मुलुकभर चैत महिनामा विद्यालयहरूमा बच्चाहरूको परीक्षा सकियो।
सबैजसो अभिभावकको चिन्ता बच्चालाई यो बिदामा कसरी सम्हाल्ने? यो भनिरहँदा त विद्यालयलाई ठूलो स्याबासी नै दिनुपर्छ, वर्षभरि विद्यालयमा कसरी बच्चाहरू थमाएर र टिकाएर राखे होलान्। त्यसो त विद्यालयमा प्रशस्त भौतिक पूर्वाधारहरू छन् खेल्ने र रमाउने घरमा त्यो तीन आना जमिनमा कहाँ पाउनू, भेट्नू!
आजको समस्या के छ भने अभिभावक प्रायजसो गाउँबाट सहर आएका छन्। नयाँ वातावरण आधुनिकतामा घुल्न मिल्न गाह्रो, कोही बेला सहरियाहरू गाउँलेलाई 'गवाँर' भन्न समेत भ्याउँछन्, कहीँ 'तीन आने' भन्छन्। हेप्छन् यो सबै व्यहोर्नुपर्छ। फेरि हामी गाउँबाट सहर आए पनि सोच गाउँकै छ आफ्नो पालाको जस्तो सोच्छौं।
जस्तो कि त्यो बेला गाउँमा मोबाइल थिएन न त कम्प्युटर भिडिओ गेम न त सामाजिक सन्जाल नै यसकारण सम्पूर्ण अभिभावक आफ्नो विद्यार्थीकालको अन्तिम परीक्षा मंसिरमा सकिएपछि खेतबारीमा जाने, मोजाको भकुन्डो बनाएर खेल्ने, आगो फुक्ने, गुइँठा बाल्ने सम्झिन्छन्, त्यो बेला पो विकल्प थिएन त्यसैले माटो धुलो, खेतबारीमा भुल्नुपर्थ्यो।
अहिले त सुविधा सम्पन्न छ, पैसा मात्र हुनुुपर्छ जे पनि पाइन्छ। फेरि बच्चा न मेसिन हुन्, न त भौतिक वस्तु नै, हामीले चलाउँदा अन अफ गर्दा झट्ट बन्द हुने खुल्ने स्विच, उनीहरू त मस्तिष्क सहितका मानव हुन् जोसँग विवेकपूर्ण तवरले बातचित व्यवहार गर्नुपर्छ।
पाँच वर्षसम्म लाड प्यार दिने मत्याउने त्यसपछि दश वर्षसम्म थर्काएर पिटेर तह लगाउने त्यसपछि मित्रवत व्यवहार गर्ने मान्यता छ, हाम्रो पूर्वीय दर्शनमा तर हामी सबै मान्यता बिर्सँदै अहंकारी सर्वज्ञानी बन्दैछौं तसर्थ समस्या बढेको छ।
केटाकेटा आए मटयाङ्गग्राको सत्यनाश, अचेलका केटाकेटी धान्नै गाह्रो आदि भन्छौं। हामी बुझ्दैनौं कि, बच्चाले बिदामा केही त गर्न पर्यो नि ऊ ठूलो मानिस झैं धमधम्ती बस्न पनि सक्दैन।
नतिजा आउन महिना लाग्छ उसको उमेरका साथीसंगी कोही पनि छैनन् खेल रमाउनका लागि, उनीहरूको बच्चापना खेल्ने र रमाउने उमेर नै हो।
लामा छत्तिस मासका दिन छ बिचराहरूलाई घरमा बस्दा बस्दा कति पट्टयारलाग्दो होला उता बाबुआमालाई दाल रोटीको जोहो गर्न भागदौड छ, दशदेखि पाँच।
त्यसै पनि व्यस्त अझ साँझ अबेरसम्म पनि बस्नुपर्ने हुन्छ।
बच्चाको बिदा भनेर अफिसले बिदा पनि मिल्दैन। बच्चाको बिदामा जाने ठाउँ त्यही एउटा मामाघर हो त्यहाँ पनि उमेर मिल्ने दाइभाइ, बहिनी दिदी छन् या छैनन् कुन्नि! अहिलेका मानिसले बच्चा पाउन छाडे बच्चालाई खेल्न रमाउन घुम्न उही उमेर समूहका बच्चा नै चाहिन्छ।
उता अभिभावकको एउटै चिन्ता छ घर बाहिर गए बच्चा कुसंगतमा परेर बच्चा बिग्रन्छ, गाडी बाइकले ठक्कर देला, किच्ला बाटो सडकतिर अन्जान व्यक्तिले फकाउला, कहीँकतै लैजाला, अपहरण बलत्कार गर्ला, चोटपटक लाग्ला, अर्कोतर्फ पार्क खेल्ने ठाउँतिर शुल्क अचाक्ली महँगो छ भने बच्चाहरू एकपटक गइसकेको ठाउँमा दोहोर्याएर जान मान्दैनन्। हुन पनि हो हामी वयस्कलाई पनि एकै ठाउँमा दोहोर्याएर जान मन लाग्दैन।
केटाकेटीको जाडो बाख्राले खान्छ भन्ने उखान छ घरभित्र बसिरहँदा जाडो, बाहिर निस्कियो घाम फेरि अभिभावक बच्चाले टन्न बाक्लो लुगा लगाएर बसोस् भन्ने चाहन्छन्। अपवाद बाहेक बच्चा टम्म लुगा लगाउन मन पराउँदैनन्।
उता अहिलेका सबै बालबालिकामा पिरो, चर्को कुरूमकुरूम हुने अमिलो पाकेटका तयारी खानामा बानी परेको छ फेरि पानी पिउँदैनन्, लगेर अगाडि टकारेर आफूले भने मात्र पिउँछन्। युट्युब, भ्लग, रिल, सिरियल र इन्स्टामा हरबखत झुन्डिरहन्छन्।
हामी बच्चालाई ठूलो मानिस जस्तो बनाउन चाहन्छौं। बच्चालाई बच्चा नै हुन दिनुपर्छ। एकाध अभिभावक बच्चालाई बच्चै रहन दिउँ वयस्क त पछि भइहाल्छ नि भन्ने मत राख्छन्।
कुरा गन्थन गरिरहँदा समाधान के त? यी सबै समस्या केलाउँदा बच्चालाई शारीरिक, भौतिक, मानवीय मनोवैज्ञानिक तवरबाट के गर्न सकिन्छ छ त? बिदा प्राय: १५ देखि २५ दिनको छ। सबैजसो विद्यालयहरूमा सरसर्ती हेर्दा यो अवधिमा केही दिन मामाघर, केही दिन सम्भव भए काम गर्ने ठाउँमा, केही दिन नदी ,खोला तालतलैया झरना प्राकृतिक मनोरम दृश्यहरू घुमघाम, मठमन्दिर, गिर्जाघर गुम्बा देखाउने, केही दिन एक रात कम्तीमा होटलमा आउटिङ, केही दिन पारिवारिक वनभोज, केही दिन उनीहरूका शौख बमोजिमका छोटो अवधिका सस्ता कम खर्च लाग्ने तालिम, योग, व्यायाम, जुम्बा, एरोविक, फुटबल, बास्केटबल, टेनिस, व्याडमिन्टन आदि गराउन सकिन्छ।
आफुूले साँझ बिहान बच्चासँगै खाना बनाउने बगैंचामा उनीहरूका रोजाइका फूल रोप्न दिने, वैदिक म्याथ, मेमोरी बढाउने, गाउने, नाच्ने जस्ता तालिम, तवला, मुरली, बाँसुरी, मादल, गितार बजाउन सिक्ने तालिम, लुुगा धुने, भाँडा माझ्ने, घर सफाइ बिस्तारा मिलाउने इस्त्री लगाउने ,लुुगा पट्टयाउने आदि सिकाउन सकिन्छ।
साथै उपन्यास, कथा, निबन्ध, नाटक, चुटकिला, जोक्स, कार्टुन, कमिक्स पत्रिका उनीहरूको रोजाइमा पढ्न दिन पनि सकिन्छ। बच्चाहरू सामान्यतया नयाँ नयाँ कुरा चिज गर्न चाहन्छन्। सधैं एउटै काम गर्न बच्चा मनोटमस हुन्छन्।
साथै चित्रकला, पेन्टिङ आदि पनि गराउन सकिन्छ। मूलत उनीहरूलाई हामी कहिल्यै पनि तिमीलाई के मन पर्छ, कहाँ जान मन पर्छ, के गर्न मन पर्छ? धैर्यपूर्वक सोधेर सुन्दैनौं हाम्रो कुरा, विचार बाध्यता पस्किन्छौं। बच्चालाई सोच्ने योजना बनाउने मौका दिऊँ यो पटकको बिदामा अनि त्यसमा घटबढ गरेर मिलाउन सकिन्छ। कम्तीमा बच्चाको बिदा अवधिभर कामबाट घरमा फर्केदेखि भोलिपल्ट घरबाट कामको लागि कार्यालय नपुग्दासम्म मोबाइल प्रयोग नगरौं। अनलाइन पेमेन्ट क्युआर आदि अपवाह बाहेक। बच्चाको मनोविज्ञान सोच रहरको अत्यधिक ख्याल गरौं।