सधैँ दिनजस्तै त्यो दिन पनि म हस्याङफस्याङ गर्दै काममा जानको निमित्त ट्रेन समातेँ। ट्रेनभन्दा बढीको वेगमा दौडँदा पनि रिजल्टको चिन्ता मनबाट हट्दैनथ्यो। ट्रेनमा बस्दै गर्दा चिन्तैचिन्ताले मन थाम्न नसकेर भगवान गणेशजीको मन्त्र जपेँ। रिजल्ट आउने समय भएर होला मोबाइलको सानो कम्पनले पनि मुटुको धड्कन एक्कासि बढाइदिन्थ्यो।
त्यस दिन करिब ९ बजेको समय मोबाइलमा रिजल्टको नोटिफिकेसन आयो। नोटिफिकेसन खोलेर हेर्ने आँट बटुल्नै सकिनँ। सँगै काम गर्ने साथीलाई जानकारी गराई बाथरुममा गई श्रीमानलाई झट्ट रिजल्ट पठाएँ। जब उत्तीर्ण भएको खबर आयो, म भुइँमा थच्च बसी सगरमाथाको चुचुरो टेकेको महसुस गरेँ।
लगभग एक दशकपछि म मेरै मनले चाहेको, मेरो परिवारले चाहेको पेसा देशको मात्र नभएर अस्ट्रेलियाको रजिस्टर्ड नर्स भएकी छु। यो कुनै भाग्यको उपजले मात्रै हैन, असफल हुँदै मानसिक तनावलाई नजिकबाट नियाल्दै सफल भएकी छु। आशा छ मेरो यो एकल संवाद वा एकालापले मन खिन्न बनाउने छैन। बरु केही गर्न सक्दिनँ, एकपटक असफल भएपछि अब कोसिस गर्दिनँ भन्नेहरूका लागि उत्प्रेरणा पक्कै बन्नेछ।
यसरी सुरुवात भएको थियो मेरो नर्स बन्ने सपना।
सानो हुँदा ममी सधैँजसो बिरामी पर्नु हुन्थ्यो। आधी रातमा होस् या बिहानीको मिठो निद्रामा, सधैँजसो ममीलाई तातोपानी तताउँदै गर्दा कसरी ममीको बिरामी ठिक गर्न सकिन्छ भनेर सोच्ने गर्दथेँ। यसै क्रममा नेपाली विषयको कुनै एउटा पाठमा फ्लोरेन्स नाइटिङ्गेलको सेतो कोटमा स्टेथेस्कोप भिरेको तस्बिरले गर्दा उहाँको पृष्ठभूमिप्रति अझै उत्सुक बनायो। उहाँ लाल्टिनको सहारामा सैनिकहरूको हेरचाह गर्नुहुन्थ्यो र म टुकी बत्तीको भरोसामा ममीको रेखदेख गर्दथेँ। त्यो बेलाको विश्वयुद्ध जस्तो विषम परिस्थितिमा पनि उहाँको स्वार्थविहीन रेखदेख र मेरो आफ्नै भोगाइले प्रेरित भई नर्स बन्ने सपना बुनेँ।
कक्षा १२ सम्मको अध्ययनपश्चात् म आफ्नो सपना साकार बनाउन नेपाल छाडेर भारतको बैंग्लोर सहरमा गई चार वर्षको बिएससी नर्सिङको पढाइ पूरा गरेँ। आफूलाई मन लागेको विषय भएर होला म मेरो सम्पूर्ण समय पढाइको निमित्त खर्च गर्दथेँ। सोही कारण म कक्षाको जेहेन्दार थिएँ र कुनै सेमेस्टरको टपर पनि भएँ। पढाइ सकिँदै गर्दा मलाई बैंग्लोरको अपोल्लो हस्पिटलमा काम गर्ने मौका मिल्यो। केही महिना त्यहीँ काम गरेँ र प्रशस्त मात्रामा बिरामी तथा बिरामीको आफन्तको माया पनि पाएँ।
मेरो पेसालाई पछ्याउँदै गर्दा नेपालको ठमेलमा रहेको पोलिक्लिनिकमा काम गर्ने मौका मिल्यो। लगभग नौ महिना जति काम गर्दै गर्दा बिरामीहरूको सानोतिनो लापरवाहीले ठुलोठुलो रोग निम्त्याएको जसको कारण रुपैयाँको सिकार बन्न पुगेको मेरो आँखाले हरेक दिन देख्थ्यो। त्यही क्रममा म यस्तो अवसर खोजिरहेको थिएँ जसमा गाउँमा पुगेर भर्खर स्कुल पढ्दै गरेको साना-साना भाइबहिनीहरूलाई आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी दिन सकूँ। भाग्यवश टिच फर नेपाल भन्ने संस्थासँग काम गर्ने अवसर पाएँ।
दुई वर्षको मेरो कार्यकालमा मैले दिन र सिकाउन मिल्ने सबै कुरा सिकाएँ। दाङ जहाँ प्राय चौधरी, दलित र केही पातलो रूपमा क्षेत्री तथा ब्राह्मणको बस्ती भएको ठाउँमा नर्स र शिक्षिकाको गुण र दक्षले एउटा रोल मोडल बन्न सकेँ। दुई वर्षको अवधि सकिँदै गर्दा विश्व कोरोनाको भुमरीमा परिरहेको थियो। कति बिरामीहरू अस्पतालमा पर्याप्त नर्स नभएर हेरचाह र उपचार नपाएको खबरले म विक्षिप्त हुन्थेँ। ममा फ्लोरेन्स नाइटिङ्गेलको आत्मा आई छटपटिएको जस्तो लाग्थ्यो। कति समय त मैले धेरै अस्पतालहरूमा कोसिस गरेँ तर कहिँकतै काम गर्ने अवसर मिलेन। त्यही समयमा नर्सको अभ्यास नगरी अन्य संस्थामा आबद्ध भएँ।
लकडाउन खुलेसँगै म र मेरो श्रीमानले अस्ट्रेलिया जाने निधो गर्यौँ। अस्ट्रेलियाको नर्स बनेर नर्सिङ पेसाको अभ्यास सुरु गरोस् भन्ने मेरो दादाको सपना थियो। किनकि मेरो नर्सिङ बन्ने सपना साकार बनाउन उहाँको जतिको हात अरूको सायदै नहोला।
सन् २०२२ मार्च २१ मा सपनै सपना बोकेर अस्ट्रेलिया अवतरण गर्यौँ। अवतरण गरेको दिनदेखि नै मेरो दिनचर्या सिड्नी ट्रेन जतिकै वेगमा दौडिन थाल्यो। पेसाले नर्स तर कामले वेटर, कति साथीहरूले हस्पिटलमा काम नगरेर के खान जुठो भाडा बोकिरहेको पनि भन्थे। यी सबै कुराहरू मनन गर्दै स्वास्थ्य तथा अस्पताल व्यवस्थापन भन्ने विषयमा दुई वर्षको मास्टर पूरा गरे पश्चात् अन्तर्राष्ट्रिय स्तरमा नर्स बन्ने प्रक्रिया र बाटोहरूको खोजि गरेँ।
अस्ट्रेलियामा नर्सको रूपमा दर्ता हुन ३ वटा प्रक्रिया रहे पनि सबैभन्दा प्रचलित र चुनौतीपूर्ण प्रक्रिया आउटकम बेस्ड एसेस्मेन्ट (ओबिए) हो। यस मार्गमा अघि बढ्न मैले आवश्यक कागजात तयार गर्दै अध्ययन सुरु गरेँ र त्यसपछि एमसिक्यू परीक्षा (एनसिएलइएक्स) तथा अस्कि (ओएससिई) पार गर्नु पर्ने चरणहरूमा प्रवेश गरेँ। एनसिएलइएक्स परीक्षा केवल ज्ञानको परीक्षण मात्र नभई क्लिनिकल निर्णय क्षमता, आत्मविश्वास र व्यावसायिक दक्षताको वास्तविक मूल्याङ्कन हो। के
ही महिनाको लगातार मिहिनेतपश्चात् कम्प्युटरमा सञ्चालन हुने एमसिक्यू परीक्षा उत्तीर्ण गरेपछि ओएससिई (अब्जेक्टिभ स्ट्रक्चर्ड क्लिनिकल एग्जामिनेसन) परीक्षाको तयारीमा जुटेँ। यो परीक्षा तयारीको लागी म एउटा इन्स्टिच्युटसँग आबद्ध भएँ र मेरो ट्रेनिङ क्रमश: चल्यो। लगभग ६ वर्षपछि नर्सिङ अभ्यास गर्न पाउँदा अत्यन्तै खुसी साथै ऊर्जा पनि त्यतिकै थियो। यो सेसनको डेलिभरी ५ दिन प्रत्यक्ष र ५ दिन अनलाइन ट्रेनिङद्वारा समाप्त भयो। कक्षा सञ्चालन हुँदा बोल्न नहिच्किचाउने र कक्षामा सबैभन्दा अन्तरक्रिया गर्ने विद्यार्थीको रूपमा चिनिन्थेँ। तसर्थ सबै विद्यार्थीहरूले मेरो नाम र मलाई राम्रोसँग चिन्दथे। केही डेमो कक्षा सञ्चालन गर्नुपर्दा मेरै हात अगाडि उठ्थ्यो। सबै शिक्षकहरूले माया, विश्वास अनि प्रेरणा दिनुहुन्थ्यो। जसको कारण ओएससिई तयारी मेरो जीवनको एउटा यस्तो अध्याय बन्यो जहाँ सपनाहरू, डर, संघर्ष र आत्मविश्वास सबै एकैसाथ यात्रा गरिरहेका थिए।
ओएससिई परीक्षा नजिकिँदै जाँदा मनमा अनगिन्ती प्रश्नहरू उठ्थे। रातहरू छोटिँदै गए, निद्रा कम हुँदै गयो तर सपनाहरू झन् स्पष्ट हुँदै थिए। यही सपनालाई यथार्थता दिन मेलबर्न गई परीक्षा दिएँ। परीक्षा कक्षको ढोका अगाडि उभिँदा मुटुको धड्कन तीव्र थियो तर भित्र कतै एउटा आवाजले भनिरहेको थियो– तिमीले मिहिनेत गरेकी छौ, तिमी सक्षम छौ। म हरेक स्टेसनमा सतर्क हुँदै डरले भरिएको मनलाई थम्थमाउँदै ५ वटा स्टेसनमा पुगेँ। मेरो समय नआएको भनुम् या भाग्यमै नभएको, मैले बिरामीको परिचय लिन भुलेँ जसले गर्दा लगातार ४ वटा स्टेसन बिग्रन पुग्यो, दुर्भाग्यवश म पहिलो पटक ओएससिईको परीक्षामा असफल भएँ।
परीक्षामा असफल हुँदा दुःखमा नडुब्ने मानिस को नहोला र मलाई पनि नराम्रै असर गर्यो। एक त ४००० डलर, कति दिन काम नगरी गरेको मिहिनेत, अर्को तर्फ सँगै तयारी गरेका साथीहरू भकाभक उत्तीर्ण भएको नतिजा, यही कारणले कयौँ रात निद्रा परेन। भाग्यवश मेरो असफलतामा पनि मलाई ऊर्जा दिइरहने मेरो श्रीमान्, दाजुभाउजू, दुवै परिवारको सम्पूर्ण सदस्यहरू र केही नजिकको साथीहरूको दैनिक कुराकानीले मलाई पुनः उभिन सिकायो। मेरो स्कुल पढ्दादेखिको साथी सगुन र उसको श्रीमान् युनिटमा सँगै एउटै परिवार जस्तै बसेका थियौँ। धेरै पटक एन्जाइटी एपिसोड देखिँदा सपोर्ट मिल्यो। त्यसको साथै मेरो नजिकैको दिदी समीक्षा र कीर्तन भिनाजुले आफ्नो समय मिलेसम्म फोन गरेर मेरो सबलताहरू देखाइरहनु भयो।
असफलता अन्त्य होइन नयाँ सुरुवातको ढोका हो भन्ने सम्झेर पहिलो परीक्षा असफल भए पनि तुरुन्तै अर्को ४००० डलर तिरेर दोस्रो परीक्षा मिति लिएँ। सिक्ने क्रममा विभिन्न साथीहरू भेटिए र कारणवश छुटिए। आफूमा अस्ट्रेलियाको लागि सेफ नर्स बन्ने क्षमता हुँदाहुँदै पनि पुनः अर्को पटक परीक्षा दिनुपर्दा लज्जास्पद र आत्मबल गिरेको मिश्रण देखिन थाल्यो। मेरो दादाले हरेक पटक मलाई सम्झाउनु हुन्थ्यो- ‘इट इज नट द इन्ड अफ वर्ल्ड (तेरो लागि विश्व सकेको छैन)।’ यी शब्दहरूले मलाई हार्न दिएन। तसर्थ आफूलाई सम्हाल्दै सिकाइलाई निरन्तरता दिन थालेँ भने आफूले सिकेको कुरा अरूलाई सिकाउन थालेँ।
यसै क्रममा सिकाइलाई आत्मविश्लेषण गर्न र अरूलाई पनि सिकाउने सोचले श्रीमानलाई बिरामीको नक्कल गर्न लगाउँदै मैले अभ्यास गरेको भिडियोहरू युट्युबमा राखियो। त्यही गन्तव्यमा होमिएका साथीहरूले मन पराउन थाले र थप भिडियो बनाउन सल्लाह साथै प्रेरणा पनि मिल्यो। सबै भिडियोहरू घरमा खिचिएको थियो, दुर्भाग्यवश एउटा भिडियोको छोटो भाग मैले ट्रेनिङ लिएको ल्याबमा खिचिएको थियो।
पुनः आशा, भरोसा र मनमा डर लिँदै परीक्षाको नजिक पुग्दै गर्दा परीक्षा आउन लगभग ७ दिन बाँकी थियो। अब मेरो जिन्दगीको कालो रात सुरु भयो। कामबाट पढ्नको लागि बिदा पनि मिलाएँ। अर्को दिनदेखि ल्याबमा गएर प्रशस्त अभ्यास गर्छु भन्ने योजनाको साथ बेलुका १० बजे बेडमा पल्टिएँ। मैले सधैँ नै मेरो फोन १० बजेपछि इन्टरनेट अफ गरेर राख्छु। त्यो दिन मैले ट्रेनिङ लिएको संस्थाबाट दुवैजना सहजकर्ताबाट १० बजेपश्चात् मेसेज र फोन आएको रहेछ। अन्य साथीहरूले पनि कल गरेका रहेछन्। सधैँजसो ५ बजे बेडबाट उठेँ र झट्ट मोबाइल चेक गरेँ। मोबाइलमा सामान्यबाट धम्कीको सम्म मेसेज थियो।
म आफैँ छाँगाबाट खसेजस्तो भएँ। आफूले जानेको शिक्षा अरूमा बाँड्दा धम्की र आरोप खेप्नुपर्ला भनेर सोचेकै थिएन। जानेर या नजानेर केही गल्ती भयो होला भनेर मैले कयौँ माफी मागेँ। सबै भिडियोहरू डिलिट गरेँ। त्यसै संस्थामार्फत मेरो फोटोहरू नराम्रो तवरले सामाजिक संजालमा प्रयोग गरी गोपनीयता हनन पनि भयो तर गर्न सक्ने केही थिएन। परीक्षा आउन ५ दिन मात्र बाँकी हुँदा मलाई ल्याबमा गएर अभ्यास गर्न प्रतिबन्ध लगाइयो। तसर्थ मेरो अभ्यास गर्ने बाटो बन्द भयो। म झनै एन्जाइटी, फ्रस्टेसन हुँदै डिप्रेसनको सिकार बन्न पुगेँ।
मलाई अझै पनि याद छ, मेरो श्रीमानलाई अब हामी सँगै मरुम् भनेको दिन। रातभरि काम गरेर आउनुहुन्थ्यो अनि दिनमा सुत्ने समयमा मलाई सम्झाउँदै, कहिले मलाई अभ्यास गर्न सघाउँदै त कहिले मेरो आँसु पुछ्दै बस्नु हुन्थ्यो। ल्याबमा अभ्यास गर्न नपाएपछि म घरमै जे जति सामान छ तिनैसँग अभ्यास गर्दै बसेँ। ल्याबमा अभ्यास गर्ने साथीहरूले समय मिलेसम्म कल गर्दै सम्झाउनु हुन्थ्यो। तिम्रो गल्ती केही छैन एक दिन भगवानले अवश्य देख्नेछन् भन्ने जस्तो सान्त्वना दिनुहुन्थ्यो।
लगभग ५ दिन रुँदै अभ्यास गर्दै परीक्षा दिने दिन आयो। परीक्षा दिनको लागि मेलबर्न गयौँ। साथी सुबोध र वर्षाले आफ्नो बस्ने बास, खाने गाँस हामीसँग बाँडेका थिए। आफ्नो घरको जस्तै वातावरण दिए जसले मेरो परीक्षाको तनाव अनि दिमागमा धम्कीले बसेको ट्रमालाई केही हदसम्म कम गरायो।
परीक्षाको दिन डरसँगै इगो पनि थियो। यो परीक्षा जसरी पनि पास गर्छु भन्ने बलियो आत्मविश्वास बोकेको थिएँ। दुई महिना लामो तर विश्वासिलो प्रतीक्षापश्चात् मोबाइलमा फेरि नतिजा प्रकाशित भएको सन्देश आयो। आउने बित्तिकै मेरो शरीरहरू प्यारालाइसिस भएको बिरामी जस्तै काप्न थाल्यो। नतिजा हेर्ने आँट गर्न सकिनँ। त्यसैले दादाले आफैले नतिजाको इमेल खोल्नु भयो। जब दादाको आँखा नतिजामा पर्यो त्यसपछि आँखा माथि उठ्न धेरै समय लाग्यो। ती आँखाले शुभ समाचार देलान् भनेर कति आशावादी थिएँ। दुर्भाग्यवश मेरो नतिजा पहिलाको भन्दा पनी बिग्रेर आयो।
त्यो समाचारपश्चात् मैले के सोचेँ, के गरेँ, मलाई केही अवगत थिएन। दादा-भाउजू र मेरो सबै परिवारले सक्दो सम्झाउनु भयो तर म नराम्रोसँग गलेँ। शक्ति ऊर्जा सबै पलायन भए जस्तै भयो। जति असफल खेपे पनि कर्म गर्न नछोड्ने मेरो सानैदेखिको स्वभाव थियो। म भुइँमा टाउको ठोक्दै रोएँ र उठेर फेरि पनि माफी माग्दै मैले मलाई धम्की दिने इन्स्टिच्युटलाई लामो इमेल लेखेँ। मेरो इमेलको कुनै प्रतिउत्तर आएन। दिनदिनै मेरो मस्तिष्कमा चोट पर्न गयो। मैले फेरि परीक्षा दिन अर्को ६ महिना कुर्न पर्ने भयो। नतिजा आएपश्चातै म काममा फिर्ता भएँ।
रातभरि रोएर गए पनि कामको ढोकाबाट छिरेपछि मुस्कान चाहिँ कहिले टुटेन। विडम्बना कामको सहकर्मीहरूको प्रश्नले पनि मन धेरैजसो अत्याइदिन्थ्यो। भेट्ने बित्तिकै पहिलो प्रश्न के छ, कसो छ भन्दा पनि रिजल्ट के हुँदै छ? भिसा कति बाँकी छ? भन्ने प्रश्नले खाटो नबसिसकेको घाउलाई नुन छर्के जस्तै लाग्थ्यो। भाग्यवश मेरो नेपालदेखि सँगै काम गर्ने साथी सम्रिताले मेरो विक्षिप्त पहिरो लागेको मनलाई अनेक कुराले सम्झाउँथिन्। कहिले आध्यात्मिक कुराले कहिले विश्वको उदाहरण दिँदै त कहिले अन्य उदाहरणहरू दिइरहन्थिन्। उनले लगाएको त्यो गुण सधैँ अविस्मरणीय रहिरहनेछ।
समयले साथ नदिए पनि आफूले चाहिँ साथ र कर्म सधैँ गर्नुपर्छ भन्ने सोचेर मैले फेरि २५०० डलर तिरेर अर्को इन्स्टिच्युटमा आबद्ध भएँ। आफ्नो कमी कमजोरी कहाँ, कसरी भयो भनी राम्रोसँग आत्मविश्लेषण गरेँ। ल्याबमा गएर सिक्ने क्रममा मैले सँगै अभ्यास गर्ने बहिनी सन्तोषीलाई अनलाइनमार्फत भेटेँ र अनलाइनमार्फत जोडेर नै धेरै समयसम्म अभ्यास गर्थ्यौँ। म फेल भएको थाहा पाउँदा दुखी नहुने मेरो दुवै परिवारमा कोही थिएनन्। मेरो निम्ति भगवानसँग प्रार्थना गरिदिने परिवारका कोही सदस्य थिएनन्। विडम्बना असफल नै असफल भएर थचारिएको यो मन मस्तिष्क र शरीर लिएर साथी र आफन्तहरूले आयोजना गरेको पार्टी र चाडवाडमा उपस्थित हुन नसक्दा साथीहरूले साथित्व नै त्याग्नु भयो र इष्टमित्रले कुराकानी र आवतजावत नै रोकिदिनु भयो।
पटक पटक रिजल्ट असफल हुँदा आमा घरको हलमा बसेर डाँको छोडेर रुनु हुन्थ्यो। मेरो मानसिक स्वास्थ्य नराम्रोसँग बिग्रिँदा बाँच्ने चाहना मर्दै गर्दा इभिनिङ वाल्कमा जाने भन्दै रुखको हाँगा हेर्न जान्थेँ। आफूसँगै सिकेको आफूले सिकाएको साथीहरू पास हुँदै रजिस्टर्ड नर्स भएर काम गरेको लगभग वर्षौँ दिन भइसकेको थियो। म जति पटक छटपटिन्थेँ, मर्छु भन्थेँ त्यति पटक आमालाई सम्झन्थेँ। म मर्दा सिर्फ मेरो शरीर जल्ला तर मेरो आमाको त संसार नै जल्छ।
चरेस खानु तर हरेस नखानु भन्ने कुरा पहिलेदेखि नै सुन्दै आएको थिएँ। मैले चरेस हैन आफ्नो क्षेत्रमा जीवनलाई बदल्न धार्मिक र आध्यात्मिक प्रयत्न गरेँ र फलस्वरूप भगवान रूपी एकजना बहिनी अभ्यास गर्न भेटेँ। हामी घरमै बिहानको ८ बजेदेखि बेलुका ९ बजेसम्म सँगै अभ्यास गर्थ्यौँ। परीक्षा दिने दिनसम्म पनि एकले अर्कोलाई शारीरिक मानसिक रूपमा सपोर्ट गरिरह्यौँ र परिणाम स्वरूप हामी दुवै जना अस्ट्रेलियाको रजिस्टर्ड नर्स भयौँ। यो यात्रा केवल परीक्षा पास गर्ने लक्ष्य मात्र रहेन, आफैँलाई पुनः चिन्ने यात्रा बन्यो।
एक वर्ष आधाको शून्य उन्नति र प्रगतिले चुनौतीको अनुभव मात्र गराएन चुनौतीलाई टेक्दै अवसरको बाटो पनि देखायो। नजिकको साथी र इष्टमित्रको नमिठो व्यवहारले निराशामात्र बनाएन, सहयोगी मन भएको आत्मासँग पनि भेट गरायो। मलाई अझै धर्तीसँग जोडिन प्रेरित गर्यो। सँगसँगै थुप्रै असफलतापछि सफलताको मिठो स्वाद पनि चखाबयो।
तिम्रो जिन्दगीभर साथ दिने म छु नि भन्ने श्रीमान्, केही बिग्रिएको छैन, अझै प्रशस्त समय छ भनेर ऊर्जा दिइरहने दाइ-भाउजू, मेरो छोरीको समय नआएको हो, दिन दशा बिग्रिएको हो एक दिन पक्कै सफल हुन्छौ भन्ने बुवाआमाको आँट, पिर नगर्नु सफल भइहाल्छ नि भन्ने आँट दिने भाइ-बुहारी, मेरो बुहारी केही कुरामा कमजोर छैन भन्ने प्रेरणा दिने सासू-ससुरा, मेरो भाउजूले आँट्नु भएपछि अवश्य पूरा गर्नुहुन्छ भनेर हौसला दिने देवर र तिमीभित्र या तपाईंभित्र अपार क्षमता र शक्ति छ भनेर बारबार झकझकाइरहने साथीहरू साथमा भएकै कारण यो सफलताको भागीदार हुन पाएँ।
निरन्तर कर्म गर्दा एक न एक दिन सफल पक्कै भइन्छ। आफ्नो परिवार र नजिकको साथीलाई राम्रो सपोर्ट सिस्टम मान्दा एक्लो भइन्न। अन्तिममा, यो यात्रामा पाइला चालिरहनु भएका सम्पूर्ण नर्सहरूलाई धेरै ऊर्जाको साथै शुभकामना व्यक्त गर्दछु र हरेक कठिन यात्रामा जजमेन्टल नभई सम्पूर्ण परिवार आफन्त तथा साथीभाइहरूको साथ सपोर्टले मानिसलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने सन्देश दिन चाहन्छु।
अन्ततः अन्तर्राष्ट्रिय स्तरमा सेवा गर्ने नर्स बन्ने मेरो सपना व्यक्तिगत सफलता मात्र होइन; यो करुणा, सेवा र मानवताप्रतिको समर्पणको प्रतिबद्धता हो। यही विश्वास र भावनासहित म आफ्नो यात्रालाई निरन्तर अघि बढाइरहेकी छु।