मोबाइल खोल्दा, एप्लिकेसनको चम्किलो आइकनमा क्लिक गर्दा के सोचिन्छ होला? सिकाइको अवसर, मनोरञ्जन, साथी भेट्ने माध्यम, कि… एक नदेखिएको खतराको जालो?
डिजिटल संसारमा किशोर–किशोरी स्वतन्त्रता र रमाइलोको नाममा यसरी डुबिरहेका छन् जुन खाडलबाट उम्कन निकै कठिन छ।
उनीहरूलाई थाहा छैन—जहाँ उनीहरू 'सुरक्षित' महसुस गरिरहेका छन्, त्यहीँ तिनको भविष्य असुरक्षित बन्दै गएको छ। छोटो समयको रमाइलो, क्षणिक कुराकानी, तर त्यसले उनीहरूको पढाइ, नैतिक शिक्षा र मानसिक स्वास्थ्यमा परेको असर चिन्ताजनक छ।
साथीहरूले निकै प्रयोग गर्ने अनि मलाई सुनाउने नयाँ एप्लिकेसनका बारेमा मलाई जान्न निकै मन थियो।
मोबाइलमा गुगल खोली हेर्दै गर्दा त्यही एप्लिकेसनको बारेमा पढ्ने मौका मिल्यो। एपको नाम थियो ओमिगल टिभी (Omegle TV)। जहाँ सजिलै जुनसुकै व्यक्तिसँग कुरा गर्न र विचार साट्न सकिने जस्ता फिचरहरूको वर्णन गरिएको थियो। फेसबुक मेसेन्जर र ह्वाट्स एपपछि यस्तो प्रकारको एपबारे थाहा पाउँदा यसको बारेमा बुझ्ने र प्रयोग गर्ने इच्छा जाग्यो। गुगल ब्राउजरमा सर्च गर्दा लिंक भेटियो। लिंक खोलेर साइन–इन गरेपछि एप खुल्यो।
त्यहाँ भिडिओ कलजस्तै सुविधा रहेछ। विश्वका जुनसुकै व्यक्ति जोडिन सक्ने प्लेटफर्म रहेछ। करिब आधा घण्टा जति अवलोकन गर्दा मान्छेहरू जोडिने, केही सेकेन्ड कुरा गर्ने, अनि स्किप गर्दै जाने क्रम निरन्तर चलिरहने रहेछ। मेरो अवलोकनमा करिब १२ जना जति व्यक्तिहरूले अनुहार देखाएर केहीबेर कुरा गरेजस्तो गरे। स्किप गर्नेहरू त सेकेन्ड–सेकेन्डमै बदलिन्थे, जसको लेखाजोखा गर्नै सकिँदैन थियो।
त्यहाँ जोडिएका प्रयोगकर्तामध्ये धेरैजसो किशोरकिशोरी नै देखिन्थे। १६ वर्षभन्दा कम उमेर बताउने पनि धेरै थिए। पढ्ने उमेरका बालबालिका लामो समय अनलाइनमा अपरिचित व्यक्तिसँग कुरा गर्दै बिताइरहेका हुँदारहेछन्। कोही त यस्ता यस्ता शब्द प्रयोग गर्थे जुन सभ्य समाजले ती कुरा पचाउन पनि सक्दैन। तर यो डिजिटल संसार के भएको? जोडिएकामध्ये धेरैले 'नयाँ केटी/केटासँग कुरा गर्न पाइन्छ' भन्ने उद्देश्यले जोडिने गरेको पनि भन्थे। यो सुन्दा एकातिर हाँसो लाग्यो, अर्कोतिर नयाँ पुस्ताको चेतनाशक्ति देखेर चिन्ता पनि बढ्यो।
पढ्ने समय यहीँ खर्च भइरहेको छ भने भोलिको प्रतिस्पर्धामा कसरी अघि बढ्छन् होला? मोबाइल सिकाइको साधन हो कि समय नष्ट गर्ने खेलौना बन्दै गएको हो? अभिभावकले पढाइ सजिलो होस् भनेर दिएको मोबाइल नै गोप्य डेटिङ स्थल बनिरहेको त छैन? शिष्टाचार, मर्यादा र आपसी सम्मान सिक्ने उमेरमा असभ्य व्यवहार देखिनु कति चिन्ताजनक हो? यति सानो उमेरमा अपरिचितसँग नजिकिन खोज्नु सुरक्षित छ त?
डिजिटल प्लेटफर्ममा पहिचान लुकाउन सकिन्छ। उमेर, नाम, उद्देश्य सबै झुटो हुन सक्छ। यस्तो अवस्थामा किशोरकिशोरी भावनात्मक, मानसिक र नैतिक जोखिममा पर्न सक्ने सम्भावना निकै उच्च हुन्छ।
क्षणिक रमाइलोका लागि बिताएको समय भोलि फर्केर आउन सक्दैन अनि आजको लतले भोलिको लक्ष्य पनि कमजोर बनाउँछ।
फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका विषयमा अभिभावक केही हदसम्म जानकार छन् होला तर ओमिगल जस्ता मोबाइल एपको बारेमा अधिकांश अभिभावक जानकार छैनन्, यति मात्र कहाँ हो र स्वयं प्रयोगकर्तालाई पनि थाहा छैन यो एप नेपालमा वैधानिक छ या छैन भनेर। नेपाल सरकारसँग सूचीकृत समेत नभएको यस अनलाइनबाट कोही पीडित भयो भने उपचार खोज्न पनि कठिन छ। सोच्नैपर्ने हुन्छ, जहाँ अभिभावकका आँखा नपुग्ने ठाउँमा बच्चाहरू 'सुरक्षित' महसुस गरिरहेका छन्, तर त्यहीँ भविष्य असुरक्षित बनिरहेको त छैन? देखिने संसारभन्दा अदृश्य डिजिटल संसार अझ गहिरो र प्रभावशाली बन्दै गएको सत्यलाई हामीले निकै गम्भीरतापूर्वक लिनुपर्दछ।
भविष्यमा पर्न सक्ने समस्या कसले सोचिदिने हो?
अनलाइन अपरिचितसँगको संवादमा पहिचान सत्य हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। अर्कोतिर किशोर उमेरमा डिजिटल लतले ध्यान क्षमता र पढाइको गुणस्तर घटाउँछ। धेरै समय स्क्रिनमा बिताउँदा निद्रा, व्यवहार र मानसिक स्वास्थ्यमा असर पर्ने गर्दछ। त्यस्तै गोप्य च्याट र भिडिओ प्लेटफर्महरूमा दुरूपयोग र शोषणको जोखिम समेत उच्च हुन्छ। असभ्य डिजिटल व्यवहारपछि व्यक्तित्व विकासमा नकारात्मक असर पार्न सक्छ। यसले व्यक्तिको व्यक्तिगत, पारिवारिक तथा सामाजिक जीवन नै अमर्यादित बनाइदिन्छ।
जोगिने कसरी?
यो नेपालमा सूचीकृत समेत नभएको अनलाइन साइट भएकाले हो यसको प्रयोग वैध छैन। किशोर किशोरी प्रयोगकर्ताले ओमेगा जस्ता एप प्रयोग गर्दै नगर्नु, साथीभाइ कसैले यसको प्रयोग गरिरहेको छ भन्ने यसका सम्भावित जोखिम र असरका विषयमा जानकारी दिई उनीहरूको वर्तमान र सुन्दर भविष्य बिग्रनबाट जोगाउनु पर्दछ। हामीलाई डिजिटल साक्षरताको समेम जरूरत छ।
यसका साथै अभिभावकहरूले पनि यस विषयमा आफ्ना सन्तानहरूलाई निरन्तर निगरानी गर्नुपर्दछ। छोरा–छोरीको मोबाइल स्क्रिन टाइम सेट गरिदिने, मोबाइल सेटिङमा बच्चाले कति समय कुन एप चलायो हेर्ने, खाली समयमा आफ्ना छोराछोरीसँग समय बिताउने र खेलकुद तथा सिर्जनात्मक कामतर्फ उनीहरूको ध्यान मोड्न सहयोग गर्ने। बच्चाले ढोका बन्द गरेर लामो समय भिडिओ च्याट गरिरहेको छ या छैन भनेर निगरानी गर्नुपर्दछ। बालबालिका डिजिटल पीडित भएको शंका लागेमा खुला रूपमा भन्न सक्ने वातावरण बनाइ समयमै कानुनी उपचारको बाटो अपनाउनु पनि बुद्धिमानी हुन जान्छ।
विद्यार्थीका लागि विद्यालय या कलेज पनि निकै महत्वपूर्ण ठाउँ हो। यस विषयमा विद्यालय या कलेजहरू पनि जानकार हुनुपर्दछ। विद्यार्थीलाई डिजिटल आचार संहिताबारे पढाउने। सेमिनार, अन्तर्क्रिया, पोस्टर अभियानमार्फत अनलाइन सामग्री प्रयोग गर्दा हुने जोखिमबारे सचेत गराउने। विद्यालय तथा कलेजका होस्टलमा बस्ने विद्यार्थीको गतिविधिमा निगरानी बढाउने। अभिभावक मिटिङमा यस्ता एप र प्लेटफर्मबारे जानकारी र चेतावनी दिने साथै विद्यार्थी पीडित भएको जानकारी पाएमा कानुनी उपचारका लागि पहल गर्ने गर्नुपर्दछ।
यस खालका गतिविधिको नियन्त्रण गर्नमा राज्यको भूमिका झनै महत्वपूर्ण मानिन्छ। राज्यले देशभित्र प्रयोग हुने अनलाइन प्लेटफर्मलाई दर्ता/सूचीकृत गर्ने व्यवस्थामा कडाइका साथ लागू गर्नुका साथै अनलाइन सामग्री प्रयोगमा उमेर हद लागू गर्ने कानुनी व्यवस्था गर्नुपर्दछ। बालबालिका शोषण, अश्लीलता र साइबर दुर्व्यवहार रोक्न प्राविधिक निगरानी प्रणाली विकास गर्ने र विद्यालय, मिडिया र समुदायमार्फत डिजिटल जोखिमबारे राष्ट्रिय सचेतना कार्यक्रम चलाउनुपर्दछ। अनि मात्र हाम्रा बालबालिका तथा युवाहरू साइबर अपराधको सिकार हुँदैनन्।
(पारस वली तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी अध्ययन गर्दछन्।)