पहिले तीनपाटनमा खेतमा धान लगाइन्थ्यो; बारीमा मकै र कोदो। टार परेको बारी छ भने तोरी/सस्र्युँ आदि छरिन्थ्यो। तोरी खेतीका लागि साखामाढी, बेलघारी, भुकुने, चिसापानी, भीमथान र बाहुनटारका टारबारीहरू नामी थिए। मास, भट्मास र बोडी खेत र बारीका आली र कान्लामा लगाइन्थे। मूल रूपमा जमिनमा एक बाली हुन्थ्यो। मकैमा सेती मकै र रामपुर पहेँलो बढी लगाइन्थ्यो; धानमा सत्तरो जातको राज थियो।
डल्ले मसिनो, खार्पाली, कृष्णभोग आदि नामका धान पनि रोपिन्थ्यो। बढी मलिलो र गैह्री खेतमा नढलोस् भनेर गोला नामको धान लगाइन्थ्यो। मालभोग नामको धान कम फल्छ भन्ने थियो। तर खान यही लगाइन्थ्यो। त्यसपछि कालो धान आयो— कोइली मसिनो। फल्न त उस्तै होला; तर पारखीहरूले मालभोगभन्दा पनि यो धानको बढी तारिफ गरे। यसले मालभोग नामको धानलाई छेउ लगाइदियो। पछिल्लो समय चिलङ्खे मसिनो नामको धान पनि केही खेती हुन थाल्यो। यो धान बास्नादार नरम भातका लागि स्थापित हुँदै थियो।
पछि आएर धान काट्नुअघि अलि मलिला र गैह्री परेका खेतमा खेसारी छर्न थालियो। न जोत्नु परोस्, न रोप्नु परोस्, न गोड्नु परोस्, न छाँट्नु परोस्, न पानी लगाउनु परोस्, न मल हाल्नु परोस्, न आली थुन्नु परोस्, फल्न चाहिँ फेरि हिरिक्कै भएर फल्ने। खेसारीले तीनपाटनमा चाँडै लोकप्रियता प्राप्त गर्यो। कतिपयले खेतको नामै राखिदिए— ‘खेसारी कित्ता’। खेसारी गाईबस्तुले त खान्थ्यो, खान्थ्यो; गोठालाको पनि खास्साको खाजा भयो।
खेसारीको हरिया कोसा मात्र होइन, कलिला मुन्टा पनि उसै खान मिल्ने। मान्छेहरू खेसारीको कोसा पनि खान्थे र मुन्टा पनि। खेसारी छर्ने प्रचलनले धान काटेपछि उजाड देखिने खेतका कतिपय कित्ताहरू हरियो देखिन थालेका थिए। खेसारीपछि कतिपय किसानहरूले खेतमा आलस पनि छरे। खेसारी र आलस नभएका धेरैजसो खेतहरू भने मङ्सिरपछि असारसम्म नै बाँझै रहन्थे।
केहीपछि तीनपाटनमा उखुखेती प्रारम्भ भयो। भुकुनेका किसानहरू उखुखेतीमा आक्रामक देखिए। चिसापानीका पनि धेरै किसानहरू उखुखेतीमा लागे। भीमथानका किसानमा पनि उखु खेतीमा उत्साह देखियो। उखु पेल्ने एउटा कोल त कदमेमा पनि निर्माण भयो।
कदमेमा फेदीखोलानेरको एउटा बाँझो गह्रामा कोल बनाइयो। कोलमा गोरु नार्नु पर्छ भन्ने कुरा पनि आयो। तर उखु नै कति थियो र! गोरुको साटो कोल घुमाउने काममा मान्छेहरूले जाँगर चलाए। यसरी गोरुको काम मान्छेले नै गरे।
उखु भाँचेर खान्थ्यौँ— हामी केटाकेटी। भरखरै सिकेका थियौँ हामीले उखु खान। यसअघि हामी मकैको ढोडको रसमा रत्तिएका थियौँ। अब उखु खाँदै थियौँ। उखुले ओठ काट्थ्यो; कुनै बेला त जिभ्रो पनि काट्थ्यो। उखुको गुलियो रसमा भुलेको बेला काट्दा हुने पीडा हामीलाई मामुली लाग्थ्यो। रमाइलो त के भने, हामीले दाँतले ताछेर चुस्ने गरेको उखु पेलिने वस्तु रहेछ र कोलमा यसको रस धारो बनेर झर्दो रहेछ भन्ने कुरा पनि थाहा पाइयो। त्यो रस कसैले एक कचौरा दिए! उखुको रस पकाएर धेरै पाकेपछि जमेर रातो-रातो भएपछि बरु खुँदो दिन्थे; उखुको रस दिँदैनथे।
उखुको खेती प्रारम्भ भएपछि तीनपाटनमा एक किसिमको नयाँ उद्यम सुरु भएको थियो। यो उद्यम हाम्रा लागि त नयाँ खालको रमाइलो थियो नै, गाउँका धेरै मान्छेहरू कोलमा झुम्मिन्थे। हामी आफैँ पनि उखु कसरी सक्खर बन्छ भन्ने प्रक्रियाका बारेमा बताउने त के कुरा, ताक परे सिकाउने भइसकेका थियौँ।
उखु बिक्री हुन्थ्यो। स्कुल जाँदा आउँदा उखुबारीमा उखुका लाक्रा किन्न पनि पाइन्थ्यो। उखु किन्नका लागि हामी केटाकेटीले आमाको सन्दुक/बाकस वा बाको कमिजको खल्तीमा लामो हात गर्नु पर्थ्यो। नत्र हामीले पैसा कहाँ पाउनु!
कतिपय किसानहरू उखुबाट सक्खर उत्पादन गरेर बिक्री पनि गर्दथे। विशेषतः भुकुनेका किसानहरू आफ्नो घर-परिवारमा मात्र खर्च हुन नसक्ने गरी सक्खर उत्पादन गर्न थालेका थिए। तीनपाटनमा ती दिन धान, मकै जस्ता कृषि उत्पादन बिक्री हुन्थ्यो; अब सक्खर बिक्री हुन थालेको थियो।
दुई–तीन वर्ष सक्खर उत्पादन गरेपछि कतिपय किसानहरूले खेतीका रूपमा उखु रोप्न छाडे। समयक्रममा उखु रोप्ने क्रम कम हुँदै आयो। हुँदाहुँदा केही वर्षपछि नै उखु कसैकसैको घर-करेसामा एक–दुई बोट देखिन्थ्यो; त्यति हो।
उखु खेती हुन छाडेपछि कोलको बिजोक भयो; फेदीखोला नजिकैको हाम्रो कोल केही वर्ष त्यहीँ उसै रह्यो। पछि त्यो त्यहाँबाट उखलियो र कोल आँगनको एउटा कुनामा धेरै वर्ष अपहेलित अवस्थामा रह्यो। त्यस्तै बिजोक भयो हाम्रो पनि; हामी गुलियोका लागि फेरि मकैको ढोड चुस्ने अवस्थामा फर्किएका थियौँ।
केही वर्षपछि नै मानिसहरूले किन किन खेसारी छर्न पनि छाडे। कतिपयले भनेको सुनियो— ‘खेसारीले नानाभाँतीका रोग लाग्छ।’ अब कसैकसैले खेत तथा बारीमा तितेफापर लगाउन थालेका थिए। मिठेफापर हुँदैन भन्ने थियो; हामी मिठेफापर चामलसँग साटेर चाख्ने गर्थ्यौं।
अलिकपछि तीनपाटनका किसानहरूले गहुँ छर्न थाले। गहुँका लागि प्रारम्भमा कदमे र भुकुनेका किसान उत्साहित देखिए। गहुँमा सिँचाइ गर्नु आवश्यक हुने रहेछ। सिँचाइको लागि चँदाहा खोलाको पानी लाग्ने बगर खेतहरू बढी उपयोगी ठहरिए। सिँचाइका लागि सहज बन्दोबस्त हुने खोला नजिकका केही खेतमा पनि हुन थाल्यो– गहुँ खेती। ती दिन तीनपाटनका किसानहरू गाईवस्तु प्रशस्त पाल्थे। उसै मलिलो माटो– तीनपाटनको। त्यसमाथि पशुजन्य प्राङ्गारिक मल छेलोखेलो! तर पनि गहुँखेतीका सन्दर्भमा किसानहरू भन्थे– ‘विकासे मल चाहिन्छ।’
यतिबेला ’विकासे मल’ भनेर रासायनिक मललाई जनाइन्थ्यो।
अलिक यता आएर खेतमा मकै छर्न पनि थालियो। चौतारागाउँभन्दा तलको डिही परेका खेतहरूमा मकै खेती रहरलाग्दो किसिमले हुन्थ्यो। बिस्तारै तीनपाटनका खेतहरूमा मकै खेती विस्तार भयो। उसो त फागुन/चैतमा रोप्ने र असार/साउनमा पाक्ने ताइचुन, सेसपैतालीस आदि नामका धानको खेती पनि हुन थाल्यो। यस्तो धान खेतीका लागि सिँचाइको सुविधा भएका गैह्री खेतहरूको छनोट हुन्थ्यो।
तीनपाटनमा ती दिनमा तरकारी खेती खासै हुँदैनथ्यो। तरकारीमा आलु, सिमी, बोडी, मुला आदि मात्र। सागमा रायो र तोरीको साग। अनि निगुरो, जलुको। जङ्गली च्याउ, तामा, कटहर। अनि गोलभेँडा, प्याज, फूलगोभी, टमाटर र बन्दागोभीको स्वादका लागि ढाकी बोकेर तराईतिरबाट आउने व्यापारीलाई पर्खिनु पर्थ्यो। केहीपछि तीनपाटनमा प्याज, टमाटर, भान्टा र कोभीको खेती हुन थाल्यो।
समयक्रममा धानका मन्सुली, सावित्री, दुर्गा आदि नामका नयाँ जातहरू देखिए— तीनपाटनमा। यी नयाँ जातका धानहरू रोपेपछि राम्रै गाँज हाल्ने, बोट भने खासै लामो नहुने, फल्न चाहिँ फेरि हिरिक्कै भएर फल्ने। रैथाने जातका धानहरू पोटाउने समयताका यी नयाँ जातका धानहरू पहेँलपुर भइसक्ने। कतिपयले ‘विकासे धानको पराल नहुने रहेछ’ पनि भने। रोप्ने बेलामा तिनले पनि विकासे धानकै बीउको खोजी गर्न थाले। मज्जा पनि कति भने— दशैँताका पाकिसक्ने यी विकासे धानको चिउरा पनि स्वादिला; दशैँताका धान बेच्न पनि पाइने भएपछि दशैँ खर्च र दक्षिणाको जोहो पनि भयो। विकासे धान चाँडै पाक्ने भएकाले गहुँ खेतीका लागि अनुकूलता देखा पर्यो।
तर विकासे धान एक्लै आएन; विविध प्रकारका धानरोग र पतेरो नामको किरा पनि लिएर आयो। पतेरो उधुम गनाउँथ्यो! धान सखाप पार्थ्यो— पतेरालेः पगटैपगटा। मानिसहरूले थाहा पाए— ‘पतेराका लागि मेटासिट नामको विषादी छर्नु पर्छ।’
तर तीनपाटनमा कहाँ पाउनु— मेटासिट!
गहुँका लागि आवश्यक भनिएको रासायनिक मल समयक्रममा सबै बोटबिरुवा र खेतीपातीका लागि प्रयोग हुन थाल्यो। कम्पोस्ट मललाई अब वास्ता गर्न छाडियो; त्यसको स्थान रासायनिक मलले लियो। रासायनिक मल प्रयोगको कुनै मापदण्ड प्रयोगमा आएन। मल जति हाल्यो उति बाली सप्रिन्छ भन्ने परम्परागत समझ। यस्तो समझ खेतबारीमा रासायनिक मल ओहिर्याउन प्रेरक। केही वर्षसम्म रासायनिक मलले उत्पादनमा चमत्कार देखायो। अनि बिस्तारै जमिनमा अम्ल बढ्दै आयो; जमिन किट्टिन थाल्यो, खेतबारीमा उर्वरापन घट्दै आयो; उत्पादन घट्न थाल्यो।
अन्त्यमा,
विकासे धानसँगै तीनपाटनमा व्यापक बनेको पतेराले मेटासिट जस्ता विषादी खोज्ने निहुँमा म जस्ता किसान परिवारको जेठो सन्तानका लागि सहर बजार डुल्ने/बरालिने अच्छा अवसर पनि लिएर आयो। मेटासिट लिन कि भिमान जानु पर्थ्यो कि सिन्धुली।
हाम्रा लागि भिमान नजिक हो सिन्धुलीभन्दा। तर कसैले सुनायो— ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई...’ गीत गाउने कृष्णविक्रम थापा सिन्धुली बजारमा भेटिन्छन् भन्ने कुरा। त्यसमाथि अर्को कसैले थपिदियो— ‘सिन्धुली बजारमा बिहान–बिहान मरिनखोले माझीको रमाइलो भाषण सुन्न पाइन्छ’ भन्ने जानकारी पनि।
यी जानकारी पाएको मितिदेखि म मेटासिट लिन जाने आज्ञाको प्रतीक्षामा रहेकै थिएँ। आज्ञा पाउनु के थियो, सिन्धुलीतिर दौडिन मलाई कसैले रोक्न सक्दैनथ्यो।
त्यसमाथि केही सम्झेझैँ गरेर बाले नै भन्नुभयो— ‘सिन्धुली नै जा।’
कृष्णविक्रम थापा होटल गर्दा रहेछन्। कुनै स्थानीय सांस्कृतिक संस्थामा पनि संलग्न रहेछन्। सिन्धुली पुगेपछि मेरो पहिलो खोजी कृष्णविक्रम थापा नै भए। मैले भेटेको पहिलो कलाकार यी नै थिए। यी म जस्ता प्रशंसकका लागि सहज रूपमा उपलब्ध।
दिनको बाँकी समय मैले यिनकै गफगाफमा मन्त्रमुग्ध भएर बिताएँ। साँझ छिप्पिएपछि कृष्णविक्रम थापाले भने– ‘लौ, भाइको बसोबासको बन्दोबस्त कता छ? अब होटल बन्द गर्ने बेला पनि भयो।’
अनि म झल्याँस्स भएँ- ‘हो त! कृष्णविक्रमको गफ रातभरि जान सक्दैन, सुत्नु पनि पर्छ।’
सिन्धुली भिमान जस्ता साना बजारमा लजको प्रारम्भ नभएको समय थियो त्यो। भिमानमा हामी जुन होटलमा खान्थ्यौँ, हाम्रो बासको बन्दोबस्त त्यही होटलवालाले सकाउँथ्यो। भिमानका होटलवालासँग हाम्रो खास्साको सम्बन्ध विकास भएको पनि थियो।
मैले भनेँ– ‘सिन्धुली बजारमा म खासै चिन्दिनँ।’
उनले भने– ‘त्यसो हो भने म बासको बन्दोबस्त यहीँ मिलाउँछु।’
यतिबेला सिन्धुली बजारमा मेरो अर्को आकर्षण थियो– मरिनखोले माझीको भाषण।
मरिनखोले माझीको भाषण बिहानको समयमा मात्र उपलब्ध हुने। मरिनखोले माझीको खास नाम रहेछ— टेकबहादुर माझी। बिहान हुर्किएपछि थोत्रो कालो कोटमा हाँसेको हो कि जिस्केको हो भन्ने छुट्ट्याउन गाह्रो हुने मुखमुद्रामा मास्तिरबाट खुत्रुकखुत्रुक ओरालो झर्दा रहेछन्– मरिनखोले माझी। यिनको समयलाई ख्याल गरेर भाषण सुन्न अच्छा–खासा जमघट हुने रहेछ बजारमा। आफ्नो साविक स्थलमा आइपुगेपछि अनौपचारिक रूपमा प्रारम्भ हुने रहेछ– यिनको भाषण। यिनका धेरैजसो गालीजन्य शब्दहरू मरिनखोलाकै थापाकाजीहरूतिर लक्षित हुने रहेछ। राज्यव्यवस्थालाई आलोचना गर्न पनि यिनी केही समय खर्च गर्दा रहेछन्।
मान्छेहरू भन्थे– ‘यी मरिनखोलाका धनीमानी माझी हुन्। कालान्तरमा चर्को जालझेलमा परे। घरखेत सकियो। अब सर्वहाराकै अवस्थामा छन्। जालझेलको प्रतिकार गर्न नसके पनि आफू जालझेलमा परेको होस यिनलाई छ। राज्यव्यवस्थालाई पनि यिनले जालझेलकै मतियारका रूपमा देखे। ती सबैले आक्रोश जन्माएको होला। ...मरिनखोले माझी बौलाहा होइनन्।’
अलिकपछि काठमाडौँ आएपछि मैले गाईजात्राको उन्मुक्त स्वरूपको पनि स्वाद लिन पाएँ। मेरो हकमा यी नै मरिनखोले माझी गाईजात्राको उन्मुक्त स्वरूपको प्रस्थानविन्दु थिए।
कृष्णविक्रम थापालाई मैले फेरि भेट्न पाइनँ। उनीसँग मेरो त्यही भेट नै अन्तिम भेट भयो।