका साक्षी थिए। हामीले सह्यौं भ्रष्टाचार, खोक्रा भाषण, अटपटे नारा र सधैं 'भोलि' मा टाँसिएका आशाहरू। हामीले देशप्रतिको प्रेम र देशप्रतिको निराशा एउटै मुटुभित्र राख्न सिक्यौँ। तर साथी, आँसु सधैं अन्तिम सत्य हुँदैन। आँसु कहिलेकाहीँ परिवर्तनको बीउ पनि हुन्छ। यो बीउ बोकेर मात्र देश फेरिन सक्छ।
आजको चुनाव पहिले जस्तो मात्र देखिँदैन। भाषणहरू गुञ्जिरहेका छन्, बहसहरू तातिरहेका छन्, सामाजिक सञ्जालमा शब्दहरूको आँधी चलिरहेको छ। तर यसपटक फरक देखिन्छ जनता अब केवल ताली बजाउने भीड होइन; प्रश्न सोध्ने, हिसाब माग्ने नागरिक बन्दैछ। पहिले हामी उम्मेदवारको भाषण सुन्थ्यौं, अहिले उसको विगत र काम हेर्छौं। पहिले नारा सुन्थ्यौं, अहिले तथ्य खोज्छौं। स्थानीय तहका केही उदाहरणहरूले देखाएका छन् यदि इमानदारी र इच्छाशक्ति भयो भने परिवर्तन असम्भव होइन। कतै विद्यालय सुधारिएको छ, कतै स्वास्थ्य सेवा पहुँचमा आएको छ, कतै पारदर्शिताको अभ्यास सुरू भएको छ।
हो, यी साना बिन्दुहरू हुन्, तर देशको भविष्य यिनै साना बिन्दुहरूले बनिन्छ। चुनाव केवल सरकार बनाउने औपचारिक प्रक्रिया होइन; यो जनताको चेतनाको परीक्षा हो। यदि यसपटक हामीले भावना, गुट, क्षणिक भावनाभन्दा माथि उठेर नीति, कार्यक्षमता र जवाफदेहितालाई प्राथमिकता दियौं भने चुनावपछि बन्ने सरकार फरक हुन बाध्य हुन्छ। देश केवल प्रधानमन्त्रीको नामले बन्दैन; देश जनताको दबाबले बन्छ।
संसदमा नयाँ अनुहार आउन सक्छन्, पुराना फेरि दोहोरिन सक्छन्, तर यदि जनता सचेत भयो भने जो आए पनि हिसाब दिनुपर्नेछ। आशा अन्धो विश्वास होइन; आशा सचेत सहभागिता हो। तिमी विदेशमा बसेर पनि भोटको दिन सम्झन्छौ भने, यहाँ हामीले त्यो भोटको अर्थ गहिरो बनाउनु छ।
हामीले अब 'सबै उस्तै हुन्' भन्ने सजिलो निष्कर्षबाट बाहिर निस्कनुपर्छ। सबै उस्तै हुँदैनन् तर सबैलाई उस्तै बनाउने हाम्रो मौनता हो। यदि हामी बोल्यौं, लेख्यौं, भाग लियौं, निगरानी गर्यौं भने राजनीति बदलिन थाल्छ। परिवर्तन आँधीझैं एकैचोटि आउँदैन; त्यो बिस्तारै, तर स्थायी रूपमा आउँछ।
आजको नेपाल निराशा र आशाको बीचमा उभिएको छ। रात अझै बाक्लो छ, तर क्षितिजमा उज्यालो देखिन थालेको छ। त्यो उज्यालो आफै बल्दैन हामीले बल्न दिनुपर्छ। साथी, पाँच वटा कुर्सी अझै कुर्दै छन्। चुनाव आउँदैछ, सरकार बन्नेछ बन्थ्यो, बन्छ। तर देश बन्ने कि नबन्ने भन्ने कुरा हामी सबैको सहभागितामा निर्भर छ। तिमी फर्कियौ भने देश तुरून्तै स्वर्ग बन्दैन, तर एउटा संकेत जानेछ हामी भागेका होइनौं, हामी लड्न फर्केका हौं। फर्किनु भनेको हार होइन; त्यो साहस हो। तिमीले विदेशमा सिकेको सीप, अनुशासन, समयको मूल्य, पारदर्शिता यी सबै नेपाललाई चाहिएको छ।
हामी यहाँ बसेर आवाज उठाउन थालेका छौँ; तिमी फर्केर साथ दियौ भने त्यो आवाज आन्दोलन होइन, रूपान्तरण बन्छ। अब समय आएको छ, आवाज उठाउन नडराउने, प्रश्न गर्न नहिच्किचाउने, गलतसँग सम्झौता नगर्ने। चुनावपछि सरकार बन्नेछ, तर त्यसपछि देश बनाउने जिम्मा हाम्रो काँधमा नै रहनेछ।
यदि हामी फर्कियौं भने सायद अब अर्को पुस्ताले देश छोड्न नपरोस्। सायद अब चिया पसलका कुर्सीहरू सधैंका लागि रित्तै नरहोस्। सायद अब जानेहरू जान नखोजून्, बरू फर्कनेहरूको संख्या बढोस्। आँसु बगिसके; अब पसिना बगाउने समय हो। निराशा भोगिसक्यौं; अब आशा निर्माण गर्ने समय हो। चुनावले केवल सरकार दिने मात्र होइन, समाजमा चेतना र जवाफदेहिता जगाउने अवसर दिन्छ। हामीले चुनावलाई पर्व जस्तो होइन, जिम्मेवारी जस्तो व्यवहार गर्नुपर्छ। भोटलाई उपहार होइन, अधिकार ठान्नुपर्छ।
चिया पसल फेरि भरिन सक्छ। हामी फेरि बहस गर्न सक्छौं तर यसपटक बहस केवल गफका लागि होइन, योजना बनाउनका लागि हुनेछ। हामीले देशको नक्सा चियाको गिलासमा होइन, कामको नक्सामा कोर्नुपर्छ। नेपाल पूर्ण छैन, तर सम्भावनाहीन पनि छैन। चुनावपछि सरकार बन्नेछ तर साँच्चै देश बन्ने कि नबन्ने भन्ने निर्णय हामीले नै गर्नुपर्छ। चिया चिसो हुँदैछ साथी, तर आगो अझै निभेको छैन। कुर्सीहरू अझै कुर्दै छन्। फर्क केवल सम्झनाका लागि होइन, भविष्यका लागि। फर्क ताकि भोलि कसैले भन्न नपरोस्, 'यो देशमा केही हुँदैन।' फर्क ताकि चुनावपछि केवल सरकार होइन, देश बनोस्।
आँसुबाट सिकेर, आशालाई बोकेर, यही माटोमा उभिएर। अब साँच्चै फर्किने बेला भयो।