देश छोडेको दुई वर्ष भएछ। कागजमा छोटो समय तर अनुभूतिमा एक युग जस्तो गहिरो अन्तराल। यो अवधिमा बारम्बार एउटै प्रश्नले पछ्याइरह्यो- ‘तिमीहरूको त यही राम्रै थियौ, किन विदेश गएको?’
यो प्रश्न सुन्दा कहिले मौन बस्न मन लाग्छ, कहिले धेरै कुरा भन्न खोज्दा पनि शब्दहरू हराउँछन्। किनकि यसको उत्तर कुनै व्यक्तिगत निर्णयको कथा मात्र होइन, यो एउटा पुस्ताको पीडा, एउटा राष्ट्रको संरचनागत कमजोरी र हजारौँ युवाका अधुरा सपनाहरूको सामूहिक यथार्थ हो।
म सामान्य किसान परिवारबाट आएको व्यक्ति। माटोसँग जोडिएको जीवन, पसिनासँग चिनिएको पहिचान थियो। सानैदेखि एउटा सपना थियो- सरकारी अधिकृत बन्ने, देशको सेवा गर्ने। त्यो सपना केवल पेसागत लक्ष्य थिएन; त्यो आत्मसम्मान र जिम्मेवारीको प्रतीक थियो। तर समय, परिस्थिति र अवसरको अभावले त्यो सपना बिस्तारै टुट्दै गयो। निजी बैंकमा जागिर पाइयो। सुरुमा तलब, सुविधा, प्रमोसन सबै राम्रै थियो। बाहिरबाट हेर्दा जीवन सन्तुलित र सफल देखिन्थ्यो। तर भित्र कतै एउटा अदृश्य असन्तोष बढ्दै गइरहेको थियो। म काम गरिरहेको थिएँ, तर उद्देश्य हराउँदै गएको थियो। आज फर्केर हेर्दा लाग्छ, सुविधाले कहिलेकाहीँ सपनालाई चुपचाप समाप्त गरिदिन्छ। नेपालमा जब सपना मर्छ अनि पासपोर्ट जन्मिन्छ।
नेपालको यथार्थसँग मेरो साक्षात्कार त्यहीँबाट सुरु भयो। यहाँ मान्छे जन्मिनुअघि नै ऊ कुनै न कुनै राजनीतिक छायामा परिसकेको हुन्छ। नामभन्दा अघि उसको राजनीतिक पहिचान तय भइसकेको हुन्छ। सामान्य कामका लागि वडा कार्यालय जाँदा देखिने व्यवहार, चिनेका मान्छे सिधै भित्र, काम तुरुन्तै सम्पन्न अनि अरूहरू लाइनमा कुर्दै, कहिले खाजा समय, कहिले ‘भोलि आउनुस्’ भन्ने जवाफ। यस्तो व्यवहार दोहोरिँदै जाँदा अन्याय नै सामान्य जस्तो देखिन थाल्छ। यो समस्या सरकारी कार्यालयमा मात्र सीमित छैन। समाजका हरेक तहमा यसको प्रभाव फैलिएको छ।
खानेपानी उपभोक्ता समिति, सिँचाइ कुलो, विद्यालय व्यवस्थापन, कृषक समूह सबैतिर अदृश्य राजनीतिक प्रभाव हाबी छ। जहाँ सेवा हुनुपर्ने, त्यहाँ स्वार्थ हाबी छ; जहाँ विकास हुनुपर्ने, त्यहाँ दलगत प्रभाव निर्णायक बन्छ। बिस्तारै बुझिँदै जाँदा लाग्छ हाम्रो समाजमा योग्यताभन्दा पहुँच ठुलो छ। कलेज जीवनमा यो यथार्थ झन् प्रस्ट भयो। विद्यार्थी संगठनदेखि लिएर प्रशासनसम्म, सबैमा राजनीतिक विभाजन देखिन्थ्यो। भर्ना, नियुक्ति, अवसर— सबैतिर अदृश्य हस्तक्षेप। केही समय कलेजमा काम गर्दा प्रत्यक्ष देखियो। योग्यता होइन, ‘को चिनिन्छ’ भन्ने कुरा नै निर्णायक हुन्छ। कसैले नेताको फोन लगायो भने नियमहरू लचकदार बन्छन्। यहाँ योग्यता प्रमाणित गर्नुभन्दा चिनजान प्रमाणित गर्न सजिलो छ। योग्यता होइन, चिनजान नै मुख्य मापदण्ड बनाइन्छ।
योग्यता नभएको व्यक्ति अधिकारको दाबी गर्छ, प्रणालीलाई चुनौती दिन्छ। गाउँका साना विवादहरूलाई राजनीतिक मुद्दा बनाएर गरिब र निमुखालाई लडाइन्छ। त्यो दृश्य केवल समाचार होइन, हाम्रो दैनिक यथार्थ हो। नेपालको प्रशासनिक र सामाजिक संरचनामा राजनीतिक प्रभाव यति गहिरो छ कि नागरिकको पहिचान प्रायः उसको योग्यताभन्दा पनि उसको पहुँचले निर्धारण गर्छ। सामान्य प्रशासनिक कामदेखि लिएर ठुला निर्णयसम्म, सम्बन्ध र प्रभावको भूमिका निर्णायक बन्छ। सार्वजनिक सेवा लिन जाँदा अनुभव हुने विभेद— कसैका लागि सहज पहुँच, कसैका लागि निरन्तर प्रतीक्षा यी केवल व्यक्तिगत अनुभव होइनन्, प्रणालीगत कमजोरीका सङ्केत हुन्। यस्ता व्यवहारहरू दोहोरिँदै जाँदा समाजले तिनलाई सामान्य मान्न थाल्छ, जसले दीर्घकालीन रूपमा संस्थागत विश्वासलाई कमजोर बनाउँछ।
केही समयमा बैंकको कामका क्रममा गाउँ–सहरका साना तथा मझौला व्यवसायी र कृषकहरूसँग नजिकबाट भेट्ने अवसर मिल्यो। ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने नारा त छ, तर व्यवहारमा कृषकहरू अझै एक्ला छन्। सिँचाइको अभाव, मल–बीउको समस्या, उत्पादनपछि बजारको अनिश्चितता— यी आधारभूत चुनौतीहरूले कृषि व्यवसायलाई अस्थिर बनाएको छ। केही युवाले विदेश छोडेर कृषिमा लाग्ने प्रयास गरे तर उनीहरूको सफलता ‘चामलमा बिया भेटेझैँ दुर्लभ’ रह्यो। तथ्यांकहरूले पनि यही कथा बोल्छन्। हरेक वर्ष लाखौँ नेपाली युवा श्रम बजारमा प्रवेश गर्छन् तर सीमित अवसरका कारण ठुलो हिस्सा बिदेसिन्छ। देशको अर्थतन्त्र रेमिटेन्समा टिकेको छ तर त्यो रेमिटेन्सले भविष्य निर्माण गर्न सकिरहेको छैन।
यसले देखाउँछ समस्या व्यक्तिको होइन, संरचनाको हो। निजी क्षेत्र पनि पूर्ण रूपमा सुरक्षित छैन। बढुवा, सरुवा, अवसर सबैतिर अदृश्य खेलहरू चलिरहेका छन्। मैले आफ्नै आँखाले देखेँ मभन्दा माथिल्लो पदमा रहेका कर्मचारीहरूले समेत आफ्नो स्थिर जागिर छोडेर विदेश जाने निर्णय गरिरहेका छन्। त्यो क्षणमा महसुस भयो जब देशको संरचना नै कमजोर हुन्छ, तब व्यक्तिको संघर्ष मात्र पर्याप्त हुँदैन त्यसपछि विदेश जाने निर्णय जन्मिन्छ। यो रहरको निर्णय होइन, बाध्यताको परिणाम हो। कसैलाई आफ्नै सानो बच्चा छोडेर अनजान सहरमा जान मन लाग्दैन। त्यो क्षणमा सपना होइन, आँसु भारी हुन्छ। तर पनि जानुपर्छ किनकि भविष्यको खोजी वर्तमानको पीडाभन्दा ठुलो हुन्छ।
दक्षिण कोरिया र भियतनामको उदाहरणले देखाउँछ। एक समय ती देशका युवाहरू पनि विदेशमा श्रम गर्न बाध्य थिए। तर उनीहरूले शिक्षा, सीप विकास, उद्योग र उत्पादनमा लगानी गरेर युवालाई देशमै अवसर दिए। परिणाम ती देशहरू आज आर्थिक रूपमा सबल र आत्मनिर्भर बनेका छन्। उनीहरूले आफ्ना युवालाई रोके मात्र होइन, फर्काउन पनि सफल भएका छन्। नेपाल अहिले डेमोग्राफिक डिभाइडेन्डको महत्त्वपूर्ण चरणमा छ। तर यही समयमा युवाहरू देश छोड्नु भनेको भविष्य गुमाउनु हो। अवसर सीमित छ, प्रतिस्पर्धा असमान छ र नीति कमजोर छ। ‘देशमै बस’ भन्ने अपिल त धेरै छन्, तर ‘के गरेर बस?’ भन्ने प्रश्न अझै अनुत्तरित छ। अब समाधान स्पष्ट छ- योग्यतामा आधारित प्रणाली, पारदर्शी भर्ती प्रक्रिया, उद्यमशीलतामा लगानी र युवालाई देशमै अवसर सिर्जना गर्ने नीति। जबसम्म यी आधारभूत सुधारहरू लागू हुँदैनन्, तबसम्म ‘देशमै बस’ भन्ने अपिल केवल शब्दमै सीमित रहनेछ।
विदेश पुगेपछि एउटा फरक दृष्टिकोण प्राप्त हुँदो रहेछ। यहाँको प्रणाली, अनुशासन, पारदर्शिता देख्दा लाग्छ, हाम्रो देश पनि यस्तै हुन सक्छ। यही अनुभूति नै देशप्रति अझ गहिरो सम्बन्ध बनाउँछ। तर जब हामी आवाज उठाउँछौँ, हामीलाई ‘विदेश बसेर देशको कुरा गर्ने’ भनेर आलोचना गरिन्छ। वास्तवमा, देशबाट टाढा भएपछि देश झन् नजिक महसुस हुन्छ।
एकदिन काम गर्ने ठाउँमा पत्रिका पल्टाउँदै गर्दा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर देखेँ। मन केही क्षण स्तब्ध भयो। सात समुन्द्रपारि बसेर आफ्नो देशको आशा बोकेको नेतृत्वको अनुहार देख्दा एक किसिमको न्यानोपन महसुस भयो। सरकारका सुधारका योजनाहरू पढ्दा विश्वास पलायो। यदि यी सबै इमानदारीपूर्वक कार्यान्वयन भए भने, परिवर्तन सम्भव छ। परिवर्तन कुनै कल्पना होइन; यो स्पष्ट दृष्टि, दृढ इच्छाशक्ति र उत्तरदायित्वबाट जन्मिन्छ। सम्माननीय प्रधानमन्त्री र सम्पूर्ण मन्त्रीमण्डलप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। यो केवल सरकार गठनको क्षण होइन, यो जनआशा, आक्रोश र परिवर्तनको अन्तिम भरोसाले भरिएको ऐतिहासिक जिम्मेवारी हो। करोडौँ युवाको सपना, लाखौँ अभिभावकको विश्वास र असंख्य बालबालिकाको भविष्य अब तपाईंहरूको काँधमा छ।
अन्ततः, नेपाली युवा देश छोड्छ किनकि ऊ असक्षम छैन तर उसलाई अवसरविहीन बनाइन्छ। ऊ भाग्दैन; ऊ खोजीमा निस्कन्छ सम्मानको, सम्भावनाको र पहिचानको। यदि देशले आफ्ना युवालाई निष्पक्ष अवसर, स्थिर भविष्य र गरिमापूर्ण जीवन दिन सकेन भने, यो पलायन रोकिने छैन।
एउटा प्रसिद्ध भनाइ छ- ‘अ नेसन द्याट फेल्स टु न्युचर इट्स युथ इज अ नेसन द्याट मोर्टगेजेज इट्स फ्युचर’। यसको सार यही हो यदि देशले आफ्ना युवालाई अवसर दिन सकेन भने, त्यो देशले केवल वर्तमान होइन, भविष्य पनि गुमाउँछ। अन्तिम सत्य यही हो जब देशभित्र सम्भावनाहरू सीमित हुन्छन्, तब सिमाना पार गर्नु विकल्प होइन, बाध्यता बन्छ।