म सानी हुँदा आमाले हाम्रो घरमा आउने मभन्दा ठुला जोसुकैलाई नमस्कार गर्न सिकाउनु हुन्थ्यो। उमेरमा मभन्दा ठुला जोसुकैलाई हजुर तपाईं भनेर सम्बोधन गर्नु पर्थ्यो। गाउँका सबै बच्चाबच्चीहरू हामी जस्ता थिएनन्। सायद उनीहरूले आफ्नो परिवारबाट त्यस्तो सिकेका थिएनन्। हामीहरूको यस्तो व्यवहार देखेर कहिले कसो गिज्याउँथे हाम्रा ती साथीहरू- ‘यिनीहरू त जोगीलाई नि नमस्ते गर्छन्, हजुर तपाईं भन्छन्।’
आज पनि आफूभन्दा ठुला उमेरका जो कोहीलाई सामान्य आदरका व्यवहार गर्न मलाई कुनै संकोच लाग्दैन। कोही कोही साथीहरू पदको सोपान हेरेर सामान्य आदरका व्यवहार गर्न रुचाउनु हुन्छ।
जे जस्तो खाना पाके पनि सफासँग नबोली खानु, खाना नफाली खानु हाम्रो घरको नियम थियो। मिठो नमिठो जे जस्तो भए पनि हामीहरू खाना नफाली खान्थ्यौँ। मभन्दा ठुलो उमेरका दाजुहरू, बुबा त्यसरी नै खानु हुन्थ्यो। आफूले खाना खाएको थाल हामीहरू आफैले नै सफा गर्थ्यौँ। सुरुमा त्यो नियम जस्तो लाग्थ्यो मलाई तर पछि त्यही हाम्रो बानी नै भयो।
सामान्य लाग्ने यस्ता स-साना बानीहरूको सिकाइमा परिवार र पारिवारिक वातावरण महत्त्वपूर्ण हुन्छ। सानी हुँदा सिकेका यस्ता स-साना बानीले मेरो अहिलेको जीवन सहज बनेको मलाई आभास हुन्छ। आमाले सिकाएका यी बानीहरूले मलाई अनुकूलन क्षमता दिएको छ।
नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। अभिभावकहरू चटारोमा हुनुहुन्छ, छोराछोरीका लागि स्कुल छनौट गर्न। नयाँ सरकारले नयाँ नयाँ शैक्षिक कार्यक्रमहरू तर्जुमा गर्ने कार्यसूची बनाएको छ। नेपालको शिक्षा व्यवहारिक र व्यावसायिक, सीप मूलक हुन नसकेको गुनासो बेलाबेलामा सुन्ने गरिन्छ। बालबालिकाहरू सानै उमेरबाट स्कुल जाने चलन बढेको छ। साढे दुई वर्ष उमेर पुग्दा नपुग्दै बालबालिका पूर्वप्राथमिक कक्षा (मन्टेश्वरी) पुगिसकेका हुन्छन्। विशेष गरी सहरी क्षेत्रमा अभिभावकहरूको कार्य व्यस्तताले गर्दा पनि स-साना नानीहरू बोली पनि नफुट्दै स्कुल पुग्ने गरेका छन्।
स्कुल जाने सही उमेर कति हो?
स्कुल जानु पूर्व नानीहरू कति समयसम्म बाबुआमा वा परिवारका साथमा रहनु पर्छ?
त्यस विषयमा नेपालमा के-कस्ता अध्ययन भए वा भइरहेका छन्?
यस बारेमा सार्वजनिक विचार विमर्श हुनु पर्छ।
हुन त यो मेरो निजी विचार हो यद्यपि बाल मनोविज्ञानमा परिवार र परिवारले सिकाएका मौलिक संस्कारहरूको दीर्घकालीन असर हुन्छ भन्ने मेरो आफ्नो अनुभव हो। स-साना व्यवहारिक बानी बालबालिकाले कहाँ सिक्ने हो? हामीहरू पाँच वर्षसम्म घरमा बसेर सिकेका स-साना बानीहरू आजभोलिका बालबालिकाहरूले कहाँ सिक्ने; घरमा कि स्कुलमा?
घरको बुबा\पुरुषहरू कामको सिलसिलामा धेरै जसो घर बाहिर नै रहनु हुन्थ्यो। बुबा घर आउन कुनै उत्सव वा चाडपर्व नै हुनु पर्थ्यो। गाउँका प्रायः सबै बुबा-काकाहरू जागिरको लागि घर बाहिर रहेका हुन्थे। कोही कोही त लाहुर अर्थात् असम (भारत) पनि जान्थे। भारत गएका त झन् २/३ वर्षमा मात्र घर आउँथे। यस्तोमा आमाहरूले घर र कृषिको काम गरेर बालबच्चाहरू हुर्काउँथे।
संयुक्त परिवार हुन्थ्यो। एकल परिवार भए पनि अर्म, पर्म, पैँचो, लेनदेन गर्ने काममा समाजका प्रत्येक परिवार एकआपसमा जोडिएका हुन्थे। पारिवारिक मेलमिलापको शिक्षा बालबालिकाले त्यसबाट सिक्थे। घरका स-साना काममा बालबालिकाहरूलाई सहयोगी बन्न सिकाइन्थ्यो। जस्तै सरसामान लैजान वा ल्याउन। कसैलाई बोलाउन। घर आँगनमा कसेर (धुलो\कसिङ्गर) बढार्न (सफा गर्न)।
पाँच वर्ष पुगेका बालबालिका स्कुल जान्थे। स्कुल १ कक्षाबाट सुरु हुन्थ्यो। स्कुलका तीन तहहरू १-५\५-८\९-१० थिए। १० कक्षा पछि स्कुलको औपचारिक शिक्षा सकिन्थ्यो। ५ र ८ कक्षामा जिल्ला स्तरीय परीक्षा हुन्थ्यो। १० कक्षाको परीक्षालाई निकै महत्त्व दिइन्थ्यो। एसएलसी भनिने त्यो परीक्षा नै जीवनको बाटो तय गर्ने साँचो हो कि जस्तो गरिन्थ्यो। तर जीवनको वास्तविक आकार त घरमा सिकेका स-साना बानीले तय गर्दो रहेछ। सानालाई माया ठुलालाई आदर। आमा, दिदी-बहिनीको सम्मान। श्रमको सम्मान, दया, माया र करुणा घरकै पाठशालामा सिक्ने बानीहरू हुन्।
नैतिक शिक्षा, संस्कृत विषय र व्यावसायिक विषयका रूपमा पूर्व व्यावसायिक विषयलाई समावेश गरिएको थियो। कक्षा कोठा सुविधा सम्पन्न नभए पनि त्यसको सरसफाइको जिम्मा हामी विद्यार्थीकै हुन्थ्यो। गोबर माटोले कक्षा लिप्नु र कालो पाटीमा ब्याट्रीको कालो लगाउने जिम्मा हाम्रै हुन्थ्यो। हामीहरूले गर्ने त्यो कामले के-कस्तो स्वास्थ्य असर हुन्थ्यो भन्ने त त्यो बेला थाहा हुने कुरा भएन। जे जस्तो भए पनि हामीले गरेका त्यस्ता कामले हामीहरूलाई सामाजिकीकरण सिकाएको रहेछ। साथीभाइहरू एकआपसमा मिलेर आफ्नो पालोमा काम गर्नु पर्छ भन्ने नैतिकताको पाठ हामीले सिकेको रहेछौँ। आफ्नो कामको जिम्मा लिने संस्कार सिक्न घर-परिवार र स्कुलको वातावरण महत्त्वपूर्ण हुन्छ। आत्मनिर्भरताको त्यो पहिलो पाठशाला थियो। कुनै पनि काम सानो वा ठुलो हुँदैन। आफ्नो काम आफै गर्नु पर्छ भनेर त्यस्ता कामको जिम्मा हामीलाई लगाइएको थियो कि?
सिकाइमा वातावरण र परिवेशको महत्त्वपूर्ण भूमिका रहन्छ। एउटा परिस्थितिमा उपयुक्त भएको सिकाइ/सिप अर्को परिवेशमा उपयुक्त नहुन पनि सक्छ। जस्तै काठमाडौँमा लागु हुन सक्ने सिकाइ सीप हुम्ला/जुम्ला वा अन्य पूर्वी पहाडी परिवेशका स्कुलहरूमा उपयुक्त र सफल नहुन सक्छन्। जे जस्तो परिवेश र वातावरण छ सोही अनुरूप सिकाइ सँगै सीपयुक्त शिक्षा आजको आवश्यकता हो।
बालबालिकाका मौलिक र अति महत्त्वपूर्ण स-साना व्यवहारिक बानीहरूको विकास गर्न घर-परिवार र पारिवारिक वातावरणको महत्त्वपूर्ण भूमिका हुन्छ। सामान्य नैतिक व्यवहार जस्तै सानालाई माया ठुलालाई सम्मान आदर गर्ने, सामान्य आदरका व्यवहार नमस्कार, सामान्य कुरा गर्ने जस्ता बानीहरूको सिकाइमा परिवार र परिवारका सदस्यको मार्ग निर्देशन महत्त्वपूर्ण हुन्छ। अभिभावकहरूले दिने व्यवहारिक र नैतिक शिक्षाको प्रभाव बालबालिकामा दीर्घकालसम्म नै रहन्छ। त्यसैले त घरलाई जीवनको पहिलो पाठशाला भनिन्छ।