फागुन २१ नजिकिँदै जाँदा देशभर चुनावी माहौल फेरि तातेको छ। गाउँदेखि सहरसम्म उम्मेदवारहरूको घरदैलो अभियान, भेटघाट, हातेमालो, सेल्फी र आश्वासनले चर्चा पाउन थालेको छ। चुनाव आउँदा नेताहरू जनताको बिचमा सक्रिय देखिन्छन्, तर यही सक्रियता चुनावपछि किन हराउँछ भन्ने प्रश्न नागरिकको मनमा बारम्बार उठिरहन्छ। जनतासँगको सम्बन्ध केवल मत माग्ने समयसम्म सीमित हुनु लोकतन्त्रको राम्रो पक्ष पक्कै होइन।
चुनावी घोषणापत्रहरूमा रोजगारी, सुशासन, विकास, शिक्षा, स्वास्थ्य र समृद्धिका आकर्षक शब्दहरू सजिलै भेटिन्छन्। तर ती वाचाहरू व्यवहारमा कति रूपान्तरण भए भन्ने प्रश्न अझै अनुत्तरित छ। सेवा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। नागरिक अब नयाँ नारा मात्र होइन, देखिने र अनुभूति गर्न सकिने परिणाम खोजिरहेका छन्।
वर्षौँदेखि दोहोरिएका प्रतिबद्धताले अपेक्षा भन्दा निराशा बढाएको अनुभव धेरैको साझा बनेको छ। आजको मुख्य द्विविधा पनि यही हो कि पुरानालाई फेरि विश्वास गर्ने वा नयाँलाई अवसर दिने? पुराना नेतृत्वसँग अनुभव भए पनि परिणामप्रति शंका छ र नयाँ अनुहारसँग आशा भए पनि स्पष्ट योजना र क्षमता प्रमाणित भएको देखिँदैन। यही अन्योलबिच जनता निर्णयको संघारमा उभिएका छन्।
लोकतन्त्र निरन्तर ‘परीक्षण’ गर्ने अभ्यास होइन; यो नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको प्रणाली हो। रोजगारीको खोजीमा बिदेसिन बाध्य युवाहरू, महँगीले थिचिएको मध्यम वर्ग, गुणस्तरीय शिक्षाको खोजीमा भौँतारिएका अभिभावक, यी सबै चुनावी भाषणका विषय मात्र होइनन्, जीवनका वास्तविक चुनौती हुन्। त्यसैले जनताले अब भावनात्मक भाषणभन्दा व्यावहारिक समाधान खोजिरहेका छन्।
कतिपय अवस्थामा राजनीति निर्णयहरू पर्दा पछाडिबाट निर्देशित भएझैँ देखिनु पनि नागरिकको अविश्वास बढाउने कारक बनेको छ। जब संस्थाहरू कमजोर हुन्छन्, तब व्यक्ति शक्तिशाली देखिन्छन्। नीतिभन्दा सम्बन्ध बलियो हुँदा पारदर्शिता कमजोर बन्छ र प्रणालीप्रतिको भरोसा घट्दै जान्छ। बलियो लोकतन्त्रका लागि बलिया संस्था, स्पष्ट प्रक्रिया र समान नियम आवश्यक हुन्छन्।
आज घर-घरमा राजनीतिक बहस भइरहेको छ, सामाजिक सञ्जालदेखि चिया पसलसम्म राजनीति नै मुख्य विषय बनेको छ। यो नागरिक सचेतनाको सकारात्मक संकेत हो। तर सचेतना मात्र पर्याप्त हुँदैन; विवेकपूर्ण निर्णय पनि आवश्यक हुन्छ। उम्मेदवारको बोलीभन्दा विगतको काम, घोषणाभन्दा कार्यसम्पादन र प्रचारभन्दा प्रमाणलाई आधार बनाउनुपर्ने समय आएको छ। विश्वास भनेको कुनै एक दिनको वा एक उपलब्धि मात्र होइन। साना–साना इमानदार निर्णय, पारदर्शी व्यवहार र निरन्तर जवाफदेहिताबाट मात्रै विश्वास निर्माण हुन्छ।
जनप्रतिनिधिले चुनावको समयमा मात्र होइन, हरेक समयमा जनताको कुरा सुन्नुपर्छ। जनताको ढोकामा केवल मत माग्न होइन, समस्या बुझ्न र समाधान खोज्न पुग्नुपर्छ। लोकतन्त्रमा अन्तिम शक्ति जनता नै हुन्। तर त्यो शक्ति मतदानको दिनमै सीमित रह्यो भने यसको अर्थ अधूरो हुन्छ। चुनावपछि पनि प्रश्न गर्ने, वाचा सम्झाउने, खबरदारी गर्ने र जवाफ माग्ने नागरिक संस्कार विकसित हुनुपर्छ। निरन्तर नागरिक सहभागिताले मात्र प्रणालीलाई सही दिशामा लैजान सक्छ। आवेग, उत्तेजना वा सामाजिक सञ्जालमा हुने ट्रोल संस्कृतिले देश निर्माण गर्दैन। क्षणिक उत्साहले भीड त जुटाउन सक्छ, तर संस्थागत सुधार सम्भव हुँदैन।
कानुन र नीति लेखिनु मात्र पर्याप्त होइन; ती समान रूपमा लागू भएको देखिनुपर्छ। न्यायको अनुभूति व्यवहारबाट पैदा हुन्छ, भाषणबाट होइन। आज जनतामा राजनीतिक दलहरूप्रति निराशा देखिनु चुनौती मात्र होइन, सुधारको अवसर पनि हो। विश्वास पुनःस्थापना गर्न दलहरूले स्पष्ट कार्ययोजना, समय सीमा, पारदर्शी खर्च प्रणाली र नियमित सार्वजनिक प्रतिवेदनमार्फत उत्तरदायित्व देखाउनुपर्छ। ताली भाषणले पाइन्छ तर भरोसा परिणामले मात्र जितिन्छ। साथै नागरिकले पनि जिम्मेवार मतदाता बन्नुपर्छ। हल्लाभन्दा तथ्य, भीडभन्दा नीति, र प्रचारभन्दा कामलाई आधार बनाएर निर्णय गर्ने संस्कार आवश्यक छ। मत हालेर मात्रै कर्तव्य पूरा हुँदैन; लोकतन्त्र निरन्तर सहभागिताको अभ्यास हो।
देश कुनै एक व्यक्ति वा दलले मात्र चलाउँदैन; देश प्रणालीले चलाउँछ। त्यो प्रणालीलाई सही दिशामा लैजान नागरिक र नेतृत्व दुवैको साझा जिम्मेवारी आवश्यक हुन्छ। नागरिकले महसुस गर्न पाउनुपर्छ कि ‘मेरो देशमा सरकार छ, मेरो दुःखमा सरकार छ।’ र नेताले पनि गर्वका साथ भन्न सकुन्, ‘मेरो साथमा जनता छन्,’ त्यो गर्व पदको होइन, विश्वासको आधारमा होस्।
यस पटक पनि चुनाव आउँदै छ, नाराहरू गुन्जिनेछन्, वाचाहरू दोहोरिनेछन्। तर सायद अब समय आएको छ, अनुहारभन्दा आचरण हेर्ने, भावनाभन्दा प्रमाण खोज्ने र नतिजालाई प्राथमिकता दिने। लोकतन्त्रलाई ‘ट्रायल’ होइन, परिपक्व अभ्यास बनाउने जिम्मेवारी अन्ततः हामी सबैको काँधमा छ।
अन्त्यमा, चुनाव केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, देशको दिशा निर्धारण गर्ने सामूहिक निर्णय हो। विश्वास पुनः निर्माणको सुरुवात सही छनोटबाट हुन्छ तर त्यसको निरन्तरता नागरिक सचेतना र राजनीतिक जवाफदेहितामा निर्भर रहन्छ। जब मतदाता विवेकपूर्ण बन्छन् र नेतृत्व जिम्मेवार हुन्छ, तब मात्रै लोकतन्त्र बलियो बन्छ।
परिवर्तन कुनै एक चुनावले होइन, निरन्तर सही अभ्यासले सम्भव हुन्छ। त्यसैले यस पटकको मतदान केवल अधिकारको प्रयोग मात्र होइन, भविष्यप्रतिको जिम्मेवार प्रतिबद्धता पनि हो, जहाँ आशा भाषणमा होइन, व्यवहारमा देखियोस् र लोकतन्त्र नागरिकको जीवनमा वास्तविक अनुभूति बनोस्।