विसं २०५९ साल असोज १९ गते बीबीसी नेपाली सेवाको रात्रिकालीन प्रसारणमा प्रस्तोता रवीन्द्र मिश्रले गहकिलो आवाजमा समाचारको मुख्य अंश वाचन गरे- राजनीतिका धुरन्धर खेलाडीहरूलाई उछिन्दै राजनीतिका बाह्रौँ खेलाडी लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नियुक्त हुनुभएको छ।
त्यहीबेला मेरो नजर पुस्तकहरूको दराजमा अरू साहित्यिक पुस्तकहरूसँगै लोकेन्द्रबहादुर चन्दले नै लेख्नुभएको ‘हिउँको तन्ना’ सँगै खप्टिएर राखिएको ‘बाह्रौँ खेलाडी’ भन्ने पुस्तकमा पर्यो। त्यो दराजमा बुबाले नेपाली साहित्यमा स्नातकोत्तर गर्दा सन्दर्भ सामग्रीको रूपमा प्रयोग भएका बीपी कोइराला, लेखनाथ पौडेल, बालकृष्ण सम, गुरुप्रसाद मैनाली जस्ता मूर्धन्य साहित्यकारहरूका कृतिहरू पनि मिलाएर राखिएका थिए। रेडियोमा मिश्र विस्तारमा समाचार प्रस्तुत गर्दै थिए तर मेरो मन भने विगतमा विचरण गर्न थाल्यो।
विसं २०४० को दशकको मध्यतिरको कुरा हो, शनिबारको दिन थियो क्यारे! बुबा बिहानै कतै जानको लागि तयार हुँदै हुनुहुन्थ्यो। बुबाको मोटरसाइकलमा चढेर घुम्न असाध्यै मनपर्ने भएको हुनाले म पनि जान्छु भनेर आग्रह गरेँ। हुन्छ भनेर बुबाले मलाई पनि लिएर जानुभयो तर कहाँ जाने हो मलाई ठ्याक्कै थाहा थिएन। बुबाले भन्नुभयो- निवर्तमान प्रधानमन्त्रीज्यूको घरमा भेटघाट गर्न जाने हो।
मलाई प्रधानमन्त्री भनेको के हो, कस्तो पद हो, थाहा थिएन। पञ्चायतकालको उत्कर्षको समय थियो- सबैभन्दा ठूला व्यक्ति राजा र रानी नै लाग्थे। सार्वजनिक स्थानहरू तथा निजी घरहरूमा सामान्यतः राजा र रानीका तस्बिरहरू राखिएका हुन्थे। हाम्रो बैठक कोठामा पनि राजा र रानीका फ्रेम गरिएका ठूला तस्बिरहरू झुन्ड्याइएका थिए। अझ जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित सबै पाठ्य-पुस्तकहरूमा राजाको दिव्यवाणी सहितका तस्बिरहरू हुन्थे। तसर्थ बालमस्तिष्कमा राजा र रानी सबैभन्दा ठूला व्यक्ति हुन् भन्ने लाग्नु स्वाभाविक नै थियो। त्यसपछि बुबा, आमा, शिक्षक-शिक्षिकाहरू, बुबा-आमाका साथीहरू, छिमेकी अङ्कल-आन्टीहरू, साथीका बुबा-आमाहरू नै ठूला व्यक्ति हुन् भन्ने लाग्थ्यो। प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय पञ्चायतका सदस्यहरू, पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्यहरू के हुन्, यी कस्ता पदहरू हुन् भन्ने केही थाहा थिएन।
निवर्तमान प्रधानमन्त्रीज्यूको घरमा जानुभन्दा पनि मलाई जहाँ भए पनि बुबासँग मोटरसाइकलमा चढेर जानुसँग बढी मतलब थियो। हामी बस्ने थापाथली कुरिया गाउँबाट बानेश्वर हाइट पुग्न धेरै समय लागेन। बुबाले मोटरसाइकल एउटा ठूलो घरको प्राङ्गणमा रोक्नुभयो। घरभित्र छिर्ने बित्तिकै भुइँतलाको एउटा ठूलो हलमा पुगियो। त्यो हलमा दशौँ जना मान्छेहरू यत्रतत्र छरिएका थिए। कोही सोफामा सुस्ताइरहेका थिए, कोही भुइँमै बिछ्यौना लगाएर सुतिरहेका थिए। कोही भने २-३ वटा समूहमा तास खेलेर बसिरहेका थिए। बुबालाई देखेर तास खेलिरहेका केही व्यक्तिहरूले जर्याक-जुरुक उठ्दै अभिवादन गरे। त्यतिबेला त ती व्यक्तिहरू को थिए भन्ने थाहा भएन। अहिले सोच्दा लाग्छ उनीहरू निवर्तमान प्रधानमन्त्रीज्यूका सहयोगी र कार्यकर्ताहरू हुनुपर्छ।
शिक्षा मन्त्रालय अन्तर्गतको जनसङ्ख्या शिक्षा परियोजनाको संस्थापक समन्वयकर्ताको जिम्मेवारी निर्वाह गर्नुभन्दा पहिले मेरो बुबा बैतडीको पाटनस्थित श्री कृष्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत हुनुहुन्थ्यो। तसर्थ ती व्यक्तिहरूमध्ये धेरैजसो बुबाका विद्यार्थीहरू अथवा विद्यार्थीहरूका नातेदारहरू थिए होलान्। सामान्य शिष्टाचार पछि एकजना सहयोगीले बुबा र मलाई माथिल्लो तलामा रहेको निवर्तमान प्रधानमन्त्रीको बैठक कोठातर्फ डोर्याए। क्षणभरमै उज्यालो मुहार अनि मन्द मुस्कानसहित निवर्तमान प्रधानमन्त्रीज्यू कोठाभित्र प्रवेश गर्नुभयो। हामी दुवैले उठेर अभिवादन गर्यौँ।
त्यसपछि एक घण्टा जति बुबा र निवर्तमान प्रधानमन्त्रीले कुराकानी गर्नुभयो। ठ्याक्कै के कुरा गर्नुभयो, अहिले म सम्झिन सक्दिनँ। दुईजना वयस्क व्यक्तिहरूले गर्नुभएको कुराकानी एउटा सानो बच्चाले बुझ्ने कुरा पनि भएन। अझ मलाई त उहाँहरूले गर्नुभएको कुराकानीभन्दा पनि मेरो लागि ल्याइएको दूध र बिस्कुटमा बढी ध्यान थियो। उहाँहरूको कुराकानी सिद्धिएपछि हामी फर्किन सोफाबाट उठेर ढोकातर्फ लाग्यौँ। निवर्तमान प्रधानमन्त्री पनि बैठक कोठाबाट भित्री कोठातर्फ जानुभयो। हामी ढोकाबाट निस्किन मात्रै लागेका थियौँ, उहाँले बैठक कोठामा फर्केर हामीलाई भित्र बोलाउनुभयो र मुसुक्क हाँस्दै मतर्फ फर्केर बैतडीको भाषामा भन्नुभयो- मइ त सोध्दै बिसर्या, तमरो नउँ कि हो (मैले त सोध्नै बिर्सेको, तपाईंको नाम के हो)?
दुई कक्षामा पढ्ने मलाई त्यति बेलासम्म तपाईं भनेर कसैले पनि सम्बोधन गरेको थिएन- बढीमा तिमी भन्ने सम्बोधन मात्रै पाएको थिएँ। बैतडीको भाषामा दुई वटा मात्रै सम्बोधनार्थी शब्दहरू- तइँ (तँ) र तम (तपाईं) हुने हुनाले त्यतिबेलासम्म कुनै पनि वयस्क व्यक्तिले मलाई बैतडीको भाषामा तम (तपाईं) भनेर सम्बोधन गरेका थिएनन्।
मैले बुबातर्फ हेर्दै लजाउँदै मेरो नाम भनेँ। बुबा मुसुक्क हाँस्नु भयो।
उहाँले फेरि सोध्नु भयो, ‘काँ पडन्छ (कहाँ पढ्नुहुन्छ)?’
मैले मसिनो आवाजमा उत्तर दिएँ- ‘स्कुल!’
उहाँ मुसुक्क हाँस्नु भयो र बैतडीको भाषामा भन्नुभयो- ‘यस्तो सानो मान्छे पढ्ने स्कुलमा त हो नि, क्याम्पसमा त पक्कै पनि होइन। कुन स्कुलमा पढ्नु हुन्छ?’
‘भीएस निकेतन,’ मैले संक्षिप्त उत्तर दिएँ।
‘निक्केरी पड्या (राम्ररी पढ्नुहोला)’ भन्दै निवर्तमान प्रधानमन्त्रीज्यूले स्नेहपूर्वक मेरो टाउको सुम्सुम्याउनु भयो।
मैले सहमतिमा टाउको हल्लाएँ।
त्यो एउटा सामान्य घटना भए पनि त्यसले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ। निवर्तमान प्रधानमन्त्रीज्यूको त्यो व्यवहारले मलाई ठूला मान्छे पनि मृदुभाषी र स्नेहशील हुँदा रहेछन् भन्ने कुराको आभास गरायो। बुबाले मलाई स्नेहपूर्वक बेला-बेलामा भन्नुहुन्थ्यो- ‘तिमी त साधारण बच्चा होइनौ, प्रधानमन्त्री जस्तो व्यक्तिले तपाईं भनेर आदर गरेको व्यक्ति हौ।’
अहिले सोच्दा लाग्छ बुबाले मेरो प्रशंसा गरेको भन्दा पनि निवर्तमान प्रधानमन्त्रीको स्नेहशील व्यवहारप्रति अनुगृहीत हुनुहुन्थ्यो।
बुझ्ने भएपछि थाहा भयो मलाई बाल्यकालमा स्नेहशील व्यवहार गर्ने व्यक्ति नेपालको राजनीतिका शीर्ष व्यक्तित्व तथा मूर्धन्य साहित्यकार लोकेन्द्रबहादुर चन्द हुनुहुँदो रहेछ।
उनले राजनीतिक रूपमा कठिन क्षणहरू, जस्तै पञ्चायत व्यवस्थाको अन्त्य र बहुदल व्यवस्थाको सुरुवातको सङ्क्रमणकालीन अवधि तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन गराउन नसक्दा असक्षम भनेर पदच्युत गरिएपछिको अप्ठ्यारो समयमा, कुशलतापूर्वक सरकारको नेतृत्व गरेका थिए। त्यतिबेलाको एउटा घटना मेरो मानसपटलमा आइरहन्छ- देउवालाई विस्थापित गरेर लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री नियुक्त हुनुभएको केही दिन मात्रै भएको थियो। त्यही समयमा मेरो दाइको विवाहको योजना बन्यो। सुदूरपश्चिमका सम्मानित तथा ख्यातिप्राप्त व्यक्तित्वहरूलाई आमन्त्रण गर्ने क्रममा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालयहरूमा निमन्त्रणा पत्र पुर्याइयो। यदि दुवैजना व्यक्तित्वहरू एउटै समयमा विवाहस्थलमा पुग्नुभयो भने वातावरण अप्रिय बन्न सक्ला भनेर मनमा अलिकति आशङ्का थियो।
विवाह-भोजको दिनमा पहिले शेरबहादुर देउवा आइपुग्नुभयो। उनी वर-वधुलाई आशीर्वाद दिएर निस्किँदै थिए, त्यही समयमा लोकेन्द्रबहादुर चन्द पनि कार्यक्रमस्थलमा आइपुग्नुभयो। हाम्रो आशङ्काको विपरीत निस्किन लागेका निवर्तमान प्रधानमन्त्री देउवाले प्रधानमन्त्री चन्दसँगै केहीबेर बसेर सौहार्दपूर्ण रूपमा वार्तालाप गर्नुभयो। आफैँलाई विस्थापित गरेका व्यक्तिसँग देउवाको कुनै मनमुटाव भएको जस्तो देखिएन। त्यो क्षण दुवैजना मूर्धन्य राजनीतिज्ञहरूले देखाएको राजनीतिक सौहार्दताको अनुपम उदाहरण थियो। त्यो कार्यकालमा उहाँहरू दुई जनाको सायद त्यो नै पहिलो र एउटा मात्र अनौपचारिक भेटघाट थियो।
त्यही कार्यकालमा लोकेन्द्रबहादुर चन्दले गर्नुभएको पहिलो निर्णय नै अति महत्त्वपूर्ण थियो। उनले तत्कालीन समयमा द्वन्द्वरत माओवादीसँग निशर्त द्वन्द्वविराम गरेर वार्ताको आह्वान गर्नु भएको थियो। यदि त्यतिबेला माओवादीसँगको शान्तिवार्ता निष्कर्षमा पुर्याउन सकिएको भए नेपालको राजनीतिक मार्गचित्र अहिलेको लथालिङ्ग अवस्था भन्दा बिल्कुलै फरक हुन्थ्यो होला। अफसोस! त्यो वार्तालाई तार्किक निष्कर्षमा पुर्याउन सकिएन। फलस्वरूप नेपालको राजनीति अस्थिरताको कालो सुरुङभित्र प्रवेश गर्यो। हामी अझै पनि त्यही राजनीतिक गोलचक्करमा घुमिरहेका छौँ।
राजनीतिक रूपमा लोकेन्द्रबहादुर चन्द कति अब्बल थिए त्यो समयले निर्धारण गर्ने नै छ। तर पनि निष्पक्ष रूपमा विश्लेषण गर्ने हो भने उनको नैतिकता र राजनीतिक आस्था कहिल्यै पनि डगमगाएको देखिँदैन। पञ्चायतकालमा आफूले मानेको व्यवस्थाप्रति उनी सधैँ वफादार रहे। विसं. २०४६ सालको जनआन्दोलनपछि जनताको आवाजको सम्मान गर्दै तत्कालीन महाराजले बहुदलीय व्यवस्था पुन:स्थापना गरेपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेर बहुदलीय प्रतिस्पर्धामा सहभागी भए। माओवादी सम्मिलित विसं २०६२-६३ सालको जनविद्रोहले राजतन्त्र विस्थापन गरेपछि चन्द सक्रिय राजनीतिबाट अलग भएका देखिन्छन्। आफूले मानिआएको संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्थाको अन्त्य तथा गणतन्त्रको स्थापनाप्रति उनको मौन असन्तुष्टि रहेको देख्न सकिन्छ।
पञ्चायती पृष्ठभूमि भएका उनकै कयौँ सहकर्मीहरू गणतान्त्रिक व्यवस्थाको समर्थक र प्रवक्तामा रूपान्तरित हुँदा पनि लोकेन्द्रबहादुर चन्द आफ्नो राजनीतिक मान्यताबाट किञ्चित पनि डगेको देखिँदैन। यो परिप्रेक्ष्यमा उनी नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको मान्यता सँगै रहेको देखिन्छन्। हुन त नेपाली कांग्रेसले महामानव भनेर सम्बोधन गर्ने उसका संस्थापक नेता बीपी कोइराला पनि संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्थाका हिमायती थिए।
राजनीतिक आस्था र मान्यताका आधारमा लोकेन्द्रबहादुर चन्दसँग सहमत अथवा असहमत हुन सकिएला तर बीपी कोइराला जस्तै उनको साहित्यिक आयामलाई बेवास्ता गर्न सकिँदैन। बाह्रौँ खेलाडी, हिउँको तन्ना, अपराजिता, पाहुना घर, विसर्जन जस्ता उनका साहित्यिक कृतिहरू- जसमा कविता, कथा, व्यङ्ग्य र नाटकजस्ता विभिन्न विधाहरू समेटिएका छन्- मा उनको राजनीतिक अनुभव र सिर्जनात्मक अभिव्यक्तिको दुर्लभ सङ्गम देखिन्छ। उनका रचनाहरू सामाजिक यथार्थ, नैतिक चिन्तन, मानवीय सङ्घर्ष र राजनीतिक व्यङ्ग्यजस्ता विषयवस्तुमा केन्द्रित छन्, जसमा शासन र सार्वजनिक जीवनको प्रत्यक्ष अनुभवको प्रभाव स्पष्ट रूपमा देखिन्छ।
शैलीगत रूपमा उनले प्रयोगात्मक नवीनताभन्दा पनि स्पष्टता र सरलतालाई प्राथमिकता दिएका छन्। तसर्थ उनका कृतिहरू पाठकमाझ व्यापक लोकप्रिय रहेका देखिन्छन्। विशेष गरी उनका व्यङ्ग्य रचनाहरूले प्रशासनिक र राजनीतिक संस्कृतिको सटिक आलोचना गर्दछन्। यद्यपि उनका व्यङ्ग्यात्मक कृतिहरू आंशिक रूपमा सन्दर्भ–निर्भर रहेका देखिन्छन्। विसं २०५४ मा उनको कृति विसर्जनलाई प्रदान गरिएको मदन पुरस्कारले उनको साहित्यिक अब्बलता पुष्टि गर्दछ। समग्रमा, चन्दको योगदान मौलिक शैलीगत प्रयोगभन्दा बढी सामाजिक चेतनायुक्त र निरन्तर साहित्यिक स्वरमार्फत साहित्य र सार्वजनिक जीवनबिच सेतु निर्माण गर्नुमा निहित रहेको देखिन्छ।
राजनीतिक व्यक्तित्व भए पनि जीवनको उत्तरार्धमा राजनीतिबाट सम्मानजनक अवकाश लिएर साहित्य र सामाजिक उन्नयनमा दत्तचित्त भएर लागेका चन्दले आफूलाई अहिलेको स्वार्थी र स्व-केन्द्रित राजनीतिक संस्कारबाट पृथक् राखेका छन्। समकालीन रूपमा सक्रिय पूर्व प्रधानमन्त्रीहरूको निष्कण्टक राजनीतिक दौडबाट आफूलाई अलग्याएर उनले एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन्। अहिलेको स्वार्थी र राजनीतिक रूपमा विभाजित समाजले उनको राजनीतिक तथा साहित्यिक योगदानलाई उचित कदर नगरेको भए पनि इतिहासले उनको सम्मान गर्ने नै छ।
बैतडीको ग्रामीण परिवेशबाट उदाएर देशकै सर्वोच्च नेतृत्व तहमा पुग्नु एउटा साधारण उपलब्धि हुँदै होइन। अझ राजनीतिको कलुषित आहालमा छिरेर बेदाग तथा स्निग्ध भएर निस्किनु एउटा राजनीतिज्ञको लागि ठूलो उपलब्धि हो। तसर्थ राजनीतिक आस्था तथा स्वार्थ-प्रेरित मान्यताबाट माथि उठेर सम्पूर्ण बैतडीबासीहरू तथा सुदूरपश्चिम र समग्र नेपालले लोकेन्द्रबहादुर चन्दलाई उनकै जीवनकालमा उचित सम्मान गर्दा अतिशयोक्ति हुँदैन होला। केही समय पहिला १०१ वटा साहित्यिक मञ्चहरूले उनको नागरिक सम्मान गरेको थियो। अफसोस! मूलधार भनिने समाचार माध्यमहरूमा त्यो समाचारले उचित स्थान पाएको देखिएन।
व्यक्तिगत रूपमा म उनको नैतिकता, मृदुभाषिता तथा स्नेहशीलताबाट सधैँ प्रेरित भइरहन्छु। लोकेन्द्रबहादुर चन्दको बारेमा छापा तथा श्रव्य-दृश्य माध्यमहरूमा कुनै समाचार अथवा उनी सम्बन्धित कुनै प्रसङ्ग प्रसारण/प्रकाशित हुँदा मलाई उनीसँग वर्षौँ पहिले भएको मेरो पहिलो भेटको सम्झना हुन्छ, मन्द मुस्कानसहित उनले स्नेहशील रूपमा सोधेको ‘तमरो नउँ कि हो?’ याद आइरहन्छ। प्रधानमन्त्री जस्तो सर्वोच्च र सम्मानित पदमा पुगेको व्यक्तिले एउटा नाबालकमाथि गरेको त्यो सम्मानजनक व्यवहारले मलाई जीवनमा मर्यादित, नैतिकवान् र स्नेहशील बन्न प्रेरित गरिरहन्छ।
आफ्नो सु-व्यवहारबाट मलाई र म जस्ता कयौँ व्यक्तिहरूलाई प्रेरित गर्नु भएकोमा कोटी-कोटी आभार। फागुन ३ मा पर्न गएको जन्मदिनको उपलक्ष्यमा ढिलै भए पनि सम्माननीयज्यूलाई दीर्घायुको कामना।
(लेखक उप-प्राध्यापक हुन्।)