काम विशेषले जन्मथलोबाट लामो समयका लागि टाढिनु परेपछि हरेक ऋतुहरूमा गाउँघरका विभिन्न कुराहरूको झल्को वा सम्झना आउनु स्वाभाविकै हो। टाढै रहे पनि ऋतु अनुसार गाउँका फलफूल, अनाज, फूलहरूको याद गरिरहनेहरू भने कमै हुन्छन्। आफ्नो गाउँघरको हावापानी र त्यहाँको भूगोलको सम्झना नआउने कुरा हुँदैन। टाढा रहेकाहरूबाट कुन ऋतुमा आफ्नो गाउँघरमा के भइरहेको छ भन्ने अड्कल गरिन्छ।
शिशिर ऋतु अन्तर्गत पर्ने माघ-फागुन महिनामा मलाई बारीमा गएर बोटबाटै केराउ वा मटरकोसा टिपेर खाएको, हरियो चना टिपेर खाएको र गिँदरी वा गेँजरीको कोसा जसलाई कुत्लीकोसा पनि भनिन्छ, त्यसको कोसा भुटेर वा उसिनेर खाएको याद आउँछ। फागुनको अन्तिम अन्तिमतिर कोइरालोको फूल अचार खानका लागि रुखमा चढेर टिपेको कुरा पनि मजस्तै परदेशिएकाहरूले नसम्झिने कुरा हुँदैन। काठमाडौँको बजारमा कोइरालो ताजा त पाइँदैन त्यसमा पनि महँगो किन्नुपर्दा गाउँघरको ताजा अनि आकर्षक देखिने कोइरालोको स्वस्थ फूल सम्झिने बाहेक अरू उपाय हुँदैन।
शिशिर जाँदै गर्दा र वसन्त लाग्दै गर्दा टुसाउने चैतेबाँको झट्ट हेर्दा कालो सर्प ठाडो परेको वा उभिएको झैँ देखिन्छ। यसको टुप्पो जता फर्किएको छ त्यता अर्को पनि फेला पर्छ भन्ने मान्यताका साथ हामी खोजी गर्थ्यौँ। फक्रिएको चैतेबाँकोको गन्ध भने ज्यादै कडा हुन्छ, जसमा झिँगाहरू झुम्मिएको र भन्किएको देख्न सकिन्छ। अमिलो हुने वनस्पति जसलाई हाम्रो भेगतिर कापु भनिन्छ सोको पात मिसाएर पकाएमा बाँको कोक्याउँदैन। साथै काँचो आँपको सुकुटी अर्थात् अम्चुर प्रयोग गरिएमा पनि बाँकोको तरकारी कोक्याउने वा चिलाउने हुँदैन।
चैतेबाँको भनिए पनि यो फागुनको दोस्रो हप्तादेखि नै टुसाउन थाल्छ बाँझो तथा हल्का भिरालो जमिनमा। फागुन-चैतमा जुन गानो वा कन्दबाट चैते बाँको उम्रिन्छ जेठ-असारमा त्यही कन्द वा गानोबाट बर्खेबाँको उम्रिन्छ। यसलाई वनस्पतिको अनौठो प्राकृतिक नियम भन्न सकिन्छ। यो कुरा मैले अरूले भनेको अनि सुनेको मात्र थिएँ। आफैले प्रत्यक्ष प्रमाण नठानेको हुँदा एउटा गानो वा कन्द गाउँबाट काठमाडौँ ल्याएर करेसाबारीमा माटोमुनि घुसारेँ, अध्ययन गर्ने कोसिस गरेँ अनि हेरेँ। जेठ असारमा त्यसै कन्दबाट बर्खेबाँको उम्रियो। आउने फागुन-चैतमा त्यसैबाट चैतेबाँको उम्रियो। अनि मैले आफैले आफैलाई प्रमाण देखाएँ बाँकोको सम्बन्धमा। यस विषयमा खोज र अनुसन्धान कहीँ कतैबाट भए गरेको पाइँदैन उल्लेख त परै जाओस्। एउटा गानो वा कन्दबाट वर्षमा दुई पटक दुई स्वरूपमा वनस्पति उम्रिनु अनौठो मानिन्छ। हुन त यस्ता प्रकृतिका वनस्पतिहरू अरू नहोलान् भन्न सकिन्न।
उहिले हाम्रो गाउँमा चैतको अन्तिम सातादेखि लेकतिरबाट फाट्टफुट्ट काफल बेच्न ल्याउँथे, जसलाई चैते काफल भनिन्छ। खास गरी हाम्रो भेगतिर वैशाखभर प्रशस्त मात्रामा काफल पाइन्छ। काफलको खाइने भाग ज्यादै थोरै र अधिकांश भाग हाडको हुने भएकोले धेरैले हाडसहित नै निल्ने गर्छन् भने थोरैले मात्र चुसेर हाड फाल्ने गरेको पाइन्छ। मीठो भएर के गर्नु? हाडैहाडको फल। किम्बु र ऐँसेलु पाक्ने समय पनि हो चैत-वैशाख अर्थात् वसन्त ऋतु। किम्बु र ऐँसेलुको बोटमा झुम्मिएर तँछाडमछाड गरेर टिपेर खाएको सम्झना मेरो मानसपटलमा अझै छ।
ऋतुहरूका प्रसंगकै कुरा गर्दा वसन्त ऋतु अन्तर्गतको चैतको अन्तिमतिरदेखि असारको पहिलो हप्तासम्म हामी लुंग्री नदीमा पौडी खेल्न जाने गर्थ्यौँ। असारको दोस्रो हप्तापछि पौडी खेल्ने कामलाई जोखिम ठानिन्छ, किनकि कुन बेला भारी वर्षा हुन्छ र भीषण बाढी उर्लिएर आउँछ अनि पूरै बगर ढाकिने गरी नदी बग्दछ ठेगान हुँदैन। वैशाख-जेठमा अचानक भारी वर्षाका कारण र भीषण बाढी आउनाका कारण बगरभरि माछा छरिएको देखिन्छ, जसलाई स्थानीय भाषामा ‘बिसौरी’ परेको भनिन्छ। ती माछा संकलन गरेर ल्याउन गाउँ नै उल्टिएर डोको, झोला वा अन्य वस्तु बोकेर जाने चलन छ।
साउन-भदौको बर्षाद
साउनको एक गते राँकेसंक्रान्ति वा लुतो फाल्ने दिनको पर्वले परिचित छ। हामी गोठालो गएर वनबाट फर्किँदा खामाखुट्टी काटेर भलायोको पात र जरासितको खर लिएर आउँथ्यौँ। साँझ पर्नुअघि नै आँगनको छेउतिर सानो आकारको छाप्रो बनाएर त्यसमाथि भलायोको पात बिछ्याउने र त्यसमा अनार, निबुवा लगायतका फलफूल राखेर परम्पराअनुसार विधिपूर्वक राँकेसंक्रान्ति मनाउँथ्यौँ र मनाइन्छ पनि। सल्लाको दियालोको साना चिराहरू खरले बाँधेर आगो सल्काएर पूर्वतिर ‘हाम्रो लुतो, पिलो, खटिरो पल्लो गाउँमा जाओस्’ भन्दै फ्याँक्थ्यौँ/फ्याँकिन्छ। राँकेसंक्रान्तिमा कसै-कसैले आगोसहितको अगुल्टो फाल्ने चलन पनि छ। साउन-भदौँको याम अर्थात् वर्षा ऋतु नदी-खोला भएको भूभागका लागि अति डरलाग्दो ऋतु हो। भिरालो जमिनमा घरबार भएकाहरू पहिरोको त्रासमा हुनु स्वाभाविकै हो।
असोज-कार्तिक अर्थात् शरद ऋतु उमंगको ऋतु हो। दसैँ-तिहारको ऋतु भएकोले यस समयमा बगैँचा, कान्ला, आँगनको डिलमा रंगीबिरंगी फूलहरू पनि फुलेका हुन्छन्। बेलुकी हुँदै गर्दा रातरानी अर्थात् हसना फूलको मीठो बास्नाको याद म जस्ता जो कोहीलाई पनि आउँछ नै होला। बिमिरो, कागती, बेलौती वा अम्बा, दारिम-अनार लगायत तमाम विभिन्न फलफूल पाक्दै गरेको समयको याद टाढा बस्नेहरूले पक्कै गरी नै रहन्छन्। पाक्दै गरेको तिमिलो अर्थात् अञ्जीरको सम्झना पनि नआउने कुरा हुँदैन। ठुलो खाले अञ्जीर पाकेपछि गुलाबी रङको हुन्छ र फलभित्र महको बनोटमा बसेको वस्तु खादा ज्यादै मीठो हुन्छ। काठमाडौँमा एउटा अञ्जीरको सुकुटीको मूल्य तीस-पैँतिस रुपियाँ पर्छ। जब कि हाम्रो गाउँघरमा अञ्जीरको फल बेवास्तामा पर्दै कुहिएर जमिनमा झरेको देखिन्छ। यो खान हुने र नहुने (वाक्चे र पाक्चे) दुई किसिमको हुन्छ, अञ्जीरलाई पहिचान गरेर मात्र खानुपर्ने हुन्छ। सानो र हरियो खालको तिमिलो वा अञ्जीर उसिनेर अचारको रूपमा प्रयोग हुन्छ। मंसिर-पुस अर्थात् हेमन्त ऋतु चिसोले कठ्यांग्रिने समयको रूपमा लिइन्छ। यस ताका सुन्तला प्रशस्त मात्रामा खान पाइन्छ, मेलाबाट किनेर ल्याएर होस् वा बजारबाट किनेर।
काठमाडौँमा दुर्लभ रोल्पाको काठेकाउली
रोल्पामा काठेकाउली अर्थात् स्थानीय शब्दमा काठेगोपी उहिल्यैदेखि खेती गरिन्छ। खास गरी खेतबारीमा नभएर आँगनछेउ वा डिलतिर रोप्ने गरिन्छ काठेकाउली। पहिले झैँ काठेकाउली रोप्ने चलन भने बिस्तारै हराउँदै गएको छ। यसको सुक्खा तरकारीभन्दा झोल नै मीठो हुन्छ। काठमाडौँमा भने यो काउली दुर्लभ मानिन्छ। झट्ट हेर्दा ब्रोकाउली झैँ देखिए पनि यसको बिउ सार्ने विधि भिन्दै प्रकारको हुन्छ। छिप्पिएको काठेकाउलीको पातहरूका कापमा पलाएका आँकुरा वा काइना असारमा चुँडेर सारिन्छ। यसको खेतीका लागि काउली-बन्दा-ग्याँठगोभीको झैँ गेडा बिउको ब्याड राख्नुपर्दैन। रोपेको दश महिनापछि मात्र खान तयार हुने यो काठेकाउली उत्पादन हुन लामो समय लिने हुँदा पनि खेतीमा आकर्षण घट्दै गएको पाइन्छ। विशेष गरी घरमा पाहुना आएका बखत यो उपलब्ध भएमा पकाउने गरिन्छ। रोल्पातिर काठेकाउली अरू तरकारीभन्दा एक स्तरीय तरकारीमा गनिन्छ।
चुसेर रस ग्रहण गरिने फूलहरू
हामीले बाल्यावस्था र किशोरावस्थामा रहँदा असुरोको फूलको गुलियो र चुस्ने गर्थ्यौँ, जुन गुलियो हुन्छ। असुरोलाई त आयुर्वेदिक औषधि हो पनि भनिन्छ। असुरोको पात नकुहाइए पनि खेतबारीमा मलको रूपमा प्रयोग हुन्छ। लहरा र मसिनो रातो फूल हुने एक वनस्पतिको फूल चुसेर पनि हामीले गुलियोको मजा लिन्थ्यौँ। त्यो वनस्पतिको नाम भने थाहा पाउन सकिएन। त्यस्तै हामी धाइरोको फूल चुसेर त्यसको रस पनि लिने गर्थ्यौँ, त्यो पनि गुलियो नै हुन्छ। मौरीले चैते मह बनाउनका लागि धाइरोको फूलहरूमा विचरण गरेको पनि देखिन्छ। कात्तिक-मंसिरमा भने चिउरीबाट पर्याप्त रस ओसारेर मौरीहरूले घारमा त्यसलाई महमा परिणत गर्दछन्।
हामी सानो छँदा चिउरी फूलको रस खानका लागि रुखतर्फ जान्थ्यौँ। चिउरीका भुईँतिर झुकेका हाँगा तानेर त्यसैको पातले फूलको झुप्पोमा ठोक्काएर पातमा टाँसिएको रस चाट्ने गर्थ्यौँ। चिउरीको फूलबाट बास्नादार रस पातमा झर्दा सेता कणहरूका साथै भुसुना जत्रा काला रङका कीराहरू पनि देखिन्छन्। ती कीराहरू पन्छाएर रस मात्र चाटेर गुलियो स्वादको मजा लिन्थ्यौँ। चिउरीको रुखको फूलबाट बाटोको माथि-मुनि रस झरेपछि बटुवाहरूले सो रसको सुगन्ध लिन बाध्य हुनै पर्छ। चिउरीको रसको बास्ना तीस-पैँतीस मिटर वरैदेखि आउने गर्छ। साना बोट हुने अन्य वनस्पतिका पातहरूमा जमेर रहेको चिउरीको रस खाँदा मह जस्तै बाक्लो र बढी गुलियो हुन्छ।
कात्तिकमा काढिने महलाई कात्तिके मह भनिन्छ भने चैतमा काढिने महलाई चैते मह भनिन्छ। कात्तिके महलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ। मौरीले सुक्खा मौसममा मह संकलन गर्दा जुनसुकै फूलबाट पनि रस वा पराग लिने हुँदा मह खाएपछि लाग्ने वा बिरामी पर्ने अवस्था पनि आउन सक्छ। रुदिलो र तोरीको फूलबाट मौरीले लिएको रसबाट बनेको महलाई भने उत्कृष्ट ठानिन्छ। गाउँमा पाइने त्यो ताजा र आकर्षक कोइरालो र सहर बजारको बासी कोइरालोको तुलना गर्न सकिँदैन। सहर बजारमा महँगो पनि त्यत्तिकै।
हेमन्त ऋतु अर्थात् मंसिर-पुस महिनामा हाम्रो गाउँतिर रैथाने बयर पाक्ने समय हो। पछिल्लो समय गाउँ-गाउँका साना बजारहरूमा आयातित फलफूलहरूले राज जमाइरहँदा बयर जस्ता पूर्ण स्वास्थ्यकर फलफूल बेवास्तामा पर्दै आएका छन्। गत पुसमा म आफै पोलिथिनको झोला बोकेर एक्लै बयर टिप्न आफ्नो जन्मथलोमा पर्ने दामिद्वाली नामको घाँसे मैदानतिर झरेको थिएँ र दुई पाथीभन्दा बढी बयर लिएर आएपछि अरूले पनि मेरो सिको गर्न बाध्य भएका थिए।