हामी सानैदेखि एउटै वाक्य सुन्दै हुर्कियौँ '१२ पास गर, त्यसपछि जिन्दगी आफैँ सजिलो हुन्छ।'
त्यो वाक्य हाम्रो दिमागमा यति गहिरो बस्यो कि कक्षा १२ नै जीवनको अन्तिम परीक्षा जस्तो लाग्न थाल्यो। त्यसपछि त मानौँ सबै ढोका आफै खुल्नेछन् संघर्ष समाप्त हुनेछ र सपनाहरू कुनै बाधा बिना साकार हुनेछन्।
कलेज आँगनमा उभिएर साथीहरूसँग भविष्यका रंगीन चित्र कोर्दै हामीले सोचेका थियौं १२ पास गरेपछि विदेश जानेछु, नयाँ देश, नयाँ जीवन, ठूलो अवसर कि नेपालमै राम्रो विषय पढेर केही फरक गर्नेछु र परिवारलाई गर्व गराउनेछु। त्यो उमेरमा सपना देख्नु सजिलो थियो किनकि जिम्मेवारीको तौल कति भारी हुन्छ भन्ने हामीलाई थाहा थिएन।
हामीलाई लाग्थ्यो १२ भनेको ढोका हो एकपटक पार गरेपछि उज्यालो मात्रै उज्यालो छ। तर कसैले भनेन १२ ढोका होइन, केवल अर्को कोठाको प्रवेशद्वार हो, जहाँ झन् धेरै प्रश्नहरू हामीलाई पर्खिरहेका हुन्छन्।
रिजल्टको दिन अझै पनि सम्झनामा ताजा छ। काँपिरहेको हातले रोल नम्बर टाइप गर्दा मुटु छातीबाट बाहिर निस्केला जस्तो भएको थियो। स्क्रिनमा पास देखिनेबित्तिकै आँखामा आँसु आयो राहतको, खुसीको र गर्वको। घरमा मिठाइ बाँडियो, आफन्तको फोन आयो, छिमेकीले बधाई दिए, आमाको आँखामा चमक देखियो, बुबाको अनुहारमा सन्तुष्टिको मुस्कान देखियो। त्यो दिन हामीलाई साँच्चै लाग्यो अब बाटो खुल्यो।
तर त्यो खुसीको चमक बिस्तारै सामान्य हुँदै गयो, र त्यसको ठाउँमा प्रश्नहरूको बादल जम्न थाले। अब के गर्ने? कुन विषय लिने? विदेश जाने कि नेपालमै बस्ने? साथीहरू त तयारी गर्दैछन्, म के गर्दैछु? पहिले लक्ष्य एउटै थियो केबल १२ पास गर्ने तर अब लक्ष्य अनगिन्ती भए र ती सबै लक्ष्यहरू एउटै समयमा पूरा गर्नुपर्ने जस्तो दबाब महसुस हुन थाल्यो।
परिवारको अपेक्षा पनि त्यत्तिकै बढ्न थाल्यो। अब त ठूलो भइस्, आफै सोचेर निर्णय गर। आफन्तहरूको जिज्ञासा, छिमेकीहरूको सल्लाह, मानिस बीच समाजमा हुने तुलना सबै एकैचोटि काँधमा थुप्रिन थाले। कसैले भन्यो कमर्स पढेको छस् सिए नै बन्नुपर्छ। कसैले भने अहिले त विदेश नगए भविष्य नै छैन। कसैले सल्लाह दियो नेपालमै केही गर लोक सेवा पढ, देशमै सम्भावना छ। यति धेरै आवाजहरूको बीचमा आफ्नै आवाज हराएजस्तो लाग्थ्यो।
त्यो बेला हामीले पहिलोपटक महसुस गर्यौँ, जीवन प्रश्नहरूको शृंखला रहेछ। एउटा प्रश्न हल गरेपछि अर्को प्रश्न आएर उभिन्छ। १२ पास गर्नु एउटा प्रश्नको उत्तर थियो तर त्यसले नयाँ प्रश्नहरू जन्मायो। म वास्तवमा के गर्न चाहन्छु?' यो प्रश्न सजिलो थिएन। किनकि हामी धेरैजसोले आफ्नै चाहना कहिल्यै गहिराइमा सोचेका थिएनौँ। हामी त सधैं परीक्षाका लागि पढिरहेका थियौँ नम्बरका लागि दौडिरहेका थियौँ अरूको अपेक्षा पूरा गर्न व्यस्त थियौँ। आफ्नो मनको आवाज सुन्ने फुर्सद नै कहाँ थियो र हामीलाई?
केही दिन हामी उत्साहित भयौँ नयाँ योजना बनायौँ, डायरीमा लक्ष्य लेख्यौँ, युट्युबमा करियर गाइडको भिडिओ हेर्यौं। तर योजना र वास्तविकताबीचको दूरी चाँडै थाहा भयो। हामीमध्ये कोही प्रवेश परीक्षामा असफलता भोग्नेहरू थिए, कोही विदेशका लागि भिसा नपाउनेहरू थिए त कोही आर्थिक अभावले चाहेको विषय पढ्न नसक्नेहरू थिए। पहिलोपटक हामीलाई असफलताको स्वाद कडा लाग्यो। १२ पास गर्दा लागेको आत्मविश्वास एकाएक हल्लियो।
तर यिनै अनुभवहरूले हामीलाई बिस्तारै परिपक्व बनायो। १२ सम्म हामी विद्यार्थी मात्र थियौँ त्यसपछि हामी निर्णयकर्ता भयौँ। हामीले सिक्यौँ जीवनमा निश्चित बाटो हुँदैन रहेछ। सबैका यात्रा फरक हुन्छन्। कसैले सिधै सफलता पायो जस्तो देखिन्छ, तर उसको भित्रको संघर्ष हामीलाई देखिँदैन। कसैले ढिलो सुरू गर्छ, तर लामो यात्रा तय गर्छ। तुलना गर्दा मात्र असन्तुष्टि बढ्छ आफ्नै गति चिन्न थालेपछि शान्ति मिल्ने रहेछ।
विदेश जाने सपना देख्नेहरूका लागि पनि वास्तविकता सजिलो थिएन। नयाँ देशको चमकदार तस्बिर पछाडि भाषा, संस्कृति, काम र पढाइको प्रेसर, घरको याद, एक्लोपन यी सबै लुकेका थिए। सामाजिक सञ्जालमा विदेशम भएकाहरूको मुस्कान देखिन्थ्यो, तर राति ढिलोसम्म काम गरेर थाकेको शरीर देखिँदैनथ्यो। नेपालमै बस्नेहरूका लागि पनि चुनौती भने कम थिएनन् प्रतिस्पर्धा, सीमित अवसर, आर्थिक दबाब, समाजले हेर्ने नजर। तर ती चुनौतीहरूकै बीचमा अवसरहरू पनि थिए होलान् कोहीले पाए त कोहीले पाएनन्।
हामीले बिस्तारै बुझ्न थाल्यौँ १२ पास गर्नु कुनै सफलताको टिकट होइन। यो त एउटा आधार मात्र हो। जसरी एउटा घर बनाउन जग हालिन्छ, त्यसरी १२ सम्मको शिक्षा आधार थियो। त्यसपछि त इँटा–इँटा थप्दै आफ्नै घर बनाउनु पर्ने रहेछ। कसैले ठूलो घर बनाउँछ, कसैले सानो तर महत्त्वपूर्ण कुरा के हो भने घर आफ्नै हो।
धेरैपटक हामीले योजना बनाएअनुसार जीवन चल्दैन तर जीवनले बनाएको योजना कहिलेकाहीँ अझ राम्रो साबित पनि हुन्छ सक्छ। फर्केर हेर्दा थाहा हुन्छ त्यो बेला हामीले नपाएको कुरा नै आजको पहिचानको कारण बनेको रहेछ।
१२ पछि सबैभन्दा ठूलो परिवर्तन सायद सोचाइमा आयो। पहिले सफलता भनेको राम्रो नम्बर, राम्रो कलेज, राम्रो जागिर मात्र लाग्थ्यो। तर बिस्तारै बुझ्यौँ सफलता भनेको शान्त निद्रा पनि हो, आफूले रोजेको बाटोमा सन्तुष्टि पनि हो, परिवारसँग बिताएको समय पनि हो, आत्मसम्मान पनि हो। पैसा धेरै महत्त्वपूर्ण छ, तर एक्लो मापदण्ड मात्रै पनि होइन। समाजले बनाएको सफलता र आफ्नो मनले चाहेको सफलता फरक पनि हुन सक्छ।
साथीहरूको दायरा पनि बदलियो। पुराना साथीहरू सम्झनामा बसे, नयाँ कलेज वा कार्यस्थलमा नयाँ साथी बने। केही सम्बन्ध समयसँगै टाढिए, केही झन् बलिया बने। हामीले बुझ्यौँ जीवनमा सबै सँगै कोही पनि हिँड्दैनन्। कसैको यात्रा हाम्रोसँग केही दूरीसम्म मात्र मिल्छ। त्यसपछि बाटो फरक हुन्छ। यो स्वाभाविक हो। सम्बन्धहरूलाई जबर्जस्ती जोगाउनुभन्दा सम्झनालाई सम्मान गर्न सिक्यौँ।
परिवारसँगको सम्बन्ध पनि नयाँ स्तरमा पुग्यो। पहिले अभिभावकहरूले निर्णय गर्थे, अहिले हामीसँग सल्लाह लिन थाले। जिम्मेवारी बाँड्न थाले। घरको खर्च, भाइबहिनीको पढाइ, बुबाआमाको स्वास्थ्य यी विषयहरू हाम्रो सोचाइको हिस्सा बन्न थाले। १२ पास गर्दा लागेको स्वतन्त्रता जिम्मेवारीसँग गाँसिएको रहेछ भन्ने महसुस भयो। स्वतन्त्रता भनेको मनलाग्दी गर्नु मात्र होइन, आफ्ना निर्णयको परिणाम स्वीकार्नु पनि हो।
कहिलेकाहीँ राति एक्लै हुँदा पुराना दिन सम्झनामा आउँथे कलेजको आँगन, घण्टीको आवाज, साथीहरूको हाँसो, बोर्ड परीक्षाको तनाव। त्यो समय कति सरल थियो जस्तो लाग्थ्यो। तर यदि हामीलाई फेरि त्यहीँ फर्कने मौका दिइयो भने सायद हामी फर्कन चाहँदैनौँ। किनकि अहिलेको संघर्षले हामीलाई नयाँ पहिचान दिएको छ। हामी अब केवल विद्यार्थी होइनौं हामी सपना देख्ने, जोखिम लिने, गल्ती गर्ने, सिक्ने र अघि बढ्ने व्यक्ति भएका छौँ।
१२ पास गरेपछि जीवन सजिलो हुन्छ भन्ने वाक्य आधा सत्य रहेछ। जीवन सजिलो हुँदैन, तर हामी बलिया बन्छौँ। चुनौतीहरू सधैं रहन्छन्, तर तिनलाई सामना गर्ने क्षमता बढ्छ। डर लाग्छ, तर डरकै बीचमा आत्मविश्वास जन्मिन्छ। अन्योल हुन्छ, तर अन्योलकै बीचमा समाधान खोज्ने बानी बस्छ।
आज फर्केर हेर्दा थाहा भयो १२ अन्तिम परीक्षा थिएन त्यो त सुरूआतको परीक्षा थियो। त्यसले हामीलाई सिकायो लक्ष्य हासिल गर्दा क्षणिक खुसी मिल्छ, तर यात्रा नै असली शिक्षक हो। परिणामभन्दा प्रक्रिया महत्त्वपूर्ण हुन्छ। अरूले बनाएको समयरेखामा जीवन चल्दैन आफ्नै समय, आफ्नै गति हुन्छ।
अब यदि कसैले भन्छ १२ पास गर, त्यसपछि जीवन सजिलो हुन्छ भने हामी मुस्कुराउँछौँ। हामी जान्दछौँ जीवन सजिलो नहुन सक्छ, तर सम्भावनाले भरिएको हुन्छ। १२ एउटा ढोका हो, तर त्यसपछिका कोठाहरू हामी आफैले सजाउनुपर्छ। कसैले आएर उज्यालो दिने छैन हामीले आफै बत्ती बाल्नुपर्छ।
सायद वास्तविक परिपक्वता यहीँबाट सुरू हुन्छ जब हामी बुझ्छौँ कि जीवन कसैले तयार पारेर दिएको नक्सा होइन। यो खाली क्यानभास हो। १२ सम्म हामीले रेखा कोर्न सिक्यौँ त्यसपछि रंग भर्न सुरू गर्यौँ। कतै रंग बिग्रियो, कतै मिलेन, तर बिस्तारै चित्र स्पष्ट हुँदै गयो।
अन्तत, १२ पास गर्नु कुनै अन्तिम गन्तव्य होइन, न त जीवनको सबै समस्याको समाधान गर्ने मन्त्र। यो त एउटा महत्त्वपूर्ण चरण हो, सम्झनलायक तर अस्थायी। जीवनको सुन्दरता नै यही हो हरेक चरणले नयाँ सिकाइ दिन्छ, नयाँ दृष्टि दिन्छ। हामीले सानैदेखि सुनेको वाक्य अधुरो थियो हामीले त्यसलाई पूरा गर्यौँ १२ पास गर, त्यसपछि जीवन आफैँ सजिलो हुँदैन, तर तिमी आफै जीवनलाई सामना गर्न सक्षम बन्छौ।
र सायद, यही नै सबैभन्दा ठूलो सफलता हो।