हरेक नयाँ वर्ष आउँदा मान्छेको मनभित्र केही न केही हलचल उठ्छ। बितेका कमजोरीहरू सच्याउने, अधुरा कामहरू पूरा गर्ने, बिग्रिएको लय मिलाउने, आफूलाई फेरि एक पटक उठाउने र जीवनलाई अलि राम्रो ढङ्गले अघि बढाउने चाहना यही बेला सबैभन्दा तीव्र हुन्छ। त्यसैले नयाँ वर्षको अर्थ केवल पात्रो फेरिनु होइन; त्यो आशा फेरि जाग्नु पनि हो। त्यो मन फेरि एक पटक आफैँसँग प्रतिज्ञा गर्नु पनि हो। तर दुःखको कुरा के छ भने, हामीले सबैभन्दा बढी महत्त्व दिएको यही क्षण धेरै पटक वास्तविक सुरुआत बन्न पाउँदैन। हामी नयाँ वर्षलाई धेरै सम्मान गर्छौँ तर त्यसको पहिलो दिनलाई जोगाउन सक्दैनौँ।
हामीमध्ये धेरैले नयाँ वर्ष आउनुअघि नै मनमनै अनेक योजना बनाइसकेका हुन्छौँ। कसैले अबदेखि बिहान सबेरै उठ्ने ठान्छ, कसैले नियमित व्यायाम गर्ने, कसैले अध्ययनमा फर्कने, कसैले खर्चमा अनुशासन ल्याउने, कसैले आफ्नो समय र जीवनलाई व्यवस्थित बनाउने सङ्कल्प गर्छ। सङ्कल्पमा कमी हुँदैन, आशामा कमी हुँदैन, सुरु गर्ने इच्छामा पनि कमी हुँदैन। कमी हुन्छ त सुरुआतलाई टिकाउने संरचनामा। जुन दिनबाट हामीले नयाँ जीवन सुरु गर्न खोजिरहेका हुन्छौँ, त्यही दिन यदि थकान, ढिलासुस्ती, भेटघाट, भोजभतेर, अलमल र अव्यवस्थितपनले भरियो भने, त्यसले नयाँ यात्रालाई अघि बढाउने होइन, सुरु हुनुअघि नै थकाइदिने काम गर्छ। धेरै पटक समस्या इच्छाशक्तिमा होइन, सुरुआतको वातावरणमा हुन्छ।
यहीँनेर हामीले आफ्नो सामाजिक अभ्यासलाई इमानदारीका साथ हेर्नुपर्ने हुन्छ। वर्षको अन्तिम रात हामी रमाउँछौँ, शुभकामना साट्छौँ, कार्यक्रममा जान्छौँ, आफन्त र साथीभाइसँग बस्छौँ, कतिपयले राति अबेरसम्म जाग्राम गर्छन्। यसमा कुनै अस्वाभाविकता छैन। वर्ष बिदाइ गर्दा खुसी मनाउन मन लाग्नु स्वाभाविक हो। तर समस्या रमाइलोमा होइन; समस्या त्यो रमाइलोले नयाँ वर्षको पहिलो दिनमाथि पार्ने प्रभावमा छ।
यदि चैतको अन्तिम रातको उत्सवले वैशाख १ गतेको बिहानलाई नै सुस्त, ढिलो, भारी र निष्क्रिय बनाइदिन्छ भने, हामीले नयाँ वर्षको पहिलो दिनलाई आफ्नै हातले कमजोर बनाइरहेका हुन्छौँ। बिहानै ऊर्जा, स्पष्टता र सुरुआतको अनुभूति दिनुपर्ने दिन नै यदि अलमल, थकान र सुस्तीमा बित्यो भने, सङ्कल्पको पहिलो आधार त्यहीँ कमजोर हुन्छ।
विकसित देशहरूमा यस्तो सुरुआत तुलनात्मक रूपमा सफल हुनुको एउटा कारण त्यहाँको जीवनशैली बढी प्रणालीमा आधारित हुनु हो। त्यहाँ उत्सव मनाइए पनि व्यक्ति, परिवार, संस्था र कार्यालयको लय छिट्टै कामतर्फ फर्किन्छ। समयपालन, पूर्वतयारी, व्यक्तिगत जिम्मेवारी र संस्थागत संस्कृतिले मान्छेलाई भावना मात्र होइन, व्यवहारतर्फ पनि डोर्याउँछ। तर हाम्रोजस्तो विकासोन्मुख समाजमा अवस्था अझै धेरै हदसम्म मनोभाव, वातावरण र तत्कालीन जोसमा निर्भर छ। यहाँ उत्साह त बलियो हुन्छ तर त्यसलाई टिकाइराख्ने संरचना कमजोर हुन्छ। योजना बन्छ तर त्यसलाई बानीमा बदल्ने अभ्यास बलियो हुँदैन। त्यसैले विकसित समाजमा नयाँ वर्षको पहिलो दिन पनि कामको मनोविज्ञानसँग जोडिन सक्छ तर हाम्रोमा त्यही दिन प्रायः उत्सवको लम्बिएको छायाजस्तो बनेर बस्छ। यही कारणले हाम्रो सन्दर्भमा उत्सव, विश्राम र कार्यारम्भलाई अलग–अलग तर क्रमबद्ध रूपमा सोच्नुपर्ने आवश्यकता अझ बढी देखिन्छ।
यसलाई एक अत्यन्त सरल तर गहिरो उदाहरणबाट बुझ्न सकिन्छ। हामीमध्ये धेरैले वैशाख १ गतेदेखि बिहान सबेरै उठ्ने, हिँडडुल गर्ने, व्यायाम सुरु गर्ने, अध्ययनमा समय दिने, दिनको स्पष्ट योजना बनाउने र अनुशासित जीवन जिउने सङ्कल्प गर्छौँ। मनभित्र एउटा सुन्दर दिनचर्या तयार भइसकेको हुन्छ। तर यहीँनेर हामी बारम्बार एउटै आधारभूत त्रुटि दोहोर्याउँछौँ। हामी सधैँ ‘बिहान चाँडै उठ्नुपर्छ’ भन्ने कुरा गर्छौँ तर ‘बिहान चाँडै उठ्नका लागि बेलैमा सुत्नुपर्छ, पर्याप्त निद्रा पुर्याउनुपर्छ’ भन्ने मूल सत्यबारे न त गम्भीर बहस गर्छौँ, न त्यसअनुसार तयारी गर्छौँ। वास्तवमा, यही नै पहिलो गल्ती हो।
अनुशासित बिहानको सुरुआत बिहानबाट होइन, अघिल्लो रातबाट हुन्छ। राम्रो दिनचर्याको बीउ रातको संयममा रोपिन्छ। तर हामी बिहानको लक्ष्य त बनाउँछौँ, रातको अनुशासन बनाउँदैनौँ। त्यसैले नयाँ वर्षको अघिल्लो रात अबेरसम्मको रमाइलो, जाग्राम, थकान र अव्यवस्थित समयपछि वैशाख १ को बिहान मनले कोरेको दिनचर्याअनुसार सुरु हुन सक्दैन। बिहान सबेरै उठ्ने सङ्कल्प गरेको व्यक्ति यदि एघार वा बाह्र बजे मात्र उठ्छ भने, उठ्नेबित्तिकै उसले अनुभूत गर्ने पहिलो कुरा ऊर्जा होइन, पछुतो हुन्छ। त्यसपछि हिँडडुल छुट्छ, व्यायाम रोकिन्छ, अध्ययन पर सर्छ, दिनको लय बिग्रन्छ, र मनभित्र फेरि उही पुरानो वाक्य उठ्छ— ‘आज त गएछ, अब भोलिदेखि सुरु गरौँला।’ वास्तवमा, यही क्षणबाट नयाँ वर्षको पहिलो दिनले नै पूरा दिन सफल बनाउने सबैभन्दा ठूलो शक्ति कमजोर हुन थाल्छ।
यही कारणले अब एउटा साधारण तर गम्भीर प्रश्न सोधिनुपर्छ— हामी नयाँ वर्षलाई वास्तवमै नयाँ सुरुआतको दिन बनाउन चाहन्छौँ कि केवल उत्सवको दिन? यदि हामी साँच्चिकै नयाँ सुरुआत चाहन्छौँ भने हाम्रो संस्कार, व्यवहार र समय संरचनामा सानो तर अर्थपूर्ण परिमार्जन आवश्यक छ। नयाँ वर्षलाई उत्सवबाट खोस्नुपर्छ भन्ने होइन; बरु उत्सव र सुरुआतलाई आ–आफ्नो सम्मानजनक स्थान दिनुपर्छ भन्ने हो। किनकि जीवनमा सबै कुरा एउटै दिन समान बलमा सम्भव हुँदैन। रमाइलोको पनि आफ्नै मनोविज्ञान हुन्छ, अनुशासनको पनि आफ्नै। एउटा मन खुलेर बग्न खोज्छ, अर्को आफैँलाई सम्हालेर अघि बढ्न खोज्छ। यी दुवै आवश्यक छन् तर दुवैलाई एउटै दिनको एउटै भारमा राख्दा धेरै पटक सुरुआत कमजोर पर्छ।
त्यसैले एउटा व्यावहारिक सोच गम्भीरतापूर्वक बहसमा ल्याउन सकिन्छ। वर्षको समापन र उत्सव चैत २९ गते रातिमा केन्द्रित गरौँ। त्यो रात पुरानो वर्षलाई धन्यवाद दिने, आफ्ना असफलताबाट सिक्ने, सम्बन्धहरू न्यानो बनाउने, खुसी साट्ने, स्मृतिहरू समेट्ने र नयाँ वर्षलाई स्वागत गर्ने रात बनोस्। त्यसपछि चैत ३० गतेलाई सङ्कल्पको दिन बनाऔँ— न त पूर्ण उत्सवको दिन, न त निष्क्रिय बसिरहने दिन; बरु सम्हालिने, मिलाउने, सोच्ने, विश्राम गर्ने, तयारी गर्ने र आफूलाई पुनः सन्तुलित बनाउने दिन। घर मिलाउने, कोठा सफा गर्ने, अधुरा काम टुङ्ग्याउने, कागजपत्र सँगाल्ने, योजना लेख्ने, परिवारसँग प्राथमिकता मिलाउने—यी सबैका लागि त्यो दिन उपयोगी हुन सक्छ। अनि वैशाख १ गतेलाई वास्तविक सुरुआतको दिन बनाऔँ—काम, अनुशासन, योजना, अध्ययन, जिम्मेवारी र प्रतिबद्धताको स्पष्ट आरम्भबिन्दुका रूपमा।
यो प्रस्ताव सुन्दा सामान्य लाग्न सक्छ तर यसको मनोवैज्ञानिक आधार गहिरो छ। मानिसलाई रमाइलोपछि विश्राम चाहिन्छ, विश्रामपछि स्पष्टता चाहिन्छ, र स्पष्टतापछि मात्रै बलियो कर्म सुरु हुन्छ। यही क्रम बिग्रियो भने सङ्कल्पहरू धेरै पटक डायरीका पानामा, सामाजिक सञ्जालका पङ्क्तिमा वा मनभित्रकै अधुरा वाचा बनेर सीमित रहन्छन्। नयाँ वर्षको पहिलो दिन यदि कार्यानुकूल मनस्थिति नै बनेन भने, दोस्रो दिनबाट आउने उत्साह पनि कम हुन्छ। त्यसैले चैत ३० लाई विश्राम र तयारीको दिन बनाउने विचार कुनै आलस्यको प्रस्ताव होइन; यो त नयाँ वर्षको पहिलो दिनलाई जोगाउने प्रस्ताव हो। सुरुआतलाई बचाउने प्रस्ताव हो। किनकि पहिलो दिनले दिशा दिन्छ र दिशा भए मात्रै यात्रा बलियो हुन्छ।
यसले व्यक्ति, परिवार, विद्यालय, कार्यालय र संस्थागत जीवन सबैमा सकारात्मक प्रभाव पार्न सक्छ। व्यक्तिले नयाँ वर्षको पहिलो दिनलाई सुस्त दिन होइन, सचेत दिन बनाउन सक्छ। परिवारले उत्सवको स्वाद पनि जोगाउन सक्छ र अनुशासनको संस्कार पनि बसाल्न सक्छ। बालबालिकाले नयाँ वर्षलाई केवल रमाइलो, खाना र घुमघामसँग मात्र होइन, नयाँ बानी सुरु गर्ने क्षणसँग पनि जोड्न सिक्न सक्छन्। विद्यालय, कलेज, कार्यालय, व्यवसाय र सामाजिक संस्थाहरूले वैशाख १ लाई औपचारिक आरम्भबिन्दुका रूपमा अझ अर्थपूर्ण बनाउन सक्छन्। यसले समयपालन, सरसफाइ, योजना, उपस्थितिको संस्कार, कार्यप्रतिबद्धता र परिणाममुखी कार्यशैलीलाई ऊर्जा दिन सक्छ। कहिलेकाहीँ समाजलाई बदल्ने कुरा ठूला नाराहरू होइनन्; यस्तै साना तर सही ठाउँमा गरिएका सांस्कृतिक सुधारहरू पनि हुन सक्छन्।
निश्चय नै यस विचारमाथि प्रश्न उठ्न सक्छन्। कसैले भन्न सक्छन्— यसले नयाँ वर्षको रमाइलो कम गर्छ। तर यथार्थ यसको ठिक उल्टो छ। रमाइलो हटाउने कुरा गरिएको होइन; त्यसलाई उचित समय र सम्मानजनक स्थान दिने कुरा गरिएको हो। कसैले भन्न सक्छन्— सबैले एकै पटक मान्दैनन्। त्यो पनि सत्य हो। कुनै पनि सामाजिक अभ्यास एकैचोटि सर्वस्वीकृत हुँदैन। पहिले विचार जन्मन्छ, त्यसपछि बहस हुन्छ, केहीले प्रयोग गर्छन्, केहीले अपनाउँछन्, अनि क्रमशः संस्कार बन्दै जान्छ। त्यसैले यो कुनै हठ वा आदेश होइन; सार्वजनिक बहस योग्य एउटा व्यावहारिक प्रस्ताव हो। कम्तीमा यति भने स्वीकार गर्नैपर्छ कि अहिलेको अभ्यासले नयाँ वर्षको पहिलो दिनलाई अपेक्षित अर्थ दिइरहेको छैन।
हामी प्रायः भन्छौँ— हाम्रो समाजमा प्रणाली कमजोर छ, निरन्तरता टिक्दैन, कामको लय चाँडै भत्किन्छ। तर प्रणाली केवल कानुन, कार्यालय वा घोषणाले मात्र बन्दैन; त्यो संस्कार, समयबोध र दैनिक व्यवहारबाट पनि बन्छ। नयाँ वर्ष मनाउने तरिकामा थोरै बुद्धिमानी थप्न सक्यौँ भने, त्यसले व्यक्तिगत अनुशासन र सामाजिक कार्यसंस्कृतिमा पनि सकारात्मक प्रभाव पार्न सक्छ। नयाँ वर्षको शक्ति शुभकामनामा मात्र हुँदैन; त्यो पहिलो दिनको स्पष्ट, सुसङ्गत र उद्देश्यपूर्ण कदममा हुन्छ। पहिलो दिन नै खेर गयो भने वर्षभरि सङ्कल्प बचाइराख्नु कठिन हुन्छ। पहिलो दिन जोगियो भने वर्षको दिशा पनि जोगिन सक्छ।
अन्ततः यो कुनै अन्तिम सत्य होइन, कुनै अन्तिम निर्णय पनि होइन। यो एउटा प्रश्न हो, एउटा चिन्तन हो र सम्भवतः एउटा सुधारतर्फको प्रारम्भ हो। वर्षको अन्तिम रात रमाऔँ, खुसी साटौँ, धन्यवाद दिऔँ, सम्झना बटुलौँ। त्यसपछि एक दिन आफूलाई सम्हालौँ, घर–काम मिलाऔँ, मन स्पष्ट गरौँ। अनि वैशाख १ गतेदेखि साँच्चिकै सुरु गरौँ। नयाँ वर्षलाई केवल आएको वर्षका रूपमा होइन, उठेको जीवनका रूपमा बुझ्न सकियो भने मात्रै त्यसको अर्थ गहिरो हुन्छ। आखिर नयाँ वर्षको सम्मान शब्दले मात्र होइन, पहिलो कदमले प्रमाणित गर्छ।