'अस्ट्रेलियाबाट नेपाल हेर्दा नेपाल सुखी देखिन्छ, नेपालबाट अस्ट्रेलिया हेर्दा अस्ट्रेलिया सुखी देखिन्छ, मान्छेको मन कस्तो विचित्रको चिज रहेछ' !
एक जना साथीले म्यासेजमा लेखेर पठाएको यो छोटो संवादले मलाई केहीबेर मौन बनायो।
फोनको स्क्रिनमा झल्किएको त्यो वाक्य पढेपछि म निकैबेरसम्म सोचिरहेँ —आखिर सुख कहाँ होला? भूगोलमा कि भौतिक जीवनमा वा मनमा? के सुख भन्ने चिज नै हुन्छ, कि यो एउटा भ्रम मात्र हो, जसलाई हामी आ-आफ्नो अभाव अनुसार परिभाषित गर्छौं?
हुन पनि नेपालबाट अस्ट्रेलिया आउनेहरू नेपालमा दु:ख पाएर भन्दा पनि अझ राम्रो सुख सुविधा खोज्न यहाँ आउने गर्छन्। टेलिभिजनका पर्दा, मोबाइल र कम्प्युटरका स्क्रिनमा देखिने सिड्नीका सुन्दर दृश्यहरू, समुन्द्रको किनारमा टल्किएको अपेरा हाउस, आकाश चुम्ने टावरहरू, चिल्ला सडक, शान्त अनुशासित यातायात यी सबै देख्दा लाग्छ, मानौँ संसारकै सबैभन्दा व्यवस्थित र सुखी ठाउँ यही हो।
यस्तो ठाउँमा पुग्न पाए जीवन कति सहज र रमाइलो हुँदो हो! त्यसमाथि विकसित देशको चमक-दमकबारे सुनिने कथाहरू झन् आकर्षक हुन्छन्।
फेसबुक र इन्स्टाग्राममा देखिने तस्बिरहरू, सुन्दर समुद्रको किनार, महँगा गाडी, राम्रा घर, यी सबैले एउटा सपनाको संसार बुनिदिन्छन्। भन्ने गरिन्छ, त्यहाँ सबै काम सिस्टममा चल्छ। सरकारी सेवा छिटो र पारदर्शी हुन्छ। कसैलाई घुस दिनु र भनसुन गर्नुपर्दैन। अस्पताल र विद्यालय व्यवस्थित हुन्छन्। कमाइ मनग्य हुन्छ। छोराछोरी अठार वर्ष पुगेपछि आफै स्वतन्त्र हुन्छन्। आफूले कमाएको पैसाले संसार घुम्न सकिन्छ। अस्ट्रेलियन पासपोर्ट हातमा भएपछि विश्व नै खुला हुन्छ। कसैले कसैलाई अनावश्यक हस्तक्षेप गर्दैन, सबैले सबैलाई सम्मान गर्छन्, जीवन स्वतन्त्र र खुला हुन्छ।अस्ट्रेलियाबारे धेरै नेपालीले बनाउने कल्पना प्रायः यस्तै हुन्छ।
आजको इन्टरनेटको युगमा त यथार्थ थाहा पाउन झन् सजिलो हुनुपर्ने हो, तर इन्टरनेटको आफ्नै स्वभाव छ, हामी जे कुरा खोज्छौँ, त्यसैको वरिपरि घुम्ने सामग्री मात्र देखाइरहन्छ। सुख खोज्नेले सुखका कथा मात्र देख्छ, संघर्ष खोज्नेले संघर्षका कथा। हाम्रा धेरै युवाहरूले अस्ट्रेलियालाई सपनाको देशका रूपमा कल्पना गरेपछि उनीहरूलाई देखिने सामग्री पनि प्रायः त्यही सपनालाई बल दिने खालको हुन्छ, सायद। एल्गोरिदमले हाम्रो मन पढ्छ, हाम्रो चाहना बुझ्छ, र त्यसै अनुसार हामीलाई त्यही देखाइरहन्छ जुन हामी देख्न चाहन्छौं। अस्ट्रेलियाबारे इन्टरनेटको दुनियाँले देखाउने पनि खोज्नेहरूको सोच अनुसार नै देखाउँछ।
त्यसपछि ती कथाहरू घरमा आमा, बुबा, हजुरबा, हजुरआमालाई सुनाइन्छन्। 'त्यहाँ त यस्तो हुन्छ, उस्तो हुन्छ' भन्ने कुरा बारम्बार सुन्दा परिवार पनि विश्वास गर्न थाल्छ। छोरा वा छोरीले भनेको कुरा, त्यो पनि यति ठूलो सपना बोकेको कुरा किन नमान्नु? अनि कसैले वास्तविकता सुनायो भने पनि विश्वास लाग्दैन। बरू शंका लाग्छ, 'ऊ त हामीलाई नआओस् भनेर भनेको होला। ऊ त हाम्रो सफलता देख्न सक्दैन।' मानिसको ईष्र्या र अहमले पनि कति ठूलो पर्दा बनाइदिन्छ, जसले सत्य देख्न दिँदैन।
तर ठूलो सपना बोकेर जब कोही युवक वा युवती अस्ट्रेलियाको भूमिमा पाइला टेक्छ, तब विस्तारै वास्तविक जीवनको अर्को पाटो देखिन थाल्छ।त्यो पहिलो दिनको उत्साह, त्यो नयाँपनको आभास सबै बिस्तारै सेलाउँदै जान्छ। जसरी बाक्लो कुहिरो हटेपछि वास्तविक दृश्य देखिन थाल्छ, त्यसरी नै बिस्तारै यथार्थले आफ्नो रूप देखाउन थाल्छ।
पढ्न आएका प्राय: सबै विद्यार्थीहरूले कलेजमा केही महिनाको अग्रिम शुल्क बुझाइएको हुन्छ। कति जनाको त घर खडेरी बेचेर, गहना सापटी राखेर, साहुसँग ब्याजदरमा ऋण काढेर छोराछोरीलाई विदेश पठाइएको हुन्छ। विमानस्थलबाट सहर पुग्दा मनमा अनगिन्ती आशाहरू हुन्छन्। तर भोलिपल्टैदेखि एउटा प्रश्नले सताउन थाल्छ, अब काम कहाँ पाइन्छ? कसरी गर्ने?
सुरूमा लाग्छ, यत्रो ठूलो देश, यत्रो ठूलो सहर, यति धेरै मानिसले काम पाएका छन् भने मैले किन नपाउँला र? कसैलाई त उतै बस्ने साथी र आफन्तले काम पनि खोजिदिएका हुन्छन्। तर काम खोज्न वा गर्न थालेपछि अर्को वास्तविकता भेटिन्छ, अनुभव। नेपालबाट गएका धेरै युवासँग त्यहाँको कामका लागि आवश्यक अनुभव हुँदैन। नेपालमा गरेको कामको अनुभव पनि त्यहाँ सजिलै मान्यता पाउँदैन। भाषाको समस्या, संस्कृतिको भिन्नता, नयाँ परिवेश सबैले गाँजेको हुन्छ।परिणामतः सुरूआती दिनहरूमा उपलब्ध हुने काम सीमित हुन्छ।—क्लिनिङ, होटल-रेस्टुरेन्ट, वा खेतीको काम आदि।
काम भेटिएपछि अर्को चुनौती सुरू हुन्छ, पढाइ र कामको तालमेल।
कलेजको पढाइ, असाइनमेन्ट, कामको चटारो, बस्ने-खाने व्यवस्था, अनि नेपालमा भएको ऋणको चिन्ता, यी सबै मिलाएर जीवन एक प्रकारको दौडजस्तै बन्छ। बिहानको चार बजे उठेर काममा जाने, दिउँसो कलेज दौडिने, बेलुका फेरि काम, राति असाइनमेन्ट बनाउने, यो चक्र निरन्तर चलिरहन्छ।कहिलेकाहीँ त लाग्छ —म कहाँ आएको छु? कुन देशमा छु? यो त्यही अस्ट्रेलिया हो, जसको सपना देखेर म यहाँ आएको थिएँ?
सायद यही अनुभवले होला, 'संसारका मजदुर एक हौं' भन्ने विचार जन्मिएको। देश जति विकसित भए पनि मजदुरका लागि अन्ततः प्रश्न एउटै हुन्छ, उसको ज्याला कति छ, उसको सम्मान कति छ? सुन खानीमा काम गर्ने मजदुर होस् वा फलाम खानीमा, यदि पारिश्रमिक उस्तै छ, शोषण उस्तै छ भने उसको जीवनको संघर्ष पनि उस्तै नै हुन्छ।
अस्ट्रेलियामा संघर्ष गर्ने धेरै नेपाली युवाको मनमा पनि यस्तै अनुभूति जन्मिन्छ। कमाइ हुन्छ, तर खर्च पनि उत्तिकै हुन्छ। कलेजको शुल्क, बस्ने-खाने खर्च, यातायात, अनि नेपालमा भएको ऋणको साँवा-ब्याज। यी सबै जोड्दा बाँकी रहने रकम त्यति धेरै हुँदैन। महिनाको अन्त्यमा बैंक ब्यालेन्स हेर्दा कहिलेकाहीँ हाँसो आउँछ। यति दुःख गरेर पनि बचत त केही छैन। नेपालमा पनि त यस्तै थियो, फरक केवल यति कि त्यहाँ संघर्ष आफ्नै भूमिमा थियो, यहाँ पराइको भूमिमा।
उता घरपरिवार र आफन्तले कहिलेकाहीँ गुनासो गर्छन् 'अस्ट्रेलिया गएपछि बोल्नै छोड्यो। फोन पनि नगर्ने, खबर नसोध्ने।' तर बोल्न समय कहाँ? मनमा थकान, शरीरमा थकान। कहिलेकाहीँ त फोन उठाउने ऊर्जा पनि हुँदैन। अनि फोन उठाए पनि के भन्नु? 'परिवारलाई म यहाँ दुःखी छु' भन्न मन लाग्दैन।
उहाँहरूले त ठूलो सपना देखेर पठाएका हुन्, उहाँहरूको सपना तोड्न मन लाग्दैन। साथीभाइ आफन्तलाई झन् भन्ने कुरै भएन। त्यसैले मुस्कुराएर भन्नु पर्छ 'सबै ठीक छ, राम्रो छ।'
कलेजको पढाइ सकेपछि एउटा एउटा समुन्द्र पार गरेजस्तै लाग्छ। कम्तीमा कलेजलाई शुल्क बुझाउनु पर्दैन। पढाइको तनाव कम हुन्छ। अनि जिन्दगीको अर्को यात्रा सुरू हुन्छ अस्ट्रेलियाको नागरिक बन्ने। डकुमेन्टेसन र भाषा परीक्षणको झन्झट फेरि आइलाग्छ। सबै प्रक्रिया पूरा गरेपछि अष्ट्रेलियन नागरिक किन बन्ने भन्ने दोधार उत्पन्न हुनथाल्छ। मन उतिधेरै खुसी नभई नभई सेवा सुविधाको लोभले राष्ट्रियता फेर्नुपर्ने बाध्यता आइपर्छ।
एकहद मात्रमा यसलाई सफलता मानेर जीवनको अर्को रफ्तार सुरू हुन्छ। घर किन्ने। खर्चको जोहो गर्ने। बैंक ऋण लिने र मासिक किस्ता बुझाउनुपर्ने।
घरको मासिक किस्ता, पानी बिजुली र इन्धनको बिल गरी जब कमाइ र खर्चको सबै हिसाब जोडिन्छ, तब कहिलेकाहीँ मनमा एउटा प्रश्न उठ्छ —नेपाल राम्रो कि अस्ट्रेलिया? सुखी कहाँ? नेपालमा अभाव त थियो, तर जीवनको गति यति हतारो थिएन। अर्थात्, नेपालमा जीवनको लय अलि फरक थियो।
मानवीय सम्बन्धको तापक्रम अलि बेग्लै थियो। अनि नेपालमा कामै नपाएर वा खानै नपाएर अस्ट्रेलिया आएको पनि त हैन। सपनाको सहरमा पो आएको त! अस्ट्रेलियामा जीवन कहिलेकाहीँ मेसिनजस्तो हुन्छ। कुन दिन घाम लाग्यो, कुन दिन पानी पर्यो—थाहा नपाई मान्छे दौडिरहन्छ।
यदि अस्ट्रेलियामा लगानी गरिने समय, श्रम र पैसा नेपालमै लगानी गर्न सकेको भए सायद बिहान दस बजेदेखि साँझ पाँच बजेसम्म काम गरेर पनि जीवन चल्न सक्थ्यो। अर्थात् अलिक कमाइ गरेर नेपालमा नै लगानी गरेको भए पनि त जीवन सहज हुन्थ्यो होला। आफ्नै घरमा, आफ्नै मान्छेसँग, आफ्नै माटोमा जीवन यहाँ भन्दा पक्कै सहज हुन्थ्यो। तर त्यो सोचाइलाई पनि समयले कता हो कता धकेलिदिन्छ। जीवनको दौडमा हराएको मान्छेलाई यी कुराहरू कहिलेकाहीँ मनमा आउने मात्र सम्झना हुन्छन्।
समयसँगै यस्तै व्यस्त जीवनसँग अभ्यस्त हुँदै जानुपर्ने रहेछ। संघर्ष पनि बिस्तारै दिनचर्याजस्तै लाग्न थाल्छ। बिस्तारै यो ठाउँ पनि आफ्नो जस्तो हुन थाल्छ।मान्छेलाई वर्तमानको भौतिक सुख भन्दा पनि भविष्यको आशा ठूलो हुँदो रहेछ। हामीले दु:ख गरे पनि भविष्यमा सन्तानले त यहाँ सुख पाउँछन् भन्ने आसा र विश्वास हुनेरहेछ। त्यसैले मन अड्याउने रहेछ। तर मनको एउटा कुनामा चाहिँ अझै पनि यहाँ भन्दा नेपालमा नै जीवन सुखी हुन्छ भन्ने लागि रहन्छ। साथीले लामो भिडिओ कलमा भनेका यी कुराहरू सम्झेर म पनि आफैंलाई प्रश्न गर्छु आखिर जीवन कहाँ सुखी हुन्छ अस्ट्रेलियामा कि नेपालमा?