सधैँ झैँ आज पनि कलेज जान ढिला भइरहेको थियो। त्यसपछि हतार-हतार बाइक निकालेँ अनि तीव्र गतिमा कलेजको लागि निस्किएँ। समयमै उठेको पनि थिएँ तर के गर्दा गर्दै ढिला भइहाल्यो। आफू झन् एक्लै बस्ने भएर पनि होला काम पनि खास नहुने तर पनि बिहान कलेज जाँदा ढिला भने भइहाल्थ्यो। यो त मेरो दैनिकी जस्तै भइसकेको थियो।
मैले आफ्नो यो बानी सुधार गर्न नखोजेको पनि होइन। आज समयमा निस्किए पनि भोलि त फेरि त्यही कुरा दोहोरिहाल्थ्यो। न त मैले निरन्तरता नै दिन सकेँ, न त एकरूपताको नै। मैले कहिले यस विषयलाई महत्त्व नै ठानिनँ।
म तीव्र गतिमा थिएँ, अचानक मेरो पछाडिबाट अर्को बाइक आयो। मेरो भन्दा पनि तीव्र गति। मभन्दा पनि हतार रहेछ साथीलाई भन्दै म पनि आफ्नै गतिमा हिँडिरहेको थिएँ। तर एक्कासि उसको त्यो गति अनियन्त्रित भयो। म पनि झस्किएँ। मैले मेरो गति कम गरेँ। मैले हेर्दा हेर्दै स्कुल हिँडिरहेको एकजना भाइलाई पछाडिबाट त्यो अनियन्त्रित बाइकले ठक्कर दियो।
भाइले जोडले ‘आ मम्मी...’ भनेर बेहोस भयो।
म आत्तिँदै मेरो बाइकबाट ओर्लिएँ, भाइ बेहोस थियो। रक्ताम्मे शरीर लिएर बाइकवाला आँखाभरि आँसु निकाल्दै उठ्न खोज्दै थियो। मैले के गरेँ? किन गरेँ? भन्ने जस्तो आवाज उसको मुखबाट आइरहेको थियो। मैले जीवनमा यसरी नजिकबाट दुर्घटना कहिले देखेको थिइनँ। मेरो शरीर चिसो भइरहेको थियो। मैले १०० डायल गरेँ। पुलिस र एम्बुलेन्स पनि ५ मिनेट नहुँदै आइपुग्यो।
पुलिसले हतार-हतार दुवै जनालाई एम्बुलेन्समा राखेर हस्पिटल लग्यो। अनि मैले घडी हेरेँ, कलेज जान आधा घण्टा जस्तो ढिला भइसकेको थियो। म कलेज जान सकिनँ। मेरो मन मस्तिष्क त्यही दुर्घटना तिर घुमिरहेको थियो। म घर फर्किएँ। मेरो मनमा अनेकन् कुरा खेल्न थाल्यो। आज एकजनाको लापरबाहीले गर्दा अर्को एक जना निर्दोष भाइ गम्भीर घाइते भयो।
मैले त्यो बाइकवालाको ठाउँमा आफूलाई देख्न थालेँ। सधैँ कलेज जान हतार। अनि तीव्र गति, म पनि कहाँ कम थिएँ र? आज पो त्यो बाइक अनियन्त्रित भयो, भोलि मेरो हुँदैन भन्ने के छ? कहाँ लेखेको छ? म आफैले आफैलाई प्रश्न गर्न थालेँ।
मेरो तीव्र गतिका कारण वा हेलचेक्र्याइँ कारण कसैको नोक्सानी हुनसक्छ वा ज्यान नै जान सक्छ भन्ने कुरा मैले किन पहिले सोचिनँ? म सदैव आफ्नो गन्तव्यमा कसरी छिटो पुग्न सकिन्छ भन्ने तर्फ मात्र किन केन्द्रित भएँ? यो मेरो प्राथमिकताको विषय किन कहिले परेन वा मैले किन राख्न चाहिनँ? मेरो गल्तीले गर्दा अरू कोही निर्दोषले किन सजाय पाउने?
म आफूले आफूलाई घृणा गर्न थालेँ। मेरो सानो गल्तीले एक निर्दोषको ज्यान गयो भने? यदि कोही व्यक्ति जीवनभरका लागि अपाङ्गताको अँध्यारोमा हरायो भने? मेरो गल्तीको कारण केवल एक व्यक्ति मात्र पीडित हुँदैन। उसको सम्पूर्ण परिवार पीडित हुन्छ। त्यो एक क्षणमा केवल एउटा जीवन मात्र होइन, उसको परिवारका हजारौँ सपनाहरू ढल्छ र उनीहरूको सम्पूर्ण भविष्य नै अन्धकारमा विलीन हुन्छ भन्ने भयले मेरो मनमा त्रास पैदा हुन् थाल्यो।
मलाई कसले अरू कसैको भविष्य माथि खेलबाड गर्ने अधिकार दियो? मैले कसरी अरूको भविष्य बरबाद गर्न सक्छु? म आफैले आफैलाई अनेकन् प्रश्न गरिरहेको थिएँ। के म सचेत हुन् जरुरी छैन?
अचानक म झसङ्ग भएँ। मन असह्य रूपमा भारी भइरहेको थियो, छातीभित्र केही अज्ञात चिजले थिचिरहेझैँ भनौँ वा शरीर सानो-सानो कम्पनले थर्थराइरहेको थियो। मैले डराउँदै वरिपरि हेरेँ र त्यतिखेरै महसुस भयो- यो त केवल सपना रहेछ। अनि मैले लामो सास फेर्दै भनेँ,
‘हे भगवान्! म बाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्।’
‘हे भगवान्! म बाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्।’
अचानक मलाई मेरो बाबा-मम्मीको याद आयो। मेरो पनि त परिवार छ। म के मेरो परिवारको भविष्य होइन? यहाँ एउटा परिवारको मात्र कुरा भएन, एउटाको गल्तीले गर्दा दुवै परिवार पीडित हुन्छ। ती बुवा आमाको के दोष, हाम्रो गल्तीले गर्दा जीवन भर पीडा सहेर बस्नु पर्ने।
अहिले नेपालमा दैनिक रूपमा सामान्यदेखि गम्भीर प्रकृतिको सडक दुर्घटना बढिरहेको छ। नेपालमा सडक दुर्घटनाको अवस्था पछिल्ला वर्षहरूमा अत्यन्त गम्भीर बन्दै गएको देखिन्छ। कति रिपोर्ट हुन्छन् त कति हुँदैनन्। नेपाल प्रहरीको केन्द्रीय कार्यालयअन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभरि कुल २८ हजार ६९२ वटा सडक दुर्घटना भएको देखिन्छ। यो तथ्याङ्कले नेपालमा दैनिक औसत ७९ वटा दुर्घटना हुने गरेको स्पष्ट पार्दछ, जुन आफैँमा अत्यन्त चिन्ताजनक सूचक हो। उक्त अवधिमा सडक दुर्घटनाका कारण वार्षिक रूपमा २ हजार ४९ जनाले ज्यान गुमाएका छन्।
नेपाल भौगोलिक दृष्टिकोणले अत्यन्त जटिल छ, जहाँ सडक विस्तार अपेक्षित गतिमा हुन सकेको छैन। सडकहरूको समयमै स्तरोन्नति र मर्मतसम्भार पनि पर्याप्त रूपमा हुन नसक्दा यातायात प्रणाली थप चुनौतीपूर्ण बनेको छ। सडक सुधार तथा दुर्घटना न्यूनीकरणका लागि सरकारी प्रयासहरू भए तापनि ती पर्याप्त र प्रभावकारी देखिँदैनन्। परिणामस्वरूप, सडक दुर्घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्, जसले देशको समग्र सडक सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
तर यी सबै चुनौतीहरूको बिचमा केवल भौगोलिक विकटता वा सडक संरचनालाई मात्र दोष दिएर मानवीय लापरबाहीलाई नजरअन्दाज गर्न भने मिल्दैन। अधिकांश दुर्घटना मानवीय त्रुटिका कारण नै हुने गर्छ। मानिसको सानो लापरबाही वा असावधानीका कारण नेपालमा हरेक दिन सडक दुर्घटना भइरहेका छन्।
हामी जस्तै सडकमा हिँड्ने प्रत्येक व्यक्तिको पनि आफ्नै संसार हुन्छ- उसलाई पर्खिरहेको परिवार, उसको भविष्यसँग जोडिएका अनगिन्ती आशाहरू। हाम्रो एक क्षणको असावधानीले ती सबैलाई अन्धकारमा धकेल्न सक्छ। त्यसैले जीवनको हरेक यात्रामा हामी अत्यन्त सचेत रहनु अपरिहार्य छ। किनकि मानवीय लापरबाहीको एक सानो क्षणले पनि कुनै एक होइन, अनेकौँ जीवन र सपनाहरूलाई सधैँका लागि समाप्त पार्न सक्छ।
त्यसैले,
‘ हे भगवान्! मबाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्।’
‘हे भगवान्! मबाट कहिल्यै यस्तो भूल नहोस् जसले कुनै निर्दोषको जीवन खोसियोस्।’